नेपाल विश्वकप क्षेत्रीय छनोटको शीर्ष स्थानमा, पछिल्लो खेलका उतारचढाव यस्ता

रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

बुधवार नेपाल र ओमानबीचको खेल सुरु हुनुअघि नै दुवै टोली टी२० क्रिकेट विश्वकप २०२६ मा छनोट हुने निश्चित भइसकेको थियो।

उक्त खुसीमा जोस थप्दै नेपालले ओमानलाई ३८ रनले पराजित गरेर टी२० विश्वकप एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

ओमानको मस्कटमा भइरहेको छनोटमा नेपाल एक मात्र अपराजित टोली बनेको छ। टोलीको ८ अङ्क छ भने नेपालसँगै विश्वकप पुगिसकेको ओमानको ६ अङ्क छ।

नेपाली कप्तान रोहित पौडेलले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुनुलाई 'शब्दमा बयान गर्न नसकिने' प्रतिक्रिया दिए।

उनले भने, "टीमले पछिल्लो एक वर्ष यसका लागि मेहनत गरेको छ। यसमा साथ दिने सबैलाई धन्यवाद भन्न चाहन्छु।"

टी२० विश्वकप आगामी वर्ष फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्दै छन्।

कप्तान रोहित पौडेलले टोलीले भारतमा गएर खेल्ने इच्छा गरेका छन्। उनले भने, "भारतमा थुप्रै नेपालीहरू छन् र खेलको बेला नेपालबाट भारत जान पनि सजिलो छ। त्यहाँको वातावरण नै बेग्लै हुने छ।"

ओमानसँगको खेल कस्तो रह्यो

विश्वकप छनोटअन्तर्गत ओमानसँगको खेलमा गुलनशन झा

तस्बिर स्रोत, CAN

टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतले १५१ रन जोड्यो।

जारी विश्वकप छनोटमा नेपालले बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो।

जबाफमा सुरुवातदेखि नै नेपालको कसिकसाउ बलिङको सामना गर्न असफल भएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सकेको थियो।

नेपालले उत्कृष्ट सुरुवा गर्‍यो तर मध्यक्रमका खेलाडीले ओमानसँगको खेलमा पनि जमेर प्रदर्शन गर्न सकेनन्।

आठौँ ओभरमा ६१-१ को दरिलो स्थितिमा रहेको नेपाल १२ औँ ओभरसम्म पुग्दा ८१-४ को स्थितिमा पुगिसकेको थियो।

दोस्रो इनिङ्समा ओमानका सुरुवाती ब्याटरहरू चल्न सकेनन्। मध्यक्रमका विनायक शुक्लाले १९ बलमा बनाएको ३२ रन नै ओमानको सबैभन्दा ठूलो स्कोर थियो।

ओमानका कप्तान जतिन्दर सिंहले नेपालले 'पावरप्ले'मा बलिङ र ब्याटिङ दुवै राम्रो गर्न सक्नु नै टोलीको जितको कारण भएको बताए।

प्रारम्भिक जोडीको लय

कुशल भुर्तेल र आशिफ शेख

तस्बिर स्रोत, CAN

नेपालका प्रारम्भिक ब्याटर कुशल भुर्तेल र आशिफ शेखको जोडीले फेरि एक पटक टोलीलाई गजबको सुरुवात दिलाएका थिए।

त्यसका कारण समूह चरण र 'सूपर सिक्स'मा गरी पाँचौँ खेलमा आएर नेपालले पहिलो पटक १५० भन्दा बढी रन बनायो।

यी जोडीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दा नेपालको सुरुवात बलियो बनेको थियो। आशिफले २० बल खेल्दा दुई चौका र एक छक्का प्रहार गरी २४ रन बनाए।

अठारौँ ओभरमा आउट हुनुअगाडि कुशलले ५१ बलमा ६९ रनको सानदार पारी खेले। यस क्रममा उनले सात चौका र एक छक्का प्रहार गरेका थिए। कुशलको टी२०आई मा यो १३ औँ अर्धशतक हो।

निराश मध्यक्रम

सुरुवात जति राम्रो थियो, मध्यक्रमका खेलाडीहरूको प्रदर्शन भने त्यति नै निराशाजनक देखियो।

आठौँ ओभरमा ६१-१ को स्थितिबाट १२ औँ ओभरसम्म पुग्दा नेपालको अवस्था ८१-४ मा पुगिसकेको थियो।

यस क्रममा कप्तान रोहित पौडेल (१ रन), दीपेन्द्रसिंह ऐरी (२ रन) र कुशल मल्ल (७ रन) ले बिर्सन लायक प्रदर्शन गरे।

जारी छनोट प्रतिस्पर्धामा नेपाली मध्यक्रमका ब्याटरहरूले निरन्तर सङ्घर्ष गरिरहेको देखियो।

दोस्रो पटक टीममा परेका आदिल अन्सारीले १५ बलमा तीन चौका प्रहार गरी १६ रन बनाए। गुलशन झाले दुई छक्का प्रहार गर्दै १० बलमा १८ रन जोड्दै आफ्नो प्रभावलाई निरन्तरता दिन सफल देखिए।

सन्दीप जोरालाई आराम दिई जारी प्रतियोगितामा पहिलो पटक टोलीमा परेका लोकेश बमले ३ बलको सामना गर्दै कुनै रन बनाउन सकेनन्।

यस्तै नन्दन यादवले ९ रन बनाएर अन्तिम बलमा रनआउट भए भने सोमपाल कामी १ रनमा अविजित रहे ।

फील्डिङमा ऐरीको प्रभाव

गुलशन झा र दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, दीपेन्द्रसिंह ऐरीले जारी प्रतियोगिताका प्रत्येक खेलमा विपक्षी खेलाडीलाई रनआउट गराएका छन्

फील्डिङतर्फ भने दीपेन्द्रसिंह ऐरीले पुनः एक पटक आफ्ना फ्यानहरूलाई उत्साहित बनाए।

जारी प्रतियोगितामा उनले प्रत्येक खेलमा विपक्षी खेलाडीलाई रनआउट गराएका छन्। बुधवार पनि उनले आमिर कलिमलाई आफ्नै बलिङमा 'डाइरेक्ट थ्रो'मा रोकेका थिए।

गुलशन झाले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले पनि २/२ विकेट लिएका छन्।

नेपालले अब छनोटको अन्तिम खेल शुक्रवार सामोआसँग खेल्ने छ। सामोआ 'सूपर सिक्स'को एक मात्र अङ्कविहीन टोली हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।