झीनो अन्तरले निर्णय भएका र कडा टक्कर परेका नेपालका ५ रोमाञ्चक खेल

करण केसी र डच खेलाडी

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, अन्तिमसम्म नतिजा धरमर हुने खेललाई क्रिकेटमा निकै रोमाञ्चक मानिन्छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

क्रिकेटको वास्तविक मज्जा भनेकै अन्तिम बलसम्म पनि खेलको रोमाञ्च कायम रहिरहनुलाई मानिन्छ। परिवर्तित क्रिकेटको परिवेशमा विशेषगरी २० ओभरको खेलमा यस्ता दृश्यहरू त धेरै नै देख्न पाइन्छ

एक रनको जित वा हार तथा एक विकेटको जित वा हारका दृश्यले दर्शकहरूलाई दिने खुसी वा पीडा बेग्लै हुने गर्छ। त्योभन्दा बढी सुख र दु:ख त खेल्ने टीम र त्यसका खेलाडीहरूले झेल्नुपर्छ।

नेपाली क्रिकेटको इतिहास हेर्ने हो भने कैयन् बेला यस्ता क्षणहरू आएका छन्, जसमा टोलीले १ रनले जित्दा खुसी मनाएका छन् र अन्तिम बलमा हार्दा पीडित बनेका छन्।

अहिले स्कटल्यान्डको डण्डीमा सञ्चालन भइरहेको विश्वकप लीग २ शृङ्खलामा पनि त्यस्तै भइरहेको छ।

स्कटल्यान्ड विरुद्धको दुवै खेलमा खेलको नतिजा अन्तिम ओभरसम्म तानियो र जित हारको निर्णय अन्तिम बलसम्म पुग्यो।

यसले नेपाली क्रिकेटको विगतका रोमाञ्चकारी सङ्घर्षलाई फेरि सम्झाएको छ।

जहाँ थुप्रै अवसरमा नेपालले जितेको छ भने कति पटक हारको सामना गरेको छ। त्यसमध्येका ५ घटना यहाँ प्रस्तुत छन्:

१. अमेरिकासँगको हार तर जित

यो अन्तिम बलमा टुङ्गिएको खेल त होइन, तर रन रेटमा झिनो अन्तरले जितिएको खेल हो।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रालाई अगाडि बढाउन अहम् मानिएकोले यसको चर्चा क्रिकेटमा धेरै हुने गर्छ।

सन् २०१० मा (२०६६ फागुन १४ गते) कीर्तिपुर क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लीग डिभिजन–५ को खेलमा नेपालले अमेरिकाविरुद्ध खेल्दै थियो।

डिभिजन ४ मा उक्लिनका लागि भएको यो खेल निकै महत्त्वपूर्ण थियो। शीर्ष २ टोली डिभिजन ४ मा उक्लिने थियो र त्यसमा अमेरिका, नेपाल र सिङ्गापुरमाझ कडा टक्कर चलिरहेको थियो।

यस्तोमा नेपालले कि त अमेरिकालाई जित्नै पर्थ्यो वा हारेमा पनि सिङ्गापुरभन्दा राम्रो रनरेट ल्याएर खेल टुङ्ग्याउनु पर्थ्यो।

टस जितेर ब्याटिङ गर्दै नेपालले ९ विकेट गुमाएर १६२ रन बनायो।

अमेरिकाले उक्त लक्ष्य सहजै पूरा गर्ने क्रममा ३२ ओभरमा १५०–५ बनायो। अब खेल जित्न अमेरिकालाई १३ रनको औपचारिकता मात्र पूरा गर्नु थियो।

नेपाल हार्ने र बढुवा पनि नहुने भएपछि क्रुद्ध दर्शकले कीर्तिपुर मैदानमा ढुङ्गा, पानीको बोतल बर्साउन थाले। खेल झन्डै एक घण्टा अवरुद्ध भयो।

स्थिति सामान्य बनाएर खेल पुनः सुरु गर्दा खेल ४ ओभर घटाइयो र अमेरिकालाई ४६ ओभरमा १५७ रन बनाउने लक्ष्य दिइयो।

थप ७ रन बनाउन अमेरिकालाई कुनै समय लागेन। खेल आरामसँग अमेरिकाले जित्यो।

तर अवरुद्ध यो अवधिमा रनरेट भने नेपालको पक्षमा आइसकेको थियो।

लीगको अन्तिम परिणाम अनुसार पाँच खेलबाट अमेरिका, नेपाल र सिङ्गापुरको समान ८/८ अङ्क भयो। अनि रन रेट अनुसार अमेरिका पहिलो, नेपाल दोस्रो र सिङ्गापुर तेस्रो भयो।

नेपालको रनरेट १.३५ र सिङ्गापुरको १.३४ थियो। अन्तर ०.०१ मात्र रह्यो।

उक्त घटनालाई नेपाललाई भाग्यले होइन दर्शकले डिभिजन ४ पुर्‍याएको रूपमा चर्चा हुने गर्छ।

असन्तुष्ट सिङ्गापुरले यसलाई लिएर आईसीसीसँग अपिल नै गरेको थियो।

२. यूएईसँगको हार: जब १ रनले गुम्यो २ विश्वकप

मलेसियामा सम्पन्न सन् २०१८ को यू -१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग १ रनले पराजित हुँदा विश्वकपमा छनोट हुन असफल भयो।

उक्त हार खेलका कारण होइन, वर्षाका कारण भएको थियो। लगातार खेल जितेर लक्ष्यतिर अग्रसर दाबेदार नेपालको मुख्य प्रतिस्पर्धा यूएईसँग चलिरहेको थियो।

नेपालले पहिलो ब्याटिङ गर्दै २४७ रनको चुनौतीपूर्ण स्कोर बनायो।

नेपाली खेलाडी

तस्बिर स्रोत, ACC

तस्बिरको क्याप्शन, यूएईसँग १ रनले हार्दा नेपालले लगातार २ विश्वकपमा छनोट हुने अवसर गुमाएको थियो

नेपालका लागि हरि चौहान र भीम सार्कीले अर्धशतक हाने। चौहानले डेब्यू (राष्ट्रिय टीममा आफ्नो पहिलो) खेलमा नै अविजित ६३ रन बनाएर क्षमता देखाएका थिए।

तर जबाफमा आएको यूएई ३० ओभर खेल्दै ३ विकेटको क्षतिमा १२२ रन बनाइरहेको बेला वर्षाका कारण खेल अवरुद्ध हुन पुग्यो।

त्यसपछि खेल सञ्चालन हुन सकेन। खेल रोकिएको उक्त बेला गरिएको डीएलएस प्रणालीको आधारमा नेपाल १ रनले पराजित हुन पुग्यो।

सोही हारका कारण नेपाल उपविजेतामा सीमित भयो र सन् २०२० को यू १९ विश्वकपमा पुग्न असफल हुन पुग्यो।

त्यो हारको पीडा यतिमा नै सीमित भएन। कोरोनाभाइरसको प्रकोप कालमा अर्को छनोट प्रतियोगिता हुन नसकेपछि पूर्व विजेताको रूपमा आइसीसीले यूएईलाई नै सन् २०२२ को विश्वकपमा पनि सिधै छनोट गरेको थियो।

त्यो १ रनको हारले नेपालले २ विश्वकप गुमाउन पुग्यो।

३. नेदरल्यान्ड्सविरुद्ध 'डेब्यू' जितको 'क्लाइमेक्स'

यो चाहिँ जितको कथा हो।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)को मान्यता पाएपछि नेपालले पहिलो ओडीआई भ्रमण नेदरल्यान्ड्समा गरेको थियो।

दुईवटा खेलको एक दिवसीय शृङ्खलामा पहिलो खेलमा नेपाल हार्‍यो। तर दोस्रो खेल जित्दाको अन्तिम क्षण वा 'क्लाइमेक्स' भने बेग्लै थियो। त्यो नेपालको पहिलो एक दिवसीय जित थियो र जित पाएको थियो अन्तिम बलमा १ रनले।

कप्तान पारस खड्काले अन्तिम बलमा गरेको रन आउट खेलको क्लाइमेक्स थियो।

टस जितेर नेपालले पहिलो ब्याटिङ रोज्यो। सोमपाल कामीको ६१ रन र पारसको ५१ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनायो।

जबाफमा नेदरल्यान्ड्स वेस्ले वारसीको ७१ रनको मद्दतमा लक्ष्य पूरा गर्न क्रममा थियो। तर जे भयो अन्तिम ओभरमा भयो।

नेदरल्यान्ड्सलाई खेल जित्न अन्तिम ओभरमा ६ रन चाहिएको थियो र ९ विकेट झरिसकेको थियो। नेपाललाई भने जितको लागि १ विकेट झार्नु थियो।

अन्तिम ओभरमा पारसले नै बलिङको जिम्मा लिए। कसिकसाउ उक्त ओभरमा पारसले ५ बल फ्याल्दा ४ रन मात्र दिए। अब खेल जित्न नेदर्ल्यान्ड्सलाई अन्तिम बलमा २ रन चाहिएको थियो।

यस्तोमा क्रिजमा रहेका फ्रेड क्लासेन २ रनको लागि दौडिए। एक रन त उनले आरामले पार गरे।

तर दोस्रो रनको लागि दौडिँदा पारसले उनलाई रन आउट गरिदिए।

डच टोली १ रनले पराजित हुन पुग्यो।

पारसले स्टम्प नै उखालेर दौडिएको त्यो क्षण नै नेपालको पहिलो एक दिवसीय जित थियो।

४. दक्षिण अफ्रिका र गुलशन झा

जब-जब नेपालले बेहोरेको कडा हारको प्रसङ्ग उप्किन्छ, यो घटना नेपाली क्रिकेटको सामान्य जानकारी राख्नेले पनि सम्झिने गर्छन्।

गत वर्ष अमेरिका तथा वेस्ट इन्डिजमा सम्पन्न आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको हार त नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र चर्चित हारको रूपमा लिइन्छ।

गुलशन झाले नेपाललाई थुप्रै खेलमा जिताए होलान्, तर उनी त्यही रन आउट कै कारण बढी चर्चित भए।

क्रिजमा गुलशन झा र सोमपाल कामी

तस्बिर स्रोत, ICC via Getty

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकासँग गत वर्षको टी २० विश्वकपमा १ रनले पराजित भएको खेल नेपाली दर्शकले पीडाका साथ सम्झिने गर्छन्

वेस्ट इन्डिजको किङ्सटनमा खेलिएको लीगको उक्त खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो।

विश्वकप हेर्न जसरी अमेरिकामा नेपाली दर्शक झुम्मिएका थिए, किङ्सटनको रङ्गशाला पनि त्यसरी नै नेपाली दर्शकले भरिभराउ थियो।

आशिफ शेखले ४२ रन बनाएको उक्त खेलमा नेपालले गजबकै प्रदर्शन गर्‍यो। क्लाइमेक्स भने गुलशन झा र सोमपाल कामीको ब्याटिङमा पुगेर भएको थियो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन चाहिएको थियो र गुलशन झा क्रिजमा थिए।

उनले पूरै ६ बल खेले। पहिलो २ बल डट भयो। तर तेस्रो बलमा चौका र चौथो बलमा २ रन लिएपछि नेपाललाई अन्तिम २ बलमा जितको लागि २ रन चाहिने भयो।

पाँचौँ बल पनि डट भयो। अब अन्तिम बलमा २ रन चाहिने स्थिति बन्यो।

र, अन्तिम बलमा एक रन लिए बराबरी र २ रन लिए नेपाल विजयी हुने भयो।

तर अन्तिम रनका लागि दौडिएका गुलशन बीचमा अडिए जस्तो, अलमलिए जस्तो देखिए। त्यही मौकामा उनी रन आउटको सिकार हुन पुगे।

नेपाल १ रनले पराजित भयो।

उक्त हारबाट नेपाली समर्थक दु:खी भन्दा पनि चकित हुन पुगेको देखिएको थियो।

कतिपय समर्थकहरू भन्छन्, "नेपालसँग हारको खड्गो कटाइदिएको भए दक्षिण अफ्रिकाले विश्वकप जित्ने थियो।"

उही दक्षिण अफ्रिका फाइनलमा भारतसँग पराजित हुँदा विश्व विजेता बन्नबाट चुकेको थियो।

५. स्कटल्यान्डसँगको ताजा खेल

जारी आइसीसी विश्वकप लीग २ को स्कटल्यान्डसँगको दुवै खेल उत्कर्षमा पुगेर टुङ्गियो।

एक दिवसीय क्रिकेटमा यी दुवै खेलमा नेपालको बलियो स्वरूप देखियो।

पहिलो खेलमा जितका नायक करण केसी थिए भने दोस्रो खेलमा पनि उनैले त्यो अवसर पाएका थिए।

यसपालि भने परिणाम विपरीत हुन पुग्यो।

डण्डीमा जुन २ मा खेलिएको पहिलो खेलमा नेपालले स्कटल्यान्डले बनाएको २९६ रनलाई पछ्याउन सफल भयो।

अन्तिम ओभरको अन्तिम बलसम्म नेपाललाई जितको लागि १ रन चाहिएको थियो। खेलका नायक करण केसीले अविजित ६५ रन बनाएर नेपाललाई जिततिर लैजाँदै थिए।

तर अन्तिम रनका लागि दौडिँदा रिजन ढकाल रन आउट हुन पुगे। खेल बराबरी हुने भयो भनेर स्कटिस खेलाडी खुसी मनाउँदै थिए। यसै बेला अम्पायरले वाइड को इशारा गरेपछि जित नेपालको पोल्टामा आयो।

नेपाल र स्कटल्यान्डका खेलाडी

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, स्कटल्यान्डले खडा गरेको विशाल स्कोर पछ्याउँदै नेपाल जम्मा २ रनले हारेको थियो

जुन ८ मा खेलेको दोस्रो खेल पनि उस्तै थियो। तर यसपालि भने स्कटल्यान्डले बाजी मार्‍यो।

पहिलो ब्याटिङ गर्दै स्कटल्यान्डले ३२३ रन बनाएपछि नेपालले अहिलेसम्मको सर्वाधिक रन पछ्याउने चुनौती पाएको थियो।

नेपाल चुनौती नजिक पनि पुग्यो। अन्तिम ओभरमा खेल टुङ्ग्याउने धुनमा तेस्रो बलमा करण आउट भएपछि एकाएक स्कटल्यान्डतिर खेल ढल्किन पुग्यो।

अनि अन्तिम बलमा नेपाललाई जितको लागि ३ रन चाहिने भयो। क्रिजमा ललित राजवंशी थिए।

उनलाई साफयान सरिफले बोल्ड गरिदिएपछि नेपाल २ रनले जिल्लिनु पर्‍यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।