करण केसीको त्यो प्रहार, जसका कारण स्कटल्यान्डले भोग्नुपर्यो हार

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाल-स्कटल्यान्डबीच को विश्वकप लीग-२ को स्कटल्यान्डमा भएको खेलमा थुप्रै 'टर्निङ प्वाइन्ट' हरू देखिए।
अहिलेसम्मको उच्च रन पछ्याउने नेपालको कीर्तिमान बन्यो।
प्रशिक्षक स्टुअर्ट ल को नेपाली क्रिकेट टोलीको आधिकारिक 'डेब्यू' अर्थात् पहिलो खेल शानदार बन्यो।
स्कटल्यान्डको मैदानमा पुगेका नेपाली समर्थकहरूले बेजोडको खुसी मनाउन पाए।
सबैभन्दा महत्त्वपूर्ण, करण केसीको 'म्याच विनर' छवि फेरि ब्युँतियो।

तस्बिर स्रोत, CAN
उत्साहित केसीले भने, "ब्याटिङमा होस् वा बलिङमा, मेरो भूमिका 'फिनिशर' को हो। त्यो नगरे करण केसी के करण केसी? "
सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लको भनाइ पनि त्यस्तै छ। उनले भने, " हामीलाई करणमाथि विश्वास थियो। उनले आफू 'म्याच विनर' भएको फेरि एक पटक प्रमाणित गरे। हामी खुसी छौँ।"
नेपाली क्रिकेटमा करण केसी 'भ्यालेन्टाइन ब्वाई' को उपनामले चर्चित छन्।
नेपाली क्रिकेटलाई पछ्याउनेहरूलाई थाहा छ, सन् २०१८ को विश्वकप क्रिकेट लीग डिभिजन २ मा करणले क्यानडाविरुद्ध 'थ्रिलिङ इनिङ' खेल्दै नेपाललाई जित दिलाएका थिए।
त्यो फेब्रुअरी १४ को दिन थियो। करणले अन्तिम विकेटमा सन्दीप लामिछानेसँग मिलेर ३१ बलमा अविजित ४२ रन जोडेर त्यो 'अकल्पनीय' जित दिलाएका थिए।
त्यसै यता उनको उपनाम भ्यालेन्टाइन ब्वाई रहेको हो।
जसका कारण नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सकेको थियो।

तस्बिर स्रोत, CAN
खेल जिताउने वाइड
फेरि २०२२ फेब्रुअरी १४ कै दिन कीर्तिपुर क्रिकेट मैदानमा भएको विश्वकप लीग २ मा नामिवियाविरुद्ध उनले ५ विकेट लिएपछि समर्थक माझ उनको उपनाम अझै स्थापित हुन पुगेको थियो।
अहिले फेब्रुअरीको महिना त होइन, तर नेपालको खेल जिताउन प्रमुख भूमिका रहने उनको छवि भने फेरि एक पटक स्थापित हुन पुगेको छ।
स्कटल्यान्डले तेर्स्याएको २९७ रन पछ्याउनु नेपालका लागि सहज थिएन। नेपालले यति धेरै रन अहिलेसम्म पछ्याएको पनि थिएन। त्यसै पनि स्कटल्यान्डको फोर्टहिल क्रिकेट मैदानको पिच ब्याटिङको लागि गाह्रो मानिन्थ्यो।
जुन बेला करण मैदानमा प्रवेश गरे, त्यति बेला नेपालको स्थिति राम्रो थिएन। जितको लागि नेपाललाई १०० रन भन्दा बढी स्कोर गर्नु थियो।
यस्तोमा करण र गुलशन झा बीचको इनिङले खेल तान्यो। यी दुई बीचको ६० रनको साझेदारीले नेपाललाई आशा देखियो।
करण भन्छन्, "म मेरो लक्ष्यमा स्पष्ट थिएँ। खेल तान्दै लगे पछिल्लो पाँच ओभरमा खेल उल्ट्याउन सक्ने योजना गुलशन र मैले बनाएका थियौँ। खेल त्यसरी नै अगाडि बढ्दै गयो।"
४९ औँ ओभरमा करणले बनाएको १८ रन खेलको अर्को 'टर्निङ प्वाइन्ट' बन्यो। यसले अन्तिम ओभरमा ७ रन मात्र बनाउने सहज स्थितिमा नेपाललाई पुर्याएको थियो।
अन्तिम ओभरमा जे भयो, त्यो स्कटल्यान्डको मैदानमा देखिएको 'नङ टोक्ने' समय बन्यो।
त्यो बेला सन्दीप लामिछाने आउट भए, कुनै बल बाउन्ड्री पार भएन र दुई वाइड आयो। त्यसमा अन्तिम बल अगाडिको वाइडले नेपाललाई जित दिलायो।
रिजन ढकालले तेस्रो बलमा १ रन लिएपछि बल्ल स्ट्राइक पाएका करणले दुई बलमा ४ रन बटुलेका थिए।
त्यो बेला खेल बराबरी भइसकेको थियो। अब जितको लागि १ रन चाहिएको थियो र नेपालको हातमा पनि १ विकेट मात्र बाँकी थियो।
यस्तोमा करण विजयी रन लिन दौडिए। रिजन ढकाल त्यही बलमा रन आउट हुन पुगे। यता स्कटिश खेलाडीले रन आउटको खुसी मनाइरहँदा अम्पायरले वाइडको इशारा देखाए। अनि खुसी हुने पालो नेपालको भयो।
नेपाल एक विकेटले विजयी भयो।
दर्शकहरू खुसी मनाउन मैदानमा नै प्रवेश गरे। कतिपय दर्शक करणसँग अँगालो हाल्दै फोटो खिच्न थाले।

तस्बिर स्रोत, CAN
अझै कठिन
धेरै पछि नेपालले अन्तिम समयमा आएर यस्तो जित पाएको हो।
इतिहास हेर्ने हो भने नेपालले १ रनले १ विकेटले वा १ बल बाँकी हुँदा थुप्रै महत्त्वपूर्ण खेलहरू जितेको छ।
तर सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल नेपालले खेलमा अझै धेरै सुधार गर्न बाँकी रहेको बताउँछन्।
उनले भने, "महत्त्वपूर्ण २ अङ्क पाएकोमा हामी निकै खुसी छौँ। तर हामीले अझै पनि धेरै पक्षमा सुधार गर्न बाँकी छ। एक दिवसीयमा ५० औँ ओभरमा आएर यस्तो जित पाउनु भनेको सधैँ राम्रो कुरा होइन। हामी त्यसमा केन्द्रित हुनु छ।"
नेपालको लागि विश्वकप लीग-२ मा चुनौतीको पहाड अझै ठुलो छ, यो जितले नेपालको आगामी यात्राको लागि ठुलो बल भने दिएको छ।
लीग २ शृङ्खला अन्तर्गत नेपालले अब भोलि बुधवार नेदरल्यान्डसँग खेल्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








