क्रिकेट विश्वकप लीग २: राष्ट्रिय क्रिकेट टोलीसँग राम्रो नतिजा ल्याउनुको विकल्प छैन

नयाँ प्रशिक्षक स्टुअर्ट ल नेपाल राष्ट्रिय क्रिकेट टीम पुरुषका साथ

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, एक दिवसीय खेलमा आफ्नो मान्यता जोगाउन पनि नेपालले नतिजा राम्रो ल्याउनु पर्ने देखिएको छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

क्रिकेट विश्वकप लीग २ मा नेपालको अवस्था कमजोर मानिन्छ किनभने ८ राष्ट्र सम्मिलित ४ वर्षे चक्रको यो प्रतिस्पर्धामा नेपाल अहिले तालिकाको अन्तिम स्थानमा छ।

पहिलो स्थानको अमेरिका (२८ अङ्क ) र नेपाल बीचको अङ्क दूरी पनि २२ अङ्कको भइसक्यो। नेपालले लीग २ मा सबैभन्दा कम १२ खेल खेलेको छ र ६ अङ्क मात्र जोड्न सकेको छ।

त्यो मात्रै नेपालको राम्रो पक्ष हो। बाँकी विषयमा भन्नुपर्दा नेपालको आगामी यात्रा निकै चुनौतीपूर्ण देखिन्छ। शृङ्खलामा नेपालले केवल २ खेल जितेको छ।

यसै चुनौतीको सामना गर्न अहिले नेपाली टोली स्कटल्यान्डमा पुगेको छ, जहाँ टोलीले लीग २ को चौथो शृङ्खलामा स्कटल्यान्ड र नेदरल्यान्ड्स विरुद्ध २/२ खेल खेल्नेछ।

यो खेलको नतिजा नेपालको लागि निकै महत्त्वपूर्ण हुनेछ। किनकि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउन नेपालले कम्तीमा लिगको शीर्ष ५ भित्र पर्नुपर्छ।

नयाँ प्रशिक्षक र सोमपाल कामी

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, नयाँ प्रशिक्षक प्रशिक्षक स्टुअर्ट ल ले हालसालै आफ्नो जिम्मेदारी सम्हालेका हुन्

चुनौती कस्ता कस्ता

नेपालले सामना गर्न लागेको स्कटल्यान्ड र नेदरल्यान्ड्स दुवै लीगका बलिया टोली हुन्।

लीग तालिकामा अहिले नेदरल्यान्ड्स (२६ अङ्क) दोस्रो र स्कटल्यान्ड (२० अङ्क) चौथो स्थानमा छन्।

फेरि नेपाली टोलीले सात महिनापछि एक दिवसीय प्रतिस्पर्धा गर्न लागेको हो। बीचको धेरै समय नेपालले छोटो फर्म्याटको क्रिकेट खेलेर बितायो।

स्कटल्यान्डको घाँसे र बाउन्सी पिच नेपाली ब्याटरको लागि सदैव चुनौतीपूर्ण बन्दै आएको इतिहास छ।

स्कटल्यान्ड 'ए' सँग को पहिलो खेलमा १०२ रनले पराजित हुँदा खेलाडीहरूले चुनौतीको त्यो छनक देखिसकेका छन्।

त्यसमा पनि टोली ३० ओभर भित्रै अल आउट हुन पुग्नुलाई चिन्ताको रूपमा हेरिएको छ।

नेपाली टोली पहिलो पटक सम्हाल्दै गरेका प्रशिक्षक स्टुअर्ट ल को लागि समेत यो शृङ्खला चुनौतीपूर्ण हुनेछ। खेलाडीसँगै उनले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने थलो स्कटल्यान्डको मैदान हुनेछ।

नेपाली क्रिकेट खेलाडीहरू प्रशिक्षणमा व्यस्त

तस्बिर स्रोत, CAN

अवसर

यी चुनौतीका माझ नेपालको लागि स्कटल्यान्ड भ्रमणमा केही राम्रा पक्षहरू छन् जसबाट नेपाली टोलीले हौसला बटुल्न सक्छ।

पहिलो कुरा स्कटल्यान्डसँगको पछिल्लो चार खेलमा नेपालले ३ मा जित प्राप्त गर्न सफल भएको थियो। एक खेल वर्षाले रद्द भएको थियो।

अर्कोतर्फ स्कटल्यान्डका केही मुख्य खेलाडीहरू अहिले टीममा सामेल छैनन्।

प्रशिक्षक ल ले टोली निर्माणका बेला गरेका केही निर्णयले पनि खेलमा असर पर्नेछ।

एनपीएलका बेला अस्ट्रेलियाबाट नेपाल फर्केका तीव्र गतिका बलर नन्दन यादव टोलीमा समावेश भएका छन्। यसले नेपाली टोलीको बलिङमा ताजगी दिने क्रिकेट समर्थकको आशा छ।

कुशल मल्ल विनाको नेपाली टोलीले आफ्नो छवि अनुरूप हिम्मतिलो प्रदर्शन गर्नु पर्नेछ।

अभ्यासका बेला मध्य क्रमका ब्याटरहरूले आसलाग्दो प्रदर्शन गरेका छन्।

मुख्य विषय के हो भने खेलाडीहरूले लीग २ मा देशको अवस्था र यति बेला उनीहरूले खेल्नुपर्ने भूमिका बुझेका छन्।

ठ्याक्कै भन्नुपर्दा २०१८ -२२ को शृङ्खलामा नेपाल जुन कठिन मोडमा थियो अहिले स्थिति उस्तै देखिएको छ।

यस्तोमा गत संस्करणमा प्रशिक्षक मोन्टी देशाईको आगमन भएको थियो भने अहिले ल आइपुगेका छन्।

विगतमा झैँ स्थिति सुधार्ने हो भने नेपालले यसै शृङ्खलाबाट 'कम ब्याक' गर्ने नतिजा निकाल्नु जरुरी देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।