वर्षाले बिथोल्यो युवा नेपाली क्रिकेटको विश्वकप यात्रा

मूलपानी क्रिकेट मैदान
तस्बिरको क्याप्शन, बिहानैदेखि वर्षा हुँदा तल्लो मूलपानी मैदानको 'आउट फिल्ड' नराम्ररी भिज्न पुग्यो
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

शनिवार बिहानैदेखि मूलपानी क्रिकेट मैदान वर्षाले बिथोलेपछि नेपालको १९ वर्ष मुनिको युवा क्रिकेट टोली आईसीसी यू-१९ विश्वकपमा पुग्नबाट वञ्चित हुन पुगेको छ।

दिउँसो २ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द हुन पुगेको थियो।

काठमान्डूको मूलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको यू-१९ विश्वकपको एसिया छनोटमा शनिवार नेपाल र अफगानिस्तान बीच लिगको निर्णायक खेल हुँदै थियो।

उक्त खेल जित्ने टोलीले आगामी वर्ष ज्यानुअरी- फेब्रुअरीमा जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपमा छनोट हुन पाउने थियो।

र, यदि खेल सुरु हुन नसके रन रेटको आधारमा अफगानिस्तानले विश्वकपमा स्थान बनाउने थियो।

शनिवार बिहानैदेखि वर्षा हुँदा तल्लो मूलपानी मैदानको 'आउट फिल्ड' नराम्ररी भिज्न पुग्यो।

पिच कभर गरिए पनि बाउन्ड्री लाइनमा धेरै पानी जमेको देखिएको थियो।

११ बजेपछि पानी पर्न बन्द हुँदा आउट फिल्ड सुकाउन निकै मेहनत गरिएको थियो। तर पिच कभर हटाउने अवस्था भने बनेन।

नेपाल-अफगानिस्तान दुवै टोलीको समान ७ अङ्क भएको छ। तर अफगानिस्तानको रन रेट ४.८१ छ भने नेपालको रन रेट ३.५७ छ।

यस्तोमा अफगानिस्तान भाग्यमानी साबित भयो र विश्वकपको लागि छनोट भयो।

वर्षाका बेला पनि मूलपानी पुगेका दर्शक निराश भए।

नवौँ यात्रामा अवरोध

११ बजे पानी पर्न रोकिएपछि आउट फिल्ड सुकाउन निकै मेहनत गरिएको थियो

आठ पटक यू-१९ विश्वकप खेलिसकेको युवा टोली नेपाली क्रिकेटको सफल टोलीको रूपमा स्थापित छ।

पारस खड्काको समयमा नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। त्यसपछि भने रोकिँदै नेपाल सन् २०१२ र २०१६ को विश्वकपमा पुग्यो।

त्यसपछि युवा टोली आठ वर्ष यू-१९ विश्वकपमा पुग्न सकेन। पछिल्लो पटक नेपालले सन् २०२४ को विश्वकप खेलको थियो।

बदला

अघिल्लो संस्करणको विश्वकपको पहिलो चरणमा नेपालले अफगानिस्तानलाई एक रोचक भिडन्तमा १ विकेटले पराजित गरेको थियो।

कप्तान देव खनालको ५८ रन तथा आकाश चन्दको ५ विकेटको मद्दतमा नेपालले अफगानिस्तानले बनाएको १४५ रनको स्कोर पछ्याउन सफल भएको थियो।

उक्त हारले अफगानिस्तानको टोली विश्वकपमा अगाडि बढ्ने बाटो बन्द भयो नै, साथै उक्त हारका कारण टोलीले यो वर्ष क्वालिफायर खेल्न पनि बाध्य बनेको थियो।

नत्र टेस्ट राष्ट्र अफगानिस्तान सिधै विश्वकपमा खेल्ने गरेको थियो।

यस अर्थमा अफगानिस्तानले यसपालि नेपाललाई छनोट चरणमै रोकेर नेपालसँग बदला लिन सफल भयो।

लिग चरणमा के भएको थियो

नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान गरी पाँच राष्ट्रबीच राउन्ड रोविन लिगको आधारमा विश्वकपको एसिया छनोट प्रतिस्पर्धा भएको हो।

जसमा नेपाल र अफगानिस्तान दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरी समान ६ अङ्क बटुलेको थियो।

निर्णायक खेल नेपाल र अफगानिस्तानबीच हुने पूर्वानुमान गरिएको थियो। यस्तोमा केही विषम परिस्थितिमा खेल नभएमा रन रेटको महत्त्व हुने दुवै टोलीले बुझेको थियो।

नेपालले युएई विरुद्धको वर्षाले प्रभावित पहिलो खेल 'डिएल' को आधारमा जितेको थियो। तर त्यही युएईलाई अफगानिस्तानले फराकिलो अन्तरले पराजित गरी रन रेटमा अग्रता बनाएको थियो।

अफगानिस्तानविरुद्ध नेपाल

पिच कभर गरिए पनि बाउन्ड्री लाइनमा धेरै पानी जमेको देखिएको थियो

नेपाली हावापानी बुझ्न अफगानिस्तानको टोली पहिले नै काठमान्डू आएको थियो र उसले नेपालसँग तीन वटा मैत्रीपूर्ण शृङ्खला खेलेको थियो।

जसमा अफगानिस्तानले लगातार दुई खेल जित्दा नेपालले तेस्रो एउटा खेलमा जित हात पारेको थियो।

टेस्ट राष्ट्र अफगानिस्तान र नेपालबीचको खेलमा भने अफगानिस्तान अगाडि रहँदै आएको छ।

यी दुई टोलीबीच १९ पटक आमने सामने हुँदा १२ खेल अफगानिस्तानको पक्षमा गएको छ भने नेपालले ७ खेलमा जित पाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।