विश्वकप लीग २ मा नेपालको अबको बाटो

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोली

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, नेपालले स्कटल्यान्डमा हालै खेलेका दुई खेलपछि टोलीमा ऊर्जा थपिएको विश्लेषण गरिएको छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

आइसीसी विश्वकप लीग २ प्रतियोगितालाई नेपाली क्रिकेटको 'लाइफलाइन' भन्दा पनि फरक पर्दैन।

लीग २ ले नेपाललाई एकदिवसीय विश्वकपको यात्रातिर लम्काउने मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने काम गर्छ।

त्योभन्दा महत्त्वपूर्ण कुरा, यसले टोलीलाई नियमित अन्तर्राष्ट्रिय अनुभव दिएको छ, खेलाडीलाई बलिया टोलीसँग निरन्तर खेल्ने अवसर दिएको छ र आईसीसीको आर्थिक सहयोग बढाउने आधार पनि दिएको छ।

यति विशेष प्रतियोगिताको २०२३-२०२७ को शृङ्खलामा नेपालको अवस्था अहिले के खराब बनिरहेको हो? के नेपालको 'ओडीआई' मान्यता खतरामा छ?

क्रिकेट विश्लेषकहरू भन्छन्, "अत्यन्त खराब स्थिति भनिहाल्न मिल्दैन, तर नेपालको वर्तमान अवस्था राम्रो भने पक्कै होइन।"

थपिएको ऊर्जा

अभ्यास गर्दै नेपाली क्रिकेट टोली

क्रिकेट समर्थकहरूलाई याद छ सन् २०१८ मा करण केसी र सन्दीप लामिछानेले ओडीआई मान्यता पाउन कसरी अविजित इनिङ्स खेलेका थिए।

अनि गत २०१८-२०२३ को शृङ्खलामा १२ मध्येको ११ खेल जितेर कसरी नेपाली टोलीले ओडीआई जोगाउन चमत्कार गरेको थियो।

जारी सिजनको तीन शृङ्खला खेल्दासम्म नेपाल तालिकाको पुछारमा रहँदा क्रिकेट समर्थकहरू चिन्तित हुनु स्वाभाविक नै हो।

लीग २ शृङ्खलाअन्तर्गत सन् २०२४ मा नेपालले खेलेका १२ खेलमा मात्र ६ अङ्क बटुल्दा पुछारमा रहन पुगेको थियो।

यस्तोमा स्कटल्यान्डमा अहिले जारी लीग २ को चौथो शृङ्खलामा पाएको लगातार दुई जितले टोलीमा सकारात्मक ऊर्जा थपिएको छ।

जारी शृङ्खलामा नेपालले अब आगामी आइतवार (जेठ २५ गते) स्कटल्यान्ड र मङ्गलवार (जेठ २७ गते) नेदरल्यान्ड्ससँग दुई खेल खेल्न बाँकी छ।

यसमा सकारात्मक नतिजा आए नेपालको आगामी यात्रामा थप बल पुग्ने निश्चित छ।

लीग २ को यात्रा कस्तो

स्कटल्यान्डमा नेपाली क्रिकेटका फ्यानहरू

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, स्कटल्यान्डमा जारी खेलहरूमा पनि नेपाली क्रिकेट प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको छ

विश्वकप लीग २ आईसीसीले असोसिएट राष्ट्रको क्रिकेट संरचनालाई बलियो बनाउन सन् २०१८ बाट सुरु गरेको क्रिकेट योजना हो।

यसमा टेस्टराष्ट्रबाहेक असोसिएट समूहका ८ बलिया राष्ट्रहरू समावेश छन्। तिनीहरू अमेरिका, नेदरल्यान्ड्स , ओमान, स्कटल्यान्ड, क्यानडा, नामिबिया, नेपाल र यूएई हुन्।

प्रत्येक राष्ट्रले तीन वर्षभित्र ३६ एकदिवसीय खेल खेल्ने प्रावधान रहेकोले यसले सहभागी राष्ट्रको क्रिकेट स्तर वृद्धि गर्न निकै मद्दत पुगेको देखिएको छ।

प्रतियोगिताको शृङ्खलाको कुरा गरौँ।

यसमा प्रत्येक राष्ट्रले नौ शृङ्खला खेल्ने छ। प्रत्येक शृङ्खलामा ३ टोली हुने छन् र एक राष्ट्रले चार खेल खेल्ने छन्। यसो गर्दा नौ शृङ्खलामा ३६ खेल पुग्ने छ।

आईसीसीले वर्षमा एउटा टोलीको भागमा तीन शृङ्खला (एक होम, दुई अवे) छुट्टाएको छ। अर्थात् एक देशले वर्षमा १२ वटा ओडीआई खेल्ने छ।

गत २०१८-२०२३ को शृङ्खलामा सात टोली थिए। यसपालि नेदरल्यान्ड्स थपिएपछि टोलीको सङ्ख्या आठ पुगेको हो।

तर आईसीसीले खेलको सङ्ख्या भने ३६ नै राखेको छ। यसो गरिँदा एउटा टोलीको एउटा देशको भ्रमण काटिने छ।

नेपालको हकमा नेपाल नामिबियामा जाने छैन भने क्यानडा नेपाल आउने छैन।

विश्वकप छनोट र ओडीआई बचाउ

करण केसी र नेपाली टोलीका अन्य सदस्य

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, सन् २०१८ मा नेपालको ओडीआई मान्यता बचाउन उल्लेख्य योगदान दिएका करण केसीले यो शृङ्खलामा पनि उत्साहजनक प्रदर्शन गरिरहेका छन्

सन् २०२६ को डिसेम्बरसम्म कुल १४४ खेल सकिएपछि आठमध्येका शीर्ष चार टोलीले २०२७ को विश्वकप छनोटमा सीधा प्रवेश गर्ने छन् भने ओडीआई मान्यता पनि जोगाउने छन्।

शीर्ष चारमा पर्न नसक्ने टोली सँग एउटा विकल्प बाँकी रहने छ। उनीहरूले 'विश्वकप क्वालिफायर प्लेअफ' खेल्नुपर्ने छ।

प्लेअफमा आठ टोली हुने छन्। 'विश्वकप च्यालेन्ज लीग' का शीर्ष चार टोली र लीग २ बाट झरेका चार टोलीबीच प्रतिस्पर्धा हुने छ।

त्यसमा शीर्ष चारमा स्थान बनाउन सक्ने टोलीले पनि ओडीआई मान्यता प्राप्त गर्ने छ भने विश्वकप छनोटमा पनि स्थान बनाउने छन्।

नेपाल अहिले सातौँ स्थानमा रहे पनि सहभागी आठ राष्ट्रमा सबैभन्दा कम खेल नेपालले खेलेको हुनाले बाँकी खेलमा अङ्क बटुल्ने धेरै अवसर नेपाली टोलीसँग छ।

अबका शृङ्खलाहरू कहाँकहाँ

सन् २०२५ मा नेपालले खेलिरहेको यो पहिलो शृङ्खला हो।

अब नेपाली टोलीले अक्टोबरमा यूएई र अमेरिकासमेत सम्मिलित प्रतियोगिता यूएईमा खेल्ने छ भने नोभेम्बरमा ओमान र यूएईलाई नेपालमा निम्त्याउने छ।

१. अक्टोबर २०२५: अक्टोबर यूएई, नेपाल र अमेरिका (आयोजक यूएई)

२. नोभेम्बर २०२५: नेपाल,ओमान र यूएई ( आयोजक नेपाल)

सन् २०२६ मा एक 'होम' र दुई 'अवे' खेलेपछि नेपालको शृङ्खला पूरा हुने छ।

त्यसमा सुरुमा नेपालका खेलाडीले अक्टोबरमा नेदरल्यान्ड्सको भ्रमण गर्ने छन्। त्यहाँ तेस्रो टोलीको रूपमा नामिबिया जोडिने छ।

अक्टोबरमा नेपालले ओमानमा गएर खेल्ने छ, जहाँ क्यानडा तेस्रो टोलीको रूपमा हुने छ।

अन्तिम शृङ्खला भने नेपालमा हुने छ। नोभेम्बरमा हुने खेलमा नेपालले स्कटल्यान्ड र अमेरिकालाई घरेलु भूमिमा स्वागत गर्ने छ।

१. अगस्ट २०२६: नेदरल्यान्‍ड्स,नेपाल र नामिबिया (आयोजक नेदरल्यान्ड्स)

२.अक्टोबर २०२६: ओमान,नेपाल-क्यानडा (आयोजक ओमान)

३. नोभेम्बर २०२६: नेपाल,स्कटल्यान्ड र अमेरिका ( आयोजक नेपाल)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।