नेपालको टी-२० विश्वकप खेल्ने बाटो कस्तो ?

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
सन् २०१४ को टी-२० विश्वकप खेलेपछि नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई अर्को विश्वकप खेल्न १० वर्ष लाग्यो।
यति लामो समय किन? नेपाली क्रिकेट टोलीको आरोह अवरोहमा उठेको यो प्रश्नमा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले भनेका थिए- अब भने यति लामो समय लाग्ने छैन।
यसै स्वरूप गत वर्षको अमेरिका - वेस्ट इन्डिज विश्वकपपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले अर्को विश्वकप खेल्ने यात्रामा केन्द्रित रहेर तीव्र तयारी गरेको देखियो।
ओमानमा तीन हप्तापछि विश्वकप छनोटको अन्तिम प्रतिस्पर्धा स्वरूप 'एसिया प्यासिफिक छनोट' प्रतियोगिता हुँदै छ।
त्यसनिम्ति गरिएको बिदाइ समारोहमा नेपाली कप्तान रोहित पौडेलले प्रतिबद्धता दोहोर्याउँदै भने, "हाम्रो एउटै उद्देश्य भनेको विश्वकप खेल्नु हो र यसका लागि हामी तयार छौँ।"
विश्वकप यात्राको बाटो कस्तो
ओमानमा हुने विश्वकप छनोटको शीर्ष ३ भित्र पर्न सके नेपाल अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेको टी २० विश्वकपमा छनोट हुने छ।
विश्वकपमा २० टोलीले सहभागिता जनाउने छन्। जसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले इस्ट एसिया र एसियाको लागि ३ वटा कोटा छुट्याएको छ।
गत वर्ष अमेरिका-वेस्ट इन्डिजमा आयोजना भएको विश्वकपको सुपर ८ मा पुग्न सकेको भए नेपाल सिधै विश्वकपमा छानिने थियो।
प्रशंसनीय प्रदर्शन गरे पनि नेपाल माथिल्लो चरणमा उक्लिन सकेन। यद्यपि विश्वकप खेलेको हैसियतले नेपाल, ओमान र पपुवा न्युगिनीले एसिया प्यासिफिक क्षेत्रीय छनोटमा भने सिधै प्रवेश पाए।
एसिया प्यासिफिक क्षेत्रीय छनोट आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने छ।
प्रतियोगितामा कुल ९ राष्ट्र सहभागी छन्। जसमा ६ राष्ट्रहरू यूएई, जापान, कुवेत, मलेसिया, समोआ र कतार छनोट चरण पार गरेर आएका हुन्।
यी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। जसमा नेपाल रहेको समूह 'बी' मा जापान र कुवेत छन्। त्यस्तै समूह 'ए' मा युएई, मलेसिया र कतार तथा समूह 'सी' मा ओमान, पपुवा न्युगिनी र समोआ रहेका छन् ।
तीन वटै समूहका शीर्ष २ टोली सुपर सिक्समा पुग्ने छन् । अनि ६ टोलीबीच राउन्ड रोविन लीग प्रतिस्पर्धा भएपछि शीर्ष ३ मा रहने टोलीले विश्वकप प्रवेश पाउने छन्।
क्रिकेट विश्लेषकहरूका अनुसार तुलनात्मक रूपमा यसपालि नेपाललाई विश्वकप पुग्न सहज देखिन्छ।
सतर्क टोली

तर राष्ट्रिय टोलीका सिनियर खेलाडी सोमपाल कामी भने सतर्क छन्।
बिदाइ समारोहमा उनले भने, "टी २० मा कुनै एक खेलाडी वा कुनै १ ओभरमा बाजी पल्टिन सक्ने कुरामा हामी सचेत छौँ।"
नेपालले विगतमा यस्तो झट्का धेरै पटक खाइसकेको छ। अमेरिका-वेस्ट इन्डिज विश्वकप खेलेर फर्किएको नेपाली टोली एसिया कपमा छनोट हुन असफल मात्र भएन, हङकङसँग पराजित हुन पुग्दा एसीसी इमर्जिङ कप समेत गुमाउनु परेको थियो।
यद्यपि कुनै उथलपुथलपूर्ण नतिजा नआएको खण्डमा सुपर सिक्समा ओमान, यूएई, कुवेत, पपुवा न्युगिनी जस्ता टोलीबीच नै भेट हुने देखिन्छ।
यस्तोमा विश्वकपको लागि लामो समयदेखि तयारी गर्दै आएको नेपाल शीर्ष ३ भित्र रहने कतिपयको अनुमान छ।
सोमपाल कामी पनि भन्छन्, "हामी शीर्ष ३ मा हुनेछौँ र अहिले विषम परिस्थितिबाट गुज्रिरहेका नेपालीमाझ खुसी बाँड्न चाहन्छौँ।"
बलियो तयारी
विश्वकपको अन्तिम तयारी स्वरूप नेपाल अहिले वेस्ट इन्डिजसँग तीन वटा टी २० खेल खेल्न युएईमा जान लागेको छ।
युनिटी कप नाम दिइएको उक्त प्रतिस्पर्धा यही सेप्टेम्बर २७, २९ र ३० मा हुने छ।
सो प्रतिस्पर्धाको खास विशेषता के हो भने पहिलो पटक नेपालले कुनै टेस्ट राष्ट्रसँग अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ। वेस्ट इन्डिज जस्तो बलियो टोलीसँग खेल्दा विश्वकप छनोट अगाडि नेपाली खेलाडीहरूको मनोबल उच्च हुने नेपाल क्रिकेट सङ्घको विश्वास छ।
वेस्ट इन्डिजको खेलपछि युएई बाटै टोली ओमान जानेछ। त्यहाँ पनि नेपालले दुई अभ्यास खेल्ने तालिका छ।
टी २० विश्वकप केन्द्रित रहेर क्यानले लामो तयारी गरेको थियो।
गत एप्रिलमा नेपालले हङकङमा गएर चार देशीय शृङ्खला खेल्यो। स्कटल्यान्डमा विश्वकप लीग -२ को खेल सकिएपछि नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग टी २० शृङ्खला खेलेको थियो।
भदौ महिनामा नेपालले अस्ट्रेलियामा गएर टप एन्ड टी–२० शृङ्खला खेल्यो। नेपालसहित चार राष्ट्रका टोली र अस्ट्रेलियाको बिग ब्यास लीगका एकेडेमी टोलीहरू सम्मिलित उक्त शृङ्खलामा टोलीले ६ खेल खेलेको थियो।
युरोपदेखि अस्ट्रेलिया र यूएईसम्म तथा पाकिस्तान 'ए' देखि बिग ब्यास टोली र वेस्ट इन्डिजसँगको खेलको अनुभव नेपालको लागि महत्त्वपूर्ण हुने देखिन्छ।
२०२६ को टी–२० विश्वकपका २० टोली
सोझै छनोट भएका टोलीहरू :
आयोजक: भारत र श्रीलङ्का
विश्वकप २०२४ का शीर्ष ७ टोलीहरू:
अफगानिस्तान, अस्ट्रेलिया, बाङ्ग्लादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज
सन् २०२४ को जुन ३० सम्म टी–२० आई वरियतामा माथि रहेको आधारमा:
आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान
क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने राष्ट्रहरू
युरोप छनोटबाट:२ (इटली र नेदरल्यान्ड्स)
एसिया प्यासिफिक छनोटबाट : ३ (बाँकी)
अमेरिका छनोटबाट : १ (क्यानडा)
अफ्रिका छनोटबाट : २ (बाँकी)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








