नेपाल क्रिकेट: अविस्मरणीय बन्यो नेपालको १०० औँ टी२० खेल

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
निर्धारित २० ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १५२ रन जोड्यो। जबाफमा नेपालले पनि ८ विकेट गुमाएर १५२ रन बनायो। खेल बराबरी भएपछि छिनोफानो गर्न सुपर ओभर भयो।
पहिलो सुपर ओभरमा नेपालले एक विकेटको क्षतिमा १९ रन बनायो। अनि नेदरल्यान्ड्सले पनि विना विकेटको क्षतिमा १९ रन नै बनायो। खेल फेरि बराबर।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १ विकेट गुमाएर १७ रन बनायो। नेपालले विना विकेटको क्षतिमा १७ रन नै बनायो। फेरि पनि खेल बराबर।
तेस्रो सुपर ओभरमा चाहिँ नेपालले दुई विकेट गुमायो तर एक रन पनि जोड्न सकेन। नेदर्ल्यान्ड्सले सुरुकै बलमा छक्का हानेर खेल जित्यो।
यस्तो नतिजा खेलमा विरलै मात्र हुने गर्छ।
विशेष खेल बन्यो अविस्मरणीय
११ वर्षको समय लगाएर १०० औँ टी२० खेलिरहेकोले नेपालको लागि नेदरल्यान्ड्ससँगको खेल त्यसै पनि विशेष थियो।
त्यसमाथि स्कटल्यान्डको ग्लास्गोमा सोमवार राति खेलिएको खेलमा यस्तो 'ड्रामा' भयो की त्यसले टी-२० क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बन्यो नै, नेपालको सयौं खेललाई पनि गजबले 'अविस्मरणीय' बनाइदियो।
नियमित खेल बराबरी, त्यसपछिको एउटा होइन दुईवटा सुपर ओभर पनि बराबरी भएपछि तेस्रो सुपर ओभरमा गएर बल्ल खेलको निर्णय भयो।
पुरुष विश्व क्रिकेटको व्यावसायिक खेल इतिहासमा यसअघि त्यस्तो कहिल्यै भएको थिएन।
न त लिस्ट 'ए' खेलमा न त टी-२० मा नै।
नेपालको खेल हेर्न ग्लास्गोस्थित क्रिकेट मैदानमा पुगेका नेपाली समर्थकहरूले एक रोमाञ्चक खेलको अनुभूति लिन पाए।
यो रोमाञ्चमा एउटै विषय मात्र नेपालको पक्षमा भएन। खेल नेपालले हार्यो।
हारका 'क्लाइमेक्स'हरू

तस्बिर स्रोत, CAN
टस हारेर पहिलो ब्याटिङ पाएको नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनायो।
उक्त रन पछ्याएको नेपाल एक समय हारको सँघारमा पुगिसकेको थियो।
तर अन्तिम ओभरमा नन्दन यादव र सन्दीप लामिछाने मिलेर १५ रन बनाएपछि खेल टाइ हुन पुग्यो।
नन्दनले अन्तिम बलमा चौका प्रहार गरेपछि नेपालको नियमित खेलको हार टरेको थियो।
दुई सुपर ओभर
पहिलो सुपर ओभरमा कुशल भुर्तेलको १८ रनको मद्दतमा नेपालले १९ रन बनाउँदा खेल नेपालको पक्षमा ढल्किएको थियो।
तर हारको नजिक पुगेको बेला खेल बराबरी गर्न २ बलमा १० रन चाहिएको बेला नेदरल्यान्ड्सका म्याक्स ओ' डउडले पाँचौँ र छैटौँ बलमा छक्का र चौका हानेपछि खेल दोस्रो सुपर ओभरतिर धकेलियो।
दोस्रो सुपर ओभरमा बलिङ गर्न आएका ललितनारायण राजवंशीले नेदरल्यान्ड्सलाई १७ रनमा रोके। यति बेला भने दीपेन्द्रसिंह ऐरीले नेपाललाई 'रेस्क्यु' गरे।
अन्तिम बलमा छक्का ठोकेपछि नेपालको स्कोर पनि १७ पुगेको थियो।
बिर्सन लायक तेस्रो सुपर ओभर
यति बेला भने अचम्मै भयो भन्दा फरक पर्दैन।
पहिलो ब्याटिङ गर्न आएको नेपालले १ रन पनि जोड्न सकेन।
कप्तान रोहित पौडेल पहिलो बलमा क्याच आउट हुन पुगे।
त्यसपछि राष्ट्रिय टोलीबाट पहिलोपटक खेलिरहेका रुपेश सिंह ब्याटिङका लागि आए।
उनले दोस्रो र तेस्रो बल छुनै सकेनन्। चौथो बलमा बोल्ड आउट भएपछि नेपाल खाता नै नखोली फर्कियो।
जितको लागि १ रन मात्र चाहिने औपचारिकतालाई माइकल लेभिटले छक्का हान्दै पूरा गरिदिए।
निर्णायक क्षणमा यस्तो कसिकसाउ बलिङ गर्न सफल नेदरल्यान्ड्सका ज्याट लियोन क्याचेट खेलको प्लेयर अफ द म्याच बन्न सफल भए।
यो खेलले विश्व क्रिकेटको ध्यान आकृष्ट गरेको छ।
नेपालको लागि विशेष मानिएको खेलमा दुई खेलाडी रुपेश सिंह र किरण ठगुन्नाले राष्ट्रिय टीममा डेब्यू (राष्ट्रिय टोलीमा पहिलो खेल) गरेका छन्।
नेपाली क्रिकेटका विशेष खेलहरूको चर्चा गर्दा यो खेलको प्रसङ्ग सधैँ आउने छ।
आइसीसी विश्वकप लीग-२ को शृङ्खला सकिएपछि टी-२० त्रिकोणात्मक शृङ्खला खेलिरहेको नेपालले मङ्गलवार दोस्रो खेल स्कटल्यान्डसँग खेल्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








