अस्ट्रेलिया जान लागेका तर विमानस्थलबाटै फर्केका नन्दन यादवको क्रिकेट यात्रा

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
कसैकसैको वास्तविक जीवन पनि चलचित्रको कथाजस्तै लाग्छ। नेपाली युवा खेलाडी नन्दन यादवको क्रिकेट यात्रा लगभग त्यस्तै लाग्छ।
एकातिर राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने सपना तर त्यसको अनिश्चितता, अर्कोतिर सुखद भविष्यको लक्ष्यसहित विदेशको जीवन। यही द्विविधामा नन्दन केही समय अलमलिए।
दोमनको यो स्थितिमा कतिपय खेलाडीले जस्तै उनले पनि दोस्रो विकल्प रोज्दै अस्ट्रेलिया उड्ने निर्णय गरे।
अस्ट्रेलिया जाने टिकट काटेपछि उनी काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे अनि बोर्डिङ पास लिएर भित्र पनि छिरे।
तर उनलाई दोमन भइरहेको थियो। फर्किऊँ फर्किऊँ जस्तो उनलाई लागिरहेको थियो।
त्यही बेला नन्दनकी आमाले फोन गरिन्। फोनमा उनी रोइन्। बोर्डिङ पास च्यात्दै नन्दन राष्ट्रिय टोलीमा स्थापित हुने सङ्कल्पसहित विमानस्थलबाट फर्किए। एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले राष्ट्रिय टोलीमा पुगेर आफू "त्यसै नहराउने" बताएका थिए।
उनै नन्दनले गत मङ्गलवार नेदरल्यान्ड्सविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू (राष्ट्रिय टोलीमा पहिलो खेल) गरे अनि तीन विकेट लिँदै नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
निर्णायक मोड
नन्दनको पछिल्लो द्विविधाको उत्कर्ष बुझ्न नेपालमा सम्पन्न पहिलो नेपाल प्रिमिअर लीग एनपीएलतर्फ फर्केर हेर्नुपर्छ।
उनी अस्ट्रेलियामा नै क्रिकेट खेलिरहेका थिए। नेपाली क्रिकेट मोह भने अलिकति पनि घटेको थिएन।
त्यसैले उनले एनपीएलको लिलाम बढाबढमा नाम लेखाए। उनलाई कर्णाली याक्स र चितवन राइनोजले लिन खोजेका थिए। अन्ततः ११ लाख रुपैयाँमा कर्णाली याक्सले उनलाई आफ्नो टीममा लियो।
एनपीएल खेल्न नेपाल फर्किएका नन्दनको यो आगमन अन्ततः उनी सधैँका लागि नेपालमै बस्ने आधार बन्यो।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा उनले पुनरागमनको मौका पाउन सक्ने चर्चा फेरि चुलियो।
एनपीएल खेलेर अस्ट्रेलिया फर्किने योजनामा रहेका नन्दनले आफ्नो नेपाल बसाइ लम्ब्याए र जय ट्रफी दुई दिवसीय क्रिकेट खेल्नतिर लागे।
अब भने अस्ट्रेलिया फर्किने समय आइसकेको थियो। उनी विमानस्थलसम्म त पुगे। तर आफ्नो नेपालै बसौँ कि भन्ने मन र आमाको रोदनपूर्ण मायापछि उनले अरू सोच्न परेन।

तस्बिर स्रोत, CAN
क्रिकेट यात्रा
सिरहाको लहानमा जन्मेका नन्दन यादव छरितो रूपमा उदाएका खेलाडी हुन्।
सानो उमेरदेखि क्रिकेटमा रमाएका उनी सन् २०१४ को टी२० विश्वकपमा सोमपाल कामीको तीव्र गतिको बलिङबाट प्रभावित भएर बलर बन्ने सपना बुनेको बताउँछन्।
उच्च शिक्षाका लागि काठमाण्डू आएका उनी केसीटीसीमा क्रिकेट खेल्न पुगे, जहाँ ज्ञानेन्द्र मल्लको प्रशिक्षण पाएपछि उनको कला तिखारियो।
सन् २०१६ मा एभरेस्ट प्रिमिअर लीगबाट खेल्न थालेका उनले डीपीएल पीपीएल हुँदै देशमा हुने सबै खाले प्रतियोगितामा खेले।
सन् २०१६ मै उनी श्रीलङ्कामा भएको यू१९ एशिया कपमा राष्ट्रिय टोलीमा उनले प्रवेश पाए। तर राष्ट्रिय टोलीमा प्रवेश पाउन भने उनले निकै सङ्घर्ष गर्नुपर्यो।
सोमपाल र करणको छाया

राष्ट्रिय टोलीमा सोमपाल कामी र करण केसीजस्ता स्थापित बलिङ अलराउन्डर थिए।
तसर्थ नन्दन र किशोर महतोजस्ता युवा प्रतिभाहरूलाई पालो पर्खिनुको विकल्प थिएन।
तर नन्दनले हार मानेनन्। छ वर्ष नियमित सङ्घर्ष गरेपछि सन् २०२२ मा बल्ल नन्दनका लागि राष्ट्रिय टोलीको ढोका खुल्यो।
सन् २०२२ मा नेपालको नामिबिया भ्रमणमा उनी राष्ट्रिय टोलीमा समेटिँदै नामिबिया पुगे। तर दुर्भाग्यवश त्यहाँ उनले मैदानमा प्रवेश गर्ने मौका भने पाएनन्।
त्यति बेला समकालीन थुप्रै साथीहरू अस्ट्रेलियालाई गन्तव्य बनाइरहेका थिए।
राष्ट्रिय टोलीमा खेल्ने सम्भावना कम देखेर हो कि के हो उनी पनि त्यसकै पछि लाग्दै अस्ट्रेलिया पुगे।
अस्ट्रेलियामा पनि उनी क्रिकेट खेल्नमा नै व्यस्त भए। अझ भनौँ नयाँ ठाउँमा उनको क्रिकेट कला झन् तिखारिन पुग्यो।
क्रिकेट छोड्ने उनको मनसाय पटक्कै थिएन। त्यसैले एनपीएल हुने भएपछि उनले आफ्नो नाम लेखाउन पुगे।
उत्कृष्ट विकल्प
नेपालमा नै बस्ने निर्णय गरेसँगै राष्ट्रिय टोलीमा उनका लागि फेरि ढोका खुल्यो।
दुई महिनाअगाडि हङकङमा आयोजित चारदेशीय टी२० आईमा नन्दनलाई राष्ट्रिय टोलीमा बोलाइयो।
त्यहाँ कतारविरुद्ध खेल्दै उनले टी२० आईमा डेब्यू गर्ने मौका पाए। कतार, कुवेत र हङकङविरुद्ध खेल्दै नन्दनले छ विकेट लिन सफल भएका थिए।
टी२० लगत्तै उनी विश्वकप लीग२ को स्कट्ल्यान्ड यात्रामा एक दिवसीय टोलीमा सामेल भएका हुन्।
सोमपाल कामी र करण केसीले उत्कृष्ट प्रदर्शन गरिरहेकाले स्कट्ल्यान्डमा पनि उनको डेब्यूको सम्भावना न्यून देखिएको थियो।
तर नेदरल्यान्ड्सविरुद्धको खेलअगाडि सोमपाल कामी घाइते हुन पुगेपछि नन्दनले डेब्यूको अवसर पाएका हुन्।
पाएको अवसरलाई सही सदुपयोग गर्दै उनले तीन विकेट लिन सफल भए। उनको विकेट नेपाललाई जिताउन निर्णायक साबित हुन पुगेको थियो।
नन्दनले अब त्यहाँ अब खेलिने स्कट्ल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित टी२० आईमा पनि खेल्ने छन्।

तस्बिर स्रोत, CAN
नन्दनका विशेषता
नन्दन करिब छ फिट अग्ला छन्। तीव्र गतिको बलरका रूपमा उनको यो खास विशेषता हो।
तयारी खेलमा उनी राम्रा छन्, ब्याटरहरूलाई झुक्याउने गरी 'लेन्थमा बल फ्याँक्ने' गर्छन्। उनको 'योर्कर' (ब्याट्सम्यानको खुट्टा नजिकै बल फ्याँकेर फिर्ता गर्न मुस्किल बनाइने तरिका )पनि गजबको छ। नन्दन बाउन्सरका लागि पनि चिनिन्छन्।
एउटा अन्तर्वार्ताका क्रममा उनले राष्ट्रिय टोलीमा पुगेर आफू त्यसै हराउने खेलाडी नभएको बताएका थिए।
चौबीस वर्षीय युवा खेलाडीका लागि राष्ट्रिय टोलीको ढोका अब खुलेको छ। अझ भनौँ नन्दनको क्रिकेट जीवनको वास्तविक सुरुआत बल्ल भएको छ।
तर त्यसलाई कहाँसम्म पुर्याउन सक्छन् भन्ने कुरा नन्दन यादवको बाँकी खेल क्षमताले देखाउने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








