टी२० विश्वकपमा नेपाल छानिने निश्चित, दुई खेल बाँकी छँदै यसरी सम्भव भयो यात्रा

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
दुई खेल बाँकी छँदै नेपाल सन् २०२६ मा हुने टी२० विश्वकप क्रिकेटका लागि छनौट भएको छ। यो सँगै लगातार टी२० विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा भएको छ।
बुधवार पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले पराजित गरेसँगै दोस्रो खेलमा यूएईले सामोआलाई ७७ रनले पराजित गरेपछि अङ्कतालिकाका आधारमा नेपालको विश्वकप यात्रा सुनिश्चित भएको हो।
सन् २०२६ को फेब्रुअरी र मार्चमा हुने टी२० विश्वकप क्रिकेट यो पटक भारत र श्रीलङ्कामा हुँदै छ।
नेपालसँगै ओमानको पनि विश्वकप सहभागिता सुनिश्चित भएको छ।
अब यी दुई टोलीबीच आज हुने प्रतीक्षित खेल शीर्षताको होडको लडाइँ बन्ने भएको छ।
कसरी छनोट भए नेपाल र ओमान

तस्बिर स्रोत, CAN
'सूपर सिक्स'मा सहभागी छ टोलीको अङ्कतालिकामा नेपाल र ओमानको ६/६ अङ्क छ।
आजको जित सँगै यूएईले तीन खेलबाट ४ अङ्क जोड्यो।
बाँकी टोलीहरूमा जापान र कतारसँग २/२ अङ्क छ भने सामोआ अङ्कविहीन छ।
अब अङ्कतालिका र समीकरणको कुरा गरौँ।
सुरुवात पुछारको टोली सामोआबाट गरौँ। सूपर सिक्समा खेलेका चारमध्ये दुई खेलमा सामोआ पराजित भएकाले उसको शून्य अङ्क छ।
त्यसैले बाँकी दुई खेल जितेमा पनि टोलीको अङ्क ४ मात्र हुने छ। अर्थात् सामोआले नेपाल र ओमानको ६ अङ्क छुन सक्ने कुरै भएन।
पाँचौँ स्थानमा रहेको कतारको स्थिति पनि त्यही नै हो। कतारले सूपर सिक्समा तीन खेल खेल्दा एक जितका साथ २ अङ्क मात्र जोड्न सकेको छ। त्यसैले उसले अब अन्तिम खेलमा सामोआलाई जितेमा पनि ४ अङ्क मात्र हुने छ। उसले पनि ६ अङ्क छुन सक्ने छैन।
अब शीर्ष ३ को दौडमा यूएई र जापानको सम्भावना बढी हुन सक्छ।
तालिकाको चौथो स्थानमा रहेको जापानको पनि दुई खेलबाट एक जितका साथ २ अङ्क छ र उसले दुई खेल खेल्न बाँकी छ। भोलि बिहीवार जापानको खेल यूएईसँग हुने छ।
यूएईका लागि यो लीगमा अन्तिम खेल हो।
यदि भोलि हुने खेलमा यूएईले जितेमा यूएई ६ अङ्कका साथ शीर्ष तीन मा उक्लिनेछ। यदि जापानले जितेमा भने दुवैको ४/४ अङ्कको बराबरी हुनेछ।
अनि जापानले थप २ अङ्कका लागि अन्तिम खेलमा हाल शीर्ष स्थानमा रहेको ओमानको सामना गर्नुपर्ने छ।
यी सबैको नतिजा जेजस्तो आए पनि जापान र यूएईमध्ये एक टोलीले मात्र छ अङ्क प्राप्त गर्न सक्ने छन्।
अर्थात् बाँकी खेलको नतिजा जेजस्तो आए पनि नेपाल र ओमानको अङ्कलाई उछिन्ने छैन।
कप्तानले के भने?
विश्वकपका लागि आफ्नो टोलीको यात्रा सुनिश्चित भएसँगै नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो फेसबुक पेजमा खुसी व्यक्त गरेका छन्।
"हामीले सपना देख्यौँ, आफैँलाई विश्वास गर्यौँ र यसलाई प्राप्त गर्यौँ।"
उनले लेखेका छन्, "सपना साँचो भयो; हाम्रो समर्पण, विश्वास र एकताका कारण लक्ष्य चुम्यौँ।"
लीगको दुई अङ्कको फाइदा

तस्बिर स्रोत, CAN
'सूपर सिक्स'मा पुगेको छ वटा टोलीमा नेपाल, ओमान र यूएईले समूह चरणबाटै २ अङ्क लिएर आएका थिए।
सूपर सिक्समा २ अङ्क त्यो टोलीले मात्र पाउँथ्यो, जसले समूह चरणमा हराएको प्रतिद्वन्द्वी पनि सूपर सिक्समा पुगेको होस्।
जस्तै नेपालले समूह चरणमा जापानलाई हराएको थियो र जापान पनि सूपर सिक्समा उक्लिएको थियो।
नेपाल र ओमान दुवैले सूपर सिक्समा युएई र कतारलाई हराउँदै ६/६ अङ्क जोडेर तालिकाको शीर्ष २ मा रहन सफल भएका हुन्।
अब नेपालले ओमान र त्यसपछि अन्तिम खेलमा शुक्रवार सामोआको सामना गर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








