नेपाल विरुद्ध ओमान: समानता र फरक के के

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
समान सफलता हात पार्दै आइसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा अगाडि बढिरहेको नेपाल र ओमानबीच आज बुधवार समान उद्देश्यको भिडन्तमा उत्रिँदै छन्।
आज राति पौने ९ बजे सुरु हुने सुपर सिक्सको तेस्रो खेलमा जुन टीमले जित्ने छ, सोही टीम अर्को वर्ष हुने विश्वकपमा सहभागी हुन टिकट काट्ने एसियाको पहिलो टोली बन्ने छ।
लीग चरण र सुपर सिक्स गरी खेलिसकिएको चार खेलमा नेपाल र ओमान दुवै टोली अपराजित छन्। समान ६ अङ्क बटुले पनि रन रेटको आधारमा भने ओमान लीग तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।
एसोसियट राष्ट्रबीच शीर्ष बन्ने लडाइँमा जहिले पनि नेपाल, ओमान र यूएईबीच भिडन्त हुँदै आएको देखिन्छ।
यो प्रतिस्पर्धामा नेपाल र ओमान दुवैले यूएईलाई परास्त गरिसकेको अवस्थामा आजको खेल विश्वकपमा छनोट हुनु मात्र होइन, प्रतियोगितामा शीर्ष स्थान हात पार्नका लागि पनि महत्त्वपूर्ण हुने पक्का छ।
असमानता के ?

तस्बिर स्रोत, CAN
अङ्कमा अहिले दुवै टोलीबीच समानता भए पनि छनोट चरणको खेल हेर्ने हो भने यी दुई टोलीबीच थुप्रै असमानता देखिन्छ।
पहिलो असमानता के हो भने ओमानले जारी प्रतियोगिताको सबै खेलमा सहज जित हात पार्दै आएको छ। त्यसको विपरीत नेपालले प्रत्येक जसो जितमा दर्शकको 'धड्कन रोकिएला झैँ' गरी सङ्घर्षपूर्ण तरिकाले जित आत्मसात् गरेको छ।
अर्को असमानता ओमान आफ्नै देशमा खेल्दा खेलाडीहरूलाई घरेलु भूमिको 'एडभान्टेज' हुने छ।
तर ठिक विपरीत मस्कटको अल अमेरत रङ्गशालाको प्यारापिट भने नेपाली दर्शकले भरिएको हुने छ। अर्थात् मैदान ओमानी खेलाडीहरूको फाइदामा हुँदा मैदान बाहिरको वातावरण भने नेपालको पक्षमा हुने छ।
ओमानी भूमिमा विगतका केही मुख्य प्रतियोगिताहरूमा नेपालको लागि शुभ नतिजा आएको थिएन। तर यसपालि त्यो खतरा किन छैन भने यो नकआउट प्रतियोगिता होइन।
शीर्ष ३ भित्र रहने यात्रामा नेपाललाई अहिलेसम्मको नतिजामा कुनै खतरा देखिएको छैन।

तस्बिर स्रोत, OMAN CRICKET TEAM Facebook
फरक ओमानी टोली
गत अमेरिका/वेस्ट इन्डिज विश्वकप छनोट २०२४ को खेल काठमाण्डूको कीर्तिपुरमा हुँदाको खेल नेपाली समर्थकबीच ताजै हुनुपर्छ।
दुवै टोली विश्वकप छनोट भइसकेको अवस्थामा भएको उक्त फाइदा खेलमा १८४ रनको टाई हुन पुगेको थियो। सुपर ओभरमा ओमानले बाजी मारेको थियो।
तर त्यसपछि ओमानी क्रिकेट टोलीमा आन्तरिक विवाद चुलिएपछि टोलीमा व्यापक परिवर्तन भएको छ।
ओमानी टोली अहिले पूर्णत: नयाँ टोली हो। यसमा गत विश्वकप खेलेका कुनै पनि खेलाडी छैनन्।
एसोसियट क्रिकेटका छुट्टै छाप छोडिसकेका प्रमुख खेलाडीहरू अहिले ओमानी टोलीमा छैनन्।
जस्तोकि कीर्तिपुरको फाइनलमा नेपालविरुद्ध ५२ बलमा ६३ रन बनाएका कश्यप प्रजापति, आइसीसी विश्वकप लीग २, २०१८/२३ मा ७६ विकेट लिएका शीर्ष बलर बिलाल खान, कप्तान जेसन मकसुद, मध्य क्रमका आयन खान र अकिव इलियास जस्ता खेलाडीहरू टीमबाट बाहिरिइसकेका छन्।
यद्यपि नयाँ संरचनाको ओमानी टोली पनि उतिकै बलियो देखिएको छ। जारी प्रतियोगिताको चारमा चार खेल जितेर टोलीले पुरानो प्रभाव कायम नै राखेको देखिएको छ।
सचेत हुनुपर्ने खेलाडी को को ?
नेपाली खेलाडीहरूका बारे समर्थकहरूलाई धेरै थाहा छ।
आजको खेलमा नेपालले ओमानका को को खेलाडीहरूबाट सचेत रहनुपर्ला त?
हुन त कुनै पनि खेलाडीमाथि नजर अन्दाज गर्ने विषय होइन, जारी प्रतियोगिता हेर्दा केही ओमानी खेलाडीहरूको फर्म भने तगडा देखिएको छ।
कप्तान जतिन्दर सिंह सबैभन्दा फर्ममा देखिएका छन्। उनले कतार विरुद्ध ४० बल ७ चौका ३ छक्का सहित ६६ रन बनाएका थिए। जसका कारण कतार खेलमा फर्किन सकेन।
त्यस्तै उनले यूएई विरुद्ध २३ बलमा ३३ रन बनाएका थिए।
मध्य क्रममा आर्यन बिस्ट र विनायक सुक्ला पनि प्रभावकारी देखिएका छन्।
बलिङमा बायाँ हाते मध्यम गतिका बलर जितेन रामानन्दी र शाकिल अहमद चम्किएका छन्।
लीग चरणको खेलमा ओमानले बनाएको १३८ रन पछ्याउन आएको पीएनजीलाई यी दुईले ३/३ विकेट लिँदै ८६ रनमा अलआउट गरिदिएका थिए।
के नेपाली खेलाडी परिवर्तन होलान् ?

तस्बिर स्रोत, CAN
लगातार तीन खेलमा एउटै टोली उतारेको नेपाली प्रशिक्षक स्टुआर्ट लले कतार विरुद्धको खेलमा स्पिनर ललित नारायण राजवंशीको स्थानमा आदिल आलमलाई पहिलो रोजाइमा राखेका थिए।
कुशल मल्ल र सन्दीप जोराको ब्याटिङ नचल्दा मध्य क्रम प्रभावकारी हुन सकेको छैन। आदिल आलमको पनि पहिलो खेलमा ब्याटिङ चलेन।
त्यस्तै जारी प्रतियोगितामा करण केसी अझैसम्म बेन्चमै छन्।
यद्यपि प्रशिक्षक लले मध्य क्रममा केही परिवर्तन सक्ने आकलन गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








