वेस्ट इन्डिजसँगको शृङ्खलासँगै आदिल आलमको पुनरागमन

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाल र वेस्ट इन्डिजबीच यूएईको शारजहामा सेप्टेम्बर २७, २९ र ३० तारिखमा हुने युनिटी कप टी-२० आई शृङ्खला नेपाली क्रिकेटको लागि ऐतिहासिक महत्त्वको हुनेछ। किनकि यो नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको पहिलो मैत्रीपूर्ण शृङ्खला हो।
क्रिकेटर आदिल आलमको लागि यो शृङ्खलाको महत्त्व अझ धेरै छ। क्रिकेट जीवनको एउटा नमिठो कालखण्ड भोगेर यी खेलाडी यही श्रृङखलाबाट राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछन्।
उदाउँदो खेलाडीको छवि बनाएर भर्खरै मात्र राष्ट्रिय टोलीमा प्रवेश गरेका आलम 'स्पट फिक्सिङ' को आरोपमा फस्दा ३ वर्ष क्रिकेट मैदानबाट बाहिर रहनु परेपछि कतिपयलाई लागेको थियो- एकजना होनहार क्रिकेटरको जीवन यतिमै सकिने भयो।
तर आलोचनाको पहाड छिचोल्दै, आफूलाई निर्दोष प्रमाणित गर्दै अनि आत्मबललाई बलियो बनाउँदै आलम राष्ट्रिय टोलीमा फर्कन सफल भएका छन्।
खेल जीवनको पुनर्जन्म
वेस्ट इन्डिजसँगको शृङ्खलामा आलमको नाम समावेश हुनु उनको खेल जीवनको पुनर्जन्म जस्तै थियो।
यस्तो 'कम ब्याक' जसले आलमको क्रिकेट भविष्यको रेखा कोर्न सक्छ।
त्यसैले पनि होला आलमको मुहारमा अहिले एक खाले गम्भीरता देख्न सकिन्छ।
यूएई जानु अगाडिको बिदाइ समारोहमा आलमको मुहारमा टोलीमा फर्किन पाएकोमा खुसी वा वेस्ट इन्डिजसँग खेल्न लागेको उत्साह देखिन्थ्यो। गम्भीर र शान्त उनको मुहारमा ''म केही गर्छु" भन्ने अठोट पनि कतिपयले देखे।
उनले बीबीसीसँग भने, "चुनौती छ र आफूमा विश्वास पनि छ। खेलको स्थिति अनुसार दर्शकले खोजे जस्तो छक्का हान्ने प्रयास गर्ने छु।"
तीन वर्षको कठिन समय
स्पट फिक्सिङको आरोपदेखि आफ्नो बदनामी, त्यसका कारण भोग्नु परेको पीडा र त्यो कठिन स्थितिमा आत्मबल बलियो बनाउन आलमले गरेको सङ्घर्षबारे उनी पटक्कै सम्झिन चाहँदैनन्।
पत्रकारहरूले गर्ने त्यो विषयको प्रश्नमा उनी पन्छिन खोज्छन्।
उनको जवाफ हुने गर्छ, "जे भयो, भयो। म त्यो समय सम्झिन चाहन्नँ। तर त्यसले मलाई अझ बलियो बनाएको छ। म अब जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छु जस्तो लाग्छ।"
यद्यपि यो समयमा उनले प्रस्तुत गरेको धैर्यता, टोलीमा फर्किने अठोट, अनि सङ्घर्ष र साधना भने उदाहरणीय देखिन्छ।
यस बीचमा आलमले के गरे?
खराब विगतलाई सम्झेर दु:खी बन्दै समय खेर फाल्ने काम उनले गरेनन्।
सहयात्रीहरू विश्वकप खेल्दै थिए। नेपाली क्रिकेटको समर्थनमा विश्वभरका नेपाली समर्थकहरू मैदान नै पुगेका थिए। आलम भने एक्लै अभ्यास गरिरहेका हुन्थे।
यो विषम परिस्थिति छल्ने उपाय भनेकै झन् अभ्यास गर्नु थियो। यसका निम्ति उनी भारतको विभिन्न स्थानमा हुने स्थानीय प्रतियोगिताहरूमा समेत संलग्न भए। त्यहाँ पनि धूम मच्चाए।
उनी भन्छन्, "परिवार, साथीभाइ र समर्थकहरू सबैले त्यो गाह्रो समयमा मलाई साथ दिए। मलाई विश्वास गरे। त्यसैले म कुनै दिन पनि कमजोर भइनँ।"
स्पट फिक्सिङ
विश्व क्रिकेटमा निकै ठूलो धब्बाको रूपमा रहने गरेको 'फिक्सिङ' मा दोषी हुनु भनेको खेलाडीको करिअर समाप्त हुनु हो।
तर आलमले आफू 'निर्दोष हुँ' भन्ने बयान दिइ रहे। एक महिनाको हिरासत बसाइपछि उनी रिहा त भए तर निर्दोष साबित भइसकेका थिएनन्।
त्यसको एक वर्षपछि चैत २०८० मा जिल्ला अदालतले स्पट फिक्सिङ दाबी नपुगेको भन्दै आलमलाई सफाइ दिएपछि उनको निर्दोष साबित भयो।
तर क्यान र आइसीसीले भने उनको प्रतिबन्ध फुकुवा गर्न थप केही समय लगाए। अन्ततः लामो समयको पर्खाइपछि गत ११ वैशाखमा आदिलको प्रतिबन्ध फुकुवा भयो।
योसँगै क्रिकेटमा फर्किने उनको ढोका खुल्यो।
राष्ट्रिय टोलीमा पुनरागमन

तस्बिर स्रोत, CAN
प्रतिबन्ध फुकुवा भएपछि क्यानले आलमको नाम वेस्ट इन्डिज विरुद्धको शृङ्खलाको प्रारम्भिक ३२ सदस्यीय टोलीमा समावेश गरेको थियो।
यसबीच नेपाल प्रिमिअर लीग सिजन २ को अक्सनमा उनलाई सबै फ्रेञ्चाइज टोलीले लिन हानथाप गर्नुले उनको 'फर्म' उच्च रहेको पुष्टि गरिसकेको थियो।
तर राष्ट्रिय टोलीको अन्तिम सूचीमा राख्नु अगाडि क्यानले उनलाई नेपाल 'ए' टीममा राख्दै भारतको आसाम राज्य स्तरीय टोलीसँग प्रतिस्पर्धामा सहभागी गराएको थियो।
त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि आलमलाई वेस्ट इन्डिज टोली विरुद्धको खेलमा समावेश गरिएको बताइएको छ।
अलराउन्डर आलम
आलम ब्याटिङ र बलिङ दुबैमा अब्बल मानिन्छन्।
बाराको सिम्रौनगढमा जन्मिएका आदिल मधेस प्रदेशबाट घरेलु क्रिकेट खेल्दै उदाएका खेलाडी हुन्।
आक्रामक ब्याटिङ र अनुशासित बलिङ अनि 'हेलिकप्टर शट्' का कारण चर्चित आलम १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भएका थिए।
प्रतिबन्धमा पर्नु अगाडि उनले ६ वटा एक दिवसीय अन्तर्राष्ट्रिय र ८ वटा टी- २० अन्तर्राष्ट्रिय खेल खेल्न भ्याएका थिए।
आलमको पुनरागमनलाई लिएर राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले भनेका छन् - "आदिल आलमको उपस्थितिले राष्ट्रिय टोली झन् बलियो बनेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








