'सूपर सिक्स'मा पुगिसकेको नेपालले जापानबाट 'खोसेको' २ अङ्कको महत्त्व

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपालले आइसीसी टी-२० विश्वकप एशिया एन्ड ईस्ट एशिया प्यासिफिक छनोटमा शुक्रवार जापानविरुद्धको महत्वपूर्ण खेलमा ५ विकेटले जित हात पारेको छ।
ओमानको अल अमरेत क्रिकेट रङ्गशालमा टस जितेर फील्डिङ रोजेको नेपालले सुरुमा जापानलाई १३१ रनमा समेटेको थियो। जबाफमा मध्यक्रममा केही सङ्घर्ष गरे पनि नेपालले १८ ओभरमा खेल पूरा गर्यो।
नेपाल र जापान दुबैले लीग चरणमा कुवेतलाई पराजित गर्दै 'सूपर सिक्स'मा प्रवेश गरेकोले यो खेलको अङ्क 'सूपर सिक्स'मा जोडिने हुँदा दुवै टोलीका लागि आजको जितको २ अङ्कको महत्त्व थियो।
जापानले उत्कृष्ट सुरुवात गरे पनि नेपालले पछि दबाव बनाउँदै जापानलाई १३१ रनमा रोक्न सक्यो।
जबाफमा गुलशन झा र दीपेन्द्रसिंह ऐरीले छैटौँ विकेटका लागि अविजित ४२ रनको साझेदारी गरेपछि नेपालले १८ औँ ओभरमा खेल आफ्नो पक्षमा पार्न सफल भयो।
२ अङ्कको महत्त्व
नेपालले कुवेत र जापान दुवैलाई पराजित गरे पनि कुवेत समूह चरणबाटै बाहिरिसकेकोले कुवेतलाई जिताउँदा पाएको अङ्क अब जोडिने छैन।
अब जापान 'सूपर सिक्स'मा बिनाअङ्क अगाडि बढेको छ किनकि उसले अङ्क प्राप्त हराएको टोली कुवेत अप सूपर सिक्समा छैन।
नेपालसँग भने २ अङ्क छ।
अब नेपालले सूपर सिक्समा ससूह 'ए' र 'सी'बाट छनोट भएर आउने चार राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ।
त्यसमा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कााम आयोजना हुने टी२० विश्वकपमा प्रवेश पाउने छन्।
गुलशन झा नायक

तस्बिर स्रोत, CAN
नेपालको जितमा गुलशन झा नायक बने।
उनले पहिलो इनिङ्समा ६० रन बनाएर खेलमा जमिरहेका जापानी कप्तान केन्डल काडोवाकी फ्लेमिङलाई आउट गराए।
त्यसपछि टोली केही ढलमल हुन खोजेको बेला उनले ब्याटिङमा अविजित २८ रन बनाएर नेपाललाई जित दिलाउन भूमिका खेले।
उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गरेपछि नेपालले दुई ओभरअगावै खेल आफ्नो पक्षमा राख्न सफल भएको थियो।
खेलको प्लेअर अफ द म्याच बनेका उनले भने, "म धेरै सोच्दिनँ। आफ्नो जे खेल छ, त्यही नै देखाउँछु।"
आफ्नो उत्कृष्ट प्रदर्शनबारे सोधिएको प्रश्नमा उनले भने, " खुसी त छु नै। तर वास्तविक खुसी नेपाल विश्वकपमा छनोट भएपछि मात्र मनाउँछु।"
जितपछि नेपाली कप्तान रोहित पौडेलले गुलशन झाको प्रशंसा गरे।
उनले भने, "गुलशनले आज पनि राम्रो प्रदर्शन गरे। जापानको सुरुवात राम्रो भए पनि हामी उनीहरूलाई १२० रनभित्र रोक्न सक्ने योजनामा थियौँ। मोटामोटी रूपमा हामी आफ्नो लक्ष्यमा सफल भयौँ।"
'सूपर सिक्स'मा यूएईविरुद्धको खेलबारे सोधिएको प्रश्नमा उनको जबाफ थियो, " सूपर सिक्सको कुनै पनि खेललाई हामी सजिलो लिँदैनौँ। रोमाञ्चक खेल हुने छ। हामी सबै खेलमा राम्रो नतिजाका लागि खेल्ने छौँ।"
नेपालको फील्डिङ

तस्बिर स्रोत, CAN
कुवेतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले टोलीलाई सही सुरुवात दिलाए।
नेपाली बलरहरूले 'पावर प्ले'मा विपक्षीविरुद्ध कसिकसाउ बलिङ गर्दै खेललाई नियन्त्रणमा राखेका थिए। जापानले चौथो ओभरको पहिलो बलमा आएर पहिलो चौका प्रहार गरेको थियो।
तर कप्तान फ्लेमिङले इनिङ्स सम्हाल्दै ६० रनको सानदार पारी खेले। सो क्रममा उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।
यसै गरी इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए।
दोस्रो विकेटका लागि फ्लेमिङ र रहमानबीच बनेको ८६ रनको साझेदारीले टोलीले स्कोरबोर्डमा धेरै रन जोड्ने सङ्केत गरेको थियो।
यस क्रममा १३ ओभरको खेल चलिरहँदा जापान ९७-२ को बलियो स्थितिमा पुगिसकेको थियो।
तर त्यसपछि भने जापानी ब्याटरहरूले गति बढाउन सकेनन्।
गुलशन झाले फ्लेमिङको विकेट लिएसँगै खेल नेपालको नियन्त्रणमा आएको देखिएको थियो।
नेपालका लागि गुलशन र सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए।
दोस्रो इनिङ्स

तस्बिर स्रोत, CAN
नेपाली ब्याटरहरूले टोलीलाई आक्रमक सुरुवात दिलाए।
ओपनर कुशल भुर्तेलले २१ तथा आशिफ शेखले ३८ रन बनाएपछि नेपालले ७.२ ओभरमा ६३ रन जोडेर नेपाललाई आरामदायी विजयतिर डोहोर्याउन खोजेका थिए।
तर त्यसपछि तीन विकेट फटाफट झरेपछि नेपाली टोली दबावमा देखियो।
कप्तान रोहित पौडेल १८ रनमा आउट भए भने सन्दीप जोरा पाँच र कुशल मल्लले चार रन मात्र बनाउन सके।
त्यस क्रममा केही बेर जापान खेलमा हाबी हुन खोजेको देखिएको थियो।
अन्ततः गुलशन झा र दीपेन्द्रसिंह ऐरीको साझेदारीले त्यसलाई नियन्त्रण गर्यो र नेपालले आफ्नो पक्षमा नतिजा निकाल्यो।
वरीयता

तस्बिर स्रोत, CAN
नेपालले आज कुवेतविरुद्धको खेलमा खेलेका खेलाडीमा कुनै परिवर्तन गरेन।
टी-२० आई वरीयतामा नेपाल १८ औँ र जापान ४३ औँ स्थानमा छन्। दुई देशका राष्ट्रिय टोलीबीच भएको यो यो पहिलो टी २० आई हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








