नेपाल क्रिकेट: करणको १०० दीपेन्द्रको ५० विकेट, अरू को को हो पछ्याउँदै

करण केसीले विकेट लिएपछि रमाउँदै नेपाली खेलाडीहरू

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको ११ वर्ष भइसक्यो।

यसबीच भएका खेलहरूको आरोह-अवरोहमा नेपाली खेलाडीहरूले अनेक खाले कीर्तिमानहरू बनाइरहेका छन्।

दीपेन्द्रसिंह ऐरीले कसैले तोड्न नसक्ने गरी ९ बलमा अर्ध शतक, कुशल मल्लको ३४ बलमा छरितो शतकको विश्व कीर्तिमानी (पछि तोडियो), थोरै खेलबाट १०० विकेट लिने विश्वको दोस्रो खेलाडी सन्दीप लामिछाने सहितका कीर्तिमानमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का नै मच्चाएको छ।

ताजा रेकर्ड कस्ता?

मङ्गलवार राति स्कटल्यान्डलाई २ विकेटले हराएको खेल भने करण केसी र दीपेन्द्रसिंह ऐरीको आफ्नै लागि विशेष रह्यो।

स्कटल्यान्डको ग्लास्गोमा जारी त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गतको उक्त खेलमा करणले टी-२० करिअरको व्यक्तिगत विकेट सङ्ख्या १०० पुर्‍याउन सफल भए।

उनलाई पछ्याइरहेका दीपेन्द्रसिंह ऐरीले पनि त्यही खेलमा आफ्नो ५० विकेटको उपलब्धि प्राप्त गरे।

अघिल्लो दिन मात्र नेदरल्यान्ड्सविरुद्ध १०० औँ टी-२० खेल्नु नेपालको लागि विशेष उपलब्धि थियो।

त्यही खेल तेस्रो सुपर ओभरमा पुगेर टुङ्गिँदा विश्वभर त्यसको चर्चा चलेको थियो।

दशकको मेहनत

सन् २०१५ को जुन महिनामा नेदरल्यान्ड्सविरुद्ध खेलेर टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु (राष्ट्रिय टोलीबाट पहिलो खेल) गरेका करणले आफ्नो एक सय विकेट लिन १० वर्ष मेहनत गरे।

राष्ट्रिय टोलीका सिनियर खेलाडीमध्येका एक उनले त्यसबीचमा तीव्र गतिको ओपनिङ बलिङको जिम्मेवारी सम्हालेका छन्।

मङ्गलवार राति उनले आफ्नो ८० औँ टी-२० खेल खेले। उनले अहिलेसम्म १५६७ बल फ्यालेका छन्।

दोस्रो ओभरमा बलिङ गर्न आएका करणले आफ्नो पहिलो ओभरको तेस्रो बलमा जर्ज मुन्सीलाई आउट गरे पछि उनको विकेट सङ्ख्या सय पुगेको हो।

दीपेन्द्रसिंह ऐरीले क्याच समाएर उनको शतकीय विकेट लिन सघाएका थिए।

करणले फिन्ले म्याकक्रीथको पनि विकेट लिएपछि उनको विकेट सङ्ख्या १०१ पुगेको छ।

यसबीच बागलुङमा जन्मिएका ३३ वर्षीय करणको नाममा अरू कीर्तिमानहरू पनि बनेको छ।

उनले करिअरमा एउटै इनिङमा २ पटक ४ विकेट लिएका छन्। जुन संयुक्त रूपमा शीर्ष स्थानको कीर्तिमान हो। यो उपलब्धिमा उनीसँगै विश्वका अन्य ३३ खेलाडीहरू छन्।

करण केसी

तस्बिर स्रोत, CAN

सन् २०२० मा उनले थाइल्यान्डविरुद्ध ४ ओभर बलिङ गर्दा २ मेडन (कुनै रन नदिइएका ओभर) राखेका थिए।

एउटै इनिङमा यो कीर्तिमान बनाउनेमा उनी संयुक्त रूपमा विश्वको आठौँ खेलाडी बनेका छन्। यसमा उनीसँगै सन्दीप लामिछाने पनि छन्।

नियमित राष्ट्रिय टोलीको मोर्चा सम्हाल्ने क्रममा करणले समय समयमा आफ्नो लय गुमाउन पनि परेको थियो।

पछिल्लो समय भने उनी निकै राम्रो फर्ममा देखिएका छन्।

दीपेन्द्रको ५० विकेट

रमाइलो संयोग के रह्यो भने करण र दीपेन्द्र दुवैले ८० खेल खेलेर यी उपलब्धि पाएका हुन्।

बलिङ अलराउन्डर करणले भने ८० इनिङ नै खेले। तर दीपेन्द्रले भने ५४ इनिङ खेलेर ५० विकेटको उपलब्धि पूरा गरे।

सात वर्ष अगाडि टी-२० अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीमा प्रवेश गरेका दीपेन्द्रले स्पिन बलिङमा बेग्लै छाप छोड्दै आएका छन्।

दीपेन्द्रसिंह ऐरी

तस्बिर स्रोत, CAN

मङ्गलवार स्कटल्यान्डविरुद्ध उनलाई पहिलो ओभरमै बलिङ गर्न पठाइएको थियो। त्यसमा न्याय गर्दै उनले ओभरको चौथो बलमा नै ओपनर मार्क वाटलाई बोल्ड गरिदिएका थिए।

त्यो उनको ५० औँ विकेट थियो। मिचेल लिस्कलाई अन्तिम ओभरमा बोल्ड गरेर मङ्गलवार नै उनले विकेट सङ्ख्या ५१ पुर्‍याइसकेका छन्।

२ वर्ष अगाडि चीनमा सम्पन्न हान्चाउ एसियाली खेलकुदमा ९ बलमा अर्ध शतक बनाएका उनले १० बलमा ५२ रन बनाउँदा स्ट्राइक रेट ५२० पुगेको थियो। उनी 'सर्वाधिक स्ट्राइक रेट' मा विश्वको शीर्ष स्थानमा छन्।

लाइनमा को को?

करणभन्दा अगाडि सन्दीप लामिछानेले गत वर्षको टी-२० विश्वकपमा विकेट सङ्ख्या १०० पुर्‍याएका थिए। ५४ खेलबाटै १०० विकेट लिएर उनी छरितो विकेट लिने खेलाडीमा अफगानिस्तानका रसिद खानपछिका दोस्रो खेलाडी बनिसकेका छन्।

अब १०० विकेट लिन सक्ने लाइनमा सोमपाल कामी, ललितनारायण राजवंशी, अविनाश बोहरा र दीपेन्द्र नै छन्।

सन् २०१४ मा नेपालले खेलेको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलबाट नियमित खेल्दै आएका एकमात्र सदस्य सोमपालको विकेट सङ्ख्या ७६ पुगेको छ।

तीव्र गतिका यी बलिङ अलराउन्डरले चोटका कारण जारी शृङ्खला गुमाउनु पर्‍यो। फर्म हेर्ने हो भने सोमपालले चाँडै नै १०० विकेट पुर्‍याउन सक्ने ठानिन्छ।

अविनाश बोहराले ७५ विकेट लिइसके। तर अहिले उनी राष्ट्रिय टोलीमा नरहेकोले उनको सम्भावना कम छ।

त्यसपछिका शीर्ष ५ का खेलाडीमा दीपेन्द्रसिंह ऐरी नै हुन्। अहिले ५० विकेट पुर्‍याएका उनी आफ्नो स्पिन जादुबाट विकेट झार्न सिपालु छन्।

ललितनारायण राजवंशीले भने २९ खेलबाट २७ विकेट लिन भ्याएका छन्। पछिल्लो समय निकै प्रभावकारी बलिङ गर्दै आएका यी बायाँ हाते स्पिनरले विकेट सङ्ख्या सय पुर्‍याउन धेरै मेहनत गर्न बाँकी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।