विश्वकप क्रिकेट छनोट खेलमा नेपाललाई महत्त्वपूर्ण २ अङ्क

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाल र यूएईबीच आइतवार भएको एउटा महत्त्वपूर्ण खेलमा नेपालले बाजी मारेको छ।
आईसीसी टी२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर ६ को एउटा कठिन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई एक रनले पराजित गरेको हो।
अन्तिम ओभरमा यूएईलाई १० रन चाहिएको रोमाञ्चक खेलमा नेपालले ८ रन मात्र दिएर असोचनीय जित निकालेको हो।
ढुकढुकी बढाउने उक्त ओभरमा यूएईका ध्रुव परासरले तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई छक्का हाने।
त्यसपछि जितका लागि यूएईलाई ३ बलमा ३ रन चाहिएको थियो। तर चौथो बलमा दीपेद्रले परासरलाई सन्दीप जोराद्वारा क्याच आउट गराए।
त्यसपछिको पाँचौँ बलमा हैदर अली सन्दीपद्वारा नै शानदार रन आउटको शिकार भए।
अन्तिम बलमा ३ रन बनाउनुपर्नेभयो। २ रन बनाए खेल टाईमा जान्थ्यो। तर दोस्रो रनका लागि दौडेर फर्किने बेला जुनेद सिद्दिकी चिप्लिएर लडेपछि नेपालले १ रनको रोमाञ्चक जित हात पार्यो।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा नेपालले १४० रन बनायो भने जबाफमा यूएईलाई १३९ रनमा रोक्न सफल भयो।
जितसँगै नेपालले सुपर सिक्समा महत्त्वपूर्ण २ अङ्क जोडेको छ। योसँगै नेपालको ४ अङ्क पुगेको छ।
खेलको अवस्था यस्तो रोमाञ्चक बनेको थियो कि कुनै बेला यूएई खेलमा भारी पर्यो भने कुनै बेला नेपाल हावी भयो।
खेलको १० ओभरसम्म खेल पूर्णतः यूएईको नियन्त्रणमा थियो, तर १६ ओभरमा आइपुग्दा नेपाली बलरहरूले पकड बनाइसकेका थिए।
अन्तिम ओभरमा नायक बनेपछि 'म्यान अफ द म्याच' बनेका दीपेन्द्र सिंह ऐरीले आफूले मुख्य खेल जिताउन भूमिका खेल्न सकेकोमा खुशी व्यक्त गरे।
उनले भने, "महत्त्वपूर्ण खेलमा राम्रो गर्न पाएँ। खुशी छु।"
के यो तपाईको जीवनको सबैभन्दा राम्रो प्रदर्शन हो भनी प्रश्नको जबाफमा उनले हाँस्दै भने, "होइन। म पहिले राम्रो थिएँ। अहिले पनि राम्रै छु। अझै राम्रो गर्ने छु। अब हरेक खेल अझ राम्ररी खेल्ने छु।"
नेपालको बलिङ
सोमपाल कामीले दोस्रो ओभरमा यूएईका कप्तान मोहम्मद वासिफको विकेट लिन सफल भएका थिए।
तर दोस्रो विकेटका लागि आलिसान सराफु र जोनाथन फिगीले ८२ रनको महत्त्वपूर्ण साझेदारी गरेपछि खेल यूएईको पक्षमा ढल्किन पुगेको थियो।
यस्तोमा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ५ रनको अन्तरमा यी दुवै खेलाडीलाई आउट गरेपछि नेपालले खेलमा फर्किने लक्षण देखायो।
दीपेन्द्रले पहिले फिगीलाई स्टम्पिङ गराए भने त्यसपछि ५८ रन बनाएर खेलमा जमिरहेका सराफुलाई बोल्ड गरे।
त्यसलगत्तै गुलशन झाले हर्षित कौशिकको विकेट लिए। नन्दन यादवले झन्डै छक्कामा परिणत हुन लागेको बल लङ अनमा शान्दार ढङ्गले क्याच लिएका थिए।
छ रनको अन्तरमा यूएईको ३ विकेट झरेको थियो, जुन खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो। खेलको अर्को टर्निङ प्वाइन्ट १६औँ ओभरमा आयो।
सन्दीप लामिछानेको दोस्रो बलमा दीपेन्द्र ऐरीले आफ्नो 'ट्रेडमार्क रन आउट' गर्दै राहुल चोपरालाई पवेलियन फर्काए भने अर्को बलमा बसिल हमिदलाई बोल्ड गरिदिए। खेल ९६-६ को अवस्थामा पुग्यो।
यूएईको कसिकसाउ बलिङ
टर्फ १ मैदानमा सुरुमा ब्याटिङ गरेर बढीभन्दा बढी रन जोड्ने कप्तान रोहित पौडेलको योजना थियो।
तर यूएईका बलरको कसिकसाउ बलिङ अनि फिल्डरहरूले गरेको चुस्त मेहनतमा नेपाली ब्याटरहरू खुलेर खेल्न सकेनन्।
डेथ ओभरमा यूएईले उत्कृष्ट बलिङ गरेको थियो भने नेपालको मध्यक्रम पनि चल्न सकेन।
दश ओभरमा १ विकेट गुमाई ७३ रन बनाएको नेपालले त्यसपछि रन गति बढाउन सकेन।
नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले सर्वाधिक ५१ रन बनाउन सके। ४७ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे। ध्रुव परासरको बलमा उनी बोल्ड हुन पुगे।
चौबीस वर्षीय ओपनरको टी२० आईमा यो नवौँ अर्धशतक हो भने उनले टी२० आईमा १,५०० रन पार गरेका छन्।

तस्बिर स्रोत, CAN
अर्का प्रारम्भिक ब्याटर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाउन सके। कुशल र आशिफले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।
उन्नाइस बलको सामना गरेका कप्तान रोहितले २० रन मात्र जोड्न सके। रोहित र आसिफबीच दोस्रो विकेटको लागि ३९ रनको साझेदारी बनेको थियो। यद्यपि स्कोर बोर्डमा रनको गति निकै ढिलो चढेको थियो।
अलराउन्डर उपकप्तान दीपेन्द्र सिंह ऐरी २ बलको सामना गरेर १ रन बनाउँदै पवेलियन फर्किए।
आक्रामक ब्याटरका रूपमा परिचित कुशल मल्ल पनि ११ बलमा १० रन बनाएर आउट भए।
गुल्शन झाले ५ बलमा २ चौका र एक छक्काको मद्दतले १४ रन बनाउँदा नेपाली समर्थक सामु उत्साह थपिएको थियो।
तर उनी आउट भएपछि खेलको उत्तरार्द्धमा नेपालको ब्याट झन् सुस्त चलेको थियो।
चिरपरिचित प्रतिद्वन्द्वी

तस्बिर स्रोत, CAN
नेपाल र यूएई एसोसियट क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा चिनिन्छन्।
लीग चरणमा दुवै टोली अपराजित रहेर सुपर सिक्सका लागि २ अङ्क पनि जोडिसकेका छन्। दुवै टोली पछिल्लो समय राम्रो लयमा देखिन्छन्।
ओमान आउनुअगाडि नेपाले वेस्ट इन्डिजसँग ऐतिहासिक शृङ्खला जितेको थियो भने यूएई पनि बाँग्लादेशसँगको टी२० शृङ्खला जितेर आएको थियो।
नेपाल र यूएईबीच टी२० आईमा १० खेलमा आमनेसामने हुँदा खेल ५-५ खेलको जितहार बाँडिएको छ।
यद्यपि ओमानमा खेलिएको पछिल्लो ३ खेलमा नेपालले हारको सामना गर्दै आएको छ, जसमा पछिल्लो पटक एसिया कपको छनोट चरणको हार महत्त्वपूर्ण थियो।
नेपालको बाँकी खेल तालिका
नेपालविरुद्ध कतार – २७ असोज (८:४५ बजे)
नेपालविरुद्ध सामोआ – २९ असोज (८:४५ बजे)
नेपालविरुद्ध ओमान – ३१ असोज (४:१५ बजे)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








