'लाज मान्नुपर्ने केही छैन': टी२० विश्वकपमा इटलीसँगको हारको अर्थ

तस्बिर स्रोत, Getty Images
- Author, निरञ्जन राजवंशी
- Role, मुम्बई, भारत
- पढ्ने समय: ५ मिनेट
टी२० विश्वकपमा नेपाललाई हराएको इटलीका प्रशिक्षक जन डेभिसनको खुसी 'पोस्टम्याच प्रेस कन्फरन्स'मा लुकिरहेको थिएन।
उनले सुरुमै ठट्टा गर्दै भने, "यो समाचार अब इटलीका पत्रिकाहरूमा पहिलो पृष्ठमै छापिन्छ होला।"
टी२० विश्वकपमा 'जायन्ट किलर' को छवि बनाएको नेपाललाई एकोहोरो रूपमा १० विकेटले हराउला भनेर सायद डेभिसनले पनि सोचेका थिएनन् होला।
उनले गजबको रणनीति बुने र खेलाडीहरूले त्यसलाई हुबहु वानखेडे रङ्गशालामा उतारे।
प्रशिक्षक डेभिसनले सानका साथ भने, "हामी टी२० वरीयताको २६औँ स्थानमा छौँ। तर हामी २० राष्ट्र छनोट हुने विश्वकप खेलिरहेका छौं। त्यसैले हामी पनि केही हौँ भन्ने देखायौँ। अब हामीलाई हेर्ने नजर पनि बदलिन्छ होला।"
नेपालको स्थिति भने ठिक विपरीत थियो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो हार कहिले बेहोर्नुपरेको थिएन। त्यो पनि यस्तो समयमा जहाँ सारा अन्तर्राष्ट्रिय क्रिकेटले नेपालको प्रदर्शनको तारिफ मात्र गरिरहेको थियो।
एकाएक त्यो प्रशंसा अब शिक्षाको रूपमा बदलिन पुगेको छ।
स्वीकारोक्ति
टीमको 'अनपेक्षित' हारलाई पोस्टम्याच प्रेस कन्फरन्समा स्पिनर सन्दीप लामिछानेले 'एउटा खराब दिन' भनी बचाउ गरे।
नेपाली कप्तान रोहित पौडेलले भने आफ्नो टोलीको हारलाई सहर्ष स्विकार्दै भने, "हामीले परिस्थितिको सम्मान गरेनौँ र निकै खराब खेल्यौँ। यसो भन्दा हामीलाई लाज लाग्नुपर्ने कुरा केही छैन।"
उनले १२३ रन आफ्नो टोलीले चाहेको स्कोर हुँदै नभएको भन्दै इटलीको ब्याटिङको प्रशंसा पनि गरे।
लामिछानेले पनि विपक्षी ब्याटिङको तारिफ गर्दै नेपाल उनीहरूको रणनीतिमा फसेको स्वीकार गरेका थिए।
विश्वकपको समूह 'सी' मा रहेको पाँच टोलीमा अब चार टोलीसँग अङ्क छ भने नेपाल मात्र अङ्कविहीन छ।
लगातारको दुई हारसँगै नेपालको 'सूपर ८ सपना' पनि लगभग समाप्त हुन पुगेको छ।
नेपालले अब वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्न बाँकी छ। बाँकी खेलहरूबाट कुनै 'चामत्कारिक' समीकरण बनेमा मात्र नेपाल समूह चरणभन्दा माथि उठ्ने छ।
यद्यपि यो हार नेपालको लागि ठूलो शिक्षा हुने र यसले आगामी खेलहरूमा नेपाल सतर्क भएर खेल्ने जानकारहरूले विश्वास गरेका छन्।
निराश दर्शक

तस्बिर स्रोत, CAN
बिहीवार वानखेडे रङ्गशालाको पूरा वातावरण नेपालको पक्षमा थियो।
नीलो र रातो रङ्गमा सजिएका हजारौँ नेपाली समर्थकहरूको साथ, इङ्ग्ल्यान्डसँगको खेलमा देखाएको प्रदर्शनपछि खेलाडीमा देखिएको आत्मविश्वास र वानखेडेको परिचित पीच पनि नेपालको पक्षमा थियो। थिएन त केवल अङ्क।
रङ्गशालामाम एकसाथ दुःखी हुनेहरूको सङ्ख्या १० हजार भन्दा बढी रहेको अनुमान छ।
सुरुमा निकै उत्साहित भएर मैदानमा उपस्थित भएका नेपाली दर्शकहरूले नेपाली ब्याटरले हानेका केही दुईचार शटमा मात्र रमाउन पाए।
बाँकी अधिकांश समय उनीहरू चुपचाप नेपालको हार हेर्न बाध्य हुन पुगे। ठूलो स्वरमा उत्सव मनाउने मौका उनीहरूले पाएनन्।
आजको हारसँगै नेपाल टी२० विश्व वरीयतामा पनि दुई स्थान तल झर्दै १८औँ स्थानमा पुगेको छ।

तस्बिर स्रोत, Nepal Photo Library
त्यसअघि ब्याटिङ सहज हुने ठानिएको मुम्बईको वानखेडे रङ्गशालामा इटलीका स्पिनरहरुले 'जादु' देखाउँदा नेपाल टी२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा 'अनपेक्षित' रूपमा पराजित भएको थियो।
टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले इटलीविरुद्ध १२३ रनको न्यून स्कोर मात्र जोड्न सक्यो।
यो वानखेडे रङ्गशालामा बनेको दोस्रो न्युन स्कोर हो। गत वर्ष भारतविरुद्धको खेलमा इङ्ल्यान्ड यही मैदानमा ९७ रनमा समेटिएको थियो।
इटलीले कुनै विकेट नगुमाई १३औँ ओभरमा उक्त लक्ष्य पूरा गर्यो।
सबैभन्दा खराब हार

विश्वकपका तीन संस्करणमा नेपालले भोगेको यो अहिलेसम्मकै सबैभन्दा 'लज्जास्पद' हार हो।
ब्याटिङ, फील्डिङ र बलिङमध्ये कुनै क्षेत्रमा चमत्कार गर्दै आएको नेपाली टोली बिहीवार हरेक क्षणमा विफल हुन पुग्यो।
स्पिनरहरू जम्ने विश्वास गरिएको समयमा नेपालका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले भने केही गर्न सकेनन्।
इटलीका ओपनिङ जोडी जस्टिन मोस्का र एन्टनी मोस्काले सुरुवातदेखि नै चौका र छक्काको वर्षा गर्न थालेपछि नेपाली बलिङ निरीह देखिन पुगेको थियो।
जस्टिनले ६० र एन्टनीले ६२ रन बनाई नेपाली समर्थकहरूलाई निराश बनाइदिए।
'धरापमा फसेको' ब्याटिङ

यसअघि नेपाली ब्याटिङ इटलीको स्पिन धरापमा नराम्ररी फस्न पुगेको थियो।
क्रिसन कालुगामागेको ३ विकेट र सिड्नी सिक्सरबाट खेल्ने बेन मानेन्टीले २ विकेट लिएपछि टस हारेर पहिलो ब्याटिङ गर्न आएका नेपाली ब्याटरहरूले एकपछि अर्को गर्दै मैदान छाडेका थिए।
फील्डिङ रोजेको इटली सुदृढ रणनीतिका साथ आएको देखियो।
टोलीले पहिलो ओभरमा नै स्पिनर बेन मानेन्टीलाई प्रयोग गरे। अर्को ओभरमा नै अलि हसनले ओपनर कुशल भुर्तेलको विकेट लिन सफल भए।
त्यसपछि कुनै पनि ब्याटरहरुले सम्हलिएर खेल्न सकेनन्। राम्रो शुरुआत नपाएपछि नेपाली ब्याटिङ छरपस्ट हुन पुग्यो।
दुई छक्का प्रहार गरेर लय समाउन खोजेका कप्तान रोहित पौडेल सातौँ ओभरमा २३ रन बनाएर आउट भए।
नेपालका कुनै पनि खेलाडीहरूले लामो साझेदारी गर्न सकेनन्।
इङ्ग्ल्यान्डविरुद्ध दरिलो ब्याटिङ गरेर आत्मविश्वासी देखिएका खेलाडीहरू चौका र छक्का हान्न हतारिएको देखियो। फलतः प्राय: खेलाडीहरू बाउन्ड्री लाइनमा क्याच हुन पुगेका थिए।
ओपनर आशिफ शेख २० बलमा २० रन बनाएर स्टम्प्ड हुन पुगे।
दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्न खोजे पनि रन भने निकै ढिलो आइरहेको थियो। तर उनी पनि कालुगामागेको बलमा बोल्ड हुन पुगे। जम्मा १७ रन बनाएका उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।
उनीलगत्तै छक्का हान्ने प्रयासमा लोकेश बम (३ रन) पनि बाउन्ड्री लाइनमा समातिन पुगे।
नेपालले १५.३ ओभरमा आएर बल्ल १०० रन पूरा गरेको थियो।
एउटा इन्ड सम्हालेका आरिफ शेख पनि १६ औं ओभरमा बाउन्ड्री लाइनमा नै समातिए। उनले २४ बलमा २७ रन बनाएका थिए। यो नै नेपालको सबैभन्दा ठूलो स्कोर थियो।
नेपालको समर्थन गर्न आएका दर्शकहरूको आवाज विस्तारै मलिनो बन्न पुगेको थियो।
त्यसपछिको अवस्था झन् खराब बन्न पुग्यो जब १६ बलको बीचमा नेपालले ४ विकेट गुमायो र जम्मा १३ रन मात्र जोड्न सक्यो।
सत्रौँ ओभरमा गुलशन झा र नन्दन यादव २ बलको अन्तरमा आउट भएका थिए।
नन्दन हतारिएर रनका लागि दौडिँदा खराब तरिकाले रन आउट हुन पुगे।
त्यसपछि करण केसी र सन्दीप लामिछाने केही आशा देखाए। यी दुईले सङ्घर्षपूर्ण अवस्थामा टीमको रन बढाउन खोजे। उन्नाइसौँ ओभरमा करणले एक छक्का र एक चौका पनि प्रहार गरे।
तर अन्तिम ओभरमा सन्दीप आउट भएसँगै नेपालको इनिङ्स टुङ्गियो। अन्तिम विकेटका रूपमा आएका ललितनारायण राजवंशीले रन लिने चक्करमा आउट भएपछि करणले क्रीज नै पाउन सकेनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















