बेङ्गलुरुमा खेलको विजयोत्सव जब डरलाग्दो दुर्घटनामा परिणत भयो

भागदौडमा छुटेका जुत्ता चप्पल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अपेक्षा गरिएभन्दा धेरै मानिसको घुइँचो भएको प्रहरीले बताएको छ

त्यहाँ उपस्थित भिडमा कोही प्रशंसक थिए भने कोही केवल 'रमाइलो' गर्न पुगेका थिए। दुवै थरि मानिस भागदौडको सिकार भए। एउटा खुसीको मौका मृतकका परिवारका निम्ति मात्र नभई अन्यका निम्ति पनि एउटा भयावह अनुभव बन्न पुग्यो।

शामिली नाम गरेकी एक युवती आफ्नी बहिनी तथा साथीहरूसँग केवल रमाइलो गर्न त्यहाँ पुगेकी थिइन्। उनले भनिन्, "म त खाली रमाइलो गर्न आएकी थिएँ। म त प्रशंसक पनि थिइनँ।" तर यही रमाइलोको सफरले उनलाई अस्पताल पुर्‍याइदिएको छ। जहाँ उनी रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)को टी शर्टमा थिइन् र जसमा विराट कोहलीको जर्सी नम्बर १८ अङ्कित थियो।

अस्पतालको शय्याबाट बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भनिन्, "मैले त बहिनी र साथीहरूलाई लगातार अब यहाँबाट फर्किऔँ, यहाँ धेरै ठेलमठेल हुन थाल्यो भनेकी थिएँ। अचानक म जमिनमा लडेको अनुभव भयो। त्यसपछि भिडले कुल्चियो। म त मर्छु जस्तो मलाई लागेको थियो।"

बुधवार बेङ्गलुरुको चिन्नास्वामी क्रिकेट रङ्गशालाको बाहिर भागदौड मच्चिँदा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन्।

कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले प्रेस कन्फ्रेन्समा बोल्दै उक्त जानकारी दिएका हुन्।

घटनाको मजिस्ट्रेटबाट जाँच गराइने घोषणा उनले गरे।

के भएको हो?

रङ्गशालाबाहिर रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)को जितको उत्सव मनाउन १ लाखभन्दा धेरै मानिस जम्मा भएका थिए।

१८ वर्षपछि आईपीएलको पहिलो उपाधि जित्न सफल आरसीबी टोलीलाई स्वागत गर्न अनि खुसी मनाउन सडकका किनारामा युवा, महिला, पुरुष, बालबालिका र वृद्ध वृद्धाको घुइँचो लागेको थियो।

एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई भने, "चिन्नास्वामी रङ्गशालाको गेटमा भागदौड मच्चियो। जब यो घटना भयो तब रङ्गशालाको गेट खुलेको थिएन। ठूलो सङ्ख्यामा मानिसहरू एउटा सानो गेटलाई धक्का दिएर तोड्ने कोसिस गरिरहेका थिए। त्यही बेला भागदौड मच्चियो।"

भागदौड मच्चिँदा पुलिसले लाठी चार्ज गरेको थियो।

नाम नबताउने शर्तमा एक अर्का प्रहरी अधिकारीले बीबीसी हिन्दीसँग कुरा गर्दै करिब एक लाख मानिस आउने अपेक्षा गरिएको तर दुई लाख जति भिड ओइरिएको बताए।

घटनापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, "बेङ्गलुरुको दुर्घटना एकदमै दुखद हो। यो दु:खको घडीमा प्रियजन गुमाएका सबैप्रति मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको म कामना गर्दछु।"

रद्द भयो विजयोत्सव

विराट कोहलीको तस्बिर र भिडिओ खिच्दै एक हुल मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आरसीबीका प्रशंसकलाई अभिवादन गर्दै विराट कोहली

आरसीबीको टोली विशेष विमानमा चढेर पुरानो एचएएल हवाई अड्डामा आइपुगेको थियो जहाँ उपमुख्यमन्त्री डीके शिवकुमारले टोलीको स्वागत गरेका थिए। त्यहाँबाट जुलुसकै रूपमा उनीहरू होटल पुगेका थिए।

स्वागत समारोहभन्दा पहिले राज्यका उच्च अधिकारीहरूले टोलीको अभिनन्दन गरेको थियो। त्यसपछि जुलुससहित टोलीलाई रङ्गशाला लगिन लागेको थियो।

तर त्यति नै बेला पानी पर्‍यो र भागदौड पनि मच्चियो। टोली पुन: होटल नै फर्कियो।

सहरका विभिन्न इलाकाबाट आरसीबीको १८ नम्बरको जर्सी लगाएका मानिसहरू आ-आफ्ना गाडीमा चढेर रङ्गशालातर्फ जाँदै थिए। मेट्रो रेलहरू यति खचाखच भए कि कतिपय मानिस त्यसमा चढ्नै सकेनन्। मानिसहरूले 'आरसीबी… आरसीबी…'को नारा लगाइरहेका थिए।

अटोरिक्शा तथा ट्याक्सीहरूलाई रङ्गशाला नजिक जानबाट रोकियो। कतिपयले महँगो भाडा असुलेर यात्रीहरूलाई रङ्गशालाभन्दा तीन किलोमिटर वर नै छाडिदिए।

भागदौडमा मानिस मारिएका खबर फैलनासाथ मानिसहरू मेट्रो स्टेशनतर्फ भाग्न थाले। मेट्रोका अधिकारीहरूले रङ्गशाला वरपरका मेट्रो स्टेशन बन्द गर्न पर्‍यो।

भारतको क्रिकेट प्रशासक निकाय बीसीसीआईका उपाध्यक्ष तथा कांग्रेस सांसद राजीव शुक्लाका अनुसार अचानक यस्तरी भिड ओइरिएला भनेर कसैले अन्दाज गर्न सकेन।

उनले भने, "भिड एकदम ठूलो भएको थियो। अचानक यो कार्यक्रम आयोजना गरियो। कसैलाई अन्दाज भएन कि अचानक यति ठूलो भिड ओइरिएला भनेर। यो अचानक भएको दुर्घटना हो। जसलाई लिएर सबैजना दुखी छन्। मृतकका परिवार तथा घाइतेका निम्ति जे मद्दत हुन सक्छ त्यो गर्ने प्रयास भइरहेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।