भारतमा धार्मिक भेलामा भागदौड हुनुअघि प्रवचन गर्ने 'भोलेबाबा' को हुन्

भागदौडमा परिवारकी सदस्यको मृत्यु भएपछि बिलौना गर्दै एक महिला

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, भागदौडमा ज्यान गुमाउनेमध्ये अधिकांश महिला छन्

भारतको उत्तर प्रदेशमा मङ्गलवार एउटा धार्मिक भेलामा भएको भागदौडमा मृत्यु हुने मानिसको सङ्ख्या १२१ पुगेको अधिकारीहरूले बताएका छन्।

उत्तर प्रदेशको हाथरस जिल्लास्थित फुलराई गाउँमा आयोजित एउटा सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको थियो। त्यसलाई भारतमा एक दशकको अवधिमा भएको सबैभन्दा घातक भागदौडको घटना मानिएको छ।

उक्त कार्यक्रममा दुई लाख ५०,००० भन्दा बढी मानिस सहभागी भएको प्रहरीले जनाएको छ। यद्यपि ८०,००० जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरूसँग थियो।

आयोजकहरूविरुद्ध प्रहरीमा उजुरी परेको छ।

मृतकमध्ये अधिकांश महिला छन्। रोएटर्सले मृतकमध्ये सात बालबालिका र एक पुरुष पनि भएको जनाएको छ।

प्रहरीले उक्त घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ।

उक्त कार्यक्रमका मुख्य आयोजक र अरू व्यक्तिविरुद्ध हत्यासहित विभिन्न अभियोगमा उजुरी परेको छ।

प्रहरीले उक्त सत्सङ्गमा प्रवचन गर्न गएका भोलेबाबा उपनामले पनि चिनिने नारायण साकार विश्वहरिसँग पनि सोधपुछ गर्ने बताइएको छ।

हाथरसमा सत्सङ्ग आयोजना भएको स्थान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, हाथरसमा सत्सङ्ग आयोजना भएको स्थानमा भागदौड मच्चिएको थियो

कसरी भयो घटना

उत्तर प्रदेशको विपद् व्यवस्थापन केन्द्रले सोमवार मृतकहरूको सूची सार्वजनिक गरेको छ। त्यसमा १२१ जनाको मृत्यु भएको जनाइएको छ।

मृतकहरूको सनाखत गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रतिवेदनमा प्रवचनकर्ता आफ्नो गाडीबाट बाहिरिन लाग्दा समस्या उत्पन्न हुन थालेको उल्लेख छ।

भागदौड पछिको दृश्य

प्रहरीका अनुसार हजारौँ भक्तहरूले उनको गाडीतिर दौडिँदै गएर उनले टेकेको भुइँबाट श्रद्धापूर्वक माटो सङ्कलन गर्ने प्रयास गरेका थिए।

भिड बढ्दै गएपछि भुइँमा बसेका मानिस किचिएका थिए।

प्रहरी प्रतिवेदनका अनुसार मानिसहरू हिलाम्मे खेतमा कुद्दै बाटोतिर जान खोजेका थिए। तर आयोजकहरूले रोकेपछि उनीहरू भागदौडमा किचिन पुगे।

यसअघि केही अधिकारीहरूले हुरीले धुलो उडाउँदा कोलाहल मच्चिएको र भागदौड भएको हुन सक्ने बताएको रोएटर्सले जनाएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार मानिसहरू भिरालो ठाउँमा लडेपछि पानी भएको खाडलमा खसेका थिए।

"सबै मानिस, पूरै भिड, महिला र बालबालिका पनि एकैचोटि निस्किए," मङ्गलवार उक्त स्थानमा परिचालित प्रहरी अधिकारी शीला मौर्यले भनिन्।

"त्यहाँ पर्याप्त ठाउँ थिएन अनि एकमाथि अर्को गर्दै मानिसहरू लड्न थाले," उनले भनिन्।

यसअघि सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण उक्त घटना भएको हुन सक्ने विवरण सार्वजनिक भएको थियो।

मङ्गलवार नै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई "दुःखद" भन्दै मृतकका परिवारलाई आर्थिक राहत दिने घोषणा गरे।

राष्ट्रपति द्रौपदी मुर्मूले पनि शोक व्यक्त गरिन्।

मृतकका आफन्त

भोलेबाबा को हुन्, अहिले कहाँ छन्

भोलेबाबा उपनामले चिनिने स्वघोषित आध्यात्मिक गुरुको वास्तविक नाम भने सुरजपाल हो। तर उनी आफूलाई नारायण साकार विश्वहरि भनेर चिनाउँछन्।

उनका अनुयायीहरू भने उनलाई भोलेबाबा भन्छन्।

घटनापछि उनी फुलराई गाउँबाट १०० किलोमिटर टाढा रहेको मणिपुरीस्थित आफ्नो आश्रममा गएको ठानिएको छ।

उनको पृष्ठभूमिबारे धेरै कुरा अज्ञात छ। तर उनले कुनै बेला प्रहरीमा कन्स्टेबल पदमा काम गरेको विवरणहरू सार्वजनिक भएका छन्। प्रहरीको जागिर छोडेपछि उनी आध्यात्मिक गुरुको रूपमा देखा परे।

भोलेबाबाको लकेट देखाउँदै गोमती देवी

उनका हजारौँ अनुयायीहरू छन्। त्यसमध्ये धेरै जनाले कैयौँ वर्षदेखि उनका प्रवचनहरू सुन्दै आएको बताएका छन्।

प्रहरीका अनुसार उनले 'राम कुटिर च्यारिटेबल ट्रस्ट' नामक एउटा संस्था सञ्चालन गर्दै आएका छन्। मङ्गलवारको भेलाको प्रमुख आयोजकमध्येको एक उक्त संस्था पनि थियो।

सत्सङ्गमा मानिसहरू भजन गर्छन् र गुरुबाट प्रवचन सुन्छन्। त्यस्ता कार्यक्रममा महिलाको ठूलो सहभागिता हुने गरेको छ।

भेलामा सहभागी भएकी गोमती देवीले आफूलाई भोलेबाबाप्रति ठूलो आस्था रहेको बताइन्।

उनले “रोग निको हुने, घरायसी समस्या समाधान हुने र रोजगारी मिल्ने” विश्वासमा भोलेबाबाको तस्बिर रहेको लकेट आफूले पनि लगाउने गरेको बताइन्।

भागदौडमा परेर घाइते भएका वा ज्यान गुमाएका व्यक्तिलाई अस्पताल लगिएको थियो

धार्मिक भेलामा बारम्बार दुर्घटना

केही घाइतेहरूको नजिकैको अस्पतालमा उपचार हुँदै छ। घाइतेमध्ये केही बालबालिका पनि रहेको जनाइएको छ।

“पोस्टमोर्टमको प्रक्रिया चलिरहेको छ र घटनाबारे छानबिन भइरहेको छ,” छिमेकी एटा जिल्लाका एक अधिकारीले मङ्गलवार साँझ भनेका थिए।

कार्यक्रममा सहभागी हुन गएका आफन्तहरू सम्पर्कविहीन भएपछि मानिसहरू अझै पनि अस्पतालमा खोजिरहेका छन्।

हाथरसको कार्यक्रमस्थल

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

साँघुरो ठाउँमा ठूलो भिड जम्मा हुने गरेकाले भारतका धार्मिक कार्यक्रमहरूमा बारम्बार घातक दुर्घटना भएको पाइन्छ।

सन् २०१८ मा अमृतसरमा दशहरा पर्व मनाउन जम्मा भएको भिडमा एउटा रेल गएर ठोकिँदा ६० जना मानिसहरूको मृत्यु भएको थियो।

सन् २०१३ मा मध्य प्रदेशमा एक हिन्दू चाड मनाउन भेला भएका मानिसहरूबीच भागदौड हुँदा ११५ जनाको ज्यान गएको थियो।

सन् २००८ मा जोधपुरमा एउटा मन्दिरमा भएको भागदौडमा २२४ तीर्थयात्रीको ज्यान गएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।