पूर्वी एशियामा किन हजारौँ मानिस धर्म बदल्दै वा त्याग्दै छन्

सोलस्थित एउटा बौद्ध मन्दिरमा आयोजित प्रार्थनासभा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, धर्म परिवर्तन गर्ने मानिसहरू धेरै रहेका पूर्वी एशियाली देशहरूको सूचीमा दक्षिण कोरिया अगाडि देखिएको छ
    • Author, लेबो डिसेको
    • Role, विश्व धार्मिक संवाददाता, बीबीसी विश्व सेवा

'जुन' दक्षिण कोरियामा इसाई परिवारमा हुर्किएका थिए। तर उनको देशका अन्य धेरैकोजस्तै अहिले उनको धार्मिक आस्था बच्चा हुँदाको समयभन्दा फरक भएको छ।

उनी अहिले आफूलाई 'एग्नस्टिक' वा भगवान् छन् वा छैनन् भन्ने कुरा निश्चित गर्न नसकेको व्यक्तिका रूपमा चिनाउँछन्।

"मलाई वास्तवमा त्यहाँ के छ भन्ने थाहा छैन। भगवान् हुन पनि सक्छन्, नहुन पनि सक्छन् - केही अलौकिक हुन सक्छ," उनी सोलबाट कुरा गर्दै भन्छन्।

जुनका आमाबुवा अहिले पनि प्रतिबद्ध इसाई हुन्। र, उनी आफू इसाई धर्ममाथि विश्वास गर्न छाडेको आमाबुवाले थाहा पाए उनीहरूलाई 'गहिरो पीडा' हुने बताउँछन्। आफ्ना आमाबुवालाई दु:खी बनाउन नचाहने भन्दै उनले अर्कै नाम प्रयोग गरिदिन अनुरोध गरेका छन्।

जुनको अनुभवले अमेरिकी थिङ्क ट्याङ्क प्यू रिसर्च सेन्टरको पछिल्लो अनुसन्धानलाई प्रतिनिधित्व गर्छ, जसले पुर्वी एशियाका देशहरू विश्वका अन्य देशसँगको तुलनामा धेरै मान्छेले आफ्नो धर्म छाड्ने तथा परिवर्तन गर्ने गरेको देखाएको छ।

उक्त अनुसन्धानमा १० हजारभन्दा धेरैलाई उनीहरूको धार्मिक आस्थाबारे सोध्दा अधिकांशले आफू हुर्किएकोभन्दा अहिले फरक धार्मिक पहिचान बोक्ने गरेको बताएका छन्।

कहाँको अवस्था कस्तो

सोलस्थित गिर्जाघरको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण कोरियामा नयाँ पुस्ताका धेरैले इसाई धर्म त्यागेको बताइन्छ

यस सूचीमा हङकङ र दक्षिण कोरिया शीर्ष स्थानमा छन्। दुवै देशमा ५३ प्रतिशत मानिसहरूले आफ्नो धार्मिक पहिचान परिवर्तन गरेका छन्। यसमा धार्मिक आस्था नै राख्न छाड्नेहरू पनि सामेल छन्। ताइवानमा ४२ प्रतिशतले आफ्नो धार्मिक आस्था परिवर्तन गरेका छन् भने जापानमा यो ३२ प्रतिशत रहेको छ।

सन् २०१७ मा युरोपमा भएको सर्वेक्षणसँग तुलना गर्ने हो भने त्यहाँ धर्म परिवर्तन गर्ने दर कुनै पनि देशमा ४० प्रतिशतभन्दा धेरै थिएन। गत वर्ष अमेरिकामा सङ्कलन गरिएको तथ्याङ्क हेर्ने हो भने त्यहाँ गरिएको सर्वेक्षणमा २० प्रतिशत वयस्कहरूले आफू हुर्किँदाको आस्थाअनुसार अहिले आफूलाई नचिनाउने गरेको पाइएको थियो।

जुनका अनुसार उनले घर छाडेर नयाँ विचार देखेसँगै नको दृष्टिकोणमा परिवर्तन आयो । उनी हुर्किँदा उनको परिवार "हरेक दिन बिहान ६ बजे उठ्थ्यो। सबै जनाले बाइबलका पङ्क्तिहरू पढ्ने गर्थे।"

हरेक बिहान "सानो प्रार्थना सेवा" जस्तै माहौल हुने उनी बताउँछन् ।

धर्म परिवर्तनको विश्वव्यापी दर
तस्बिरको क्याप्शन, पूर्वी एशियामा धर्म परिवर्तनको दर उच्च देखिएको छ

उन्नाइस वर्षको उमेर हुँदा उनले घर छाडेका थिए र हजारौँ सदस्यहरू रहेको सोलकै ठूलोमध्येको एक मेगाचर्चमा जान थालेका थिए।

उक्त चर्चमा बाइबलको शाब्दिक व्याख्या मात्रै गरिन्थ्यो र त्यहाँ, उदाहरणका लागि, विकासक्रमको सिद्धान्तलाई अस्वीकार गर्ने काम हुन्थ्यो। जुनले पढेको विज्ञानको सिद्धान्तसँग यो मिल्दैनथ्यो। उनको दृष्टिकोणमा अन्य किसिमले पनि परिवर्तन आयो।

"मलाई लाग्छ, इसाई धर्मले कि कालो कि सेतो, कि सही कि गलतको स्पष्ट व्याख्या गरेको छ । तर समाजलाई नियाल्दै जाँदा र फरक फरक पृष्ठभूमिका मानिसहरू भेट्दै जाँदा मैले संसारमा सबै कुरा त्यस्तो स्पष्ट मात्रै हुँदैनन् भन्ने थाहा पाएँ।"

दक्षिण कोरियाका बाल भिक्षु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण कोरियामा केहीले धर्म परिवर्तन गरी बौद्ध धर्ममा प्रवेश गरेका छन्

जुनका अनुसार उनका आधाभन्दा धेरै साथीहरूले अहिले आफू हुर्किँदाको धार्मिक आस्थामा विश्वास गर्दैनन्। यसमा मुख्य गरी इसाईका रूपमा हुर्किएकाहरू छन्।

उनको वरिपरि अनुयायी गुमाउने धर्म इसाई मात्रै होइन। बौद्ध धर्ममा हुर्किएका २० प्रतिशतले आफ्नो आस्था छाडिसकेका छन्। हङकङ र जापानमा यो सङ्ख्या १७ प्रतिशत रहेको छ ।

यो क्षेत्रमा नयाँ आस्था राख्ने मानिसहरू पनि छन्। जस्तो कि दक्षिण कोरियामा रहेका इसाईमध्ये १२ प्रतिशत यस धर्मका नवप्रवेशी हुन्। बौद्ध धर्ममा त्यस्तो हिस्सा ५ प्रतिशत देखिएको छ। हङकङमा इसाई र बौद्ध धर्मावलम्बीमध्ये क्रमशः ९ प्रतिशत र ४ प्रतिशत मानिस नवप्रवेशी छन्।

कुनै धर्म नमान्नेहरू उल्लेख्य

पूर्वी एशियामा कुनै धर्म नमान्नेहरू पनि उल्लेख्य रहेका छन्
तस्बिरको क्याप्शन, पूर्वी एशियामा कुनै धर्म नमान्नेहरू पनि उल्लेख्य रहेका छन्

यी सबैका बीच आफ्नो धार्मिक पहिचान परिवर्तन गर्नेहरूमध्येको सबैभन्दा ठूलो समूह आफूलाई कुनै पनि धर्मसँग नजोड्नेहरूको छ। यो सङ्ख्या पूर्वी एशियाली देशहरूमा विश्वका अन्य देशहरूको तुलनामा धेरै छ।

हङकङमा ३७ प्रतिशत र दक्षिण कोरियामा ३५ प्रतिशतले आफ्नो यस्तै अनुभव रहेको सुनाए जबकि नर्वेमा यो स‍ङख्या ३० प्रतिशत र अमेरिकामा २० प्रतिशत रहेको छ।

तर यो सबै धर्म निरपेक्षतामा भइरहेको वृदि्धजस्तो देखिएता पनि यो क्षेत्रका धेरै मान्छेहरू अझै पनि आध्यात्मिक संस्कार र अभ्यासहरूमा भाग लिने गरेका छन्। सर्वेक्षण गरिएका देशहरूमा धार्मिक रूपमा कतै आबद्ध नरहेकाहरूले पनि विगत १२ महिनामा कुनै न कुनै संस्कारमा भाग लिएको बताएका छन्। अनि यो क्षेत्रमा सर्वेक्षणमा भाग लिएका सबैले आफूले भगवान् वा कुनै अदृश्य शक्तिमा विश्वास गर्ने बताएका छन्।

कति स्वाभाविक?

एशियाली देशमा क्याथलिकहरूको सङ्ख्या घटिरहेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एशियाली देशमा क्याथलिकहरूको सङ्ख्या घटिरहेको छ

धार्मिक अध्ययनका विज्ञ डा से-वङ कूलाई यी कुनै पनि कुराले आश्चर्यमा पार्दैनन्। सोलबाट बीबीसीसँग कुरा गर्दै उनी विभिन्न धर्ममा आबद्ध हुने कुरा यो क्षेत्रको इतिहाससँग मेल खाने बताउँछन्।

"इतिहासदेखिकै कुरा गर्ने हो भने पूर्वी एशियामा विशेष धार्मिक पहिचान भन्ने कुरामा कम ध्यान दिइएको छ। यदि तपाईँ टाओ मतावलम्बी हुनुहुन्छ भने तपाईँ त्यही बेला बौद्ध वा कन्फ्यूशन बन्न पाउनुहुन्न भन्ने होइन। पश्चिमाको तुलनामा यस्ता सीमाहरू धेरै कम स्पष्ट छन्।"

पश्चिमाहरूसँग सम्पर्क र साक्षात्कार बढेसँगै १९ ‌‌औँ शताब्दीतिर मात्रै अहिले हामीले धर्म भनेर बुझ्ने अवधारणा पूर्वी एशियामा ल्याइएको थियो।

फरक पहिचान र संस्कार मान्ने कुरा यो क्षेत्रबाट कहिल्यै विस्थापन नभएको डाक्टर कू बताउँछन्।

उनले आफ्नै घरमा पनि यस्तो देखेका छन्। डाक्टर कू आफ्नै आमाले थुप्रै अवसरमा आफ्नो धार्मिक आबद्धता परिवर्तन गरेको बताउँछन्।

"गत साता मात्रै उनले हाम्रो क्षेत्रको क्याथलिक चर्चमा सदस्यता लिएकी थिइन् र मलाई पूर्ण विश्वास थियो, उनी आइतवार त्यहाँ जाने छिन्।

तर उनले डाक्टर कूलाई आफू स्थानीय ईभ्यान्जेलिकल चर्चमा "निको पार्ने प्रार्थना अनुष्ठानमा" जाने बताएकी थिइन्।

उनले सोधे, "क्याथलिक चर्चमा के भयो आमा?" उनकी आमाले त्यो सयमा आफूलाई अरू कुनै कुराभन्दा सन्चो हुनु महत्त्वपूर्ण रहेको बताइन्।

उनकी आमा "क्याथलिक चर्चमा जान चाहन्थिन् किनकि उनी कुनै बेला क्याथलिक थिइन्। तर, जब उनले विश्वास गरेर आफूलाई चाहिने ठानेको कुनै पनि किसिमको भौतिक हस्तक्षेपको कुरा आउँछ, तब उनी अर्को संस्कारमा पनि जान्छिन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।