विदेशी विशिष्ट पाहुनालाई पहिला शीतल निवासमा राखिन्थ्यो, अहिले होटलमा किन

कतारका अमिर र नेपालका राष्ट्रपति

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कुनै समय ब्रिटेनकी महारानी एलिजाबेथदेखि चीनका चर्चित प्रधानमन्त्री चाउ एन्लाईसम्मलाई अतिथि बनाएर राखेको शीतल निवास अहिले राष्ट्रपति भवनको रूपमा प्रयोग भइरहेको छ।

शीतल निवासलाई आफ्नो निवास र कार्यालय बनाएका राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार नेपाल आइपुगेका कतारका राष्ट्रप्रमुखसँग शीतल निवासमा भेटवार्ता मात्रै गरेर बेलुकाको खाना र बास बस्न सोल्टी होटेल पुर्‍याए।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर दान दिएको भनिएको दरबारमा नेपालमा दुर्लभ हुन थालेको विदेशी राष्ट्रप्रमुखको भ्रमणमा समेत अतिथि राख्ने ठाउँ छैन।

“कृष्ण शम्शेरले आफ्नो व्यक्तिगत सम्पत्ति दान दिँदा 'स्टेट गेस्ट हाउस' बनाउन भनेरै दान दिएका हुन्,” कूटनीतिक इतिहासका अध्येता तथा पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराई भन्छन्।

परराष्ट्र मन्त्रालयमा लामो समय काम गरेका अर्का कूटनीतिज्ञ गोपाल थापाले आफूहरूले खोजी गर्ने क्रममा कृष्ण शम्शेरको इच्छापत्रमै सरकारी प्रयोजनका लागि दान दिएको विवरण भेटिएको बताए।

“त्यहाँ कुनै समय परराष्ट्र मन्त्रालय पनि थियो। त्यसलाई सिंहदरबारमा सारेर यो ठाउँ एउटा होटललाई भाडामा दिने प्रस्ताव आएपछि खोजी गर्ने क्रममा इच्छापत्र भेटिएको थियो र त्यसलाई व्यावसायिक प्रयोजनमा दिनु दाताको इच्छाविपरीत हुने भएपछि लीजमा दिने कुरा अघि बढेन,” देशमा लोकतन्त्र आइसकेपछिको उक्त प्रस्तावबारे उनले सुनाए।

शीतल निवास

तस्बिर स्रोत, RSS

चन्द्र शम्शेरले विसं १९८० मा आफ्नी जेठी रानी लोक भक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्ण शम्शेरका लागि बनाइदिएको उक्त दरबार लामो समयसम्म विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई राख्न प्रयोग भएको थियो।

“महेन्द्र राजा भएपछि उनले नारायणहिटी दरबारमै यस्तो किसिमको अतिथिगृह बनाएका थिए। नारायणहिटीमा सरकार प्रमुख, विदेशी राजपरिवारका पाहुनाहरूलाई अतिथिको रूपमा राख्ने चलन एकातिर सुरु भयो भने अर्कोतर्फ शीतल निवासमा खर्च र कर्मचारी कटौती गरिँदै लगेपछि यो बिस्तारै अतिथिगृहको रूपमा प्रयोग हुनै छोड्यो,” विभिन्न देशमा नेपालका राजदूत बनेर काम गरिसकेका भट्टराई भन्छन्।

यो दरबारको डिजाइन इन्जिनियरद्वय कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेको अभिलेखमा पाइन्छ।

शीतल निवासमा लामो समयसम्म भारतीय राजदूतावास पनि बसेको थियो।

शीतल निवास

शीतल निवासमा को-को बसेका थिए

राष्ट्रपति कार्यालयका अनुसार शीतल निवासमा बर्माका तात्कालिक प्रधानमन्त्री यू नु पनि बास बसेका थिए तर उनी बसेको मिति यकिन छैन। त्यसपछि सन् १९५७ र १९६० नेपाल भ्रमणमा आएका चीनका प्रधानमन्त्री चाउ एन लाई दुवै पटक शीतल निवासमा बसेका थिए।

सन् १९६० मा तात्कालिक सोभियत सङ्घका राष्ट्रपति भोरोस्लोभ पनि नेपाल भ्रमणमा आउँदा शीतल निवासमै बास बसेका थिए।

सन् १९६० मै नेपाल भ्रमणमा आएका जापानका युवराज अकिहितो पनि शीतल निवासमा बास बसेको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ।

त्यसपछि ब्रिटिश महारानी एलिजाबेथ पनि शीतल निवासमा बास बसेकी थिइन्। आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा उनी सन् १९६१ मा यहाँ बास बसेको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसपछि शीतल निवासमा बास बस्न आइपुगेका थिए भारतका तात्कालिक राष्ट्रपति सर्पपल्ली राधाकृष्णन। सन् १९६३ को नेपाल भ्रमणका क्रममा उनी शीतल निवासमा बसेका थिए।

सन् १९६३ मै नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अयूब खान पनि त्यहाँ बास बसेको अभिलेख छ।

त्यसपछि शीतल निवासमा बास बसेका व्यक्ति इजरेलका राष्ट्रपति जाल्मन शजार पनि हुन्। उनी सन् १९६६ मा नेपाल भ्रमणमा आउँदा त्यहाँ बसेका थिए।

कूटनीतिक मामिलामा कैयौँ पुस्तक लेखका पूर्वसचिव भट्टराईले सन् १९७० को दशकमा आफू परराष्ट्र सेवामा काम सुरु गर्दासम्म पनि शीतल निवासमा अतिथिहरू बस्ने गरेको बताउँछन्।

नेपालमा अतिथिगृहको प्रचलन

नेपालमा अतिथिगृहका कुरा गर्दा शीतल निवासको रूपमा चर्चा हुने गरे पनि विशिष्ट विदेशी पाहुनाहरूलाई राख्ने छुट्टै घरको प्रचलन निकै पुरानो भएको कूटनीतिज्ञ भट्टराई बताउँछन्।

उनका अनुसार भीमसेनस्थानमा रहेको परोपकार संस्था भएको ठाउँ, त्रिपुरेश्वर, केशरमहलनजिकै रहेको रङ्गमहलसहितका ठाउँमा पनि पहिले पहिले विदेशी तथा विशिष्ट स्वदेशी पाहुनाका लागि अतिथिगृह थिए।

बीपी कोइराला प्रधानमन्त्री हुँदा त्रिपुरेश्वरको अतिथिगृहमै बसेको र पछि त्यसलाई प्रधानमन्त्री निवासको रूपमा पनि प्रयोग गरिएको जानकारहरू बताउँछन्।

“काठमाण्डूमा मात्रै नभएर भारत जाने पैदलमार्गमा पर्ने मार्खु, भीमफेदीजस्ता ठाउँमा पनि यस्ता अतिथिगृहहरू रहेको इतिहास पाइन्छ,” भट्टराई भन्छन्।

शीतल निवासमा विवाहको समारोह

शीतल निवास

तस्बिर स्रोत, President.gov

सन् १९५२ देखि ५४ सम्म नेपालका लागि भारतीय राजदूत रहेका बालचन्द्र गोखलेले आफ्ना छोराको विवाह नै शीतल निवासबाट गराएका थिए।

भारतबाट ब्रिटेनको उपनिवेशबाट मुक्त भएपछि नेपालमा उसको दूतावास भवनको टुङ्गो नलाग्दासम्मको अवधिमा भारतीय राजदूतावास शीतल निवासमा थियो।

त्यस क्रममा राजदूत बालचन्द्रका एक छोराको विवाह नै त्यहाँबाट भएको पूर्वसचिव भट्टराईले बताए।

बालचन्द्रका छोरा विजय केशव गोखले सन् २०१८ देखि २०२० सम्म भारतको विदेशसचिव पनि भएका थिए।

गणतन्त्र स्थापना भएपछि दोस्रो राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको कार्यकालमा उनकी छोरी र प्रथम राष्ट्रपति रामवरण यादवका छोराबीचको विवाह पनि शीतल निवासबाटै भएको थियो।

शीतल निवासमा अतिथिगृह बनाउने गुरुयोजना

कोभिड महामारीअघि सरकारले शीतल निवासमा विदेशी अतिथिगृहसहितका सुविधा थप गर्ने गुरुयोजना तयार गरेको थियो।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले उक्त गुरुयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने भनिएको नेपाल प्रहरीको तालिम केन्द्रको जग्गा उपलब्ध नभइसकेका कारण कार्यान्वयनमा नआएको बताइन्।

“शीतल निवासमा अतिथिगृह बनाउने कुरा पनि गुरुयोजनामा छ तर कार्यान्वयनमा आएको छैन,” उनले भनिन्।

शीतल निवासमा बसेका विशिष्ट विदेशी पाहुना

राज्यका पाहुनालाई ‘अतिथिगृहमा राख्दा राम्रो’

रामचन्द्र पौडेल र कतारी अमिर

तस्बिर स्रोत, RSS

विगतमा विदेशी राष्ट्रप्रमुखलाई राज्यकै अतिथिगृहमा राख्ने प्रचलन थियो। तर अहिले त्यस्ता अतिथिगृहहरू कायम नै नरहेको जानकारहरू बताउँछन्।

“राज्यका पाहुना बनेर आएका राष्ट्रप्रमुखलाई सरकारी अतिथिगृहमा राख्दा उनीहरूका लागि आवश्यक शिष्टाचार र सम्मान राम्रो हुन्छ,” परराष्ट्र मन्त्रालयका भूतपूर्व शिष्टाचार महापाल गोपाल थापा भन्छन्।

तर पूर्वसचिव भट्टराई होटलहरूको स्थापना भइसकेका कारण यस्ता सरकारी अतिथिगृहको सान्दर्भिकता घट्दै गएको बताउँछन्।

“भारत, चीन, बाङ्ग्लादेशजस्ता देशमा अझै पनि यस्ता अथितिगृहको प्रचलन छ। यद्यपि हाम्रो जस्तो निकै पातलो विदेशी विशिष्ट पाहुना आउने ठाउँमा सरकारी अतिथिगृह नै राखिरहनुपर्छ भन्ने चाहिँ सान्दर्भिक नहोला,” भट्टराई भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।