बाल्यकालमा जेल परेका यी व्यक्ति कसरी मृत्युदण्डको मुखमा पुगे, कसरी जोगिए

आजभन्दा २५ वर्षअघि भारतमा एक बालकलाई वयस्क ठानेर हत्याको अभियोगमा त्रुटिपूर्वक मृत्युदण्डको सजाय सुनाइयो। गत मार्च महिनामा भारतको सर्वोच्च न्यायालयले घटना भएको समयमा ती व्यक्ति नाबालक नै रहेको ठहर गर्दै उनलाई रिहा गरिदियो।
बीबीसीका सौतिक विश्वासले राजस्थानको जालबसर गाउँ पुगेर अहिले ४१ वर्ष पुगेका ती व्यक्तिसँग कुरा गरेका छन्।
पश्चिम भारतको नागपुरमा भएको हत्याको एउटा मुद्दामा जेल चलान भएका निरनाराम चेतनराम चौधरी कैदमुक्त भएको केही साता मात्रै भएको छ।
उनले आफ्नो जीवनको २८.५ वर्ष जेलमा बिताएका छन्। साँघुरो जेलभित्र उनले १०,४३१ दिन किताब पढेर, परीक्षा दिएर र आफू १८ वर्ष नपुग्दै दोषी भएको प्रमाणित गर्न यथासम्भव प्रयास गरेर बिताए।
निरनाराम सन् १९९४ मा पुणेमा सात जनाको हत्या भएको घटनामा मुछिएका थिए।
अन्य दुई व्यक्तिसँगै उनी पनि राजस्थानबाट पक्राउ परेका थिए। अदालतले सन् १९९८ मा फैसला सुनाउँदै उनी २० वर्षको ठानेर मृत्युदण्डको सजाय तोक्यो।
कसरी न्याय सम्पादनमा त्रुटि भयो
झन्डै तीन दशक तीनवटा अदालतमा चलेको मुद्दालाई बिट मार्दै मार्चमा सर्वोच्च अदालतले उनलाई कैदमुक्त गर्न आदेश दियो। त्यसबीचमा अनगिन्ती सुनुवाइ, पुनरावेदन, उमेर पहिचानका लागि परीक्षण र उनको जन्मदर्ताका कागजपत्रहरू खोजी गरिए।
लामो खोजीपछि न्यायाधीशहरूले अपराध भएको समयमा निरनाराम साढे १२ वर्षेनाबालक रहेको निष्कर्ष निकाले। भारतको कानुनअनुसार नाबालकलाई मृत्युदण्डको सजाय दिन पाइँदैन र जुनसुकै प्रकारका अपराधमा अधिकतम सजाय तीन वर्षभन्दा बढी दिन पाइँदैन।
एक बालकलाई मृत्युदण्डको सूचीमा राख्नेगरी कसरी न्याय सम्पादनमा गल्ती भयो त?

स्पष्ट आधारहरू फेला नपरे पनि प्रहरीले निरनारामलाई पक्राउ गर्ने क्रममा नै उनको उमेर गलत टिपोट गरेका कारण उनलाई मृत्युदण्डको सजाय सुनाइएको देखिन्छ। उनलाई पक्राउ गर्दा प्रहरीले गरेको टिपोटमा पनि उनको नाम त्रुटिवश नारायण लेखिएको छ।
तर उनको गलत उमेर कहिले टिपोट गरियो भन्ने कसैलाई थाहा छैन।
“उनलाई पक्राउ गर्दाका अभिलेखहरू धेरै पुराना छन्। सुरुमा अदालतमा पेस गरिएको कागजपत्र सर्वोच्च अदालतसम्म पनि पुगेन,” दिल्लीस्थित न्याश्नल यूनिभर्सिटीको आपराधिक न्याय परियोजना ‘प्रोजेक्ट ३९ए’ की श्रेया रस्तोगीले भनिन्।
उक्त परियोजनाले निरनारामको रिहाइका लागि नौ वर्षदेखि पहल गरिरहेको थियो।


कसरी टर्यो मृत्युदण्ड
सबैभन्दा अचम्मलाग्दो कुरा के हो भने उनको जन्ममितिमा भएको त्रुटि र उनी नाबालक रहेको दाबी अदालतमा कसैले पनि उठाएको देखिँदैन। उनीविरुद्ध मुद्दा चलाउने र उनको प्रतिरक्षा गर्ने दुवैतर्फका वकिलहरू सन् २०१८ सम्म यसबारे मौन देखिन्छन्।
जन्मदर्ता प्रमाणपत्रको अभावमा ग्रामीण भेगमा बस्ने धेरै भारतीय नागरिकहरू आफ्नो जन्ममितिबारे जानकार हुँदैनन्। निरनाराम पनि तिनैमध्ये एक थिए।
उनी पढेको गाउँको विद्यालयमा भेटिएको दर्ता किताबमा लेखिएको जन्ममितिले अन्ततः उनलाई मृत्युदण्डबाट जोगायो।
विद्यालयको पुरानो दर्ता किताबमा उनको जन्ममिति फेब्रुअरी १, १९८२ लेखिएको छ।

विद्यालय स्थानान्तरण हुँदा दिइने पत्रमा पनि उनी विद्यालय भर्ना भएको र छोडेको मिति भेटियो।
उक्त पत्रसँगै ग्रामपञ्चायत प्रमुखले नारायण र निरनाराम एकै व्यक्ति भएको प्रमाणीकरण गरेको पत्र पनि राखिएको थियो।
“सबै प्रणाली असफल भएको थियो। अभियोजनकर्ता, उनका वकिल अदालत र अनुसन्धानकर्ता। हामी सबैले घटना हुँदा उनको उमेर कति थियो भन्ने पत्ता लगाउन सकेनौँ,” रस्तोगी भन्छिन्।

'मलाई कसले क्षतिपूर्ति दिन्छ?'
एक साधारण किसान परिवारमा जन्मिएका निरनाराम जेलबाट रिहा भए पनि चार दाजुभाइ, उनीहरूका श्रीमती र दर्जनौँ भतिजाभतिजी बस्दै आएको सगोलको परिवारमा फर्किएका छन्।
“यो किन मैमाथि भयो? सानो गल्तीका कारण मैले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय गुमाउनुपर्यो,” उनले भने।
“त्यो गल्तीका लागि अब मलाई कसले क्षतिपूर्ति दिन्छ?”
सन् १९९८ मा निरनाराम र अहिले आजीवन कारावास भोगिरहेका अर्का एक अभियुक्तलाई सजाय सुनाउँदै अदालतले “दुर्लभमध्ये पनि अतिदुर्लभ घटना” भनेको थियो।


घटना के थियो
सन् १९९४ को अगस्टमा डकैतीको प्रयासका लागि घरमा छिरेको समूहले परिवारका सात जनालाई छुरी प्रहार गरेर हत्या गरेको थियो।
पीडित परिवारका अनुसार घटनाका एक सन्दिग्ध व्यक्ति सहरस्थति उनीहरूको मिठाई पसलमा काम गर्थे।
उनले हत्याको एक साताअघि मात्रै काम छोडेका थिए। उनले अपराध स्वीकार गरेर घटनाबारे सरकारी साक्षीको रूपमा काम गरेपछि उनी जेलबाट छुटे।
निरनारामसहित अन्य दुई अभियुक्तबारे उक्त परिवारलाई के पत्तो थिएन।
“उनीहरूको डकैती गर्न आएका थिए भने घरमा भएका सबैको हत्या किन गर्नुपर्थ्यो?" परिवारका एक सदस्य सञ्जय राठीले इन्डियन एक्सप्रेस पत्रिकालाई सन् २०१५ मा भनेका थिए।

गाउँ छोड्नुको कारण
निरनारामका अनुसार गाउँको विद्यालयमा कक्षा तीनसम्म अध्ययन गरेपछि उनी घरबाट भागेर हिँडेका थिए।
आफूसँग पैसा नभएका कारण भागेको तर भाग्दाका अरू साथीहरूबारे केही सम्झना नभएको उनी बताउँछन्।
“म पुणे पुगेर त्यहाँ एउटा कपडा सिलाउने पसलमा काम गरेँ,” उनी भन्छन्।
उनका कुनै पनि दाजुभाइलाई निरनाराम भाग्नुको कारणबारे सम्झना छैन।
निरनाराम आफू संलग्न भएको आरोप लागेको घटनाबारे केही सम्झना नभएको बताउँछन्।
“मलाई अपराधको पनि कुनै सम्झना छैन। प्रहरीले किन पक्राउ गर्यो भन्ने पनि थाहा छैन। पक्राउ परेपछि मलाई कुटिएको सम्झना छ। मैले सोध्दा प्रहरीले मराठीमा भन्यो, त्यति बेला म मराठी बुझ्दिनथेँ,” उनले भने।


आफूलाई प्रहरीले धेरै वटा कागजमा हस्ताक्षर गर्न लगाएको उनले बताए। आफू त्यति बेला सानै भएको तर आफूलाई गलत रूपमा घटनामा मुछिएको उनको दाबी छ।
उनले आफूले अपराध गरेको अस्वीकार पनि गर्न नसक्ने र स्वीकार पनि गर्न नसक्ने बताए।
“जब मेरो स्मरण राम्रो आउँछ त्यसपछि मात्रै म थप भन्न सक्छु। अहिले मलाई विगतका केही कुरा याद छैन,” निरनारामले बीबीसीसँग भने।
गत महिना उनलाई रिहा गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले पनि १२ वर्षको मान्छेले “यस्तो जघन्य अपराध गर्न सक्छन् वा सक्दैनन्” भनेर विमर्श गरेको थियो।

तस्बिर स्रोत, AFP
'जेलमा सबैभन्दा प्रिय साथी नै किताब'
निरनारामका अनुसार उनलाई जेल परेपछि सुरुसुरुका दिनबारे खासै सम्झना छैन। सम्झना केवल नागपुर जेलमा रहँदाको आफ्नो कैदी नम्बर ७,४३२ र हैरानी दिने जेलका अरू सदस्य र कर्मचारीबारे छ।
आफू धेरै डराएका कारण अरू कैदीहरूसँग मित्रता समेत नभएको उनले सुनाए। उनले एकान्तवासको अत्यास मेट्न पढेर समय बिताउने निर्णय लिए।
जेलका साँघुरा कोठामा निरन्तर पढेरै उनले विद्यालय तहको पढाइ सके। समाजशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ सके र रिहा हुनुअघि राजनीतिशास्त्रमा फेरि स्नातकोत्तर गर्ने योजनामा थिए।
रिहा भएपछि भारतभरि घुम्ने रहरका कारण उनले पर्यटनमा पनि छ महिनाको पढाइ सके। उनले गान्धीको विचारबारे पनि अध्ययन गरे।
“जेलमा सबैभन्दा प्रिय साथी नै किताबहरू हुन्,” उनी सुनाउँछन्।
उनका अनुसार बाहिरी संसारबारे उनी जेलमा उपलब्ध हुने अङ्ग्रेजी पत्रिकाहरू पढेर थाहा पाउँथे। उनी कहिलेकाहीँ पत्रिकाको सुरुदेखि अन्तिम पानासम्मै पढेर सिद्ध्याउँथे।
एक दिन हलीवुड अभिनेता भेन डीजेलको तस्बिर देखेपछि उनले आफ्नो पनि कपाल खौरिएका थिए।
उनले जेलमै युक्रेन युद्धबारे पनि समाचार पढे। जेलबाटै आफूलाई कानुनी सहयोग गर्ने वकिललाई लेखेको पत्रमा उनले “अहिलेको विश्वमा दुई पक्षलाई एक ठाउँ ल्याएर वार्ता गराउन सक्ने सर्वस्वीकार्य नेतृत्वको अभाव रहेको” बताएका थिए।
आमासँग बोल्न पनि दोभासे
जेल बसाइका क्रममा निरनारामले मराठी, हिन्दी र पन्जाबी भाषा पनि सिके। तर उनले आफ्नै राजस्थानी मातृभाषा बिर्सिए।
लामो समय हराएका छोरा घर फर्किने खुसीमा उनको घरमा डीजे सहितको साङ्गीतिक उत्सव आयोजना गरिएको थियो। छोरो देखेपछि आमा अन्नी देवीका आँखाबाट आँसु चुहियो।
आमाछोरा दुवै बोल्न सकेनन् तर उनीहरू एकअर्काले भन्न खोजिरहेको बुझिरहे जस्तो देखिन्थ्यो।
निरनाराम घर त फर्किए तर उनलाई सबैभन्दा ठूलो समस्या भाषाको भयो। उनी मराठी, अङ्ग्रेजी र हिन्दी बोल्न सक्छन् तर उनका गाउँले ती तीन भाषामध्ये हिन्दी मात्रै अलिअलि बोल्न सक्छन्।
आमा र छोराबीच कुराकानी गर्न पनि दोभासे चाहिन्छ। एक जना हिन्दी बुझ्ने भतिजाले उनकी आमा र उनीबीच दोभासेको काम गरिदिन्छिन्।
“म कुनैकुनै बेला त आफ्नै घरमा पनि पराईजस्तो हुन्छु,” उनी भन्छन्।
वर्षौँ साँघुको कोठा र सीमित मानिसहरूसँग समय बिताएका उनलाई जेल बाहिरको वातावरणमा घुलमिल हुन र मानिसहरूसँग कुराकानी गर्न पनि समस्या भइरहेको छ। उनलाई बाहिर हिँड्दा मानिसहरूसँग ठोक्किने डर लाग्छ।

“मलाई विशेषगरी महिलाहरूसँग कसरी व्यवहार गर्ने र बोल्ने थाहा छैन। मलाई यस्तो कुरा सिकाइदिन पनि अरूलाई कसरी भनौँ?” उनले सुनाए।
उनको परिवारले उनलाई मोबाइल फोन दिएको छ। उनी त्यो चलाउन सिक्दै छन्।
उनका भतिजाहरूले उनको फेसबुक र ह्वाट्सएप खाता खोलिदिएका छन्।
उनका दाजुभाइहरू गहुँ, तोरी र दलहनको खेती हुने पारिवारिक १६१ बिगाहा जमिनमा काम गर्छन्। तर निरनारामलाई खेतीको काम गर्ने रहर छैन। उनलाई कानुन पढ्न र सामाजिक काम गर्न रुचि छ। आफूजस्तै नियति भोगिरहेका कैदीबन्दीहरूलाई सहयोग गर्न मन छ।
अहिले चाहिँ उनी आफ्नो गाउँका मान्छेहरूका लागि आकर्षणको केन्द्र बनेका छन्।
उनका भतिज राजु चौधरीका अनुसार मृत्युदण्डबाट बचेर आएका निरनारामलाई हेर्न दिनहुँ सयौँ मानिसहरू उनीहरूको घरमा आइरहेका छन्।
उनी चाहिँ जेल बाहिरको वातावरणसँग घुलमिल हुन सिक्दै गर्दा आफ्ना भतिजाहरूलाई अङ्ग्रेजी पनि सिकाउँदै छन्।
थप रिपोर्टिङ र तस्बिर अन्तरिक्ष जैन












