विधवा विवाह भारत: जब छोराले आफ्नो बिहे अघि विधवा आमाले पुनर्विवाह गर्नुपर्ने सर्त राखे

- Author, के. सुबागुनम
- Role, बीबीसी तमिल
"विवाह गर्ने बेला भएको छोराले उसको हैन उसकी आमा अर्थात् मेरो पुनर्विवाह गर्न आग्रह गर्दा म स्तब्ध भएँ।"
फेरि सेल्वी भन्छिन्, "साथै यस समाजमा मेरा छोराहरूको जस्तो मानसिकता अरूमा देखिन्न भन्ने सोच्दा मलाई गर्व लाग्थ्यो। यहाँ धेरै महिला छन् जसले आफ्ना श्रीमान् गुमाएका छन्, र उनीहरूले एक्लै छोराछोरी हुर्काउँदै आएका छन्।"
भास्कर र उनकी आमा सेल्वी तमिलनाडुको कल्लाकुरिचीको प्रांगमपटु पञ्चायतका बासिन्दा हुन्।
भास्कर र उनका भाइ विवेकले किशोरावस्थामा आफ्ना बुबा गुमाएका थिए। सन् २००९मा जब उनका बुबाको निधन भयो, भास्कर भेलोरमा इन्जिनियरिङको पहिलो वर्षमा अध्ययन गर्दै थिए भने उनका भाइ विवेक ११ कक्षामा पढ्दै थिए।
भास्करले भने, "त्यति बेला त हामीले आमाको दोस्रो बिहेको बारेमा सोचेका पनि थिएनौँ। मैले धेरै महिलाले पतिको मृत्युपछि यसै गरी एक्लै सन्तान हुर्काएको देखेको थिएँ। त्यसैले सोचाइ पनि त्यस्तै थियो।"
"तर म इन्जिनियरिङ कलेजको तेस्रो वर्षमा पढ्दा एक जना शिक्षकलाई भेट्न गएका बेला आमाको कुरा निस्क्यो। त्यसबेला गुरुले भन्नुभयो, तिम्री आमा यति लामो समयसम्म एक्लै बसिरहनु भएको छ, उहाँ दोस्रो बिहे किन गर्नु हुँदैन? त्यो कुरा आयो गयो, त्यो आमासँग भन्ने कुरै थिएन, त्यसै भयो।''
आमाको बिहेको कुरा कसरी अगाडि बढ्यो?
भास्करले यसबारे लामो समयसम्म केही सोच्न सकेनन्। उनको कलेजको पढाइ पूरा भयो। उनी काम गर्न थाले। किताब पढ्ने सोखका कारण उनले संसारभरका कुरा पनि थाहा पाउन थाले। उनले पुनर्विवाहबारे विभिन्न लेखहरू पढे। त्यसपछि साथीहरूसँग पनि यही विषयमा कुराकानी हुन थाल्यो ।
त्यसपछि भास्करले सोचे कि आमा पनि एक्ली हुनुहुन्छ उहाँको पुनर्विवाह किन हुन सक्दैन? यो विचार आएपछि उनले आफ्ना भाइसँग सल्लाह गरे। भाइलाई पनि त्यसमा कुनै आपत्ति थिएन।
त्यसपछि दुवै दाजुभाइ मिलेर आमालाई मनाउने काम थाले।
भास्करले भने, "आमाको जीवन हाम्रै वरिपरि घुमिरहन्थ्यो। त्यसैले आमाले सुरुमा त्यसबारे कुरा गर्न अनिच्छा जाहेर गर्नुभयो। तर हामीले बिहेबारे सन्दर्भ मिल्ने बित्तिकै कुरा अगाडि बढाउन थाल्यौँ। एक दिन मेरी आमाले मलाई तिम्रो बिहे गर्ने बेला भयो अब गर भन्नुभयो। त्यसबेलामा मैले भनेँ, यदि तपाईँ बिहे गर्नुहुन्छ भने म पनि गरौँला।"
भास्कर भन्छन्, "त्यसपछि मैले आमासँग यसबारे बारम्बार कुरा गर्न थालेँ। मैले उहाँलाई भनेँ कि तपाईँ लामो समयदेखि एक्लै सङ्घर्ष गरिरहनु भएको छ। तपाईँले पुनर्विवाह गर्नुपर्छ अनि म पनि बिहे गर्छु।"

आफन्तहरूले आपत्ति जनाए
दुवै छोराको निरन्तरको वर्षौँको प्रयासपछि सेल्वी पुनर्विवाह गर्न तयार भइन्। तर, समाजमा विधवाहरूले बिहे गर्ने चलन थिएन।
श्रीमान्को मृत्यु भएकी महिलाले जीवनभर विधवा भएर बाँच्न बाध्य छन्। आफन्तहरू यस्ता महिलाको दोस्रो विवाहका लागि तयार हुँदैनन्। सेल्वी भन्छिन्, "मेरो जेठो छोराले मसँग मेरो विवाहबारे कुरा गरेका बेला म छक्क परेँ। मैले उनलाई गाली गरेँ र भनेँ जब मेरो छोरा विवाह योग्य भइसकेको छ तब मैले बिहे गरेँ भने छिमेकी र आफन्तहरूले के भन्लान्?"
सेल्वीका अनुसार, "मेरा छोराहरूले मैले कहिलेसम्म एक्लै सङ्घर्ष गर्ने भन्ने सोध्ने गर्थे। दुवै दाजुभाइले पनि कामका सिलसिलामा आफूहरू बाहिर जाँदा म झन् बढी चिन्तित रहनेछु भन्ने कुरा गर्न थाले। त्यसपछि मैले पनि यसबारे सोच्न सुरु गरेँ।"
आफन्तहरू के भन्लान् भन्नेबारेको चिन्ता पनि छोराहरूले हटाइदिए। "जब हाम्रा दुखका दिन थिए तब कसैले साथ दिन आएनन् तब यो कुरामा हामी उनीहरूको चिन्ता किन गर्ने?"
धेरै सोच विचार गरेर सेल्वीले आफ्नो पुनर्विवाहको फैसला लिइन् किनभने उनलाई आफ्ना दुवै छोरा आफ्नो साथमा रहेको लागिरहेको थियो।

छोराहरूले नै आफ्नी आमाका लागि वर खोजे
आमाको स्वीकृति पाएपछि दुवै छोराको अर्को चुनौती उपयुक्त दुलहा खोज्ने थियो ।
भास्करले भने, "हामी आमाको विवाह त्यस्तो व्यक्तिसँग गर्न चाहन्नथ्यौँ जसको पत्नीको निधन भएको थियो र उसले मेरी आमासँग दोस्रो विवाह गरून्।"
भास्करले आफ्नी आमालाई कैयौँ दिन लगाएर खोजिएका वरसँग कुराकानी गरेर हेर्नुहोस् अनि अगाडिका कुरा तय गरौँला भनेँ। जोसँग आमा सेल्वीले पछि बिहे गरिन् उनी आफ्ना हुनेवाला पतिसँग प्रेम गर्न थालेकी थिइन्।
सेल्वी भन्छिन्, "मलाई धेरैले सोधे, छोराछोरीले भने पनि यतिका वर्षपछि कसरी यस्तो जीवन बिताउन राजी हुन सक्छ्यौ? सम्बन्ध विच्छेद गरेकाहरूका लागि पुनर्विवाह गर्ने कानुन छ भने म किन डराउनु?"
उनले भनिन्, "छोराछोरीका लागि बोझ नबनिकन आफ्ना लागि जीवनसाथी खोज्नुमा कुनै नराम्रो कुरा छैन। विवाह भनेको यौनका लागि मात्र होइन। एकजना मित्र अथवा साथी हुँदा तपाईँलाई साहस मिल्छ।"

'आफ्नो भावना नछिपाउनु '
सेल्वी भन्छिन्, "जब मैले मेरा छोराहरूका बाबु गुमाएकी थिएँ, कैयौँ मानिसहरू गलत मनसाय लिएर मेरो छेउ आउँथे किनभने म श्रीमान् विनाकी एक्ली थिएँ। तर कोही पनि मसँग बिहे गर्ने विचार राखेर आएको थिएन।''
"मेरो पहिलो श्रीमान्को मृत्यु हुँदा हाम्रो घरमा शौचालय थिएन। त्यसैले राति दिसा पिसाप गर्न जान पनि मन लाग्दैनथ्यो। किनभने मानिसहरू सोध्न सक्थे, यो रातको समयमा कहाँ जान लागेको भनेर? मलाई एक्लै देखेर केही मानिसहरू मसँग यौन सम्बन्ध राख्नेबारे कुरा गर्न आउँथे। त्यस्ता मान्छेलाई मैले सोध्ने गर्थेँ- के तपाईँ आफ्नी पत्नी र छोराछोरीलाई यसबारे बताउनुहुनेछ, तब उनीहरू भागिहाल्थे।''
"म भन्दा जेठा धेरै महिलाले फेरि बिहे गर्ने हिम्मत नभएको मलाई बताएका छन्। म कैयौँ युवतीहरूसँग पनि कुरा गरिरहेकी छु जो आफ्ना श्रीमान् गुमाएर एक्लै बसिरहेका छन्। मैले उनीहरूलाई नयाँ आशा दिलाएकी छु।
जो महिलाका पतिको निधन भइसकेको छ उनीहरूलाई अपिल गर्दै सेल्वी भन्छिन्, "जसले मैले जस्तै पति गुमाएका छन्, उनीहरूले एउटा साहसिक निर्णय लिनुपर्छ र फेरि नयाँ जीवन सुरु गर्नुपर्छ। म जस्ता धेरै महिलाहरू आफ्नो वास्तविक भावना लुकाएर बस्छन् र त्रासमा बाँच्छन्।"
"एक्लै बाँच्न धेरै गाह्रो छ। यसरी बाँच्न आवश्यक छैन। म चाहन्छु कि मानिसहरूले आफ्नो जीवनलाई महत्त्व दिउन्। अरूले के भन्छन् भन्ने पर्बाह नगरुन्।"सेल्वीको दोस्रो विवाहमा उनको परिवारका कोही पनि सहभागी भएनन् ।
उनको दोस्रो श्रीमानका परिवारका सदस्यहरू मात्र उपस्थित थिए।भास्कर भन्छन्- ''मेरी आमाको परिवारका सदस्यहरूले लामो समयसम्म हामीलाई बहिष्कार गरेका थिए, अब हामीले बुझेका छौँ कि यसबाट हामीलाई कुनै हानी छैन।''

कति छोराछोरी आफ्नी आमाका लागि यसरी सोच्लान्?
सेल्वीले भनिन्, "मेरा पतिको मृत्यु भएका बेला मैले आफ्ना ससुरा, सासु र आमालाई फोन गरेकी थिएँ। दुई छोरा कसरी हुर्काउँला भनेर म अन्योलमा थिएँ। त्यसबेला कोही सहयोग गर्न आएनन्। मैले आफ्ना बच्चा एक्लै हुर्काएँ। समय सँगसँगै छोराहरूले पार्ट टाइम काम गरेँ र जस्तो आइलाग्छ त्यसको अनुकूल हुँदै गए।"
कठिनाइहरू सामना गरेका कारण नै सेल्वी र उनका छोराहरूले यो समाजको तौर तरिका राम्ररी बुझेका छन्।
सेल्वीको दोस्रो विवाह येटुमलाई नामका खेती मजदुरसँग भएको छ।
सेल्वी मुस्कुराउँदै भन्छिन्, "उनी सम्पूर्ण काम गर्छन् र मेरो हेरचाह पनि गर्छन्।"
सेल्वी खुसीसाथ बताउँछिन्, "कति छोराछोरीले सोच्ने गरेका छन् र आमाको पनि जिन्दगी हुन्छ र उनलाई पनि एकजना साथीको जरुरत पर्छ। जब म मेरा छोराहरूबारे सोच्छु मलाई गर्व हुन्छ।"
यो पनि पढ्नुहोस्:









