साम्बा : भारतीय टोलीमाथि नेपाली खेलाडीले दिँदै आएको दबाव

फुटबल मैदानमा साम्बा
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

ठ्याक्कै भन्नुपर्दा साबित्रा भण्डारी 'साम्बा'ले भारतीय टोलीमाथि दबाव दिन थालेको छ वर्ष भएछ।

विगत डेढ दशकबाट भारतीय महिला फुटबल टोलीले नेपालमाथि एकोहोरो दबदबा बनाइरहेको थियो। तर नेपाली महिला फुटबलमा साम्बाको उदय भएका बेलादेखि परिस्थिति उल्टिँदै गएको छ।

अहिले भारतीय महिला फुटबल टोली नेपाली टोलीसँग खेल्दा दबाबमा आउने गरेको फुटबलका जानकार बताउँछन्। भारतीय महिला खेलाडीमा साम्बा 'डर' को विषय बनिसकेको बताउने गरिन्छ।

त्यस्तो त्रास साम्बाको आइतवारको प्रदर्शनले पुष्टि गरेको मान्नेहरू छन्।

उनको २ गोलका कारण नेपालले भारतलाई फेरि एक पटक पराजित गर्‍यो।

त्यो त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बाजी नेपालले मार्‍यो।

जितपछि साम्बाले सामाजिक सञ्जालमा लेखिन्, "भारतको चुनौतीलाई फेरि पार गर्नु यो महत्त्वपूर्ण थियो। एसियाली कप गुमाउनुको पिडा अझै छ। किनकि हामीलाई थाहा छ कि हामी अझ उचाइमा पुग्न सक्षम छौँ।"

भारतले नेपाललाई हराउन नसकेको ६ वर्ष भइसक्यो। र यसबीच नेपालसँग पटक पटक पराजित हुँदा साम्बा नै टोलीको 'नायक' बन्दै आएकी छिन्।

साम्बा एक्लैले भारतविरुद्ध १० गोल गरिसकिन्।

इतिहासतिर फर्किने हो भने साम्बाको उदयसँगै नेपालमाथिको भारत दबदबा कमजोर हुँदै गएको मानिन्छ।

भारतविरुद्ध साम्बाको उदय

भारतविरुद्ध साम्बाको उदयको सुरुआत सन् २०१९ को हिरो गोल्ड कपबाट भएको मानिन्छ।

इतिहासमा नेपालले भारतलाई पराजित गरेको त्यो पहिलो प्रतियोगिता थियो।

उडिसामा खेलिएको उक्त प्रतियोगितामा नेपाल, भारत, म्यानमार र इरानले सहभागिता जनाएका थिए।

भारतविरुद्ध खेल सुरु भएको ७ मिनेटमा साम्बाले २ गोल गरेर तहल्का मच्चाइदिइन्। पाँचौँ मिनेटमा पेनल्टीबाट र त्यसको दुई मिनेटभित्र उनले अर्को गोल गर्दा सनसनी मच्चिएको थियो।

भारतकी बालादेवीले ८० मिनेटमा गोल फर्काए पनि जित नेपालको भयो।

त्यो हारसँगै आयोजक भारत लीग चरणबाटै आउट भएको थियो भने नेपाल फाइनलमा पुगेको थियो।

भारत विरुद्धको यो पहिलो ऐतिहासिक जितले साम्बालाई चर्चाको चुलीमा पुर्‍यायो।

'इन्जुरी' समयमा गरेको २ गोल

सन् २०२३ मा भारतमै खेलिएको मैत्रीपूर्ण खेलमा त साम्बाले भारतको मुखबाट जित खोसेर लिएको देखिएको थियो।

भारतको दक्षिणी शहर चेन्नईमा भएको उक्त मैत्री खेलमा भारत खेलको इन्जुरी समयसम्म २ गोलको अग्रतामा थियो।

भारतीय बक्समा रहेका खेलाडीहरू खुसी मनाउन थालिसकेका थिए।

तर यसबीचको २ मिनेटमा साम्बाले २ गोल गरिदिइन्। एक प्रकारले यो चमत्कार जस्तो लागेको कैयौँ बताउँछन्।

पहिलो गोल उनले पेनल्टीमा नै गरेकी थिइन्। लगत्तै उनले लामो दौड लगाउँदै विपक्षी छक्क्याएर दोस्रो गोल गरिन्।

जित्दा जित्दैको खेल भारतले बराबरीमा चित बुझाउनु पर्‍यो।

जितपछि जर्सी फुकालेर खुसी मनाइरहेकी साम्बा

साम्बा 'सेलिब्रेसन'

गत वर्ष काठमाण्डूको दशरथ रङ्गशालामा भएको नेपाल र भारतबीचको महिला साफ च्याम्पियशिपको सेमिफाइनल खेल त महिला फुटबल इतिहासकै एउटा सनसनीपूर्ण खेल बन्यो।

दक्षिण एसिया मात्र होइन, यो खेलको चर्चा विश्वव्यापी नै भएको थियो।

यो नेपाली महिला फुटबल इतिहासकै लामो खेल थियो।

भुटानी रेफ्रीले गरेको विवादास्पद निर्णय र त्यसको कारण खेलमा आएको विवादले खेल झन्डै सवा घण्टा रोकिन पुग्यो।

त्यति बेला खेलमा नेपाल १-० ले पछाडि थियो।

तर जब पुनः खेल सञ्चालन भयो, साम्बाले २० हजार दर्शकले खचाखच भरिएको दशरथ रङ्गशालामा दर्शनीय गोल गरिदिइन्।

त्यसपछि उनले आफ्नो जर्सी फुकालेर खुसीयाली मनाइन्। जसलाई साम्बाको 'आइकोनिक सेलिब्रेसन' भन्ने गरिएको छ।

त्यही बराबरी गोलपछिको टाइब्रेकरमा नेपालले बाजी मारेको थियो।

ठिक ३६५ दिनपछि

संयोग के भयो भने दशरथ रङ्गशालामा भएको त्यो खेलको ठिक ३६५ दिनपछि नेपाल र भारत थ्री नेसन्स कपमा आइतवार आमने सामने भएका हुन्।

खेल सुरु भएको दोस्रो मिनेटमा भारतविरुद्ध पहिलो पटक कप्तानको आर्म ब्यान्ड लगाएर खेलेकी साम्बाले गोल गरेर आफ्नो रवाफ देखाइसकेकी थिइन्।

६२ औँ मिनेटमा शानदार फ्री किक बाट गोल गरेपछि नेपाल २-० को अग्रता लिएको थियो। भारतले एक गोल फर्काए पनि त्यसले नेपाललाई जित्नबाट रोक्न सकेन।

टोलीका प्रशिक्षक नवीन न्यौपाने भने, " भारतसँग खेल्दा साम्बाको रूप नै बेग्लै देखिन्छ। छुट्टै आत्मबल बढेको जस्तो देखिन्छ। यसले टीमलाई नै ऊर्जा भर्ने काम हुन्छ।"

यसबीच एउटा रमाइलो तथ्य के हो भने सन् २०२२ को साफ च्याम्पियनशिपमा नेपालले भारतलाई हराउँदा मात्रै साम्बाले गोल गरिनन्। १ गोलले जितको त्यो गोल रश्मी कुमारी घिसिङले गरेकी थिइन्।

'दक्षिण एसियाकी स्टार'

विगतमा साफ च्याम्पियनसिप होस् वा दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग), भारत र नेपाली महिला फुटबलबीच प्राय: फाइनलमा भेट हुन्थ्यो। अनि नेपाल सधैँजसो पराजित भएर फर्किन्थ्यो।

साम्बाले इतिहास बदलिदिएकी तथ्याङ्कले देखाउँछन्। पछिल्लो ६ वर्षमा कि नेपाल जितेको छ वा बराबरी भएको छ।

साम्बाले आफू दक्षिण एसियाका एक उत्कृष्ट स्ट्राइकर रहेको फेरि प्रमाणित गरेको रूपमा हेरिएको छ।

युरोपमा खेल्न जानु अगाडि साम्बाले भारतको इन्डियन विमिन्स लीगमा ३ सिजन बिताइन् र तीनै सिजनमा खेलेको टीमलाई च्याम्पियन बनाइन्।

अनि हरेक खेलमा उनी उत्कृष्ट गोलकर्ताका रूपमा पुरस्कृत पनि भइन्।

भारतीय खेलाडीविरुद्ध खेल्न अभ्यस्त साम्बा भारतीय खेलाडीप्रति आक्रामक र 'टाउको दुखाइ' बनेको रूपमा हेरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।