साउदी अरबमा हुने २०३४ को विश्वकप फुटबल कस्तो होला

सन् २०३४ को पुरुष विश्वकप फुटबल हुने साउदी अरबको एक रङ्गशालाको डिजाइन

तस्बिर स्रोत, Saudi 2034

तस्बिरको क्याप्शन, साउदी अरब विश्वकप फुटबल आयोजना गर्ने दोस्रो मध्यपूर्वी देश हुने छ (डिजाइन)
    • Author, डेभिड वाट्किन्सन
    • Role, बीबीसी खेल संवाददाता

सन् २०३४ को पुरुष विश्वकप फुटबल साउदी अरबमा आयोजना गर्ने फिफाको निर्णयसँगै विश्वकप खेलाउने फुटबल रङ्गशाला नै तयार नगरेको देशलाई आयोजक बनाइएको भन्दै विवाद भएको छ।

आयोजक साउदी अरबले भने विश्वकपका लागि "कहीँ नभएका विशेष" रङ्गशालाहरू बनाइने बताएको छ।

विश्वकप फुटबलका लागि यो देशले अब ११ वटा रङ्गशाला बनाउनुपर्ने छ। अहिलेसम्म ती कुनै पनि रङ्गशाला तयार भइसकेका छैनन्। त्यसमध्येको एउटा रङ्गशाला नयाँ सहरमा हुनेछ। तर रोचक के छ भने त्यो सहर नै बन्न बाँकी छ।

बुधवारको फिफाको निर्णयसँगै साउदी अरब मध्यपूर्वमा विश्वकप फुटबल आयोजना गर्ने दोस्रो देश हुने भएको छ। यसअघि सन् २०२२ मा मध्यपूर्वको कतारले विश्वकप फुटबल आयोजना गरेको थियो।

साउदी अरबले सन् २०२१ यता खेलकुदमा पाँच अर्ब युरोभन्दा धेरै लगानी गरिसकेको छ। देशको अर्थतन्त्रलाई विविधीकरण गर्न 'एमबीएस' भनेर चिनिने राजकुमार मोहम्मद बिन सलमानले उल्लेख्य भूमिका खेलिरहेका छन्। उनले चर्चित बक्सिङ प्रतियोगिता देखि फर्म्यला-१ सम्म साउदी अरबमा आयोजना गरिसकेका छन्।

साउदी अरबको घरेलु फुटबल लीगमा पनि अहिले विश्वका चर्चित खेलाडीहरू आबद्ध छन्। क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र नेइमार जूनिअर त्यसमध्येका केही हुन्।

यद्यपि यो देशमाथि आफ्नो 'छवि सुधार्न खेलकुद'लाई प्रयोग गरेको आरोप लाग्दै आएको छ। मानव अधिकार उल्लङ्घन र पर्यावरणमा असर पुर्‍याएको आरोप खेप्दै आएको यो देशले खेलकुदमा अभूतपूर्व लगानी गरिरहेको छ।

त्यसो भए साउदी अरबमा हुने विश्वकप कस्तो देखिएला?

११ वटा 'अनौठा' रङ्गशाला

साउदी अरबमा विश्वकपका लागि बन्ने रङ्गशाला

तस्बिर स्रोत, Saudi 2034

तस्बिरको क्याप्शन, विश्वकपका लागि बनाइएको योजनाअनुसारका कुल १५ मध्ये चारवटा रङ्गशाला बनिसकेका छन् भने कतिपय बन्ने क्रममा छन्

फुटबलको प्रशासनिक निकाय फिफाले साउदी अरबमा बन्ने नयाँ रङ्गशालाहरूले "विश्वमा भविष्यमा बन्ने रङ्गशालाहरूको खाकामै परिवर्तन ल्याइदिने" दाबी गरेको छ।

आयोजकका अनुसार साउदी अरबमा जम्मा १५ वटा रङ्गशालामा विश्पकप फुटबलका खेलहरू हुनेछन्। ती खेलहरू रियाद, जेद्दा, अबाह, अल-कोबर र निआम र देशको उत्तर पश्चिमी क्षेत्रमा बन्ने नयाँ सहरमा हुनेछन्।

त्यसमध्येको एक निआम रङ्गशाला जमिनभन्दा ३५० मिटर उचाइमा बन्नेछ। तीव्र गतिका लिफ्ट र चाल रहित सवारी साधनहरूको सहायतामा मात्रै उक्त रङ्गशालामा पुग्न सकिने बताइएको छ।

कार-रहित सहर बनाउने 'द लाइन' योजना अन्तर्गत यो रङ्गशाला बन्न लागेको हो।

किद्दिया कोस्ट रङ्गशालाको डिजाइन मेक्सिकन छालजस्तो हुनेछ। राजकुमार मोहम्मद बिन सलमानले रियादमा बन्ने रङ्गशाला एउटा भिरको टुप्पोमा बन्ने बताएका छन्।

विश्वकप खेलाइनेमध्ये आठ वटा रङ्गशाला राजधानी रियादमा हुनेछन्। राजा सलमानको नाममा रियादमा बनाइने रङ्गशालामा ९२,७६० जना दर्शक अटाउने क्षमता हुनेछ।

कुल १५ मध्ये चारवटा रङ्गशाला बनिसकेका छन्। आठ वटा निर्माणको योजनामा छन् भने तीन वटा निर्माणाधीन छन्। ती निर्माणाधीन रङ्गशालामा सन् २०२७ को एएफसी एशियन कप खेलाइने छ।

विवादास्पद आयोजक?

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले आफ्नो देशमा अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धा गराउन चासो राख्ने गरेका छन्

महिलाहरूको अधिकार हनन, समलैङ्गिक सम्बन्धलाई अपराध मान्ने कानुन, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध र यमनमा युद्धमा संलग्नताजस्ता विषयमा पनि साउदी अरबको आलोचना हुने गर्छ।

सरकारको प्रमुख आलोचकका रूपमा चिनिएका र अमेरिकामा रहेका साउदी पत्रकार जमाल खशोग्गीको सन् २०१८ मा भएको हत्याले साउदी अरबको अन्तर्राष्ट्रिय छविमा गम्भीर क्षति पुगेको थियो।

गैरसरकारी संस्थाहरूले हालै गरेको एक दाबीअनुसार सन् २०२४ को नौ महिनामा यो देशले २०० जना व्यक्तिहरूलाई मृत्युदण्ड दिइसकेको छ।

मानव अधिकार अभियानकर्ताहरूले साउदी सरकारले लामो समयदेखि उसको प्रतिष्ठामा पुगेको क्षतिलाई पूर्ति गर्न खेलकुदको प्रयोग गरिरहेको बताएका छन्।

उनीहरूले साउदी सरकारले "खेलले छवि सुधार्ने" प्रयत्न गरेको टिप्पणी गरेका छन्।

तर साउदी सरकारले भने देशको अर्थतन्त्र र पर्यटनमा सुधारका लागि विश्वकप आयोजना गर्न लागिएको दाबी गरेको छ।

फिफाको निर्देशिकाअनुसार विश्वकप आयोजना गर्ने देशले मानव अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको हुनुपर्छ।

नोभेम्बरमा फिफाले विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई अहिलेसम्मकै धेरै अङ्क दिएको थियो। विश्वकपले मानव अधिकारको अवस्था सुधारको प्रयासमा सहयोग पुर्‍याउने दाबी फिफाले गरेको थियो।

एम्नेस्टी इन्टर्न्याश्नलले गत महिना साउदी अरबले मानव अधिकारका क्षेत्रमा सुधारको महत्त्वपूर्ण घोषणा नगरेसम्म विश्वकप आयोजना गर्ने अवसर दिन नहुने दाबी गरेको थियो।

विदेशी कामदारबारे साउदीको प्रतिबद्धता

सन् २०३४ को पुरुष विश्वकप फुटबल हुने साउदी अरबको एक रङ्गशालाको डिजाइन

तस्बिर स्रोत, Saudi 2034

साउदी अरबमा मादक पदार्थ गैरकानुनी छ र विश्वकपअघि त्यो खुल्ला हुने सङ्केत देखिँदैन।

मादक पदार्थ सेवन गर्दा जरिबाना, जेल सजाय र देशबाट निष्कासन हुन सक्छ।

"हामीले एक सयभन्दा धेरै खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ र मदिराबिनै ३० लाख खे प्रेमीलाई स्वागत गरिसकेका छौँ," साउदी अरबका खेलकुदमन्त्रीले स्काई स्पोर्ट्ससँग भनेका छन्।

"उनीहरूले यहाँ बिताएको समयको मजा लिएका छन् र साउदी अरबको मनोरञ्जन, कला, सङ्गीत, संस्कृति र सम्पदा देख्ने अवसर पाएका छन्।"

गत वर्ष बीबीसीका खेल सम्पादकसँग कुरा गर्दै साउदी अरबका खेलकुदमन्त्री समेत रहेका राजकुमार अब्दुलअजीज बिन टर्की बिन फैसलले साउदी अरबमा विश्वकप आयोजना हुँदा विदेशी कामदारमाथि गलत व्यवहार नहुने बताएका छन्। उनले सन् २०२२ को फिफा विश्वकप आयोजना हुँदा कतारमा विदेशी कामदारहरूमाथि भएको व्यवहार साउदी अरबमा "नदोहोरिने" वाचा गरेका छन्।

साउदी अरबमा समलिङ्गी सम्बन्ध गैरकानुनी छ र कानुनले पारलैङ्गिक व्यक्तिहरूलाई पनि पहिचान गर्दैन।

तर मन्त्री अब्दुलअजीजले सन् २०३४ मा "सबैलाई स्वागत गरिने" समेत बताएका छन्।

नयाँनयाँ संरचना

सन् २०३४ को पुरुष विश्वकप फुटबल हुने साउदी अरबको निआम रङ्गशालाको डिजाइन

तस्बिर स्रोत, Saudi 2034

विश्वकप आयोजना गर्न साउदी अरबले आफ्ना विमानस्थलहरू पनि विस्तार गर्ने वाचा गरेको छ। तीव्र गतिका रेल सञ्जालहरू विस्तार गर्ने र सार्वजनिक यातायात बढाउने वाचा पनि यो देशले गरेको छ।

यद्यपि विश्वकप हुने कतिपय रङ्गशालाहरूबीचको दूरी टाढा रहेका कारण फुटबल समर्थकहरू हवाई यात्रामै भर पर्नुपर्ने अवस्था छ।

साउदी अरब मध्यपूर्वको सबैभन्दा ठूलो देश हो।

सन् २०२६ बाट विश्वकपमा ४८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि कतारमा विश्वकप हुँदासम्म ३२ वटा टोली मात्रै सहभागी थिए।

फिफाले सार्वजनिक यातायातमा व्यापक विस्तारको अपेक्षा गरिएको बताएको छ। यसमध्ये रियादमा नयाँ मेट्रो प्रणालीको जडान पनि एक छ।

विश्वकप हेर्न जाने प्रशंसकहरूका लागि हरेक सहरमा दुई वटाका दरले १० वटा 'फ्यान पार्क' निर्माण गरिने योजना छ।

विश्वकप २०३४ पनि हिउँदमा हुने सम्भावना छ?

सन् २०३४ को पुरुष विश्वकप फुटबल हुने साउदी अरबको एक रङ्गशालाको डिजाइन

तस्बिर स्रोत, Saudi 2034

सन् २०२२ को पुरुष विश्वकप प्रतियोगिताजस्तै सन् २०३४ को संस्करण पनि सम्भवतः हिउँद याममा आयोजना हुने छ। ग्रीष्ममा अत्यधिक गर्मी हुने भएकाले पनि त्यस्तो सम्भावना रहेको हो।

बीबीसीसँग कुरा गर्दै खेलकुदमन्त्री रहेका राजकुमार अब्दुलअजीजले गर्मीयाममा खेल आयोजना गर्न सकिने सम्भावनाबारे पनि आयोजकले अध्ययन गरिरहेको बताएका छन्।

"गर्मीमा आयोजना गर्ने सम्भावनाको खोजी किन नगर्ने? हामीलाई हिउँद र जे भए पनि फरक पर्दैन, मात्रै यस्तो प्रतियोगिता आयोजनाका लागि सही वातावरण हुनुपर्‍यो," उनी भन्छन्।

साउदी अरबमा अक्टोबरबाट एप्रिलसम्म तापक्रम मध्यम हुने गर्छ।

यी महिनाहरूमा विश्वकपका खेल आयोजना हुने सहरहरूको तापक्रम १५ देखि ३० डिग्री सेल्सिअससम्म रहने गर्छ।

तर मेबाट सेप्टेम्बरसम्म भित्री सहरहरूको दैनिक औसत तापक्रम २७ देखि ४३ डिग्री सेल्सिअस र तटीय क्षेत्रको औसत तापक्रम २७ देखि ३८ डिग्री सेल्सिअससम्म रहने गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।