साफ महिला फुटबलमा कमजोर आँकिएको भुटानसँग नेपाल रोकिनुको कारण

फुटबल
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

अनुमान गरिएविपरीत नेपालले साफ महिला च्याम्पिअनशिपको आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको छ।

महिला फुटबलको इतिहासमा नेपालले भुटानलाई पराजित गर्न नसकेको यो पहिलो पटक हो। भुटानले भने इतिहास रच्दै पहिलो पटक नेपाल विरुद्ध एक अङ्क बटुलेको छ।

यसअघिको चार साफ च्याम्पिअनशिपमा नेपालले भुटानलाई एकपक्षीय रूपमा पराजित गर्दै आएको थियो।

त्यस क्रममा टोलीले भुटानी पोस्टमा २३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन।

नेपालकी स्ट्राइकर सावित्रा भण्डारी एक्लैले भुटानविरुद्ध १० गोल गरेकी थिइन्।

रङ्गशालामा उपस्थित झन्डै पाँच हजारको सङ्ख्यामा रहेका दर्शकले खेल अवधिभर फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी तीनै स्ट्राइकर सावित्रा भण्डारीको अभाव महसुस गरेका थिए।

गोल गर्न नसक्नुको कारण

नेपाली खेलाडी

नेपाली खेलाडीहरूले पहिलो हाफमा सृजना गरेका एक दर्जनभन्दा बढी अवसरहरूमा कुनै गोल गर्न सकेनन्।

खेलाडीहरूमा ‘फिनिसिङ’ को स्पष्ट अभाव देखिएको थियो।

यो बराबरीसँगै यो वर्ष आफ्नो भूमिमा पहिलो साफ उपाधि जित्ने लक्ष्य राखेको नेपाली महिला फुटबल टोलीको अभियानमा धक्का लागेको छ।

यता सुधारिएको प्रदर्शन गर्दै भुटानी टोलीले साफ च्याम्पिअनशिपमा प्रभाव देखाएको छ। भलै उनीहरूले नेपाली पोस्टमा एउटा पनि गतिलो आक्रमण गर्न सकेनन्।

यसअघि पाँच पटक फाइनल खेलेर पनि नेपाल उपाधि जित्न नसकेको टोली हो।

पहिलो खेलबाट प्रशिक्षक राजेन्द्र तामाङसामु टीमको स्वरूप परिष्कृत गर्ने चुनौती थपिएको छ।

भुटानविरुद्ध गोल गर्न नसकेपछि निराश नेपाली खेलाडी

भुटानविरुद्ध नेपालले सङ्घर्ष नै गर्नुपर्‍यो।

पहिलो हाफमा खेलाडीहरूले अनेक अवसरहरू सृजना त गरे, तर कुनै पनि अवसरलाई गोलमा परिणत गर्न सकेनन्।

भुटानी रक्षापङ्क्ति त्यस्तो कठिन देखिएको थिएन। नेपाली स्ट्राइकरहरू आफैमा अलमलिएको जस्तो देखिएको थियो।

पहिलो हाफ गोलरहित बनेपछि प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफमा तीन खेलाडीहरू परिवर्तन गरे।

उनले मिड्फील्डर सरु लिम्बू र रेणुका नगरकोटेलाई हटाई स्ट्राइकर रेखा पौडेल र मिड्फील्डर दीपा शाहीलाई मैदान प्रवेश गराए।

रेखाले आक्रामक स्वभाव देखाइन्। उनले ५२ औँ मिनेटमा गरेको प्रहार गोलकीपरले मुस्किलले बचाइन् भने गोल लाइनबाट रक्षा पङ्क्तिका खेलाडीले बल क्लिअर गरेकी थिइन्।

भुटानको प्रदर्शनमा गोलकीपर सङ्गीता मोङगरको भूमिका उत्कृष्ट रह्यो। उनले ८३ औँ मिनेटमा सविता रानामगरले हानेको प्रहार उत्कृष्ट ढङ्गबाट बचाएकी थिइन्।

बलियो विगत

भुटानी खेलाडी

सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनशिपमा नेपाल र भुटान चार पटक आमेनसामने भएका छन्।

नेपालले चारै खेलमा छिमेकी टोलीलाई सहजै हराएको थियो।

सन् २०१४ र सन् २०१६ मा नेपाले भुटानलाई समान ८-० ले पराजित गरेको थियो।

सन् २०१९ को विराटनगरमा भएको संस्करणमा ३-० तथा सन् २०२२ मा काठमान्डूमा नै भएको छैटौँ संस्करणमा भने नेपाल ४-० ले विजयी भएको थियो।

नेपालले अब दोस्रो खेल आगामी सोमवार माल्दिभ्सविरुद्ध खेल्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।