नेपाली महिला फुटबल टोली के कारण उपाधि जित्न चुक्यो?

नेपाल र बाङ्गलादेशको महिला फूटबल टोली
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

साफ महिला च्याम्पिअनशिप अन्तरगत बुधवार साँझ भएको फाइनल खेलमा नेपालले भोगेको पराजयमा बाङ्ग्लादेशको राम्रो खेल प्रदर्शनका साथै नेपाली टोलीले गरेको एकपछि अर्को गल्ती पनि जिम्मेवार रहेको खेल विश्लेषकहरूले टिप्पणी गरेका छन्।

नेपाली महिला फुटबल टोलीले अहिलेसम्म यस्तो ठूलो र प्रतिष्ठित उपाधि जित्न नसकेको नमिठो इतिहास यसपालि मेटिने धेरैले आशा गरेका थिए। तर त्यो अवसर फेरि एकपटक नजिकै पुगेर गुम्यो।

विश्लेषकहरू भन्छन् नेपाली टोलीको प्रदर्शनमा ती सबै कुराहरू देखिएका थिए, जसले खेल जिताउन बाधा पुर्‍याउँथ्यो।

ती हुन्- "अनावश्यक दबाब, आत्मविश्वासको कमी, बलमाथिको कमजोर नियन्त्रण र गलत खेल रणनीति।"

"खेलाडीहरूले बल ‘होल्ड’ गरेर खेल्न सकेनन्। उनीहरूमा मैदानमा सङ्गठित भएर खेल्ने परिपक्वताको अभाव अर्को मूख्य चुकको रूपमा पाइयो" खेल विश्लेषकहरूको टिप्पणी छ।

त्यसमा खेल अधिकारीहरूको व्यवस्थापकीय कमजोरी उत्तिकै जिम्मेवार रहने पनि उनीहरू बताउँछन्।

फलस्वरूप रङ्गशालामा उपस्थित १५ हजारभन्दा बढी दर्शक अनि टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका लाखौँ नेपाली समर्थकहरू एक पीडादायक पराजयको साक्षी बन्नु पर्‍यो।

गलत रणनीति

नेपालको खेलको सुरुआती रणनीति नै रक्षात्मक शैलीको देखिएको थियो। प्रशिक्षक राजेन्द्र तामाङले ‘काउन्टर एट्याक’ को रणनीति बुनेका थिए।

४-२-३-१ को संरचनात्मक रणनीतिमा खेलेको टोलीमा एक्लो स्ट्राइकरको रूपमा सावित्रा भण्डारीलाई गोलको जिम्मा दिइएको थियो।

तर नेपालको प्रमुख हतियारको रूपमा रहेकी भण्डारीलाई रोक्न बाङ्ग्लादेशले तीनजना रक्षक राख्यो र उनलाई चल्न नदिने रणनीति बनायो। जुन आरामदायी ढङ्गले सफल भएको देखियो।

प्रशिक्षक विराट श्रेष्ठ भन्छन्: “फाइनल भनेको ‘डु अर डाई’ खेल हो। त्यसमा एकजना मात्र खेलाडीमा निर्भर नभई सङ्गठित भएर ‘टोटल गेम’ खेल्नु पर्थ्यो। त्यसो गरेको भए खेल जित्ने सम्भावना धेरै हुन्थ्यो। त्यसो भएको देखिएन।”

नेपालकी मुख्य खेलाडी सावित्रा विपक्षी तीन रक्षकको घेरामा निरीह जस्तै बन्न पुगिन्। मुख्य खेलमा उनको अधिकतम उपयोग हुनै सकेन।

टोलीका अन्य सहकर्मी खेलाडी र उनीबिचको दूरी निकै टाढा थियो। जसबाट गोल प्रहारको अवसर निस्कने सम्भावना निकै कम हुन्थ्यो।

महिला फुटबल

आधुनिक फुटबलमा देखिने खेल कौशलका दृश्यहरू जस्तै कर्नर, क्रस, हेड तथा सङ्गठित आक्रमण त नेपाली पक्षबाट विरलै देखिएको थियो।

जुन प्रकारको खेल नेपालले सेमिफाइनलमा खेलेको थियो। त्यसको आधा स्तरको खेल पनि नेपाली खेलाडीहरूले फाइनलमा पस्किन नसकेको धेरैको गुनासो रहेको पाइन्छ।

फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, “बाङ्ग्लादेशले पनि राम्रो खेल्न सकेको होइन। उनीहरू पनि दबाबमै थिए। त्यसको फाइदा नेपालले उठाउन सकेन। झन् नेपालको प्रदर्शन त्यो भन्दा पनि कमजोर देखियो।”

खेलको पूर्वार्धमा देखिएको कमजोरीलाई प्रशिक्षक तामाङले मध्यान्तरपछिको उत्तरार्धमा सच्याउन प्रयास गरेको नदेखिएको भन्ने टिप्पणीहरू पनि भएका छन्। टिममा ‘प्लान बी’ को कमी स्पष्ट महसुस भएको विश्लेषकहरू बताउँछन्।

नेपाली महिला फुटबल

मनोबलको कमी

फाइनल अगाडि खेलाडीहरूलाई यथेष्ट प्रेरणा दिनुपर्ने र अन्य विषयबाट टाढा राख्दै खेलमा केन्द्रित गराउनुपर्ने कुरालाई आधारभूत सर्तका रूपमा हेर्ने गरिन्छ।

तर आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फाले त्यतातिर ध्यान दिन नसकेको भनेर पनि आलोचना भैरहेको छ।

यता खेलाडीहरू बिहानैदेखि दबाबमा परिसकेका थिए।

टिकट किन्नेको बिहानै देखिको भीड, लाखौँ समर्थकहरूको अनेकन् प्रतिक्रियाहरूले गर्दा खेलाडीहरूमा मानसिक दबाब परेको खेलमा स्पष्ट देखिन्थ्यो।

एक्लो स्ट्राइकरको रूपमा सावित्रा भण्डारीलाई गोलको जिम्मा दिइएको थियो
तस्बिरको क्याप्शन, एक्लो स्ट्राइकरको रूपमा सावित्रा भण्डारीलाई गोलको जिम्मा दिइएको थियो

एन्फाका पुर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्: “मुख्य कुरा त तयारी मै कमजोरी हो। यद्यपि फाइनल पुगिसकेको अवस्थामा खेलाडीहरूलाई २४ घण्टा अगाडि देखि नै मानसिक तयारी गराउनुपर्ने हुन्छ। उनीहरूलाई कुनै पनि विषयमा डिस्टर्व नगरी बलियो मानसिकताका साथ मैदानमा लानुपर्छ।”

यो प्रतियोगिताका निम्ति जम्मा दुई हप्ताको समय तयारी गर्न पाएका प्रशिक्षक तामाङले एकताबद्ध तयारी गर्ने मौका पाएनन्।

उनले प्रतियोगिताअघि खेलाडीहरूलाई अभ्यासका लागि एउटा पनि मैत्रीपूर्ण खेल खेलाउने अवसर पाएनन्।

अब कहिले?

नेपाली महिला फुटबल टोली

कप्तान एन्जिलाले खेल अगाडिको पत्रकार सम्मेलनमा नेपालले अहिले नजिते अर्को पटक जित्न ५-१० वर्ष लाग्न सक्ने बताएकी थिइन्।

थुप्रै वरिष्ठ खेलाडीहरू बहिर्गमनको बेला भएकोले टोलीमा हुने परिवर्तनमा त्यो कठिन हुने उनको भनाई थियो।

त्यसो भएमा महिला टोलीलाई अझ गाह्रो हुन सक्नेछ।

सावित्रा भण्डारीले पनि म्याच हारेपछि भनेकी थिइन्, “राम्रो योजना नबुने आगामी दिनमा फाइनल होइन, सेमिफाइनलमा पनि नेपाली टिम नदेखिन सक्छ।”

हारले धेरै कमजोरी उजागर हुने गर्छ। तर विश्लेषकहरू भन्छन् नेपाली खेलाडी र खेल व्यवस्थापनले त्यस्ता कमजोरीलाई सुधारको अवसरका रूपमा लिँदै बलियो टोली निमार्ण नगरेमा देशले अन्य मौकाका अतिरिक्त दक्षिण एसियाको च्याम्पियन बन्ने सुवर्ण अवसरको प्रतिक्षामा लामै समय विताउनु पर्ने हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।