साफ महिला च्याम्पिअनशिपमा उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्ग्लादेशसँग २–१ ले पराजित

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
साफ महिला च्याम्पिअनशिपमा उपाधि उचाल्ने नेपाली महिला फुटबल टोलीको धोको एक पटक फेरि अधुरै रह्यो।
बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाझ नेपाललाई २-१ ले पराजित गरेको हो।
नेपालले पहिलो स्वर्ण मौका १० औँ मिनेटमा पाएको थियो। सावित्रा भण्डारीले मिलाइदिएको पासमा अमिषा कार्कीले डी–बक्स बाहिरबाट उत्कृष्ट प्रहार गरिन्। तर बल क्रसबारमा लागेर फर्किन पुग्यो।
२० औँ मिनेटमा अमृता जैसीले पहेँलो कार्ड पाइन्।
२७ औँ मिनेटमा अमिषाले अर्को मौका पाइन्। डी–बक्स भित्र वान भर्सेस वानको स्थिति बनेकोमा बललाई नियन्त्रणमा राख्न नसक्दा उनले गोल गर्ने मौका गुमाइन्।
३३ औँ मिनेटमा बाङ्ग्लादेशले डी–बक्स बाहिरबाट फ्रि–किकको अवसर पायो। तर त्यसको उपयोग गर्न सकेन।
नेपालले पहिलो हाफमा सावित्रालाई एक्लो स्ट्राइकरको रूपमा उभ्याउँदै रक्षात्मक रणनीति लिएको थियो। त्यसले गर्दा धेरैजसो समय नेपाली पक्ष दबावमा देखियो।
सावित्रालाई तीनजना विपक्षी रक्षकले घेरेपछि उनले गोल प्रयासका लागि कमै मौका पाइन्।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिदा दोस्रो हाफको छैटौँ मिनेटमा बाङ्ग्लादेशले मोनिका चक्माको गोलमार्फत् खेलमा अग्रता लियो।
तर तुरुन्तै नेपालले जबाफी गोल फर्कायो। ५६ औँ मिनेटमा प्रिति राईको पासमा अमिषाले गोल गरिन्।
तर ८१ औँ मिनेटमा रितु पूर्ण चक्माले अर्को गोल गर्दै बाङ्ग्लादेशलाई अग्रता दिलाइन्। बायाँ कर्नरको कुनाबाट उनले गरेको प्रहार सिधै गोलमा परिणत हुन पुगेको थियो।
त्यसपछि नेपालले गोल फर्काउन सकेन र खेल बाङ्ग्लादेशको पक्षमा गयो।
१२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो।

महिला साफ च्याम्पिअनसिपको ७ संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।
समग्रमा विसं २०३८ सालमा महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल खेलेको हिसाबमा महिला टोलीले ३८ वर्षको प्रयासमा पनि उपाधि जित्न सकेन।
नेपालमा आएर बाङ्ग्लादेशले दुई वर्षको बीचमा दुवै पटक दक्षिण एसियाको च्याम्पियन बन्न सफल भयो।
खचाखच भरिएको दशरथ रङ्गशालामा दर्शकले नेपाली टोलीलाई पूरा ९० मिनेट अनवरत समर्थन गरेका थिए।
बाङ्ग्लादेशका खेलाडीहरूले यस्तो दबाव झेल्दै स्तरीय प्रदर्शन गरेका थिए।
२ घण्टामा सबै टिकट विक्री

साफ महिला च्याम्पिअनशिपप्रति दर्शकको सहभागिता उत्साहजनक देखियो।
सेमिफाइनलमा दर्शकको उपस्थिति अभूतपूर्व थियो। त्यस्तै घुइँचो फाइनलमा पनि देखियो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आफैले भद्रकालीको सैनिक गेट तथा जावलाखेलस्थित फुटबल मैदानबाट फाइनलको टिकट बिक्री गरेको थियो।
टिकटका निम्ति दर्शकहरू बुधवार बिहानैदेखि घण्टौँ लाममा बसेका थिए।
टिकट खुलेको दुई घण्टाभित्रै सामान्य 'प्यारापिट'तर्फको १० हजार र 'भीआईपी'तर्फको १ हजार टिकट विक्री भएको थियो।
सामान्य 'प्यारापिट'तर्फ ५ सय र 'भीआइपी' तर्फको टिकट मूल्य १ हजार रुपैयाँ राखिएको थियो।
साँझ साढे ६ बजे खेल शुरु हुने भए पनि ४ बजेदेखि नै दर्शकहरू रङ्गशाला छिर्न थालेका थिए।
कतिपयले नेपालको जर्सी पहिरिएका थिए भने अनुहारमा राष्ट्रिय झन्डाको चित्र बनाएका थिए।
नेपाली टोलीमा कोको थिए?
एन्जिला तुम्बाप्पो सुब्बाको नेतृत्वमा विमला विके, गीता राना, अमृता जैसी, पुजा राना, रेणुका नगरकोटे, प्रिति राई, सरु लिम्बु , सविता रानामगर, अमिषा कार्की र सावित्रा भण्डारी मैदानमा उत्रिएका थिए।
चोटका कारण अनुभवी रक्षक हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले प्रतियोगिता गुमाउँदा स्ट्राइकर रेखा पौडेल भने सेमिफाइनलमा पाएको रातो कार्डका कारण फाइनलमा सहभागी थिइनन्।
नेपाली महिला टोलीले खेलेका १२ फाइनल
साफ महिला च्याम्पिअनशिप
सन् २०१०ः कक्सबजार, भारत (१-०) नेपाल
सन् २०१२ः कोलम्बो, भारत (३-१) नेपाल
सन् २०१४ः इस्लामाबाद, भारत (६-०) नेपाल
सन् २०१९ः विराटनगर, भारत (३-१) नेपाल
सन् २०२२ः काठमाण्डू, बाङ्ग्लादेश (३-१) नेपाल
सन् २०२४ काठमाण्डू, बाङ्ग्लादेश (२-१) नेपाल
दक्षिण एशियाली खेलकुद - साग
सन् २०१०: ढाका,भारत (३-१) नेपाल
सन् २०१६: सिलिगुडी, भारत (४-०) नेपाल
सन् २०१९: पोखरा, भारत (२-०) नेपाल
अन्य फाइनल
सन् २०१९: भारतमा आयोजित हिरो विमिन्स गोल्डकप, म्यान्मार (३-१) नेपाल
सन् २०१९ः किर्गिस्तानमा आयोजित नादेज्दा कप, उज्बेकिस्तान (३-२) नेपाल
सन् २०२४ः साउदी अरबमा आयोजित, बिया-वाफ विमिन्स च्याम्पिअनशिप, ट्राइब्रेकरमा जोर्डन ( ५-३) नेपाल
सन् २०१९ मा नेपालले भारतमा हिरो विमिन्स गोल्डकप खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो। त्यस खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन्।
तर नेपाल उक्त प्रतियोगिताको फाइनलमा म्यान्मारसँग ३–१ ले पराजित हुन पुग्यो।
सोही वर्ष सेप्टेम्बरमा नेपालले किर्गिस्तानमा गएर उज्वेकिस्तान, किर्गिस्तान र ताजकिस्तान सम्मिलित नादेज्दा कप खेलेको थियो।
राउन्ड रोबिन लीगमा शीर्ष २ भित्र रहँदै नेपाल प्रतियोगिताको फाइलनमा पुग्यो। तर उज्वेकिस्तानसँग ३–२ ले हार्दै उपाधिबाट विमुख हुनु पर्यो।
पश्चिम एशियाको फुटबल प्रतियोगिता वाफ विमिन्स च्याम्पिअनशिपको फाइनल त धेरै नेपाली समर्थकहरूको स्मरणमा ताजै छ।
यसै वर्षको फेब्रुअरीमा साउदी अरबको जेद्दाहमा भएको प्रतियोगितामा नेपाल सुन्दर खेल खेल्दै प्रतियोगिताको फाइनलमा पुगेको थियो। तर जोर्डन नेपालको तगारो बन्यो र टाइब्रेकरमा पराजित हुँदै नेपाल अर्को एक मौका गुमाउँदै घर फर्किएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








