विश्वकप २०२२: अक्टोपसदेखि एल्गोरिदमसम्म विजेता अनुमान गर्ने अनौठा तरिका

सन् २०१८ मा विश्व कप ट्रफीलाई चुम्बन गर्दै एमबाप्पे

तस्बिर स्रोत, Getty Images

बाजी, आर्टिफिसियल इन्टेलिजेन्स, लगानी गर्ने बैंक र तपाईँको समूहका साथीबीच के कुरा समान छ?

विभिन्न परिवेश र पृष्ठभूमिका मानिसहरूले फिफा विश्वकपको परिणामबारे विभिन्न तरिकाबाट अनुमान लगाउँछन्।

उनीहरूको आशय पनि फरक छ: उदाहरणका लागि उनीहरूले बाजी हाल्न लगाएर थुप्रै पैसा कमाउँछन्।

वित्तिय संस्थाहरूले बजारको अनुगमनका लागि आवश्यक हुने प्रक्षेपण यकिन गर्ने उद्देश्यले काम गर्छन्।

तर खेल अनुमान गर्न नसक्दा उनीहरूले तय गरेका प्रारुपहरूलाई नराम्री असर गर्छ।

त्यस्तै खालको तर्क ब्राजिलको एथोस सलोमजस्तै तथाकथित "भविष्यवक्ता" ले पनि गर्छन्। उनी कोभिड-१९ को विश्वव्यापी महामारी र रुसले युक्रेनमा गर्न लागेको हमलाको अनुमान गरेको दाबी गर्छन्। यदि फुटबल खेलको परिणाम पनि सही साबित भए त्यस्ता भविष्यवक्ताको "शक्ति" ले केही किसिमको वैधता पाउँछ।

खेलाडी र प्रशिक्षकसहितको विज्ञ टोलीले गर्ने अनुमानलाई पनि बिर्सन मिल्दैन। त्यस्तो अनुमान प्रतियोगिता अगाडि विश्वभरि सञ्चारमाध्यमले सार्वजनिक गर्छन्। पक्कै पनि ती निरन्तर रुपमा गलत हुने गर्छन्।

फुटबलको प्रशासकीय निकाय फिफाका अनुसार अहिले कतारमा भइरहेको खेल विश्वभरका करिब पाँच अर्ब जनताले हेर्छन्।

यूकेको ल्यानकास्टर विश्वविद्यालयस्थित अर्थ विश्लेषक प्राध्यापक रोबर्ट सिमोन्सले भने, "खेलमा बाजी मार्ने विषय मानिसको सन्तोषसँग जोडिएको तुष्टि हो चाहे त्यो पैसासँग जोडिएको विषय होस् वा पैसा नै नभएको विषय होस्।"

अर्जेन्टिनाले साउदी अरेबियासँग हार्ने र जर्मनीले जापानसँग हार्ने जस्ता विषयले खेलमा अनुमान गरेर बाजी राख्नु कति जोखिम हो भन्ने देखाइसकेको छ।

त्यही कुरालाई ख्याल गरेर हामीले विजेताको अनुमान गरिने केही तरिका यहाँ प्रस्तुत गरेका छौँ। तर यी कुनै पनि तरिकालाई बीबीसीले मान्दैन।

कम्प्युटर भन्छ "विजेता"

विश्व कप विजेताको अनुमान गर्न एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स तयार छन्?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्व कप विजेताको अनुमान गर्न एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स तयार छन्?

डिसेम्बर १८ तारिखमा कुन देशले विश्वकपको ट्रफी उचाल्छ भन्ने अनुमान गर्न सबैभन्दा नयाँ तरिका भनेको एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स हुन्।

तथ्याङ्क विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्सबारे यूकेमा रहेको एउटा महत्त्वपूर्ण अनुसन्धान केन्द्र एलन ट्युरिङ इन्स्टिट्युटले त्यसबारे अनुमान गर्छ।

उक्त इन्स्टिट्युटका वैज्ञानिकहरूले विगतका परिणाम र तथ्याङ्क प्रयोग गरेर ६४ विश्वकप खेलका १ लाख कम्प्युटर साइमुलेसन चलाउँछन्। त्यस्ता झण्डै ४ मध्ये एउटा साइमुलेसनमा पाँच पटक विजेता ब्राजिल सबैभन्दा माथि त्यसपछि बेल्जियम अनि दुईपटक विजेता अर्जेन्टिना र फ्रान्स आउँछन्।

अर्जेन्टिनाबारेको अनुमान धर्मराइसकेको छ

इन्स्टिट्युटले आफ्नो विज्ञप्तिमा भनेको छ, "कुनै पनि हाम्रा अनुमानलाई लिएर कुनै किसिमको बाजी राख्न हामी पक्कै पनि सिफारिस गर्दैनौँ।"

"तपाईँले अपनाउने विधि जति नै राम्रो भए पनि फुटबल यसै भन्न सकिने खेल होइन।"

विगतका दुई प्रतियोगितामा युबीएस, आइएनजी लगायतका कयौँ वित्तिय संस्थाहरूले विजेताबारे गरेको अनुमान गलत साबित भइसकेको छ।

एउटा अपवाद लण्डनमा रहेको लिबेरियम क्यापिटल बनेको छ जसका रणनीतिकारले विकास गरेको एल्गोरिदमले सही ढंगले सन् २०१४ र सन् २०१८ को विश्व कप विजेताको अनुमान गरेको थियो।

तर वित्तिय समाचार वेबसाइट मार्केटवाचलाई इभेन क्लेमेन्टले जनाए अनुसार उनले अपनाएको पद्धतिबाट ४५ प्रतिशत कुन टोलीले जित्छ भनेर अनुमान गरे पनि बाँकी ५५ प्रतिशत भने केवल भाग्यको कुरा हो।

'मानसिक' जनावरहरू

सन् २०१० मा पल द अक्टोपसले हल्याण्डको सट्टा स्पेन विजेता हुने अनुमान गरेको थियो र त्यो सही साबित भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१० को विश्व कपमा अक्टोपस "भविष्यवक्ता" बनेको थियो

पान्डा, न्याउरी मूसो, ऊँटजस्ता जनावरहरू त्यस्ता हुन् जसलाई भविष्यवक्ताका रूपमा प्रयोग गरिन्छ।

सन् २०१० को विश्वकपका बेला विजेता स्पेन बन्ने सही अनुमान पल द अक्टोपसले गरेको थियो। उसले शृङ्खलाबद्ध रूपमा मिलाएपछि उ पनि "भविष्यवक्ता" जस्तो बनेको थियो।

जर्मनीको पल नामक अक्टोपसलाई खानेकुरा राखिएको दुईवटा बाकस देखाइएको थियो जसमा देशको झण्डाहरू सजाइएको थियो। पलले १४ पटकमा १२ पटक "सही" अनुमान गरेको थियो।

प्रतियोगिताको केही महिनापछि पल मर्‍यो।

तर वैज्ञानिकहरूले भने त्यस्तो "शक्ति"को निरन्तर रुपमा प्रश्न गरे।

बाजी लगाउनेहरू कहिलेकाहीँ सही हुन्छन्

विश्वकप परिणामहरूबारे अनुमोदन गर्ने कुनै तरिका छैन तर प्राध्यापक सिमोन्सजस्ता विज्ञहरू पनि बाजी लगाउने कम्पनीहरू परिणाम छनोट गर्नेमा तत्काल प्रतिक्रिया जनाउने स्विकार्छन्।

"कुनै पनि अनुमान शतप्रतिशत राम्रो हुँदैन तर त्यस्ता बाजी लगाउनेहरू राम्रो स्रोत हुन् किनभने यदि उनीहरू गलत भए भने उनीहरूले ठूलो रकम तिर्छन्," उनले भने।

इतिहास (र भूगोल)ले धेरै अर्थ राख्छ

सन् १९६२ को विश्व कपमा ब्राजिलका खेलाडी

तस्बिर स्रोत, Getty Images

सन् १९३० मा उरुग्वेमा पहिलोपटक खेल भएयता विश्वकप धेरै परिवर्तन भइसकेको छ। आकार, लोकप्रियता र महत्त्वका हिसाबले यो ठूलो भएको छ। तर केही कुरा अनुमानित नै रहेका छन्। तीमध्ये केही तल प्रस्तुत गरिएको छ:

  • प्रतियोगिताको सुरुका २१ खेलमा ७९ देशले प्रतिस्पर्धा गरेका थिए त्यसमा जम्मा आठवटाले जिते। जसमा पाँचपटक ब्रजिलले, इटली र जर्मनीले चार-चार पटक त्यसपछि फ्रान्स, उरुग्वे र अर्जेन्टिनाले दुई-दुई पटक र इङ्ग्ल्यान्ड र स्पेनले एक-एक पटक जितेका छन्।
  • १९७८ यता तीनवटा टोलीमात्रै विगतमा नजितेका टोली हुन्।
  • लगातार विश्वकप ब्रजिलले १९६२ मा जितेको थियो।
  • ब्रजिल, जर्मनी र स्पेनले आफ्नो महादेशबाहिर विश्वकप जितेका छन्।
  • कुनै पनि अफ्रिकी देश क्वाटरफाइनल चरणबाट अघि बढेको छैन भने दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्ने एकमात्रै एसियाली देश हो।
  • सन् २०१० को उद्घाटन खेलमा हारे पनि अन्तिम प्रतियोगितामा जित्ने स्पेनमात्रै हो।