पाँचवटा विश्वकपमा गोल हान्ने पहिलो खेलाडी बनेपछि रोनाल्डोको प्रशंसा

तस्बिर स्रोत, Reuters
पोर्चुगल र घानाबीचको खेल हेर्न लागिरहेका फुटबल प्रशंसकहरूले क्रिस्टियानो रोनाल्डोबाट विशेष प्रदर्शनको आशा राखेका थिए।
र उनले स्टेडियम ९७४ मा यस्तो प्रदर्शन गरे जसले पोर्चुगलका समर्थकहरूलाई रोमाञ्चित बनायो भने घानाका समर्थकहरूले एउटा दुर्लभ दृश्य देख्न पाए।
सन् २०१६ को युरोपेली च्याम्पियनलाई कतार विश्वकपमा शानदार सुरुवात दिलाउने क्रममा ३७ वर्षका रोनाल्डोले ऐतिहासिक गोल गरे।
पोर्चुगलले घानालाई ३-२ गोल अन्तरले हराउँदा उनी पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
विश्वकप फुटबलअघि रोनाल्डोलाई पछ्याइरहेका मैदान बाहिरका विभिन्न विषयहरूबाट उक्त गोल र परिणामले सकारात्मक मोड दिएको छ।
उनले आफ्नो क्लब म्यानचेस्टर युनाइटेड र त्यसका व्यवस्थापक एरिक टेन हेगको कडा आलोचना गर्दै आएका थिए र अघिल्लो हप्ता एउटा अन्तरवार्तामा आपसी सम्झौतामा क्लब छाडेको बताएका थिए।
“त्यो एउटा हप्ता थियो जसले एक अध्याय अन्त्य गर्यो, त्यो समाप्त भइसक्यो। हामीले जित्यौँ र मैले टोलीलाई सहयोग गर्न सके, बाँकी कुराको अर्थ छैन,” रोनाल्डोले खेलपछाडि भने।
“मेरो पाँचौँ विश्वकप एउटा सुन्दर क्षण हो। हामीले जित्यौँ। राम्रो सुरुवात गर्यौँ र यो महत्त्वपूर्ण जित हो। यस्ता प्रतियोगितामा पहिलो खेल महत्त्वपूर्ण हुने गर्छ।”
“पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दा मलाई गर्व लागेको छ।”
‘हालसम्मकै उत्कृष्टमध्येका एक’

तस्बिर स्रोत, Reuters
दोहामा खेल हेर्न आएका ४२ हजार ६ सयमध्ये धेरै एकजना व्यक्तिका लागि मात्रै सो रङ्गशालामा उपस्थित थिए।
मैदान बाहिर एकजना आमा, छोरा र छोरी तीनैजानाले रोनाल्डोको ७ नम्बरको जर्सी लगाएका थिए र छोराले उनी मलाई मनपर्ने खेलाडी हुन् भनिरहेका थिए।
ती पोर्चुगलका अग्रपङ्क्तिका खेलाडीले दुई वटा ठूला मौका उक्त खेलमा गुमाएका थिए भने उनको एउटा गोललाई मान्यता दिइएन्।
तर दोस्रो हाफमा साउथह्याम्पटनका रक्षा पङ्क्तिका खेलाडी मोहम्मद सलिसुले फल गरेको भन्दै पेनाल्टी दिइएपछि उनले उक्त गोल गरेका थिए।
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोले भने, “उनी विश्वका हालसम्मकै उत्कृष्ट खेलाडी हुन्। क्रिस्टियानो रोनाल्डो अलौकिक छन्। उनी यस्ता नायक हुन् जसको बारेमा हामी अबको ५० वर्षपछि पनि छलफल गरिरहनेछौँ।”
खेल सकिन तीन मिनेट बाँकी रहँदा मैदानबाट बाहिरिँदा उनलाई समर्थकहरूले उठेर सम्मान दिएका थिए।
क्रिस्टियानो रोनाल्डोका अन्य कीर्तिमान
यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी (३७ वर्ष २ सय ९२ दिन) बनेका छन्।
सबैभन्दा पाका खेलाडीको कीर्तिमान क्यामरुनका रोजर मिल्लाको नाममा छ जसले सन् १९९४ को विश्वकपमा ४२ वर्ष ३९ दिनमा गोल गरेका थिए।
सन् २०२६ मा अर्को विश्वकप फुटबल हुँदा रोनाल्डो ४१ वर्षका हुनेछन्।
आफ्नो देशको तर्फबाट सबैभन्दा कम र बढी उमेरमा गोल प्रहार गर्ने उनी तेस्रो खेलाडी बनेका छन्।
विश्वकप र युरो जोडेर रोनाल्डोले १० वटा प्रमुख प्रतियोगिताहरूमा गोल गरेका छन्।
बीबीसी रेडिओ फाइभ लाइभसँग कुरा गर्दै पोर्चुगलको टोलीका उनका पूर्व सहकर्मीले रोनाल्डोलाई कीर्तिमानले पछ्याउने गरेको र पाँच वटा विश्वकपमा गोल गर्दा उनी ज्यादै गौरवान्वित हुने आफूलाई लागेको बताए।

पेनाल्टी दिने निर्णयलाई लिएर विवाद
सलिसुले बल साधारण रूपमा खेलेको वा भिडिओ सहायक रेफ्रीले हस्तक्षेप गरेको भए रोनाल्डोले उक्त ऐतिहासिक गोल गर्ने अवसर पाउने थिएनन्।
रेफ्रीले पेनाल्टी दिएका निर्णयप्रति असन्तुष्टि जनाउँदै घानाका प्रशिक्षक ओटो अडोले आक्रोश पनि व्यक्त गरे।
उनले बीइन स्पोर्टस्सँ ग भने, “रेफ्रीले पेनाल्टी नभएको अवस्थामा पेनाल्टी दिए जुन सबैले देखेका छन्। किन? रोनाल्डो भएर वा अन्य कारणले हो?”
के रोनाल्डो ‘सुपरस्टार’ भएर पेनाल्टी दिइएको थियो भन्ने खेलपछि सोधिएको प्रश्नमा उनले ‘रेफ्रीलाई सोध्न’ भनेका थिए।
“मसँग कुनै प्रमाण छैन कि उनले अरू कोहीलाई फरक ढङ्गले निर्णय गर्थे। त्यहाँ खेलाडीबीच सम्पर्क भएको थियो। मलाई थाह छैन उनीहरू के गरिरहेका थिए, के भीएआर (भिडिओ रेफ्री) ले ध्यान दिइरहेका थिएनन्? आज रेफ्री हाम्रो पक्षमा थिएनन्।’








