दशरथ रङ्गशालामा ब्रजिलका कार्लोस

कार्लोस
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

रोबेर्टो कार्लोसको नेपाल भ्रमण खासगरी ती समर्थकहरूका लागि विशेष हुनेछ, जसले उनको खेल निरन्तर नियालेका छन्। ब्रजिलको खेल हेर्नका लागि वर्षौँँ वर्ष निद्रा मारेका छन्।

पहेँलो जर्सीमा फ्री किकको जादु छर्ने कार्लोस नेपालको निमन्त्रणामा काठमाण्डू आइपुगेका छन्। पाँच दशक उमेर पार गरिसकेका उनले ब्रजिलको राष्ट्रिय टोलीबाट सन्न्यास लिएको पनि १९ वर्ष भइसक्यो।

यद्यपि विश्व फुटबलका यी प्रसिद्ध खेलाडी मध्येका एक कार्लोसको चर्चा निरन्तर हुने गर्छ। मङ्गलवार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिँदा मिडिया र समर्थकहरूको त्यहाँ बाक्लो उपस्थिति देखिएको थियो।

नेपाल सुपर लीग एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)ले बुधवार हुने दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एसीको खेल हेर्न उनलाई नेपाल निम्त्याएको हो।

उनलाई निम्त्याउने घोषणा पहिले नै भएको थियो। तर बीचमा बिरामी परेकाले उनको नेपाल आउने मिति सरेको थियो।

गत वर्ष पनि डिडियर ड्रोग्बालाई बोलाउने घोषणा गरेर पनि नबोलाएको आयोजक एनएसईएमले यसपालि पनि वाचा पूरा नगर्ने हो कि भन्ने चर्चा चुलिएपछि आयोजक दबावमा परेको देखिएको थियो।

उनी काठमाण्डूको दुई दिने छोटो बसाइँमा कार्लोस फुटबलका केही कार्यक्रममा व्यस्त हुनेछन्।

नेपालमा के गर्ने छन् कार्लोसले?

कार्लोसको मङ्गलवार दुई वटा कार्यक्रम थिए। उनले समर्थकलाई भेटे।

त्यस्तै उनी एनएसएलमा सहभागी सबै टीमका मालिकहरू र प्रायोजकहरूसँगको "मीट एन्ड ग्रीट" कार्यक्रममा सहभागी भए।

बुधवारको उनको तालिका दिउसो फुटबल प्रशंसकहरूसँग भेट्ने र बेलुका रङ्गशालामा पुगेर खेल हेर्ने हो।

दिउसो ती दर्शकहरूले कार्लोसलाई भेट्ने छन् जसले त्यसको लागि शुल्क तिरेका छन्। उनलाई नजिकबाट भेट्न चाहनेहरूको लागि यो मात्रै एउटा अवसर हुने छ।

त्यसपछि उनी दशरथ रङ्गशाला पुग्ने छन्। रङ्गशालामा आउने दर्शकको नजिक पुगियोस् भनेर उनले रङ्गशालाको एक चक्कर लगाउने कार्यक्रम राखिएको आयोजकले जनाएका छन्।

त्यही राति उनी ब्राजिल फर्किनेछन्।

कार्लोसका साथमा एक जना व्यवस्थापक र एक एजेन्ट पनि छन्। उनलाई बोलाउनका लागि आयोजकले कति खर्च गरेका छन् त्यो भने खुलाएका छैनन्।

रोबेर्टो कार्लोस
तस्बिरको क्याप्शन, नेपाल भित्रिएपछि रोबेर्टो कार्लोस

को हुन् कार्लोस

कार्लोस विश्व फुटबल र ब्रजिलका प्रसिद्ध लेफ्ट ब्याक खेलाडी हुन्।

उनी १४ वर्ष (सन् १९९२ देखि २००६ सम्म) ब्रजिलको राष्ट्रिय टोलीको मुख्य हिस्सा बने। त्यस क्रममा सन् २००२ को विश्वकप जिताउनमा महत्त्वपूर्ण भूमिका खेले। ३ पटक विश्वकप र ४ कोपा अमेरिका खेले।

राष्ट्रिय टीमबाट कुल १२५ खेल्दा उनले १० गोल पनि गरे। रियल मड्रिकको जर्सीमा १२ वर्ष रमाउने क्रममा उनले युरोपेली फुटबलमा पनि तहल्का मच्चाए।

यद्यपि उनको पहिचान भने सन् १९९७ मा गरेको एउटा अविश्वसनीय फ्री किक नै हो।

कार्लोसको प्रसङ्ग आउने बित्तिकै विश्व फुटबलका समर्थकहरूले सन् १९९७ जून ३ मा टुर्ने डी फ्रान्स उद्घाटन खेललाई सम्झिने गर्छन्।

फ्रान्सविरुद्ध उनले ४० यार्ड टाढाबाट यस्तो अभूतपूर्व 'बनाना शट' मा गोल गरेका थिए कि संसार नै चकित बन्न पुग्यो।

उनको बायाँ खुट्टाले हानेको फ्री किक घुमाउरो बाटो लिँदै गोलको दिशा लिएको थियो । फ्रान्सेली गोलकीपर फावियन बार्थेजसहित सबै त्यो गोलमा हेरेको हे‍र्‍यै हुन पुगेका थिए।

रोबेर्टो कार्लोस

'ब्र्यान्ड भ्यालू' बढ्ने विश्वास

पछिल्लो समय नेपालमा विश्व चर्चित सेलिब्रेटीहरूलाई निम्त्याउने प्रचलन बढ्दै गएको देखिन्छ। त्यसमा खासगरी सक्रिय खेलबाट अवकाश लिइसकेका चर्चित खेलाडीहरू छन्।

यसअघि केपी ओली कप फुटबल प्रतियोगिताका आयोजकले इटलीका विश्व विजेता गोलकीपर जियानलुइगी बुफोनलाई नेपाल निम्त्याएको थियो।

नेपाल प्रिमिअर लीग एनपीएलको लागि पनि नेपाल क्रिकेट सङ्घले वेस्ट इन्डिजका प्रसिद्ध क्रिकेटर ब्रायन लारालाई कीर्तिपुर मैदानमा निम्त्याएको थियो।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयन्स कार्की कार्लोस जस्ता विश्व प्रसिद्ध खेलाडीहरूको आगमनले एनएसएलको 'ब्र्यान्ड भ्यालू' बढ्ने बताउँछन्। यसले खेलाडीहरूलाई पनि प्रेरणा दिने उनको भनाइ छ।

एउटा टोलीमा एक पटकमा ५ विदेशी खेल्न पाउने व्यवस्था गरिएको एनएसएलको सीजन ३ अहिले अन्तिम चरणमा पुगिसकेको छ।

तर आगामी वर्षहरूमा कार्लोस जस्ता खेलाडीहरूको उपस्थितिले प्रतियोगितामा थप जोस बढ्ने र रङ्गशालामा दर्शक सङ्ख्या घटिरहेको बेला यसले प्रतियोगितामा आकर्षण थप्न भने मद‍्दत पुग्ने ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।