होलीमा रङ्गिएको त्यो रोमाञ्चक फुटबल फाइनल जसमा फिफाको समेत नजर पर्यो

तस्बिर स्रोत, Sudarshan Ranjit
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
खेलको १५ औँ मिनेटमा जब थ्री स्टार क्लबका प्रदीप महर्जनले गोल गरे, खुसीले झुमेका दर्शकहरूले उनलाई छोपे र मुहारभरि रङ दलिदिए।
रङ्गीबिरङ्गी रङले रङ्गिएका महर्जन एकैछिनमा नचिनिने भइसकेका थिए।
त्यो थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब बिच चलिरहेको आहा गोल्डकपको फाइनल खेलको दृश्य थियो। संयोग, फाइनल होलीको दिनमा परेको थियो।
नेपाली फुटबलमा दुर्लभ घटनाको रूपमा चिनिएको उक्त फाइनलमा खेल पनि चलिरह्यो अनि दर्शक र खेलाडीबीचको होली पनि।
जब कुनै खेलाडी आउट भएको बल लिन जान्थे, उनी होलीको रङमा रङ्गीसकेका हुन्थे। खेल सकिन्जेलसम्म त रङमा नलुटपुटिने खेलाडी कमै मात्र बाँकी भए।
होली बेग्लै उत्सव हो। फुटबलसँग यसको साइनो के हुन सक्ला।
विसं २०६३ फागुन १९ गते पोखरा रङ्गशालामा भएको फाइनल हेर्ने हो भने होली र फुटबलको सम्मिश्रणको यस्तो इतिहास भेटिन्छ, जुन शायदै नेपाली फुटबलमा फेरी दोहोरिएला।
नेपाली फुटबलको लागि विशिष्ट बनेको त्यो दिन रोमाञ्चक प्रतिस्पर्धा, मोफसलको फुटबल क्रेज, आयोजकमा देखिएको ठूलो डर, दर्शकहरूको उत्साह र होलीको मज्जा एकसाथ एकै स्थानमा देखिएको थियो।
दर्शकको अभूतपूर्व उत्साह
आधुनिक फुटबलमा एउटा स्तरीय प्रतियोगिता हुँदा मैदानको घेरामै पुगेर फुटबल हेर्न पाइने नियम छैन। खेलाडीलाई छुनु त सुरक्षाको दृष्टिकोणले खतरा भई नै हाल्यो। तर उक्त खेलमा अत्याधिक दर्शक थिए र त्यति धेरै दर्शक रङ्गशाला आउनुका तीन कारण थिए।
एउटा, थ्री स्टार र मनाङ मर्स्याङदीबीचको 'फुटबल प्रतिद्वन्द्विता'। यी दुई क्लबबीचको फुटबल द्वन्द्व उच्च तहमा थियो।
अर्को, पोखरामा फुटबलको क्रेज चढ्दो थियो। राष्ट्रिय टोलीका खेलाडीहरूले भरिभराउ क्लबको खेल हेर्न पोखरेलीहरू उत्साहित देखिएका थिए।
अनि तेस्रो होली र शनिवारको फुर्सदिलो दिन।
त्यतिबेला पोखरा रङ्गशाला अहिलेको जस्तो आधुनिक बनिसकेको थिएन। प्यारपिट बाहेकको ठाउँमा आयोजकले रङ्गशाला टिनले घेर्नुपर्थ्यो।
थ्री स्टार/मनाङको खेल हेर्न त्यो दिन यति धेरै दर्शकहरू आए की रङ्गशालामा खुट्टा टेक्ने ठाउँ भएन।
थेग्नै नसक्ने भएपछि आयोजक सहारा क्लबले टिकट बिक्री बन्द गरिदियो।

तस्बिर स्रोत, Sudarshan Ranjit
त्यतिबेलाको घटना सम्झिँदै सहारा क्लबका तत्कालीन अध्यक्ष विक्रम थकाली भन्छन्, "लाग्थ्यो सारा पोखराबासी नै रङ्गशालामा ओर्लिएका थिए। हामीले प्रहरीको सहारा माग्यौँ । तर पनि भीड रोकिने अवस्था थिएन।"
आखिरमा मुख्य गेट खोलेर सारा दर्शकहरू मैदान प्रवेश गरे। अब मैदान आयोजकको नियन्त्रण भन्दा बाहिर गयो।
खचाखच दर्शकहरू मैदानको लाइनमै पुगेर फुटबल हेरे। आयोजकको अनुमान अनुसार झन्डै २० हजार दर्शक त्यो दिन रङ्गशालामा ओर्लिएका थिए।
दर्शकलाई पोखराका स्थानीय खेलाडी देख्नै नहुने। अबिरको वर्षा भइहाल्थ्यो। त्यतिबेलाका चर्चित खेलाडी अनिल गुरुङ, विजय गुरुङ, बसन्त गौचन, उत्तम गुरुङ पोखराका थिए।
त्यतिबेला सहायक रेफ्रीको भूमिकामा रहेका बलराम थापा भन्छन्, "लाइन बाहिर दौडिने ठाउँ नै थिएन। दर्शकलाई 'खुट्टा हटाउनुस्' भन्दै पन्छाउँदै दौडिनुपर्यो।"
त्यो बेलाको आफ्नो मनस्थितिबारे थापा भन्छन्," निर्णयमा केही तलमाथि हुनासाथ दर्शकबाट जे पनि हुन सक्छ भन्ने डर एकातिर थियो भने अर्कोतिर त्यस्तो वातावरणमा फुटबल खेलाउन पाउँदा रोमाञ्चित महसुस गरेको थिएँ मैले।"
१२० मिनेट १२० दिन जस्तै
सहारा क्लबका तत्कालीन अध्यक्ष थकाली झन्डै डेढ दशक अघिको त्यो फाइनल सम्झिँदै भन्छन्, " त्यो १२० मिनेट मलाई १२० दिन जस्तै लामो लाग्यो। दर्शकहरूले उपद्रो गरिदिएमा ठूलै दुर्घटना होला भन्ने डरले मुटु भतभती पोलिरह्यो।"
आयोजकहरू आत्तिनु त स्वाभाविकै भयो। रङ्गशालामा के के मात्र भएको थिएन। अध्यक्ष थकाली भन्छन्, "हामी भगवान् पुकारेर बस्यौँ। धन्न दर्शकहरू फुटबल हेरेर रमाए। कुनै गडबडी भएन।"
थ्री स्टार क्लबका तत्कालीन कप्तान थिए राष्ट्रिय टोलीका मिडफिल्डर राजेश शाही। उनी भन्छन्, "खै ! होली थियो की फाइनल। अचम्मै भएको थियो। मैदान भित्रको प्रतिस्पर्धा उस्तै कडा थियो। बाहिरको होली पनि उस्तै। मैले जीवनमा यति रोमाञ्चक फुटबल कहिले खेलेको छैन।"
शाही थप्छन्, "खेल सकिने बेला हामी प्राय: प्रशिक्षकतिर हेर्छौँ, उनको केही निर्देशन छ की भनेर। जब मैले प्रशिक्षक बालगोपाल महर्जन तिर हेरेँ। उहाँ त भीडमा कता छोपी सक्नुभएको रहेछ।
मैदानमा घोडादौड

तस्बिर स्रोत, Sudarshan Ranjit
खेल भइरहेकै बेला 'काउ ब्वाई' टोपी लगाएर एक घोडसवार मैदानमा प्रवेश गरे र घोडा कुदाउन थाले।
सारा दर्शक ताली पिटेर उनको स्वागत गर्दै थिए।
त्यति मात्र कहाँ हो र। झन्डै एक दर्जन मोटरसाइकलधारीहरु एथलेटिक्स ट्र्याकमा मोटर हुइँक्याउन थाले।
खेल चलिरहेकै बेला यस्तो दृश्य देखिनु दुर्लभ नै थियो।
क्लबका अध्यक्ष थकाली भन्छन्, "अहिले सम्झिँदा कहिले लाग्छ हामी ठूलो दुर्घटनाबाट जोगियौँ। एउटा अचम्मको परिवेशमा फुटबल आयोजना गर्यौँ। कहिलेकाहीँ सोचिन्छ पोखरेली दर्शकहरूले खेलाडीलाई माया चाहिँ गरेकै हुन्। अब त यस्तो फुटबल कहिल्यै सम्भव हुँदैन।"
बेजोड प्रतिस्पर्धा
त्यो वातावरणमा चलेको फाइनल झन् प्रतिस्पर्धात्मक बनेको थियो। खेलको निर्णय 'सडेन डेथ' मा पुगेर मात्र टुङ्गिएको थियो।
निर्धारित समय खेल १-१ को बराबरीमा रोकियो। थ्री स्टारका प्रदीप महर्जनले लिएको अग्रता दोस्रो हाफ सुरु भएको ३० सेकेन्डमै मनाङका विदेशी नरुद्दिनले बराबरी गोल फर्काएर बराबरी गरिदिए।
त्यसपछि निर्धारित समय र थप समयमा पनि गोल भएन। खेल टाइब्रेकरमा पुग्यो।
टाइब्रेकरमा पनि ४-४ को बराबरी भयो।
अनि पोखरा रङ्गशालामा पोखरेली खेलाडीको पेनाल्टीले नै खेलको निर्णय गर्यो।
पाँचौँ पेनाल्टी हान्न आएका मनाङका पोखरेली स्टार बसन्त गौचनको प्रहार असफल हुन पुग्यो। थ्री स्टारलाई विजयी पेनाल्टी हान्न कप्तान राजेश शाही आए। तर उनले पनि त्यो मौका चुकाए।

तस्बिर स्रोत, Sudarshan Ranjit
खेल ‘सडेन डेथ’मा पुग्यो।
दबाबको त्यो क्षणमा पेनाल्टी हान्न आएका मनाङका रक्षक माइकल बासेको प्रहार पोस्ट माथिबाट बाहिरियो।
अनि थ्री स्टारका तत्कालीन चर्चित मिडफिल्डर पोखरेली विजय गुरुङले विजयी पेनाल्टी गोल गर्दै थ्री स्टारलाई उपाधि दिलाए।
थ्री स्टारको त्यो पहिलो आहा कप उपाधि थियो। पछि टोलीले ६ पटक सम्म यो उपाधि जित्यो।
अनि पर्यो फिफाको नजर
त्यति बेला प्रमुख अतिथिका रूपमा फुटबल हेर्न पुगेका थिए अखिल नेपाल फुटबल सङ्घका (एन्फा) का तत्कालीक अध्यक्ष गणेश थापा।
मोफसलको फुटबल क्रेज देखेर चकित खाएका उनले उक्त फाइनलको फुटेज विश्व फुटबल महासङ्घ फिफामा पठाएका थिए।
पछि फिफाले सहारा एकेडेमी बारे डकुमेन्ट्री नै बनायो।
आधुनिक फुटबलमा त्यस्तो खाले प्रतिस्पर्धा अब सम्भव देखिँदैन। पोखरामा त अहिले आधुनिक रङ्गशाला निर्माण भइसकेको छ। त्यहाँ दर्शकहरू प्यारपिट छोडेर खेलाडीलाई रङ दल्न मैदानमा पुग्न सम्भव छैन।
त्यो फुटबल खेल्ने खेलाडी, हेर्ने दर्शक र पोखरा रङ्गशालामा उपस्थित अन्य नेपालीहरू होलीमय फुटबलको एउटा दुर्लभ दृश्यको भाग्यमानी साक्षी बने।
प्रतिष्ठित आहा गोल्डकपको अहिले २३ औँ संस्करण सम्पन्न भइसकेको छ। तर होलीको दिन उक्त फाइनलको चर्चा नेपाली फुटबलमा सधैँ हुने गर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








