नेपालमा महिला फुटबलको 'क्रेज' बढ्नुका तीन कारण

म्यान्मार र नेपालका महिला फुटबल टोलीको खेलमा रमाएका एक नेपाली फ्यान
तस्बिरको क्याप्शन, बुधवार नेपाल र म्यान्मारबीच भएको फुटबल खेलमा दशरथ रङ्गशालाको क्षमताबराबर दर्शक आएका बताइएको छ
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

बुधवार चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पिअनशिपको फाइनल हेर्न १६ हजारभन्दा बढी दर्शक काठमाण्डूको दशरथ रङ्गशाला पुगे। टीभीमा हेर्नेको सङ्ख्या ५० लाख नाघेको अनुमान छ।

महिला खेलाडीका फ्यानहरू विश्वभर छन्। 'अटोग्राफ' लिन खेलाडी पछ्याउने सङ्ख्या कम देखिएन।

महिला फुटबलमा नेपालमा देखिएकाजति धेरै समर्थक अन्य राष्ट्रहरूमा विरलै मात्र पाइने एन्फाकै अधिकारीहरू बताउँछन्।

महिला फुटबलप्रति दर्शकको यति धेरै रुचि किन?

यसका थुप्रै पाटाहरू छन्। यसका लागि चार दशक लगाएर महिला खेलाडीहरूले तयार पारेको आधार छ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गरेको लगानी छ।

मुख्य कुरा के हो भने पछिल्लो समय नेपाली राष्ट्रिय महिला टोलीले 'सुन्दर फुटबल' पस्किरहेको छ।

अनि खेलकुद त्यो माध्यम हो, जसमा जोकोही समर्थकले निष्पक्ष भएर समर्थन गर्दा छुट्टै आनन्द प्राप्त गरिरहेका छन्।

खेल हेर्न जापानदेखि नेपाल

म्यान्मार र नेपालका महिला फुटबल टोलीको खेल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा दर्शकको राम्रो साथ पाउने गरेको छ

जापानको इबाराकीमा बसोबास गर्ने विनीता महर्जन श्रेष्ठ फाइनल हेर्न आफ्नी छोरी सुविकालाई लिएर दशरथ रङ्गशाला पुगिन्।

अहिले नेपाल आउनुको एउटा खास कारण उनलाई नेपाली महिला टोलीको खेल प्रत्यक्ष हेर्नु पनि थियो।

उनकी छोरी सुविका श्रेष्ठ इबाराकीस्थित विद्यालयको क्लबमा फुटबल खेल्छिन्।

फाइनलमा नेपालले राम्रो खेलेको बताउने उनले भनिन्, " खासमा मेरी छोरी नेपाली टोलीलाई पछ्याउँछिन्। सबै खेलाडीको नाम कण्ठ छ उसलाई। प्रीति राईकी त फ्यान नै हुन्।"

महिला टोलीका समर्थक देखेर लोभिएकी विनीता भन्छिन्, "कुनै दिन मेरी छोरीलाई पनि नेपालबाट खेलाउने रहर छ।"

स्वदेश तथा विदेशबाट रङ्गशाला धाउने यस्ता अनेकखाले दर्शककी उनी एक प्रतिनिधि हुन्।

यसरी दर्शकहरूको आकर्षण देखिनुपछाडिका तीन मुख्य कारण यस्ता छन्।

१. लगातार खेल हुनुको असर

वाफमा नेपाली खेलाडी

तस्बिर स्रोत, WAFF

तस्बिरको क्याप्शन, पश्चिम एशियाली फुटबल प्रतियोगिता 'वाफ विमिन्स च्याम्पिअनशिप'को पछिल्लो संस्करणमा नेपालले खेल्नुलाई नेपाली महिला फुटबलको विकासमा उल्लेख्य चरण मानिएको छ

एन्फाको महिला सङ्घकी अध्यक्ष तथा केन्द्रीय सदस्य पेमा डोल्मा लामा महिला फुटबलको समर्थक बढ्नुको पछिल्लो कारण पश्चिम एशियाली फुटबल प्रतियोगिता 'वाफ विमिन्स च्याम्पिअनशिप'मा नेपाली टोलीले गरेको प्रदर्शनलाई मान्छिन्।

राष्ट्रिय टोलीबाट पहिलो गोल गर्ने भूतपूर्व खेलाडी पेमा भन्छिन्, "वाफ च्याम्पिअनशिपमा देखाएको उच्चकोटीको प्रदर्शनले महिला टोली दक्षिण एशियाभन्दा माथिल्लो स्तरमा चिनियो।"

उनका अनुसार साउदी अरेबियामा भएको उक्त प्रतियोगितापछि खाडी मुलुकका नेपालीहरू महिलाको फ्यान भएका हुन्।

यो वर्ष मात्र नेपालले लगातार तीन प्रतियोगिताको फाइनल खेल्यो।

वाफलगत्तै काठमाण्डूको दशरथ रङ्गशालामा नै भएको साफ विमिन्स च्याम्पिअनशिपमा टोली फाइनल पुगेको थियो।

त्यस बेला भारतविरुद्धको तनावपूर्ण सेमिफाइनलको जितपछि समर्थकको सङ्ख्या एकाएक बढेको थियो।

पेमा डोल्मा लामा थप्छिन्, "पछिल्लो समय सामाजिक सञ्जाल अनि डिजिटल मिडियाको युग सुरु भएपछि प्रत्येक खेलाडीको क्षमता र उनीहरूको प्रदर्शनको प्रचार हुनुले पनि खेलाडीप्रति मोह बढेको हो।"

विसं २०३८ सालदेखि नेपालमा महिला फुटबलको गतिविधि अगाडि बढेको देखिन्छ।

त्यसयताको चार दशकसम्म महिला टोलीको प्रतिस्पर्धा नियमित हुन सकेको देखिँदैन।

सन् २०१० मा साफ महिला च्याम्पिअनशिपको सुरुआत हुनु र दक्षिण एशियाली फुटबलमा पनि महिला फुटबल अनिवार्य समावेश हुनुपर्ने नियम बनेपछि महिला फुटबलले गति लिन थाल्यो।

त्यसयता नेपालले साफ र साग दुबैमा प्रभावशाली प्रदर्शन गर्दै लगातार फाइनलको यात्रा तय गरेपछि महिला टोली मजबुत बन्दै गएको र यसले बिस्तारै दर्शको ध्यान खिच्न थालेको देखिन्छ।

अनि अनु लामा र जमुना गुरुङजस्ता 'स्टार खेलाडी'हरूको प्रभावले महिला टोलीको क्रेज चुलिन थालेको हो।

२. 'स्टार खेलाडी'को प्रभाव

सावित्रा भण्डारी 'साम्बा'
तस्बिरको क्याप्शन, सावित्रा भण्डारी 'साम्बा'को बलियो प्रदर्शनले नेपाली टोलीको स्तर उकासिएको मानिन्छ

चर्चामा आउन स्टार खेलाडी जन्मिनु अनिवार्य सर्तजस्तै हो।

अनु र जमुना पछि सावित्रा भण्डारी 'साम्बा' को उदयले महिला फुटबललाई अर्को तहमा पुर्‍याउन मद्दत गर्‍यो।

'गोल मशीन' नामले चर्चा पाएकी सावित्राले दक्षिण एशियाली फुटबलमा नै हलचल मच्चाइदिइन्।

सावित्रासँगै प्रीति राई, रेखा पौडेल, अन्जिला तुम्बाप्पो सुब्बा, रेणुका नगरकोटे, गीता राना मगर, अनिता बस्नेत स्ता खेलाडीहरूको नाम समर्थकको मुखमा झुन्डिन थाल्यो।

आज नेपाली महिला फुटबलका प्रशंसकहरूमध्ये निश्चित खेलाडीका 'फ्यान' धेरै रहेको देखिन्छ। सोशल मिडियामा उनीहरूलाई लाखौँले 'फलो' गरिरहेको देखिन्छ।

३. व्यावसायिकता

एन्जिला सुब्बा

तस्बिर स्रोत, ANJILA SUBBA

तस्बिरको क्याप्शन, एन्जिला सुब्बा

अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलमा नेपाली महिला खेलाडीहरू धमाधम बिक्री हुनु पनि समर्थकको सङ्ख्या बढ्नुको प्रमुख कारण मानिन्छ।

सावित्रा भण्डारी नेपालमा उच्च गोलकर्ताको सूचीमा धेरै नै अगाडि छिन् नै, उनले भारतीय फुटबल लीग 'आईडब्ल्यूएल'मा तीन सिजन खेल्दा आफ्नो टोलीलाई तीनै पटक उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन्।

अहिले साम्बा फ्रान्सबाट व्यावसायिक फुटबल खेल्छिन्।

त्यसरी नै गोलकीपर तथा कप्तान एन्जिला सुब्बा पनि व्यावसायिक लीग खेल्न युरोपको अर्को देश ग्रीस पुगेकी छन्।

स्ट्राइकर रेखा पौडेलले दुबईमा व्यावसायिक लीग खेलेर बेग्लै चर्चा बटुलिरहेकी छन्।

वाफ च्याम्पिअनशिपमा महिला टोलीको खेल व्यावसायिक देखिनुको कारण के पनि थियो भने त्यसमा खेल्ने छ जना खेलाडीहरू भारतीय महिला लीगमा खेलिरहेका थिए।

अहिले पनि भारतीय लीगमा नेपाली खेलाडीहरूको माग बढिरहेको छ।

अर्को महिना नेपालले एशियन कप, विश्वकप र ओलिम्पिकको छनोट खेल्दै छ। त्यहाँ पनि नेपाली टोलीले समर्थकको साथ पाउने आशा गर्न सकिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।