पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पिअनशिपको फाइनलमा

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी शूट आउटमा भारत माथि ४-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पिअनसिपको फाइनलमा प्रवेश गरेको छ।
राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिपमा भारतमाथि यो लगातार दोस्रो सेमिफाइनल विजय हो।
साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले अब बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतवार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।
दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।
प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो।
नेपालको जितमा उत्कृष्ट योगदान गरेकी साम्बा प्लेअर अफ द म्याच भइन्।

निर्धारित समयको खेल १-१ को बराबरीमा रोकिएपछि खेल सिधै पेनाल्टी शूट आउटमा पुगेको थियो।
भारतको पहिलो प्रहार पोस्टमा लागेर फर्केको थियो भने गोलकिपर अञ्जना राना मगरले चानु सोरो खैबाङको प्रहार रोकेकी थिइन्।
पेनाल्टीमा भारतकी असलता देवीको प्रहार पनि असफल भएपछि नेपालले दुई गोलको अग्रता लियो। नेपाल बाट सावित्रा भण्डारी, गीता राना, सविता राना मगर र अमिषा कार्कीले पेनाल्टीमा गोल गरे। कार्कीले थौथो तथा निर्णायक गोल गरेर नेपालको जित सुनिश्चित गरिन्। नेपालले दुई गोलको अग्रता लिइसकेका कारण भारतले पाँचौँ पेनाल्टी प्रहार गर्नु परेन।
यसअघि माल्दिभ्सलाई ११-० गोलको भारी अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनलमा पुगेको थियो।

यो जित सँगै नेपालले सेमिफाइनलमा भारतलाई नै किन प्रतिद्वन्द्वीको रूपमा लिन चाह्यो भन्ने कुरा प्रमाणित गरेको छ।
भारतसँग लगातार चार फाइनल र एक सेमिफाइनलमा पराजित भए पनि गत वर्ष रङ्गशालामा नै भएको छैटौँ संस्करणको साफ सेमिफाइनलमा नेपालले रश्मि कुमारी घिसिङको गोलको मदतले भारतलाई पहिलो पटक साफमा फाइनलमा प्रवेश गरेको थियो।
त्यो जितको मनोबल र हाल बाङ्ग्लादेशले महिला फुटबलमा गरिरहेको प्रगति पछि नेपालले सेमिफाइनलमा भारतसँग खेल्न सहज महसुस गर्दै लिग चरणमा श्रीलङ्का विरुद्ध आवश्यक ६ गोल गरेर बाङ्ग्लादेश सँगको भेट पन्छाएको थियो।
रेफ्रीका तीन विवादास्पद निर्णय

भुटानी रेफ्री ओम चुकीका एक पछि अर्को निर्णय विवादमा परेपछि खेल एक घण्टा एक मिनेटसम्म रोकिएको थियो।
भारतीय पक्षको डी बक्सभित्र नेपालले ३७औँ मिनेटमा गरेको प्रहार भारतीय खेलाडीको हातमा ठोक्किएपछि नेपालले पेनाल्टी अपिल गरेको थियो। स्ट्राइकर सावित्रा भण्डारी साम्बाले गरेको क्रस विपक्षी रक्षापङ्कक्तिका खेलाडीले हातले रोक्न पुगेकी थिइन्। नेपाली खेलाडीहरूले त्यसमा पेनाल्टीको अपिल गरे पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेपछि नेपाली खेलाडीहरूमात्रै नभएर दर्शक पनि चिढिएका थिए।
रिप्लेमा बल उनले हातले रोकेको स्पष्ट देखिएको थियो। पेनाल्टी नपाएका कारण असन्तुष्ट नेपाली खेलाडीलाई रेफ्रीले दोस्रो हाफको सुरुमै थप दुखी बनाइन्।
दोस्रो हाफको ५० औँ मिनेटमा रेफ्रीले नेपालकी स्टार स्ट्राइकर रेखा पौडेललाई दोस्रो पहेँलो कार्डसँगै रेड कार्ड दिएर मैदान बाहिर पठाएपछि रङ्गशालाको स्थिति केही समय तनावग्रस्त बनेको थियो।
रेखाको गल्ती नभएको भन्दै नेपाली पक्षले केही समय विरोध जनाएपछि रेफ्री आफ्नो निर्णयमा अडिग रहिन्। रिप्लेमा रेखाले बल ट्याकल मात्रै गरेको देखिएपछि आक्रोशित दर्शकहरूले मैदानमा बोतल फाल्न थालेपछि रङ्गशाला केहीबेर तनावग्रस्त बन्यो।
तनावकै बीच ७२ औँ मिनेटमा भारतले गोल गरेर अग्रता लिएपछि नेपाली टोली दबावमा पर्यो। सङ्गीता बाजपोरेले भारतीय टोलीका लागि गोल गरेपछि खुसी मनाउन प्लेअर बक्समा पुगेका भारतीय खेलाडीहरू नफर्कँदै रेफ्रीले खेल सुरु गर्न सिठी बजाइन्।
भारतीय खेलाडीहरू मैदानमा आ-आफ्नो ठाउँमा पुग्नुअघि नै साम्बाले प्रीतिलाई दिएको पासमा प्रीतिले टाढैबाट गोल गरिन्। अब विरोध गर्ने पालो भारतीय टोलीको थियो। नेपालको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपाली खेलाडीहरू तेस्रो पटक निराश भए। रेफ्रीको निर्णयमा विरोध जनाउँदै नेपाली खेलाडीहरू खेल्न तयार नभएपछि खेल एक घण्टा रोकिएको थियो।
साफमा भारत र नेपालको विगत

भारत र नेपालको महिला फुटबलका चिर परिचित प्रतिद्वन्द्वी हुन्।
सन् २०१० देखि सुरु भएको महिला साफको छैटौँ संस्करण सम्पन्न भइसक्दा नेपाल पाँच पटक
भारतसँग पराजित भएको छ।
जसमा पहिलो देखि चौथो साफमा नेपाल फाइनलमा पुगेर भारतसँग पराजित हुन पुगेको थियो भने पाँचौँ संस्करणमा सेमिफाइनलमा भारत सँगै रोकिएको थियो।
यो सबैको बदला स्वरूप दुई वर्ष अगाडि नेपालमा नै भएको छैटौँ संस्करणको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो।
नेपालले गुमाएका मौका

दोस्रो हाफको ५० औँ मिनेटमा रेफ्रीले नेपालकी स्टार स्ट्राइकर रेखा पौडेललाई रेड कार्ड दिएर मैदान बाहिर पठाएपछि रङ्गशालाको स्थिति केही समय तनावग्रस्त बनेको थियो।
दशरथ रङ्गशालामा खचाखच भरिएका दर्शकको लगातार साथ पाएको नेपालले पहिलो हाफमा दुई सुन्दर मौकाहरू गुमाएको थियो।
खेलको ३१ औँ मिनेटमा सावित्रा भण्डारीले बायाँ खुट्टाले गरेको प्रहार विपक्षी किपरले रोकेर फर्केको बलमा अमिषा कार्कीले छ यार्ड भित्रबाट प्रहार गरेकी थिइन्। तर सो प्रहार विपक्षी किपरले बचाइन्।
सुरुआती १५ मिनेटमा भारतले नेपाल माथि दबाव बनाएको थियो। तर त्यसपछि खेलमा नेपाल हाबी हुँदै गयो र विपक्षी पोस्टमा धावा बोल्न थाल्यो। तर कुनै पनि प्रहारलाई गोलमा परिणत भने गर्न सकेनन्।
पहिलो हाफको इन्जुरी टाइममा भारतको एउटा खतरनाक मुभलाई नेपाली रक्षकहरूले बचाएका थिए।
नेपाली टोलीमा परिवर्तन

नेपालले सेमिफाइनलमा एक जना खेलाडी परिवर्तन गरेको थियो।
प्रशिक्षक राजेन्द्र तामाङले मिडफिल्डर सरु लिम्बूको स्थानमा पूजा रानालाई पहिलो सेटमा राखेकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








