माल्दिभ्सविरुद्ध नेपाली महिला टोलीको ११-० को सानदार जित

नेपाली महिला फुटबल
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

उपाधिको दाबेदार मानिए पनि पहिलो खेलमा भुटानसँगको बराबरीले केही अप्ठेरोमा परेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमवार कमजोर मानिएको माल्दिभ्सलाई ११-० गोलको भारी अन्तरले पराजित गरेको छ।

सोमवार साँझ दशरथ रङ्गशालामा खेलको छैटौँ मिनेटमा गोलको खाता खोलेपछि आक्रामक रूप देखाएका महिला खेलाडीले त्यसलाई अन्तिम मिनेटसम्म जारी राखे।

यसअघि नेपालले सन् २०१६ मा पनि माल्दिभ्सलाई ९-० ले पराजित गरेको थियो। जितसँगै नेपाल सेमिफाइनलनजिक पुगेको छ।

समूह ‘बी’बाट सेमिफाइनलमा पुग्ने सम्भावना बोकेको नेपाल र भुटानबीच अब समूह विजेता बन्न गोल भिन्नताका आधारमा प्रतिस्पर्धा हुने देखिएको छ।

बढी गोल गर्ने टोली समूह विजेता बन्ने पक्कापक्की छ। समूह विजेता बन्ने टोलीले सेमिफाइनलमा अर्को समूहबाट आउने भारतसँगको खेल छल्नेछ।

सोमवार दिउँसो भएको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४-१ गोलले पराजित गरेको थियो।

नेपाली महिला फुटबल

रेखा नायक

नेपाली महिला फुटबल खेलाडी रेखा पौडेल
तस्बिरको क्याप्शन, रेखा पौडेल

खेलको छैटौँ मिनेटमा मिड्फील्डर प्रीति राईले डीबक्सको कुना च्याप्दै पहिलो बारमा सुन्दर ढङ्गले गोल गरेर खेलाडीमा ऊर्जा भर्ने काम गरेकी थिइन्।

त्यसपछि एकपक्षीय देखिएको खेलमा नेपाली टोलीले लगातार आक्रमण बनेको थियो।

बल अधिकांश समय मालदिभ्सको पोस्टवरिपरि घुमेको थियो।

खेलको नायक भने स्ट्राइकर रेखा पौडेल बनिन्। उनले राष्ट्रिय टोलीको लागि ह्याट्रिक गोल गरिन्।

उनले कुल पाँच गोल गरिन्। राष्ट्रिय टोलीको लागि उनको यो पहिलो ह्याट्रिक हो।

उनले खेलको ३२औँ,४२औँ र ४७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। चौथो गोल ६२ मिनेटमा तथा पाँचौँ गोल ७७ मिनेटमा गरिन्।

रेखा यूएईको अबुधाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन्।

प्रशिक्षक राजेन्द्र तामाङले आइतबार राति मात्र फ्रान्सबाट फर्किएकी स्ट्राइकर सावित्रा भण्डारीलाई बेन्चमै राखेपछि रेखाले 'प्लेइङ सेट'मा मौका पाएकी थिइन्।

रेखापछि ह्याट्रिकको पालो प्रीति राईको नाममा रह्यो।

प्रीति राईले ६५औँ मिनेटमा गोल थपिन् भने ८६औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्।

उनीबाहेक सविता रानामगरले २९औँ मिनेटमा बायाँ खुट्टाले सुन्दर भलीमार्फत् गोल गरेकी थिइन्।

प्रीति राईले ६५औँ मिनेटमा गोल थपिन्। मैदानमा छिरेको पहिलो गोल्डन टचमा नै अनिता केसीले गोल गरिन्।

त्यस्तै रेखा पौडेलको स्थानमा मैदानमा छिरेलगत्तै अमिशा कार्कीले पनि १ गोल गर्न भ्याएकी थिइन्।

नेपालको हरेक गोलमा रङ्गशालामा उपस्थित साढे छ हजार दर्शकले खुसी मनाएका थिए।

व्यापक परिवर्तन

नेपाली महिला फुटबल

भुटानसँग गोलरहित बराबरीमा टुङ्गिएको पहिलो खेलपछि नेपाली टोलीको लाइनअपमा व्यापक परिवर्तन गरिएको थियो।

प्रशिक्षक राजेन्द्र तामाङले नियमित कप्तान गोलकीपर अञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा वैकल्पिक गोलकीपर अञ्जना रानामगरलाई ‘प्लेइङ सेट’मा राखेका थिए भने कप्तानीको जिम्मा रेणुका नगरकोटेलाई दिइएको थियो।

त्यस्तै पहिलो खेलमा चोट लागेका कारण साफको बाँकी खेल गुमाएकी हीराकुमारी भुजेल र दीपा शाहीको स्थानमा नयाँ खेलाडी निशा थोकर र विमला विकलाई मौका दिइएको थियो।

अनुभवी अमिषा कार्की र अमृता जैसीसहित भर्खरै फ्रान्सबाट फर्किएकी स्ट्राइकर सावित्रा भण्डारीलाई बेन्चमा राखिएको खेल थालिएको थियो।

यूएईमा व्यावसायिक फुटबल खेल्ने रेखा पौडेललाई पहिलो सेटमै आक्रमणको जिम्मा दिइएको थियो।

कमजोर माल्दिभ्स

साफ च्याम्पिअनशिप खेल्न आएको सात राष्ट्रमध्ये माल्दिभ्स सबैभन्दा कमजोर टोलीमा पर्ने बताइन्छ।

माल्दिभ्सका प्रशिक्षक मोहम्मद निजामले प्रतियोगिताअगाडिको पत्रकार सम्मेलनमा आफ्नो टोलीले थोरै समय मात्र तयारी गर्न पाएको बताएका थिए।

माल्दिभ्ससँग महिला टोलीले अहिलेसम्म पराजय भोग्नुपरेको इतिहास छैन।

यसअघि सन् २०१२ को साफमा नेपालले माल्दिभ्सलाई ५-० ले तथा सन् २०१६ मा ९-० ले पराजित गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।