भुटानलाई हराउँदै नेपाल साफ यू-२० फुटबलको फाइनलमा

नेपाल फुटबल
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपाली कप्तान गोलकिपर जिआरथ शेखले नायकको भूमिका खेलेपछि भुटानलाई टाई ब्रेकरमा पराजित गर्दै नेपाली युवा फुटबल टोली ललितपुरमा सञ्चालन भइरहेको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

टाई ब्रेकरमा नेपालले चार गोल गर्‍यो भने भुटानले एक गोल मात्र गर्न सक्यो।

निर्धारित समयमा दुबै टोलीबाट १-१ गोल भएपछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो।

टाई ब्रेकरको पहिलो प्रहार नेपाल र भुटानका खेलाडीले एक-एक गोल गरेका थिए। त्यसपछि नेपालबाट अभिनाश स्याङटेन, सीमान्त थापाले दोस्रो र तेस्रो प्रहार गोल गरे।

तर नेपाली गोलकिपर शेखले भुटानको दोस्रो र तेस्रो पेनाल्टी बचाउ गरे भने चौथो पेनाल्टीमा आफैले गोल गरे।

नेपालबाट गरिएका सबै प्रहार गोलमा परिणत भएका थिए।

भुटान र नेपाल प्रतिस्पर्धा

भुटान-नेपाल

कुनै समय भुटानलाई निकै सहज प्रतिद्वन्द्वी रूपमा लिने गरेको नेपालले पछिल्लो समय भने उक्त दक्षिण एसियाली देशलाई जित्न निकै सङ्घर्ष गर्दै आइरहेको छ।

झन्डै दुई साता अगाडि दशरथ रङ्गशालामा खेलिएको एसियाली फुटबल महासङ्घ (एएफसी) को लिग च्याम्पियन क्लबहरूले खेल्ने प्रतियोगिता एएफसी च्यालेन्ज लिगमा भुटानी क्लब एफसी पारोले नेपाली लिग च्याम्पियन चर्च ब्वाइजलाई २-१ ले हराएको थियो।

आइतवारको सेमिफाइनलमा पनि त्यस्तै रूप देखिएको थियो।

नेपाल फुटबल

फाइनल प्रवेशका लागि भएको खेलमा भुटानी युवा टोलीले खेलमा अग्रता लिइरहँदा ५७औँ मिनेटमा जित्सन दोर्जेले गोल गरे।

त्यसपछि गोल फर्काउने प्रयासमा रहेको नेपालले ७८औँ मिनेटमा गोल गर्न सफल भयो।

७७औँ मिनेटमा भुटानका खेलाडीले रातो कार्ड खाएर अलमलिएको अवस्थामा निराजन धामीले हेडबाट उक्त गोल गरेका हुन्।

पराजित भएपनि भुटानले प्रभावशाली खेल देखाएको थियो भने नेपालले लिग चरण देखिनै जितका लागि सङ्घर्ष गर्दै आएको देखिएको थियो।

यसअघि नेपाल समूह ‘ए’ को विजेता तथा भुटान समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

यसअघि लिग चरणमा नेपालले श्रीलङ्कालाई १-० र बाङ्ग्लादेशलाई २-१ ले पराजित गरेको थियो। अर्कोतर्फ भारतसँग १-० ले पराजित भुटानले माल्दिभ्सलाई २-१ ले हराएको थियो ।

नेपालले अब सोमवार हुने भारत र बाङ्ग्लादेशबिचको सेमिफाइनल विजेतासँग बुधवार फाइनल खेल्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।