बुढीगण्डकी बाढीबारे अहिलेसम्म हामीलाई के थाहा छ

बुढीगण्डकीको बाढी
Published
पढ्ने समय: ३ मिनेट

बुढीगण्डकी नदीमा आइतवार बिहान शुरू भएको बाढी खतरा तहभन्दा माथि रहेको र घटबढ हुने क्रम जारी रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार त्रिशूली नदी बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङसम्म उच्च जोखिम र चितवन तथा नवलपरासीमा नदी आसपास मध्यम जोखिम रहेको छ।

सो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च स्थानमा रहन अनुरोध गरिएको महाशाखास्थित वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बीबीसीलाई बताए।

महाशाखाका अनुसार गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ।

त्योसँगै अधिकारीहरूले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध छ।

बाढी सिर्जना

बूढीगण्डकी

वरिष्ठ जलविज्ञानविज्ञ पराजुलीका अनुसार आइतवार बिहान ४ बजे गोरखास्थित बूढीगण्डकी नदीको चुमनुब्री गाउँपालिकास्थित चुमचेक क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको हो।

"पहिलो बाढी आरुघाट आसपास क्षेत्रमा आज बिहान साढे ६ बजेतिर आएको थियो र त्यो सानो थियो। दोस्रो अलि ठूलो बाढी ७ बजेर ५० मिनेटमा आएको हो र त्यो पनि घटेको छ। तेस्रो बाढी आरुघाट क्षेत्रमा देखिन्छ," उनले बीबीसी न्यूज नेपालीसँग भने।

बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोलामा रहेको झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बीबीसी न्यूज नेपालीलाई बताए। उनका अनुसार बाढीले आरुघाटको सोती र मान्बु जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

बुढीगण्डकी बाढीबाट कुनै मानवीय क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

"यकिन विवरण नआए पनि ठूलो भौतिक क्षति भएको आकलन गरिएको छ। तर मानवीय क्षति भएको अहिलेसम्म जानकारी हामीलाई छैन," उनले अगाडि थपे।

बाढीले उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक बगाएका राष्ट्रिय समाचार समितिले जनाएको छ।

सम्भावित कारण के?

बाढी पूर्वानुमान महाशाखास्थित जलविज्ञानविज्ञ पराजुलीका अनुसार बाढीको कारण अहिलेसम्म स्पष्ट भएको छैन।

"पहिरोले नदी थुनिएर बाढी आएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ। तर वास्तविक कारण थप अध्ययनपछि मात्र थाहा होला," बीबीसी न्यूज नेपालीसँग उनले भने।

आगामी केही घण्टा अथवा आइतवार साँझसम्म बाढीको कारणबारे थप स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।

भोटेकोशी-त्रिशूली नदीमा हिमपहिरोले भयानक बाढी निम्त्याएको दुई महिना पनि नहुँदै बुढीगण्डकीमा बाढी आएको छ।

प्रधानमन्त्रीद्वारा जानकारी

बाढीबीच खोज तथा उद्धार प्रयासबारे प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत्‌ जानकारी गराएका छन्।

"बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत्‌ इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ," उनले लेखेका छन्।

"काठमाण्डूमा रहेको कम्पोजिट क्विक रिएक्शन टीम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ।"

प्रधानमन्त्री शाहका अनुसार बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।