तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बुढीगण्डकी बाढीपछि कहाँ कस्तो असर, उद्धार कसरी हुँदै छ?
बुढीगण्डकी नदीमा आइतवार बिहान शुरू भएको बाढी खतरा तहभन्दा माथि रहेको र घटबढ हुने क्रम जारी रहेको अधिकारीहरूले बताइरहँदा हालसम्म मानवीय क्षति पुष्टि नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले गृह मन्त्रालय मातहतको कमान्ड पोस्टले केही निर्णयहरू लिएको जानकारी दिँदै प्रभावित स्थलहरूबाट तथ्याङ्क लिने र स्रोतहरू परिचालन गर्ने क्रम जारी रहेको बताइन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले खोज तथा उद्धारमा ४ वटा हेलिकोप्टर परिचालन गरिएको र हालसम्म ४७ जनालाई उद्धार गरिएको जानकारी दिए। उनका अनुसार जमिनबाट पनि सैनिक टोलीहरू खटिएका छन्।
उक्त बाढीले बुढीगण्डकी जलविद्युत परियोजनामा केही पुर्याएको अधिकारीहरूले जनाएका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली नदी बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङसम्म उच्च जोखिम र चितवन तथा नवलपरासीमा नदी आसपास मध्यम जोखिम रहेको छ।
सो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च स्थानमा रहन अनुरोध गरिएको महाशाखास्थित वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बीबीसीलाई बताए।
महाशाखाका अनुसार गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ।
त्योसँगै अधिकारीहरूले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध गरेका छन्।
क्षतिबारे अहिलेसम्म हामीलाई के थाहा छ?
"केही पुलहरू बगाएको भन्ने जानकारी आएको छ। मानवीय क्षतिको चाहिँ अहिलेसम्म विवरण आएको छैन। विभिन्न ठाउँमा उद्धारमा जनशक्तिहरू परिचालन गर्ने काम भइरहेको छ," प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्।
अहिलेसम्म बेपत्ताको पनि खासै विवरण नआएको भन्दै एक ठाउँमा केही व्यक्तिहरू गोठमा रहेको हुन सक्ने भन्ने जानकारी आएपछि त्यसबारे पालिकाले समन्वय गरिरहेको जानकारी दिइन्।
अधिकारीहरूले भूउपग्रहबाट प्राप्त तस्बिर र नेपाली सेनाले गरेको हवाई रेकीले माथिल्लो भेगमा पहिरो जाँदा गोरखाको चुमनुम्ब्रीमा बाढी आएको जस्तो देखिएको बताइरहेका छन्।
"चुमनुम्ब्री गाउँपालिकाको वडा नम्बर ६ मा पहिरो खसेको तर बाढी चाहिँ ३ नम्बर वडामा आएको प्रारम्भिक जानकारी आएको छ। हामीले भूगर्भविद्हरूसहितको प्राविधिक टोली पठाएका छौँ। साँझसम्म त्यहाँ गएको टोलीले त्यसलाई भेरिफाई गरेपछि हामी थप विवरण उपलब्ध गराउँछौँ।"
बाढी उच्च ठाउँमा पुगेका कतिपय व्यक्तिहरूले उद्धार गरिदिन भन्दै अनुरोध गरेका उल्लेख गर्दै प्राधिकरणकी प्रवक्ताले तीन-चार वटा हेलिकप्टर उद्धारमा खटिएको जानकारी दिइन्। प्रभावितहरूलाई आरुघाटमा ल्याएर राख्ने तयारी रहेको उनले जनाइन्।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तल्लो तटीय जिल्ला उद्धार कार्यमा प्रहरीलाई खटाइएको उल्लेख गर्दै केही पुल र संरचनाहरूमा क्षति पुगेको विवरण आएको जनाए। तर अहिलेसम्म क्षतिको यकिन विवरण नआइसकेको उनले सुनाए।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बीबीसीसँग कुरा गर्दै बुढीगण्डकी नदीमा पानी घट्न थालेको जानकारी दिँदै नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धारका कामहरू भइरहेको बताए।
उनका अनुसार एउटा चुमनुम्ब्रीस्थित एउटा गोठबाट ५ देखि ६ जना सम्पर्कविहीन रहेका जानकारी आएको भन्दै त्यसलाई पुष्टि गर्ने प्रयास भइरहेको बताए।
हालसम्म मानवीय क्षतिको कुनै जानकारी नआएको बताएका उनले ३ वटा झोलुङ्गे पुल र एउटा बेली बृजलाई बाढीले बगाएको उल्लेख गरे।
गोरखामा २० देखि २५ वटा घरहरू बाढीले बगाएको बताएका प्रमुख जिल्ला अधिकारी मिश्रले निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको चुमनुम्ब्रीस्थित क्याम्पलाई पनि बगाएको उल्लेख गरे।
"हाम्रो ध्यान अहिले उद्धार कार्यमा केन्द्रित छ। जहाँ मानिसहरू फेला पर्नुभएको छ, नेपाली सेनाले हेलिकोप्टरमार्फत् उद्धार गरिरहेको छ।"
बाढी सिर्जना
वरिष्ठ जलविज्ञानविज्ञ पराजुलीका अनुसार आइतवार बिहान ४ बजे गोरखास्थित बूढीगण्डकी नदीको चुमनुब्री गाउँपालिकास्थित चुमचेक क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको हो।
"पहिलो बाढी आरुघाट आसपास क्षेत्रमा आज बिहान साढे ६ बजेतिर आएको थियो र त्यो सानो थियो। दोस्रो अलि ठूलो बाढी ७ बजेर ५० मिनेटमा आएको हो र त्यो पनि घटेको छ। तेस्रो बाढी आरुघाट क्षेत्रमा देखिन्छ," उनले बीबीसी न्यूज नेपालीसँग भने।
बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोलामा रहेको झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बीबीसी न्यूज नेपालीलाई बताए। उनका अनुसार बाढीले आरुघाटको सोती र मान्बु जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।
बुढीगण्डकी बाढीबाट कुनै मानवीय क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
"यकिन विवरण नआए पनि ठूलो भौतिक क्षति भएको आकलन गरिएको छ। सल्लेरी बजार र जगत् बजारमा ठूलो क्षति भएको बुझिएको छ। तर मानवीय क्षति भएको अहिलेसम्म जानकारी हामीलाई छैन," उनले अगाडि थपे।
बाढीले उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक बगाएका राष्ट्रिय समाचार समितिले जनाएको छ।
सम्भावित कारण के?
बाढी पूर्वानुमान महाशाखास्थित जलविज्ञानविज्ञ पराजुलीका अनुसार बाढीको कारण अहिलेसम्म स्पष्ट भएको छैन।
"पहिरोले नदी थुनिएर बाढी आएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ। तर वास्तविक कारण थप अध्ययनपछि मात्र थाहा होला," बीबीसी न्यूज नेपालीसँग उनले भने।
आगामी केही घण्टा अथवा आइतवार साँझसम्म बाढीको कारणबारे थप स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।
भोटेकोशी-त्रिशूली नदीमा हिमपहिरोले भयानक बाढी निम्त्याएको दुई महिना पनि नहुँदै बुढीगण्डकीमा बाढी आएको छ।
प्रधानमन्त्रीद्वारा जानकारी
बाढीबीच खोज तथा उद्धार प्रयासबारे प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।
"बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत् इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ," उनले लेखेका छन्।
"काठमाण्डूमा रहेको कम्पोजिट क्विक रिएक्शन टीम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ।"
प्रधानमन्त्री शाहका अनुसार बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।