नेपा‍ली 'कराते स्टार' एरिका गुरुङलाई निरन्तर पाँचौँ अन्तर्राष्ट्रिय पदक

एरिका गुरुङ
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेपछि करातेकी एरिका गुरुङ नेपाली खेलकुद क्षेत्रमा 'स्टार'को रूपमा उदाएकी थिइन्। चीनको हान्झाऊमा जारी एशियाली कराते च्याम्पिअन्शिपमा रजत पदक जितेर उनले आफ्नो पोल्टामा अर्को अन्तर्राष्ट्रिय पदक थपेकी छन्।

नेपाली करातेको इतिहासमा एशियन च्याम्पिअन्शिपमा रजत जित्ने उनी पहिलो खेलाडी बनिन्।

यद्यपि उनी तेक्वान्दोकी सङ्गिना वैद्यपछि एशियाली प्रतियोगितामा स्वर्ण पदक जित्ने अर्की नेपाली खेलाडी बन्न भने सकिनन्। वैद्यले सन् १९९६ मा अस्ट्रेलियामा सम्पन्न एशियाली तेक्वान्दो च्याम्पिअन्शिपमा स्वर्ण पदक हात पारेकी थिइन्।

एरिका गुरुङ ६८ केजीमाथिको तौल समूहको फाइनलमा भियतनामकी एन्गोवान नुगेनसँग ६-० स्कोरले पराजित भएकी हुन्।

उनले एशियाडपछि खेलेका सबै खेलमा पदक हात पार्दै आएकी छन्।

उनको उपलब्धिबाट नेपाली खेलकुद जगत्‌ले लामो समयदेखि प्रतीक्षा गरेको 'स्टार' खेलाडी पाएको धारणा केही विश्लेषकहरूको छ।

लगातार पदक

एरिका गुरुङ

गत वर्ष चीनको हान्झाऊमा जानुअघि गुरुङसहितको राष्ट्रिय कराते टोली इन्डोनेशियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिअन्शिपमा सहभागी भएको थियो।

त्यहाँ गुरुङले स्वर्ण जित्दै आफ्नो क्षमता प्रस्तुत गरेकी थिइन्। एशियाली खेलकुदमा भने उनले ऐतिहासिक रजत पदक जितिन्।

त्यसपछि उनी अमेरिका पुगिन् र त्यहाँ टेक्ससमा भएको यूएस ओपन कराते च्याम्पिअन्शिपमा एउटा स्वर्ण र एउटा रजत पदक जितेर फर्किइन्। भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एशियाली कराते च्याम्पिअन्शिपमा पनि उनले स्वर्ण पदक हात पारिन्।

एशियन च्याम्पिअन्शिपको उपलब्धिले उनलाई लगातार पाँचौँ अन्तर्राष्ट्रिय पदक दिलाएको हो।

एरिका गुरुङ

संयोग

यसपालि दुई वटा संयोग एकैपटक भयो।

पोहोर १९औँ एशियाली खेलकुदमा रजत जितेकै कभर्ड हलमा यसपालि पनि उनले रजत पदक जितिन्।

एशियाली खेलकुदको फाइनलमा आफूलाई पराजित गर्ने काजाकस्तानकी सोफिया बेरुल्टसेभालाई उनले यसपालि क्वार्टरफाइनलमा हराउने अवसर पाइन्।

कडा प्रतिस्पर्धा चलेको सो खेल निर्धारित समयमा १–१ को बराबरीमा टुङ्गिएको थियो। त्यसपछि रेफ्रीको निर्णयका आधारमा गुरुङ विजयी घोषित भइन्।

फाइनलसम्मको यात्रा

एरिका गुरुङ

गुरुङले प्रि-क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० ले पराजित गरेकी थिइन्। क्वार्टरफाइनलमा उनको भेट काजाकस्तानकी बेरुल्टसेभासँग भयो।

सेमिफाइनलमा गुरुङले थाईल्यान्डकी केवालिन सोङ्क्लिनलाई ८–० ले सहजै हराइन्।

तर फाइनलमा भियतनामकी एन्गोवान नुगेनसँग उनको केही लागेन।

निरन्तर पदक जित्दै आएकी एरिका गुरुङ लामो इतिहास बोकेको नेपाली करातेमा सबैभन्दा सफल खेलाडी बनेको देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।