ओलिम्पियन जुडो खेलाडी मनिताले प्यारिस ओलिम्पिकमा जे भोगिन्

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपालको अन्तर्राष्ट्रिय सहभागिताका क्रममा केही न केही घटना भइरहन्छ। विशेष गरी खेलाडी त्यसको मारमा पर्छन्। कहिले खेलाडी समयमा मैदान पुग्न सक्दैनन् त कहिले मैदानमा पुगेर पनि नियम नबुझिदिँदा खेल छुट्छ भने कहिले छनोट भएर पनि खेल्न पाउँदैनन्।
पछिल्लो घटना प्यारिस ओलिम्पिकमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानसँग सम्बन्धित हो।
एउटा सानो नियम पूरा नभएको भन्दै उनले आफ्नो र देशको नाम अङ्कित आफ्नै लुगा लगाएर खेल्न पाइनन्। झन्डै खेल नै त्याग्नुपर्ने अप्रत्यासित घटनाको उनी साक्षीकिनारा बन्न पुगिन्।
मनिताको ओलिम्पिक यात्रा ‘अपार खुसी र चरम दुःख’ को मिश्रण बन्नपुग्यो।
मनिता भन्छिन्, “हामीले गर्व गर्ने भनेकै देशको झन्डा छातीमा टाँसेर खेल्नु हो। त्यो गर्न पाइनँ। कति दुःख लाग्यो, त्यो म बयान गर्न सक्दिनँ।”
तेह्रौँ साग खेलकुदकी स्वर्ण विजेता मनिता वाइल्ड कार्डमार्फत् प्यारिस ओलिम्पिकमा छानिएकी हुन्।
ओलिम्पिक छात्रवृत्ति पाएकी मनिताले चार वर्षअगाडिको टोकियो ओलिम्पिकमा नै खेल्ने सँघारमा पुगेकी थिइन्।
तर त्यति बेला वाइल्ड कार्ड नपाएपछि उनले चार वर्ष मेहनत गरेर यसपालि आफूलाई ओलिम्पिकका लागि योग्य बनाएकी थिइन्।
प्यारिस ओलिम्पिकमा वाइल्ड कार्ड आएको दिन उनले आफ्नो जीवनको ठूलो सपना पूरा भएको बताएकी थिइन्।
खासमा के भएको थियो?
जुडो खेलाडीले आफ्नो खेल पोशाक जुडोको अन्तर्राष्ट्रिय नियमानुसार लगाउनुपर्छ।
मनिताको खेल जुलाई २९ तारिखमा थियो। नियमानुसार मनिताले २५ तारिखमा ‘ब्याक नम्बर’ का लागि नाम लेखाइन्।
ब्याक नम्बर भनेको खेलाडीको शरीरको साइज अनुसार खेलाडी नाम, देशको नाम र तौलको नाम लेखिने प्रक्रिया हो। त्यसमा मान्यता प्राप्त ड्रेसदेखि लेखिने शब्दको साइजसम्म हेरिन्छ।
शुरूमा मनिताका लागि फ्रान्सेली कम्पनीले प्रायोजन गरेको ‘गी’ पाएको थियो। तर त्यसको साइज ठूलो भएपछि नेपालबाट आफैले लगेको ‘गी’ मा लगाएकी हुन्।
मनिताका प्रशिक्षक देबु थापा भन्छिन्,“२७ तारिखमा स्वीकृत ‘ब्याक नम्बर’ पायौँ। भोलिपल्ट २८ तारिखमा जुडो ‘गी’ को साइज स्वीकृत गरियो र सबै परिक्षण गरेपछि हरियो स्टीकर टाँसिदियो। हामी त ढुक्क थियौँ।”
तर खेलको दिन मैदान प्रवेश गर्ने अन्तिम समयमा गरिएको ‘गी’ परिक्षण गरी रिङमा छिर्ने बेलामा भने जाँच अधिकारीहरुले लुगामा ‘केही गडबडी’ पाइएको भन्दै मनितालाई रोके।

प्रशिक्षक देबु भन्छिन्, “खेलाडीको नाम बोलाइसकेको थियो। त्यस्तो बेला रोकेका हुन्। के गडबड भयो भनेर पनि हामीलाई भनिएन। धेरै विवाद गर्न नपाइने र खेलाडीले खेल्नै नपाउने अवस्था आएपछि आयोजकले दिएको ‘गी’ लगाउनुको विकल्प हामीसँग रहेन।”
नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य स्वयं ‘गी कन्ट्रोल’ अधिकारी हुन्।
उनी भन्छन्, “हरेक परीक्षणमा अनुमोदित भइसकेको अवस्थामा रोक्ने भन्ने हुँदैन। मैले सक्दो तर्क राखेँ। तर केही लागेन।”
अध्यक्ष बज्राचार्यका अनुसार मनिताको लुगामा छापिएको नेपालको झन्डाको आकार र ‘गी’ कम्पनी ‘फाइटिङ फिल्म’ को लोगोको आकार ठूलो भएकोले अयोग्य भनियो।
अन्तिम समयमा वातावरण तनावपूर्ण बन्यो। नियमानुसार त्यस्तो गडबडी देखिएको अवस्थामा प्रशिक्षक खेलाडीसँग रिङमा प्रवेश गर्न पाइँदैन।
देबुलाई रोकियो। एक्लै परेकी मनिता त्यहीँ रुन थालिन्।
रिङभित्रको त्यो तनाव
समय भइसकेको थियो। मनिता आयोजकले दिएको अर्को सादा ‘गी’लगाउँदै रिङमा दौडिन्।
वर्षौँको मेहनतपछि पाएको जीवनको उत्कृष्ट खेल पस्किने मैदानमा पुग्दा मनिताको दिमाग शून्य भइसकेको रहेछ।
उनी सम्झिँदै भन्छिन्, “त्यहाँ के भयो कस्तो भयो मेरो दिमागले केही सोच्नै सकिनँ।”
मनितालाई दर्शकदीर्घाबाटै सिकाउने भन्दै प्रशिक्षक देबु थापा स्टेजतिर दौडिएछन्।
देबु भन्छिन्, “मनिताको खेल २ नम्बर रिङमा रहेछ। म एक नम्बर रिङमा पुगेछु। जोडले चिच्याँए। मनिताको अनुहार निन्याउरो थियो। उनले मेरो आवाज सुने र मतिर हेरे।”
देबु थप्छिन्, “मैले भनेँ मनिता अब जे गर्नुछ तिमीले नै गर्नुछ। धैर्य भएर खेल। उसले टाउको हल्लाएको थियो।”
त्यसपछिको खेल शुरू हुँदा १ मिनेट २ सेकेन्डसम्म मनिताले सङ्घर्ष गरिन् र पराजित हुन पुगिन्।
उनका प्रतिद्वन्द्वी सर्बियाकी विश्व वरीयताका नवौँ नम्बरका बलिया खेलाडी थिइन्।
मनिता भन्छिन्, “ओलिम्पिक खेल्ने मेरो जीवनको सपना पूरा भएको दिन यस्तो घटनाको सामना गर्नुपर्छ भन्ने कल्पना पनि गरेको थिइनँ। राम्रो खेल्न सकिनँ। त्यो दिन कहिल्यै बिर्सिने छैन।”
ओलिम्पिक सकिएको छ। तर यो घटनाको चर्चा भने सकिएको छैन।

ओलिम्पिक जस्तो ठूलो खेलमा कस्तो लुगा लगाउने ज्ञान नभएको र लापरवाही गरेको भन्दै खेलका प्रशिक्षक र जुडो सङ्घका पदाधिकारीहरूको आलोचना भइरहेको छ।
ओलिम्पिक जाने पदाधिकारीहरू खेलाडी र नतिजाभन्दा घुम्नमा नै व्यस्त हुने गर्छन् भन्ने आमबुझाइलाई यो घटनाले थप बल दिएको पनि देखियो।
जुडो खेलाडी प्रशिक्षक र पदाधिकारीहरूले राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलिम्पिक कमिटीमा स्पष्टीकरण दिएका छन्।
ठूला खेलअगाडि नियम, जिम्मेवारीबारे कत्तिको चनाखो हुनुपर्छ भन्ने पाठ यो घटनाले दिएको जुडोका अधिकारीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








