चलचित्रको कथाजस्तै नेपाली फुटबल कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
गोलकीपर एन्जिला तुम्बापो सुब्बा अहिले आफ्नो खेलजीवनको उत्कर्षमा छिन्। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तानको भूमिकामा बाहेक उनी युरोपको एउटा व्यावसायिक क्लबबाट पनि खेल्छिन्।
व्यावसायिक खेलाडीको चाहना यस्तै त हुन्छ। त्यसमाथि महिला फुटबल खेलाडीले मन पराउने क्लब सशस्त्र प्रहरी बलको सदस्य र त्यसको जागिरेको रूपमा भविष्यको योजना पनि उनीसँग छ।
नेपाली टोलीबाट गोलरक्षा गर्दा उनले दर्जनौँ कीर्तिमान पनि बनाएकी छन्।
सङ्घर्ष

उनी कलाकार पनि हुन्। त्यो पनि आफ्नो जीवनीमा बनेको चलचित्रमा आफ्नो भूमिकामा आफैँ अभिनय गर्ने विश्वकै दुर्लभ कलाकार। यति धेरै उपलब्धि हासिल गरेर खेल्न नछोडेकी २८ वर्षीया सुब्बालाई कहिलेकाहीँ आफू "सपनाको यात्रामा" छु कि जस्तो लाग्छ।
उनको जन्म पाँचथरको विकट फाक्तेब गाउँमा भएको हो। उनले यो यात्रा तय गर्न गरेको सङ्घर्षको कथा भने बेग्लै छ।
उनले विगत कहालीलाग्दो र कठिन थियो। उनले दुःखको पहाड छिचोलेकी छन्, आलोचनालाई पिएकी छन्। सङ्घर्षलाई दिनचर्या बनाउँदै उनी खारिएकी छन्। लाखौँ समर्थककी प्रिय बनेकी छन्।
सानै छँदा उनको परिवारमा विखण्डन भयो। उनका अनुसार बुवाले दोस्रो बिहे गरेपछि उनको परिवारले अनेकौँ दुःख झेल्नुपर्यो। केही समयपछि आमाले पनि अर्को बिहे गरिन्। कर्मबुवाको सहारामा जीवन सहज बन्यो।
तर यी घटना र परिवेशमा हुर्किएकी उनी बनिन्, उनले खुलेर हाँस्न खोजिनन्। स्वभाव भने केही गर्ने अठोट लिएपछि पूरा गरेरै छोड्ने खालको बन्यो। दुःख, सङ्घर्ष गर्न अलिकति पनि नडराउने बानी पर्यो।
आज उनी देशको 'नम्बर वन' गोलकीपर बन्न यिनै स्वभावको प्रमुख सहायक बने।
संयोगले जुरेको यात्रा

फुटबल खेलाडी र त्यसमा पनि गोलकीपर बन्नुमा भने अनौठो संयोग जोडिएको छ। पाँचथरबाट इलाम झरेकी एन्जिला सुब्बालाई फुटबल औधी मन पर्थ्यो। घरमा जति गाली खाए पनि फुटबल भने पछि उनी दौडिहाल्थिन्।
अठोट लिएपछि पछि नहट्ने उनको स्वभावले यहाँ काम गर्यो। एक पटक त भीरमा बल लिन जाँदा हातै भाँच्चिएको थियो।
पूर्वमा फुटबलको परिवेश राम्रो थियो। उनको प्रतिभा निखारिँदै आयो। उनी मैदानमा जुनसुकै 'पोजिशन'बाट खेल्न सक्थिन्।
पाँचथरमा हुने एउटा प्रतियोगिताका लागि एन्जिला पान्दमको टीममा अग्रपङ्क्तिबाट खेल्न छनोट भइन्। तर टोलीकी गोलकीपर अन्तिम समयमा खेल्न नआएपछि उनलाई गोलपोस्ट सम्हाल्नुपर्ने बाध्यता आइलाग्यो।
उनलाई गोलकीपर बन्न पटक्कै मन थिएन। तर खेलमा उनले यति राम्रो बचाउ गरिन् कि उनको टोलीले प्रतियोगिता नै जित्यो। त्यसपछि साथीहरूले उनलाई गोलकीपर नै बन्न सुझाव दिए।
बिनायोजना र अनिच्छापूर्वक उनी गोलकीपर बनेकी थिइन्। छैटौँ राष्ट्रिय खेलकुदका लागि पान्दमको टोलीले जिल्लाबाट छनोट भयो।
त्यहाँ पनि प्रभावशाली खेल देखाएपछि उनी पूर्वाञ्चलको टोलीबाट राष्ट्रिय खेलकुदका लागि दोस्रो रोजाइको गोलकीपर छानिइन्।
फेरि अर्को संयोग जुर्यो। राष्ट्रिय प्रतियोगिता खेल्न धनगढी पुग्दा पहिलो रोजाइकी गोलकीपर परीक्षाको कारण भन्दै खेल्न नआएपछि उनले पूर्वाञ्चलबाट खेल्न पाइन्।
अनि १३ वर्षकी एक फुच्ची केटीले राष्ट्रिय खेलमा देखाएको प्रभावशाली प्रदर्शन विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफको व्यवस्थापक प्रेम श्रेष्ठको आँखामा पर्यो।
यहाँबाट उनको फुटबल जीवनले नयाँ मोड लिएको हो।
काठमाण्डू प्रवेश

मोरङ फुटबल सङ्घका तात्कालिक अध्यक्ष दीपेन्द्र धिमालले पढाइ र बसोबासको व्यवस्था मिले मात्र काठमाण्डू पठाउने भनेपछि सशस्त्रका तात्कालिक डीएसपी प्रेम श्रेष्ठले त्यो जिम्मा लिएका हुन्।
बोर्डिङ स्कूलको पढाइ र त्यहीँ होस्टलमा बसोबासको प्रबन्ध मिलेपछि सानी एन्जिला एपीएफमा करारको जागिरमा फुटबल खेल्न पुगिन्।
नयाँ ठाउँ, होस्टलको जीवन। त्यसै पनि कम बोल्ने स्वभावकी उनलाई काठमाण्डू त्यति सहज थिएन। कहिलेकाहीँ बस चढ्ने पैसा नभएर होस्टलबाट हिँडेरै एपीएफ पुग्ने गरेको उनी सम्झिन्छिन्।
उनको मेहनत एपीएफमा सबैले मन पराए। अनि त्यहाँ एपीएफका गोलकीपिङ प्रशिक्षक चन्दन सरदारले सुब्बाको सीपलाई तिखारिदिने काम गरे।
त्यति बेला एपीएफका लागि गोलकिपरमा चन्द्रादेवी दाहाल पहिलो रोजाइमा पर्थिन्। उनी राष्ट्रिय टोलीकी गोलकीपर पनि थिइन्। एपीएफमा पहिलो रोजाइमा पर्न सुब्बाले दुई वर्षजति कुर्नुपर्यो।

राष्ट्रिय टोलीको यात्रा
एपीएफ छिरेपछि उनी सन् २०१४ मा श्रीलङ्कामा आयोजना हुने एएफसी यू-१४ क्षेत्रीय प्रतियोगिताका लागि युवा टोलीमा छनोट परिन्। त्यहाँ कप्तानी गर्दै उनले नेपाललाई उपाधि जिताइन्। यो नेपाली महिलाको पहिलो आधिकारिक उपाधि थियो।
त्यहाँ नेपालले कुनै गोल नखाई २० गोल गरेको थियो। भारत नेपालसँग पराजित भयो, पेनाल्टी रोकेर उनले चर्चा बटुलिन्। सोही वर्ष साफ च्याम्पिअन्शिपका लागि राष्ट्रिय टोलीमा प्रवेश पाए पनि खेल्न भने पाइनन्।
सन् २०१६ को पाकिस्तानमा भएको १२ औँ सागमा श्रीलङ्का विरुद्धको खेलबाट उनले राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेकी हुन्। त्यसयता उनी टोलीमा नियमित गोलकीपर छिन्। उनले चारवटा साफ च्याम्पिअन्शिप, दुइटा साग र एक पटक एशियन कप छनोटसहित एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकिन्।
एघार वर्षको यो लामो यात्रामा उनले राष्ट्रिय टोलीबाट सर्वाधिक ५७ खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएकी छन्। उनले दुई वर्षअघि साफदेखि राष्ट्रिय टोलीको नेतृत्व गर्न थालेकी हुन्। उनको कप्तानीमा नेपालले चारवटा अन्तर्राष्ट्रिय फाइनल खेलिसकेको छ।
विदेशी क्लब
सन् २०१९ मा उनी पाकिस्तान लीगका लागि अनुबन्धित भइन्।
उनी मासा यूनाइटेडकी कप्तान पनि बनिन्। यद्यपि राजनीतिक समस्याका कारण उक्त लीग पूरा नहुँदै उनी नेपाल फर्किनुपर्यो।
त्यसपछि भारतीय महिला लीग आईडब्ल्यूएलमा उनले २ सीजन सेथु एफसीबाट खेलिन्। उनले त्यहाँ पनि कप्तानको भूमिका निर्वाह गर्नुपरेको थियो।
अहिले उनी ग्रीसको शीर्ष डिभिजनको क्लब निस एट्रोमिटौमा आबद्ध भएकी छन् । सावित्रा भण्डारी 'साम्बा'पछि युरोपमा पुगेर खेल्ने उनी दोस्रो नेपाली महिला खेलाडी हुन्।
एटीएस १६

जर्सी नम्बर १६ लगाएर खेल्ने एन्जिलाको 'एटीएस १६' को नाममा थुप्रै 'ब्र्यान्ड' स्थापित भए।
गोर्खा वाच कम्पनीले उनको नाममा 'एटीएस १६' घडी बनाएको छ।
क्लोथिङ कम्पनी ली निङले उनको नामको जर्सी उत्पादन गर्यो। त्यसको बिक्रीको मुनाफा एन्जिला तुम्बा सुब्बाका लागि छुट्याइएको थियो।
सोह्र पटक सगरमाथा चढेका फुर्बा तेन्जिङ शेर्पाले उनको 'एटीएस १६' जर्सी सगरमाथाको चुचुरोमा नै पुर्याएका थिए।
वास्तविक जीवनको अभिनय
एन्जिला तुम्बा सुब्बाको अन्तर्मुखी स्वभावसँग अभिनय कतै मेल नखानुपर्ने हो। अभिनय गर्ने न त चाहना नै थियो। तर अनौठो के भयो भने उनले आफ्नै वायोपिक चलचित्र 'अन्जिला' मा अभिनय गरिन्।
विश्वमा आफ्नो जीवनीमा आफैँले अभिनय गर्ने पात्र दुर्लभ मात्र भेटिन्छन्। बक्सर मोहम्मद अलिले आफ्नै जीवनकथामा आफैँ अभिनय गरेका थिए।
फुटबलमा अभिभावकत्व प्रदान गर्ने प्रेम श्रेष्ठले निर्माण गर्न लागेकोले सो प्रस्ताव उनले नाइँ भन्न सकिनन्। "अनुभव अनौठो भयो। जीवन भनेकै आफैँमा नाटकै हो कि जस्तो पनि लाग्यो," उनले बीबीसीसँग भनिन्।
तर यसबाट आफ्नो स्वभावमा धेरै परिवर्तन भएको महसुस गरेको उनी बताउँछिन्। लजालु एन्जिला अहिले खुलेको देखिन्छिन्, सञ्चारकर्मीसँग बोल्दा धक मान्दिनन्।
चलचित्रमा उनी भन्छिन्, "जबसम्म म आफैँ लड्दिनँ तबसम्म मेरो सहारा कोही हुँदैन।"

अबको योजना
एन्जिला तुम्बा सुब्बासँग एउटा विशेष योजना छ। स्नातक तह पढ्दै गरेकी उनी पढाइ सकिएपछि सशस्त्र प्रहरी बलमा निरीक्षक बन्न चाहन्छिन्।
'अन्जिला' चलचित्रको मुनाफाबाट निर्माता प्रेम श्रेष्ठले उनका लागि घर बनाइदिने घोषणा गरिसकेका छन्।
वर्षौँ सम्पर्कविहीन बुवासँग चलचित्र बनाउने बेला उनको भेट भएको थियो। भोलि पैसा कमाउन सके बुवालाई किनिदिने आफ्नो इच्छा भएको उनी बताउँछिन्।
उनको अर्को चाहना फुटबल अक्याडमी खोल्नु हो। " मजस्तै दुःखमा हुर्केका खेलाडीहरूलाई शिक्षा र फुटबल खेलाउन अक्याडमी खोल्न चाहन्छु।"
उनी आफ्नी आमालाई देश र विदेश घुमाउन पनि चाहन्छिन्। "पर्दामा देखिने त एउटा अंश मात्रै हो, जीवनमा अझै धेरै गर्न बाँकी नै छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








