नेपाली खेलाडीका लागि बाङ्ग्लादेश फुटबल लीग फेरि खुल्ला, अहिलेसम्म कोको गए

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
सन् १९८० को दशकमा बाङ्ग्लादेशको घरेलु लीग फुटबलमा नेपाली खेलाडीहरूको माग हुन्थ्यो। वास्तवममा अन्तर्राष्ट्रिय तहमा नेपाली फुटबलरहरूको व्यावसायिक खेलजीवन बाङ्ग्लादेशबाटै आरम्भ भएको थियो।
गणेश थापा र कृष्ण थापा बाङ्ग्लादेशमा व्यावसायिक फुटबल खेल्ने पहिलो खेपका नेपाली खेलाडी थिए। त्यसपछि निरन्तर दुई दशक नेपाली खेलाडीहरूले त्यहाँ खेल्ने अवसर पाए। नेपालमा नाम कमाएका र ढाका पुगेर आफ्नो कौशल नदेखाएका राष्ट्रिय खेलाडीहरूको सङ्ख्या नगण्य नै थियो।
तर विगत डेढ दशकमा नेपाली खेलाडीका लागि बाङ्ग्लादेशको लीग बिरानो बन्न पुग्यो। दक्षिण एशियाली फुटबलमा अन्य विदेशी खेलाडीहरू हाबी हुनु अनि बाङ्ग्लादेशको लीगको समयतालिकामा पनि तलमाथि भइरहनु जस्ता विभिन्न कारणले बाङ्ग्लादेशको बजार नेपाली खेलाडीका लागि अनुपलब्धजस्तै हुन पुग्यो।
तर अहिले फेरि बाङ्ग्लादेशको ढोका नेपाली खेलाडीहरूका लागि खुलेको छ। कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित आधा दर्जन बढी खेलाडीहरू अहिले बाङ्ग्लादेश प्रिमिअर लीग खेल्न ढाका पुगिसकेका छन्।
बाङ्ग्लादेश फुटबल महासङ्घ (बीएफएफ) ले दक्षिण एशियाली राष्ट्रका खेलाडीहरूलाई स्थानीय खेलाडीसरह स्वीकार गर्ने नयाँ नियम ल्याएपछि नेपाली फुटबलरहरूले त्यहाँको लीगमा खेल्ने अवसर पाएका हुन्।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)का महासचिव पुरुषोत्तम कट्टेल भन्छन्, "नयाँ नियमअनुसार दक्षिण एशियाका कुनै पनि खेलाडीलाई अब लीगमा विदेशी खेलाडीको कोटामा गनिँदैन। यसले गर्दा बाङ्ग्लादेशको फुटबल बजार दक्षिण एशियाको लागि खुल्ला भएको छ।"
कुनकुन नेपाली खेलाडी ढाका गए

नेपालका आठ खेलाडी बाङ्ग्लादेश लीगका विभिन्न क्लबहरूमा आबद्ध भइसकेका छन्।
तीमध्ये किरण चेम्जोङ र आयुष घलान बाङ्ग्लादेश पुलिस क्लबको रोजाइमा परेका छन्। त्यसै गरी ब्रदर्स यूनाइटेडले अग्रपङ्क्तिका खेलाडी अञ्जन बिष्ट, मध्यपङ्क्तिका एरिक बिष्ट र रक्षापङ्क्ति सनिश श्रेष्ठ तथा योगेश गुरुङ गरी चार जनालाई लगेको छ।
रक्षापङ्क्तिका अभिषेक लिम्बू रहमतगन्ज एमएफएसमा तथा अनन्त तामाङ फर्सिट एफसीमा पुगेका छन्।
बीएफएफले खेलाडी दर्ताको लागि १४ अगस्टसम्मको समयसीमा राखेकोले अर्को 'विन्डो' नखुलुन्जेल अरू खेलाडीहरू भने थपिने छैनन्।
के हो नयाँ नियम
तीन महिनाअघि बसेको बाङ्ग्लादेश फुटबल महासङ्घ बीएफएफको बोर्ड बैठकले दक्षिण एशियाभित्रका खेलाडीहरूलाई स्थानीय खेलाडीको रूपमा मान्यता दिने निर्णय गरेको थियो।
यद्यपि एउटा क्लबले साफ क्षेत्रबाट बढीमा बढीमा पाँच खेलाडी लिन पाउने सीमा तोकिएको छ।
तविथ अवाल बीएफएफको अध्यक्ष बनेपछि लीगलाई प्रतिस्पर्धात्मक बनाउन उनको अग्रसरतामा यो नियम ल्याइएको हो।
बीएफएफले उक्त निर्णयलाई "ऐतिहासिक कदम" भन्दै त्यसले दक्षिण एशियाभित्रका प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने र साफ मुलुकको फुटबल सम्बन्ध बलियो हुने जनाएको छ।
साफका महासचिव कट्टेल भन्छन्, "बाङ्ग्लादेशले यो निर्णय गरेपछि भारतले पनि यो चलन ल्याउने चर्चा चलेको थियो। हामीले भारतीय फुटबल महासङ्घलाई बुझ्दा लिखित निर्णय चाहिँ भइनसकेको जानकारी पायौँ। यो क्रम साफ मुलुकमा बढ्यो भने फुटबललाई निकै फाइदा हुने पक्का छ।"
पुरानो सम्झना

तस्बिर स्रोत, Courtesy: Ganesh Thapa
असीको दशकमा बाङ्ग्लादेशमा नेपाली खेलाडीहरूको ठूलो प्रभाव थियो।
ढाका लीगमा त्यो बेला गणेश थापाको ठूलो नाम थियो। उनले सन् १९८१ देखि १९८९ सम्म खेलेका थिए। उनी कुनै बेला मोहम्मदन स्पोर्टिङ, अवानी, ढाका वान्डरर्स र रहमदगन्जसँग आबद्ध थिए।
थापा भन्छन्, "त्यो बेला ढाकाको लीगको बेग्लै स्वाद थियो। अनि त्यहाँका दर्शकहरू नेपाली खेलाडीलाई निकै मन पराउँथे।"
थापालाई पछ्याउँदै थुप्रै नेपालीहरूले त्यहाँ खेले। राजुकाजी शाक्य, उमेश प्रधान, मणि शाह, मानबहादुर मल्ल, दीपक अमात्य, बालगोपाल महर्जन, राजेश मानन्धर, मृगेन्द्र मिश्र, हरि खड्का, वसन्त थापा, विकास लामा, सन्तोष साहुखल हुँदै सुरेन्द्र तामाङसम्मको पुस्ताले बाङ्ग्लादेश लीग खेलेका छन्।
भिक्टोरिया र इस्ट इनबाट खेलेका राजुकाजी शाक्य नेपाली खेलाडीहरूले राम्रै पारिश्रमिक पाउने गरेको बताउँछन्। "हामीले सीजनमा पाँच लाख रुपैयाँसम्म लियौँ। त्यति बेला त्यो भनेको राम्रो पैसा थियो," उनी भन्छन्।
"सन् १९९५ मा इस्ट इन क्लबबाट खेलेर हामीले लीग विजेता बनाएका थियौँ। मैले रक्षापङ्क्तिबाट खेलेर पनि नौ गोल गरेको थिएँ।"
नेपाली खेलाडीहरू पछि किन बाङ्ग्लादेश गएनन्

दक्षिण एशियाली राष्ट्रमा अन्य देशका विशेष गरी अफ्रिकी खेलाडीहरूको आगमन बढ्न थालेपछि बाङ्ग्लादेशमा पनि उनीहरू नै छाए।
फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, "अफ्रिकी खेलाडीहरू सस्तो पनि हुने र नेपाली खेलाडीहरूभन्दा राम्रो खेल्ने हुन थालेपछि बाङ्ग्लादेशी क्लबहरू उतातिर आकर्षित भएको देखिन्छ।"
विगत १० वर्षमा कुनै पनि नेपाली खेलाडीले बाङ्ग्लादेशको लीगमा खेलेका छैनन्। नेपालमै राम्रो आय हुन थालेपछि नेपाली खेलाडीहरू घरेलु लीगमा व्यस्त हुन पुगे। उनीहरूलाई बाङ्ग्लादेशको लीगको वास्ता पनि भएन।
फेरि बाङ्ग्लादेशमा लीग फुटबलको आकर्षण केही घटेको देखिन्छ। विशेष गरी बाङ्ग्लादेशले टेस्ट क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएपछि तथा बाङ्ग्लादेश क्रिकेटका ठूला प्रतियोगिताहरूमा सहभागी हुन थालेपछि प्रायोजकहरू स्वात्तै क्रिकेटतर्फ लागे। त्यसबाट बाङ्ग्लादेशमा फुटबलको बजार घट्न पुग्यो।
सरकारले ढाकाको बङ्गबन्धु रङ्गशाला नै क्रिकेटलाई दिएपछि त्यो ठूलो विवादको विषय बनेको थियो। सन् २००५ पछि बङ्गबन्धु रङ्गशाला फेरि फुटबलले फिर्ता पाएको थियो।
फुटबलको बजार अहिले क्रिकेटको छायामा नै परेको देखिन्छ। यद्यपि पछिल्लो समय बाङ्ग्लादेश लीगले बजार लिन थालेको छ।
भविष्यमा के होला
दश क्लब सहभागी बाङ्ग्लादेश प्रिमिअर लीग बीपीएल सेप्टेम्बरदेखि सुरु हुने छ।
नेपालमा ए डिभिजन लीग लामो समय नहुँदा 'बेरोजगार' बनेका खेलाडीहरूका लागि यो राम्रो अवसर हुने देखिएको छ।
दक्षिण एशियाको फुटबल बजार खुल्ला हुँदा त्यसले व्यावसायिक फुटबललाई पनि प्रवर्धन गरेको छ।
यद्यपि राष्ट्रिय टोलीका राम्रा खेलाडीहरू बाङ्ग्लादेशतिर लागे भने त्यसले नेपालको शहीद स्मारक लीगलाई भने खल्लो बनाउन सक्ने सम्भावना रहेको पनि फुटबल विश्लेषकहरू बताउँछन्।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका भूतपूर्व अध्यक्ष गणेश थापा भन्छन्, "नेपालमा लीग नहुँदा विदेशमा खेल्नु राम्रो हो। तर यसले नेपाली लीगलाई भने असर पार्न सक्छ। समग्रमा यसले खेलाडीको मूल्य भने बढाउने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








