महिला फुटबलको १००औँ खेलमा गरिएका चार परिवर्तन, साम्बाको ह्याट्रिकमा रोमाञ्चक जित

तस्बिर स्रोत, NSJF
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपालको राष्ट्रिय महिला फुटबल टोलीको १०० औँ अन्तर्राष्ट्रिय खेल धेरै हिसाबले स्मरणीय रह्यो।
नतिजाको रूपमा नेपालले नयाँ प्रतिद्वन्द्वी लाओसलाई ९-० ले पराजित गर्यो भने यसै खेलमा महिला टोलीको स्वरूप परिवर्तन भएको देखियो।
'साम्बा' उपनामले चर्चित स्ट्राइकर सावित्रा भण्डारीले टोलीको कप्तानी गरिन्।
अञ्जना राना मगरले पहिलो रोजाइ को गोलकिपरको रूपमा नेपाली पोस्ट सम्हालिन्।
सरस्वती हमालले राष्ट्रिय टोलीमा 'डेब्यू' गरिन् अर्थात् टोलीका लागि पहिलो खेल खेलिन्।
महिला टोलीले पहिलो पटक पाएको व्यावसायिक इजाजतधारी (प्रो लाइसन्स) प्रशिक्षक बेल्जियमका प्याट्रिक डे वाइल्डको पहिलो खेल पनि स्मरणीय बन्यो।
यी थुप्रै खुसीका माझ नेपालले उज्बेकिस्तानमा सुरु भएको एशियन कप छनोटको पहिलो खेललाई ऐतिहासिक बनाएको छ।
नेपाली फुटबल समर्थकले निकै चासोका साथ हेरेको उक्त खेलको प्रत्येक गोलमा नेपाली महिला टोलीका खेलाडीहरूले चार दशकको यात्राको खुसी मनाएको देखिएको थियो।
नेपालका लागि दबाव र अवसर

तस्बिर स्रोत, NSJF
उज्बेकिस्तानको तास्कन्दमा सुरु भएको एएफसी महिला एशियन कप छनोटमा नेपाल सहित लाओस, श्रीलङ्का र आयोजक उज्बेकिस्तान सहभागी छन्।
समूह 'एफ'मा रहेका यी चार टोलीमा समूह विजेता बन्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने एशियन कपमा छनोट हुनेछ।
समूहमा उज्बेकिस्तान र नेपाललाई दाबेदारको रूपमा हेरिएको छ। त्यसैले नेपालको लागि जित मात्र नभई प्रत्येक गोलको ठूलो महत्त्व छ।
किनकि यदि, उज्बेकिस्तानसँगको खेल बराबरी भएमा गोल अन्तरले महत्त्वपूर्ण भूमिका खेल्नेछ।
लाओसविरुद्ध पहिलो पटक खेलिरहेको र १०० औँ अन्तर्राष्ट्रिय खेल भएकोले नेपाली टोली सुरुमा दबावमा देखिन्थ्यो।
प्रशिक्षक प्याट्रिकले उज्बेकिस्तान जानु अगाडि हरेक प्रतिद्वन्द्वीलाई चुनौतीपूर्ण रूपमा हेरिने बताएका थिए।
तर खेल सुरु भएदेखि नै नेपाली टोली लाओसविरुद्ध हाबी देखियो।
अनिता बस्नेतले पहिलो गोल गरेपछि खेल सकिनुभन्दा दुई मिनेट अघिसम्म पनि नेपाली खेलाडीहरूले गोल गरिरहेका थिए।
यस्तोमा पहिलो पटक कप्तानीको 'आर्म ब्यान्ड' बाँधेकी सावित्रा भण्डारीले ह्याट्रिक सहित चार गोल गर्न सफल भइन्।
उनी बाहेक अनिता बस्नेत, सरु लिम्बू, रश्मि कुमारी घिसिङ र अनिता केसीले १-१ गोल गरे। एक गोल भने आत्मघाती गोल थियो।
प्रशिक्षकको नयाँ रणनीति

तस्बिर स्रोत, NSJF
पहिलो खेलमा नै प्रशिक्षक प्याट्रिकले टोलीमा व्यापक परिवर्तन गरे।
पछिल्लो सात वर्ष टोलीको कप्तानी र गोल पोस्ट सम्हालिरहेकी एञ्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राख्दै प्रशिक्षकले अञ्जना राना मगरलाई पोस्टको जिम्मा दिए।
लामो समयपछि एञ्जिला मैदान बाहिर परेकी हुन्।
कप्तानीको जिम्मा सावित्रा भण्डारीले पाइन्। उनी नेपालको ११ औँ महिला कप्तान बनिन्।
त्यस्तै डेब्यू गरेकी सरस्वती हमाललाई उनले पहिलो सेटमा समावेश गरे भने मिडफिल्डर प्रीति राईलाई सुरुमा बेन्चमा राखेका थिए।
त्यस्तै रक्षापङ्क्तिको जिम्मा गीता राना मगर, निशा थोकर र समीक्षा घिमिरेलाई दिएका थिए।
नेपालले आक्रामक खेल्ने रणनीति बनाएको थियो।
मिडफिल्डर रेनुका नगरकोटीले भनिन्, "हाम्रो रणनीति आक्रामक थियो। त्यही अनुसार खेल्यौँ। हाम्रो लक्ष्य एशियन कपमा छनोट हुनु हो। त्यसको लागि यस्तो जित आवश्यक छ।"
एक सय खेल, ४७ जित

तस्बिर स्रोत, NSJF
आफ्नो इतिहासको ३९औँ वर्षमा १००औँ अन्तर्राष्ट्रिय खेल खेलेको नेपालका लागि लाओसविरुद्धको जित ४७औँ हो।
हालसम्मका १०० वटा खेलमा नेपाल १६ खेलमा बराबरीमा रोकियो भने ३७ खेलमा पराजित हुन पुग्यो।
यो अवधिमा नेपालले तीन पटक एशियन कप, ओलिम्पिक छनोट, दक्षिण एशियाली खेलकुद (साग), साफ च्याम्पिअनशिप सहितका विभिन्न प्रतियोगिताहरू खेलेको छ।
नेपालले बुधवार श्रीलङ्कासँग १०१ औँ खेल खेल्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








