अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको चार दशकपछि नेपाली महिला फुटबलले रच्दै गरेको नौलो इतिहास

नेपाली महिला फुटबल टोली
तस्बिरको क्याप्शन, नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय खेल सुरु गरेको चार दशक भएको छ
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालको महिला फुटबल टोलीले नयाँ इतिहास रच्दै छ।

आइतवार लाओससँग हुन लागेको एसियन कपको छनोट खेल नेपाली महिला राष्ट्रिय फुटबल टोलीको १००औँ खेल हुनेछ।

यी १०० खेल खेल्न नेपाली महिला टोलीलाई ३९ वर्ष लाग्यो। जुन निकै लामो समय हो।

चार दशकको यो समय पार गर्दा महिला टोली थुप्रै आरोह अवरोहबाट गुज्रिएको देखिन्छ।

सुरुवाती दिनमा घर छाडेर मैदानमा भिड्नुकै चुनौती, आक्कलझुक्कल मात्रै हुने प्रतियोगिता, लामो समयको निष्क्रियता हुँदै पुनर्जन्म पाएको महिला फुटबल अहिले उमेर समूहदेखि राष्ट्रिय टोली सम्मका खेलहरूमा व्यस्त बनेको छ।

खेलाडीहरू युरोपसम्म पुगेर व्यावसायिक प्रतिस्पर्धा गर्न थालिसकेका छन्। नेपाली समर्थकमाझ महिला टोलीको चर्चा समेत चुलिएको अवस्था छ।

महिला टोलीको १००औँ खेलसम्मको यात्रा कसरी अगाडि बढ्यो। मुख्य चरणहरूको एक चर्चा।

१. सुरुआत कस्तो?

विक्रम सम्वत् २०३० को दशकबाट नेपालमा महिला फुटबल खेल्न थालिएको इतिहास देखिन्छ।

पुरुष फुटबलको दबदबा रहेको त्यो समयको प्रभाव महिला फुटबलमा पर्नु स्वाभाविक थियो। महिला खेलाडीहरू देखिन थालेपछि फाट्टफुट्ट प्रतियोगिता पनि हुने गरेको बताइन्छ।

महिला फुटबल जगेर्ना गर्ने काम भने राष्ट्रिय खेलकुद परिषद्ले गरेको पाइन्छ।

महिला फुटबल गतिविधिसँगै परिषद्ले विसं २०४० को दोस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला फुटबललाई पनि समावेश गर्‍यो। यही विन्दुबाट महिला फुटबलले सङ्गठित रूप लिन सुरु गरेको देखिन्छ।

त्यसपछि अञ्चल अञ्चलको टोली बनाएर राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुन थाले। जसले बिस्तारै देशभर महिला फुटबलको माहौल बन्न थाल्यो।

२. पहिलो अन्तर्राष्ट्रिय सहभागिता

स्थानीय तहमा फुटबल प्रतियोगिता हुन थालेपछि तत्कालीन अखिल नेपाल फुटबल सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने जमर्को गरेको हो।

विसं २०४३ सालमा राष्ट्रिय महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो।

त्यति बेला अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कमल थापा थिए।

भनिन्छ, त्यतिबेला एसियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई अन्तर्राष्ट्रिय सहायता चाहिने हो भने महिला राष्ट्रिय पनि टोली निर्माण गर्नुपर्ने बताएपछि एन्फाले महिला टोली बनाउन जोड दिएको थियो।

रमा सिंहको कप्तानीमा महिला टोलीले एसियन कप खेल्यो।

सन् १९८६ डिसेम्बर १४ तारिखका दिन नेपालले हङकङ विरुद्ध पहिलो खेल खेलेको थियो। उक्त खेल नेपालले १-० ले हार्‍यो। टोलीका प्रशिक्षक पोखराका खेम गुरुङ थिए।

त्यसको ३ वर्षपछि नेपालले दोस्रो पटक एसियन कप खेल्यो।

३. सुस्त गति

त्यसपछि भने अन्तर्राष्ट्रिय फुटबल गतिविधि बन्द जस्तै भयो। देशभित्रको गतिविधि पनि झन्डै दुई दशक जति अत्यन्त सुस्त गतिमा अगाडि बढेको देखियो।

तर बेला बेलामा राष्ट्रिय महिला फुटबल प्रतियोगिता भने भइरहे। यसले फुटबलको ढुकढुकी भने जोगियो।

अञ्चल-अञ्चल बीच हुने उक्त प्रतियोगिता २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि क्षेत्रीय-क्षेत्रीय टोलीबीच हुन थाल्यो।

उक्त प्रतियोगिता २०५८ सालसम्म आयोजना भएको थियो। त्यति नै बेला नेपाल पुलिस र नेपाली सेनाले महिला फुटबल टोली गठन गरेका थिए।

फुटबल विज्ञ सञ्जीव मिश्र भन्छन्, "५८ सालमा हेटौँडामा राष्ट्रिय महिला फुटबलको आयोजना भएको थियो। त्यसपछि भने यसले निरन्तरता पाउन सकेन।"

४. पहिलो अन्तर्राष्ट्रिय गोल

सन् १९९९ मा नेपालले तेस्रो पटक फेरि फिलिपिन्समा भएको एसियन कपमा सहभागिता जनायो।

सोही प्रतियोगितामा नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भयो।

पेमा डोमा लामा
तस्बिरको क्याप्शन, उज्बेकिस्तान विरुद्धको खेलमा पेमा डोमा लामाले नेपाली महिला टोलीको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरिन्

पेमा डोमा लामाले उक्त इतिहास रचेकी हुन्। पेमाले उज्बेकिस्तान विरुद्धको खेलमा गोल गरेकी थिइन्।

उनी भन्छिन्, "त्यो नेपाली महिला फुटबल टोलीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल हो भनेर मलाई थाहा थिएन। नेपाल आएपछि मात्र मैले यो कुरा थाहा पाएँ।"

५. एपीएफले दिएको अर्को जीवन

सशस्त्र प्रहरी एपीएफले महिला फुटबलको टीम बनाउनुलाई चाहिँ फुटबल विश्लेषकहरू नेपाली महिला फुटबलको पुनर्जन्म नै मान्छन्।

विसं २०६१ ताका एपीएफले त्यतिबेलाका राम्रा खेलाडी समेट्दै बलियो महिला टोली निर्माण गर्‍यो। नियमित प्रशिक्षण र तलब पाएपछि महिला खेलाडीहरूको स्तरमा व्यापक सुधार हुन थाल्यो।

त्यतिबेलाका रौतहटका राम्रा खेलाडीहरू एपीएफमा पुगेका थिए।

उक्त टोली निर्माण गर्ने र खेलाडीलाई प्रशिक्षण दिने राष्ट्रिय टोलीका सदस्य धीरेन्द्र प्रधान भन्छन्, "एपीएफको त्यो कदमले महिला खेलाडीलाई व्यावसायिक बनाउने र महिला फुटबलको स्वरूप नै परिवर्तन गर्ने काम गर्‍यो।"

६. साग र साफमा महिला

सावित्रा भण्डारी

सन् २०१० बाट भने महिला फुटबलले विकासको वास्तविक स्वरूप लिन थालेको हो।

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा पुरुष समावेश खेलमा महिला टोली पनि राख्नुपर्ने समान व्यवस्था सुरु गरिएपछि बाङ्ग्लादेशको ढाकामा भएको ११ औँ सागमा महिला फुटबल समावेश गरियो।

सोही वर्ष बाङ्ग्लादेशबाट नै पहिलो महिला साफ फुटबल च्याम्पियनशिपको पनि सुरुआत भयो।

यी दुवै प्रतियोगितामा नेपाली टोलीले फाइनलसम्म पुगेर आफ्नो योग्यता पुष्टि गर्‍यो।

त्यसपछि हरेक दुई वर्षमा साफ च्याम्पियनसिपले निरन्तरता पायो भने सागमा पनि नियमित रूपमा महिला फुटबल समावेश भयो। महिला फुटबलले तीव्रता पायो। खेलाडीहरू व्यस्त हुन थाले।

यी दुई प्रतियोगिताले नेपालको मात्र होइन दक्षिण एसिया कै महिला फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेलेको जानकारहरू बताउँछन्।

७. एक दर्जन फाइनल तर उपाधि शून्य

२०१० पछि नेपालले १५ वर्षमा १२ फाइनल खेलिसकेको छ।

यद्यपि फाइनल पुगेर नेपालले उपाधि भने अझै जित्न सकेको छैन। दक्षिण एसियामा नेपालको परिचय 'उपविजेताको' को रूपमा चित्रण नै भयो।

भारतसँगमात्र नेपालले ४ पटक साफ र ३ पटक साग गरी ७ फाइनलमा पुगेर हारेको छ।

पछिल्लो दुई संस्करणको फाइनलमा भने बाङ्ग्लादेशसँग पराजित हुन पुगेको थियो।

फाइनल पुगेर हारेको बाँकी ३ खेलहरू वाफ महिला च्याम्पियनशिप, नादेज्दा कप र हिरो गोल्डकपमा हो।

८. व्यावसायिक उडान

यसबीच नेपाली खेलाडीहरू युरोपमा पुगेर व्यावसायिक प्रतिस्पर्धा गर्ने भएका छन्।

स्ट्राइकर सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजनको क्लब अन आभान गीङ्गम्प पुगिन्। गोलकिपर कप्तान एन्जिला तुम्बाप्पो सुब्बा ग्रिसको महिला 'ए' लीग क्लब अट्रोमिटौमा खेलिरहेकी छिन्।

प्रीति राई
तस्बिरको क्याप्शन, प्रीति राईसहित थुप्रै नेपाली खेलाडी विदेशी क्लबहरूमा खेल्ने गर्छन्

रेखा पौडेल यूएईको अबुधाबी कन्ट्री क्लबमा छाएकी छिन्।

यस्तै भारतीय लीगमा गीता राना, प्रीति राई, दीपा शाही, अमृता जैसी, रश्मिकुमारी घिसिङ, सरु लिम्बू, रेणुका नगरकोटे गरी आधा दर्जनभन्दा बढी खेलाडीले खेलिसके।

भुटानमा पूजा राना खेलिरहेकी छिन्।

यसले महिला खेलाडीहरूको स्तर अन्तर्राष्ट्रियस्तरको बनिसकेको देखाउँछ।

९. भावी चुनौती

चार दशकको यो यात्रामा नेपाली महिला फुटबल अहिले जहाँ छ, त्यसबाट असन्तुष्ट हुनुपर्ने ठाउँ नदेखिएपनि गर्न बाँकी धेरै ठाँउहरू रहेको फुटबलका जानकारहरू बताउँछन्।

उनीहरूले औँल्याउने पहिलो कुरा चाहिँ हालसम्म महिला टोलीको नाममा एउटा पनि अन्तर्राष्ट्रिय उपाधि नहुनु नै हो।

दोस्रो चाहिँ घरेलु फुटबललाई बलियो बनाउनु पर्ने उनीहरू ठान्छन्।

विस्तारै महिला लिग प्रभावकारी बनिरहेको विश्लेषकहरू बताउँछन्। जिल्ला स्तरमा गोल्डकप शैलीको फुटबल यसै वर्षबाट सुरु भएको छ। क्लबहरूको सङ्ख्या पनि बढ्न थालेको छ।

साथै अहिले एसियन कपको छनोट खेलिरहेको नेपालले दक्षिण एसियाभन्दा माथिल्लो स्तरको फुटबलमा पनि प्रभाव जमाउनु जरुरी रहेको उनीहरू बताउँछन्।

एसियन कपको कठिन छनोट पार गर्नुपर्ने तत्कालको चुनौती छ।

यसै चुनौतीमाझ महिला टोलीले आफ्नो १०० औँ अन्तर्राष्ट्रिय खेल आइतवार खेल्दा नेपाली फुटबलले एउटा कोशेढुङ्गा पार गर्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।