इमरान खानकी पत्नी बुशरा बिबी राजनीतिमा सक्रिय हुन खोजेपछि पाकिस्तानमा तरङ्ग

    • Author, फरहत जावेद
    • Role, बीबीसी विश्व सेवा, इस्लामावाद

नोभेम्बरको अन्यमा बुशरा बिबी एउटा ;शिपिङ कन्टेनर'मा उभिएकी थिइन्। उनले एउटा सेतो पछ्यौरा र सधैँ लगाउने खालको हिजाब लगाएकी थिइन्।

त्यो कन्टेनरको वरपर उभिएका विपक्षी दल तारिख-ए-इन्साफ (पीटीआई) का हजारौँ समर्थकहरूले पार्टीको झण्डा फहराउँदै नारा लगाइरहेका थिए।

नाराबाजीका कारण ठूलो हल्ला भइरहेका बेला बिबीले एउटा माइक्रोफोन समाइन् र आफ्नो बुलन्द स्वरमा सबैको ध्यान आफूतिर तानिन्। "मेरा बाबुनानीहरू र मेरा दाजुभाइहरू! तपाईँहरू मसँगै उभिनुपर्ने छ," उनी माइकमा चिच्याइन्। भिडबाट ताली र जिन्दाबादको ध्वनि गुन्जियो।

उनले भनिन्, "यदि तपाईँहरू मसँगै उभिनुभएन भने पनि म दृढ छु र खडा रहने छु। यो मेरा पतिका लागि मात्र होइन, यो भनेको हाम्रो देश र यसका नेताहरूका लागि हो।"

पाकिस्तानको राजधानी इस्लामाबादमा देखिएको यो एउटा दुर्लभ दृश्य थियो।

बिबी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी तेस्री पत्नी हुन् र उनलाई प्राय: निजी जीवनमा रमाउने "अराजनीतिक व्यक्ति"का रूपमा चित्रण गर्ने गरिन्थ्यो। तर अहिले उनी राजनीतिमा गहिरो गरी संलग्न भएकी छन्।

केही व्यक्ति उनको राजनीतिक यात्राको थालनी भएको मान्छन्। अन्य कतिपयका लागि यो विपक्षी पीटीआईले अपनाएको रणनीतिक चाल हो।

उनका पति इमरान खान जेलमा रहुन्जेलका लागि उक्त दललाई अघि बढाउन पार्टीले यस्तो रणनीति अपनाएको हुन सक्ने उनीहरूको विश्लेषण छ। सन् २०२२ मा खानलाई अविश्वासको प्रस्तावमार्फत् सत्ताबाट हटाइएको थियो।

उनीमाथि भ्रष्टाचार, आतङ्कवाद र हिंसा फैलाएको आरोप लगाइएको छ र खान सन् २०२३ अगस्टदेखि जेलमा छन्।

बिबीलाई पनि उनका पतिसँग मिलेर राज्यका लागि आएका उपहार र कोसेली बेचेको र त्यसको जानकारी राज्यका सम्बधित निकायलाई नगराएको आरोप लगाइएको थियो। बिबी नौ महिनासम्म जेलमा थिइन् र गत अक्टोबरमा मात्र जमानतमा रिहा भएकी हुन्।

'निर्णायक प्रदर्शन'

"फाइनल मार्च" अर्थात् 'निर्णायक जुलुस' भनिएको कार्यक्रममा बिबी सहभागी भएकी थिइन्। समर्थकहरूले उक्त विरोधप्रदर्शनका क्रममा खानको रिहाइको माग गरेका थिए।

प्रदर्शनका कारण पाकिस्तानी राजधानीका सडकहरूमा अवरोधहरू खडा गरिएको थियो भने सशस्त्र प्रहरी र पाकिस्तानी सेनाको बाक्लो उपस्थिति थियो।

प्रदर्शन उक्त सहरतर्फ बढ्दै गर्दा बिबी कन्टेनरमा देखा परिन् र आफ्ना समर्थकहरूलाई उनले हात हल्लाएर अभिवादन गरिन्।

"हामी खानलाई साथमा नलिईकन पछि हट्दैनौँ," प्रदर्शन इस्लामाबादको मुख्य सरकारी भवनहरू भएको क्षेत्रमा पुगेपछि उनले उद्घोष गरिन्।

"रेड जोन" भनिने उक्त स्थानमा मुख्य सरकारी कार्यालयहरू छन्। पाकिस्तानी संसद् भवन पनि त्यहीँ छ।

सोही क्षेत्रमा प्रदर्शन गर्ने निर्णय बिबीले गरेकी थिइन्। त्यसको केही नेताहरूले पार्टीभित्रै पनि विरोध गरेका थिए।

तर उक्त प्रदर्शनका कारण त्यहाँ अवस्था निकै तनावपूर्ण भयो।

त्यस क्षेत्रको विद्युत् कटौती गरियो र पूरै क्षेत्र नै अन्धकार भयो। सुरक्षाकर्मीहरूले त्यहाँ प्रदर्शनकारीहरूलाई हटाउनका लागि व्यापक धरपकड गरे। सरकारले उक्त कारबाहीलाई "ग्र्यान्ड अपरेशन" भनेको छ।

तनाव बढ्ने देखिएपछि उनले उक्त स्थान छाडिन् र इस्लामाबादभन्दा बाहिर गइन्।

सामाजिक सञ्जालहरूमा देखिएका भिडिओहरूमा उनले कार परिवर्तन गरेर उक्त क्षेत्र छाड्दै गरेको देखिन्छ। तर बीबीसीले स्वतन्त्र रूपमा ती भिडिओ फुटेजहरूलाई पुष्टि गर्न सकेको छैन। उनले धर्नास्थल छाडेपछि कैयौँ समर्थकहरूलाई त्यसले निराश बनायो।

उनले अकस्मात् उक्त क्षेत्र छाडेपछि प्रदर्शनबारे कतिपय प्रश्नहरू खडा गरिदिएको छ। उनले धर्नास्थल छाड्दै गर्दा समर्थकहरू भने अश्रुग्यासको प्रकोप खेप्दै थिए भने कतिपय पक्राउ परिरहेका थिए। कैयौँ मानिसहरूले यसलाई आफ्नो मनोबल घटाउने कार्यका रूपमा हेरेका छन्।

"उनी हामीलाई छाडेर गइन्," एक जनाले भने। तर अर्का व्यक्तिले भने, "यो उनको गल्ती होइन। पार्टीका नेताहरूले उनलाई हट्न बाध्य बनाए।"

राजनीतिक विश्लेषकहरूले पनि उक्त घटनाबारे टिप्पणी गरेका छन्।

पत्रकार तथा विश्लेषक मेहमाल सरफराजले भने, "उनको त्यहाँबाट निस्कने निर्णयले उनको राजनीतिक जीवनयात्रालाई सुरु हुनुअघि नै आघात पुग्यो।"

धेरैले बुशरा बिबीका लागि त्यो अवस्था सबैभन्दा महत्त्वपूर्ण थियो भन्ने ठान्छन्। यस बेलासम्म उनी जानेरै राजनीतिक चर्चा परिचर्चा र गतिविधिबाट टाढा बसेकी थिइन्।

इमरान खानसँग बिहे

बुशरा बिबी पन्जाब प्रान्तको प्रभावशाली जमिनदार परिवारबाट आएकी हुन्। उनले सन् २०१८ मा इमरान खानसँग बिहे गर्दा धेरै मानिस आश्चर्यमा परे भने केहीले आलोचना गरे।

खानलाई बिहे गर्नुअघि उनी २८ वर्ष लामो वैवाहिक जीवनमा थिइन्। खानसँग बिहेको गरेको सात वर्षपछि उनका पूर्वपतिले बिबी र खान दम्पतीलाई इस्लामिक कानुन पालना नगरेको आरोप लगाए। आफूसँग सम्बन्धविच्छेद गरेपछि फेरि बिहे गर्नुअघि बिबीले इस्लामिक कानुनले तोकेअनुसार समयावधि पूरा नगरेको उनको दाबी थियो। पुनर्विवाहको मुद्दामा खान र बिबी दोषी ठहर भए तर उनीहरूले इस्लामिक कानुन भङ्ग गरेको आरोपबाट भने सफाइ पाए।

"यो केवल मेरा पतिको विषय हैन," इस्लामाबादमा भेला भएका समर्थकहरलाई उनले भनिन्। "यो पाकिस्तानको विषय हो।"

उनी सुफी सम्प्रदायकी अनुयायी हुन्। खानले आफू प्रधानमन्त्री हुँदा बिबीलाई आध्यात्मिक सल्लाहकार मान्दै आएका थिए। त्यस हिसाबले उनी लामो समयदेखि प्रभावशाली रहँदै आएको खाननिकट स्रोतहरू बताउँछन्। तर पीटीआईको राजनीतिमा उनी भर्खरै संलग्न भएकी हुन्। त्यसबारे विवाद पनि उत्पन्न भएको छ।

नोभेम्बर महिनाको सुरुतिर पेशावरमा आयोजित पार्टीका बैठकहरूमा पनि उनी सहभागी भइन्।

उनले पार्टीका नेताहरूलाई नोभेम्बरमा हुने जुलुसमा भाग लिन आह्वान गर्दै नभए पार्टीबाट निष्काशनसम्म हुने कारबाही भोग्न तयार रहन चेतावनी दिइन्। केहीले उनको टिप्पणीलाई पार्टीभित्र उनको बढ्दो प्रभावका रूपमा अर्थ्याए। अरूले त्यसलाई हस्तक्षेप माने।

"उनको शैलीलाई पीटीआईका नेताहरूले मन पराएनन्," पत्रकार आमिर जियाले भने। उक्त पार्टीले नातावाद र वंशपरम्परामा राजनीतिको विरोध गर्ने औँल्याउँदै उनले भने, "उनले औपचारिक रूपमा कुनै पद लिइन् भने त्यसले पीटीआई र खान दुवैको छवि धमिल्याउन सक्छ।"

चाँडै मोर्चा छाडिन्

बीबीसी उर्दूसँग कुरा गर्दै विश्लेषक इम्तियाज गुलले उनको सहभागितालाई "अभूतपूर्व परिस्थितिमा अभूतपूर्व कदम"को सङ्ज्ञा दिए। "यो सबै खानको अनुपस्थितिमा पार्टी र कार्यकर्तालाई सक्रिय राख्ने कुरा हो," उनले भने।

पाकिस्तानमा महिला राजनीतिमा आउनु नौलो विषय हैन। पुरुष नेताहरू पक्राउ पर्दा वा उनीहरूविरुद्ध मुद्दा चल्दा तिनका पत्नीहरूले विरोधप्रदर्शन र जुलुसको नेतृत्व गर्दै आएको पाइन्छ।

पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति जुल्फीकर अलि भुट्टो र पूर्वप्रधानमन्त्री नवाज शरिफ जेल परेपछि उनीहरूका पत्नी क्रमशः नुसरत भुट्टो र कलसूम नवाज पनि सक्रिय राजनीतिमा देखा परेका थिए।

सार्वजनिक विरोधप्रदर्शनमा सहभागी हुनुभन्दा दुई साताअघि एउटा भिडिओ सन्देशमा बिबीले आफ्नो "उद्देश्य राजनीतिमा प्रवेश गर्नु नभएको" बताएकी थिइन्।

केही व्यक्तिहरू भने संशय व्यक्त गर्छन्। पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले बिबीले आफू भविष्यमा नेता बन्न सक्ने सम्भावना देखेर "अवसरवादी चरित्र" देखाएको आरोप लगाए।

पीटीआईभित्र पनि बिबी राजनीतिमा प्रवेश गरेको विषयमा मतभिन्नता छ। केहीले बीबीसीलाई बताएअनुसार "इमरान खानले बिबीलाई निकै विश्वास गर्ने भएकाले" उनी राजनीतिमा प्रवेश गरेकी हुन्। तर अरूहरू उनको संलग्नताबाट पार्टीका प्रजातान्त्रिक मान्यताहरूलाई छायामा पर्ने चिन्तामा देखिन्छन्।

"पीटीआईमा अन्तिम निर्णय इमरान खानकै हुन्छ। खानकी दोस्री पत्नी रेहम खानले राजनीतिमा आउने महत्त्वाकाङ्क्षा राखेकी थिइन्। तर उनको जस्तो नभई बिबीले अझ स्थान पाउँछिन् र प्रभाव उत्पन्न गराउँछिन्," खान र बिबीको पारस्परिक विश्वासको सम्बन्धतिर इङ्गित गर्दै राजनीतिक विश्लेषक मेहमाल सरफराजले भने।

"किनभने खान उनलाई आध्यात्मिक मार्गदर्शक मान्छन्। त्यसैले खानको जीवनमा उनी भिन्न रूपमा छिन्।"

पत्रकार तथा विश्लेषक आमिर जिया पीटीआईका कार्यकर्ताहरूलाई इस्लामाबादमा जुलुस निकाल्न लगाउने बिबीको निर्णय "प्रत्युत्पादक" बनेको ठान्छन्।

नोभेम्बरको अन्त्यतिर इस्लामाबादमा भएका घटनाक्रमपछि बिबी जसरी उदाएकी थिइन् त्यसरी नै अलप भइन्।

आलोचना भएको भए पनि पीटीआईका समर्थकहरू उनलाई खानसँग पुग्न सबैभन्दा नजिकैको व्यक्ति मान्छन्।

"उनी खान साँच्चै जेलबाहिर आऊन् भनेर चाहने व्यक्ति हुन्," इस्लामाबादका असिम अलिले भने। "म उनलाई पूरा विश्वास गर्छु।"

उनी अब रहस्यमय पात्र हैनन्। आफ्नो इच्छा भए पनि नभए पनि उनी कहिले के हुन्छ भनेर अनुमान नै गर्न नसकिने पाकिस्तानको राजनीतिमा अहिले छिरिसकेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।