तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै हजारौँको भेला
जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरक्षा घेरा तोडेर इस्लामावादको केन्द्रस्थित मुख्य चोकमा पुगेको प्रदर्शनकारीहरूको समूहलाई सुरक्षा बलले हटाएको छ।
यसअघि खानका समर्थकहरूको एउटा समूह सुरक्षा छेकबारहरू पन्छाउँदै डि–चौक भनिने मुख्य चोकमा पुग्न सफल भएको थियो।
राजधानीका सबै सरकारी निकायहरूको नजिकै पर्ने उक्त चोकबाट प्रदर्शनकारीहरूलाई सहरका अन्य भागतर्फ धकेलेसँगै त्यहाँ सुरक्षाकर्मीको नियन्त्रण कायम भएको छ।
नेता इमरान खानका समर्थकहरूको भिडलाई राजधानीको केन्द्रमा पुग्नबाट रोक्ने प्रयासमा सुरक्षा सैन्यसँग विभिन्न झडपका घटनाहरू भएका छन् भने भिडमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ।
राजधानीका केही क्षेत्रमा सेना समेत परिचालन गरिएकोछ। प्रहरीका अनुसार तीव्र गतिमा आइरहेको एक सवारीसाधनलाई रोक्ने प्रयास गरेका चार सुरक्षाकर्मीहरूको ज्यान गएको छ।
नेता इमरान खान विभिन्न अभियोगहरूसहित एक वर्षभन्दा बढी समयदेखि थुनामा छन् र उनले आफूविरुद्धका सबै आरोपहरूको खण्डन गरेका छन्।
'इमरान खान'
पाकिस्तानका भूतपूर्व क्रिकेट खेलाडीसमेत रहेका नेता खान थुनामा रहँदा पनि देशको राजनीतिमा ठूलो र शक्तिशाली व्यक्तित्व बन्न पुगेका छन्।
गत फेब्रुअरी महिनामा भएको निर्वाचनमा उनको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीए) पार्टी प्रतिबन्धित थियो र आफ्ना उम्मेदवारहरूलाई स्वतन्त्र रूपमा निर्वाचनमा खडा गर्नुपरेको थियो। त्यसो हुँदा पनि उक्त पार्टी आफूले उठाएका स्वतन्त्र उम्मेदवारहरूको विजयी सङ्ख्याले गर्दा सबैभन्दा ठूलो एकल समूह बन्न सफल भएको थियो।
तर संसदीय बहुमत हासिल नहुँदा सो पार्टीका प्रतिद्वन्द्वीहरूले एकताबद्ध भएर नयाँ सरकार गठन गरेका थिए।
परिणामस्वरूप प्रदर्शनकारीहरूले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यसको नतिजा पनि उल्टाउनुपर्ने माग गरेका छन्। त्यस्तो दाबीलाई सरकारले खण्डन गरेको छ।
सडकमा अवरोध
सप्ताहान्तमा नेता इमरान खानले आफ्ना समर्थकहरूलाई आह्वान गर्दै सडकमा उत्रन भनेका थिए। उनले त्यसलाई “अन्तिम अह्वान” भन्दै उनीहरूको माग पूरा नभएसम्म राजधानीमा धर्ना दिएर बस्न पनि भनेका थिए।
केही दिनको यात्रापछि उनको समर्थकहरूको समूह राजधानी इस्लामाबादको मुख्य चोकमा पुगेका हुन्। उक्त चोक प्रधानमन्त्रीको कार्यालय, संसद् भवन र सर्वोच्च अदालतको नजिकै पर्दछ।
मङ्गलवार एक प्रदर्शनकारीले संवाददाताहरूसँग कुरा गर्दै भने, “हामी यहाँ इमरान खानको आह्वानमा मात्र आएका हौँ, उनले हामीलाई यहाँ आउन भनेका छन्, उनको लागि होइन, हामी आफैँ र हाम्रो देशका लागि।”
ती प्रदर्शनकारीले “इमरान खान स्वयं आफूहरूमाझ उपस्थित भएर अब के गर्ने नभनेसम्म” आफू कतै नजाने पनि बताए।
सार्वजनिक जमघट र सभासम्मेलनमा पहिले नै प्रतिबन्ध लगाइसकेको सरकारले इस्लामाबादतर्फका सडकहरूमा ठूलाठूला शिपिङ कन्टेनरहरू तेर्साएर अवरोध खडा गरेको छ भने देशका अन्य भागबाट समेत प्रहरी बललाई राजधानी ल्याएको छ।
शिक्षण संस्था बन्द
केही इन्टरनेट सेवाहरूमा पनि रोक लगाइएको जस्तो देखिन्छ। हिंसाको आशङ्कामा विद्यालय तथा कलेजहरू बन्द गरिएका छन्।
पाकिस्तानका आन्तरिक मामिलामन्त्रीले विरोध प्रदर्शनकारीहरूलाई उनीहरूको जमघटका लागि अन्य वैकल्पिक स्थान उपलब्ध गराउने प्रस्ताव गरिए पनि उनीहरूले त्यो अस्वीकार गरेको बताएका छन्।
प्रधानमन्त्री शहबाज शरिफले चार जना सुरक्षाकर्मीको मृत्युका लागि प्रदर्शनकारीहरूलाई दोष दिएका छन्। उनले विपक्षीहरूको जुलुसलाई “चरमपन्थी कार्य” भनेका छन्।
एउटा वक्तव्यमा उनले भनेका छन्, ”यी अवरोधकारी तत्त्वहरूले आन्दोलन होइन, रक्तपात मात्र खोजिरहेका छन्। ”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।