तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानमा इमरान खानले अब पाँच वर्ष राजनीति गर्न नपाउने
- Author, एन्ट्वनेट र्याड्फर्ड
- Role, बीबीसी न्यूज
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको छ।
भ्रष्टाचारको अभियोग पक्राउ परेका खानलाई तीन वर्षको जेल सजाय घोषणा भएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले उक्त निर्णयको सार्वजनिक गरेको हो।
मङ्गलवारको निर्णयको अर्थ खान सांसद पदबाट पनि मुक्त हुने छन्।
उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक दुरशायबाट प्रेरित भएको दाबी गरेका छन्। यद्यपि पाकिस्तान सरकारले त्यसको खण्डन गरेको छ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री मरियम औरङ्गजेबले उक्त निर्णय घोषणा गर्नुअघि बीबीसीसँग भनेका थिए,”कानुनका अनुसार तपाईँ आफूले गरेको कामका लागि उत्तरदायी हुनुपर्छ। यसको राजनीतिसँग कुनै सम्बन्ध छैन। अदालतले दोषी प्रमाणित गरेको व्यक्तिलाई पक्राउ गर्नैपर्छ।“
सत्तरी वर्षीय खान सन् २०१८ मा प्रधानमन्त्री निर्वाचित भएका थिए।
देशको शक्तिशाली सेनासँग असमझदारी बढेपछि गत वर्ष अविश्वासको प्रस्तावमार्फत् उनी सत्ताच्युत भएका थिए।
सेना बलियो
पाकिस्तानको राजनीतिमा सेनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
उसले कूमार्फत् बेलाबेलामा शासन आफ्नो हातमा लिएको इतिहास छ। तर अरू बेला नेपथ्यमा बसेर राजनीतिमा आफ्नो प्रभाव कायम राख्छ।
कैयौँ विश्लेषकहरूले सन् २०१८ पछि खान सत्तामा आउनुमा सेनाको सहयोग रहेको बताउने गरेका छन्।
विपक्षमा पुगेपछि खानले सैन्य नेतृत्वको कटु आलोचना गर्दै आएका छन्। आफू पदच्युत भएपछि उनले तत्काल चुनाव हुनुपर्ने माग गर्दै आएका थिए।
शनिवार घोषणा भएको खानविरुद्धको फैसला उनले विदेश जाँदा प्राप्त गरेका उपहारहरू र तिनको कथित बिक्रीबाट हात परेको गलत विवरण दिएको भन्ने अभियोगमा केन्द्रित थियो। त्यसलाई तोशाखाना मुद्दा भनिने गरेको छ।
झन्डै १४ करोड पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यका ती उपहारहरूमा रोलेक्स घडी, एउटा औँठी तथा एक जोडी कफलिङ्क छन्।
पक्राउ परेपछिको घटनाक्रम
स्थानीय सञ्चारमाध्यमका अनुसार खानलाई पाँच वर्षका लागि कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य ठहर्याइएको छ।
यो सजाय तोशाखाना मुद्दामा उनी दोषी ठहर भएको निर्णयसँग सम्बन्धित छ।
पाकिस्तानको कानुनअनुसार कुनै पनि दोषी व्यक्तिले पाकिस्तानको निर्वाचन आयोगले तोकेको अवधिभरि सार्वजनिक पदका लागि चुनाव लड्न पाउँदैनन्।
उनका कानुनी समूहले खानलाई दोषी ठहर गर्ने फैसलाविरुद्ध पुनरावेदन गरेको छ।
बुधवार इस्लामाबाद उच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ हुने छ।
पूर्वप्रधानमन्त्री खान अहिले इस्लामबादनजिकैको जेलमा छन्।
उनी पक्राउ पर्नुअघि रेकर्ड गरिएको एउटा भिडिओ सन्देश सामाजिक सञ्जाल 'एक्स'मा खानको खाताबाट सार्वजनिक गरिएको थियो। त्यसमा उनले आफ्ना समर्थकहरूलाई भनेका छन्, “मेरो मात्रै एउटा आग्रह छ - चुप लागेर घरमा नबस्नुहोस्।”
पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष समेत रहेका खान भ्रष्टाचारको मुद्दामा लाहोरस्थित निजी निवासबाट गिरफ्तार भएपछि उनको पार्टीका कैयौँ वरिष्ठ नेताहरूले दल छाडेका छन्।
खान गिरफ्तार भएपछिको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौँ समर्थकहरू पक्राउ परेका छन्।
को हुन् इमरान खान?
इमरान खान भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्।
राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बन्न सफल भए।
देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्री समेत हुन्।
सन् १९९६ मा उनले आफ्नो दल पीटीआई स्थापना गरे पनि सन् २०१३ को निर्वाचनबाट मात्र उक्त दल राष्ट्रिय रूपमा महत्त्वपूर्ण शक्तिका रूपमा देखिन थालेको हो।
‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने वाचासहित सन् २०१८ को जुलाईमा उनी देशको प्रधानमन्त्री निर्वाचित भएका थिए।
तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढलेको थियो।
खानविरुद्ध कति वटा मुद्दा छन्?
खान अहिले तोशाखाना मुद्दामा दोषी ठहर पक्राउ परेका हुन्।
पाकिस्तानमा सन् १९७४ मा तोशाखाना स्थापना भएको थियो। यो मन्त्रिपरिषद्को प्रशासनिक मातहतको एउटा विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति, राज्य प्रमुख, मन्त्री, सांसद वा अन्य वरिष्ठ अधिकारीहरूले विदेस भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छ।
कुनै पनि विदेश यात्राको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती उपहारहरूको अभिलेख राख्छन् र स्वदेश फर्किएपछि तोशाखानामा जम्मा गरिन्छ।
तोशाखानामा राखिएका सामानलाई चिनोका रूपमा हेरिन्छ। त्यहाँ राखिएका सामान मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्र बिक्री गर्न मिल्छ।
तर खानले सत्तामा रहँदा तोशाखानामा राखिनुपर्ने उपहारबारे अधिकारीहरूलाई सही जानकारी नदिएको बताएको थियो।
यसका अतिरिक्त उनीविरुद्ध अल कादिर ट्रस्टको मुद्दा छ।
उनले अल कादिर विश्वविद्यालय परियोजनाका लागि सन् २०१९ को डिसेम्बर २६ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए।
मन्त्रिपरिषद्ले बहरिया टाउनको बारेमा निर्णय गरेको केही दिनपछि इमरान खानले उक्त ट्रस्ट दर्ता गरेका थिए।
बहरिया टाउन परियोजनाले विश्वविद्यालयका लागि चन्दा दिएको आरोप छ। त्यस्तै इमरान खानमाथि बहरिया टाउनका सीआईओ मलिक रियाज र उनको परिवारलाई राहत दिएको आरोप छ।
त्यस्तै उनले सार्वजनिक मन्तव्यका क्रममा महिला न्यायाधीशविरुद्ध मानहानि गरेको मुद्दा पनि छ।
सन् २०२२ को अगस्टमा इमरान खानका एक निकट सहयोगीलाई देशद्रोहको मुद्दामा पक्राउ गरिएको थियो। खानले शहबाजलाई उत्पीडन गरिएको आरोप लगाएका थिए।
त्यसपछि आयोजित एक राजनीतिक र्यालीका क्रममा इमरान खानले इस्लामाबादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई आफ्नो पार्टीका सहकर्मीलाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको आरोप लगाउँदै निन्दा गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।