पाकिस्तान चरम सङ्कटको डिलमा छ, के भारत चिन्तित हुनुपर्छ?

    • Author, सौतिक विश्वास
    • Role, भारत संवाददाता

धेरै वर्षअघि भारत भ्रमणमा रहेका दक्षिण एशिया मामिलाका एक जना अमेरिकामा बस्ने विज्ञ आफूलाई एक जना स्थानीय विश्लेषकले सुनाएको कुरा अझै सम्झिरहन्छन्।

“यदी पाकिस्तान असफल भयो भने उसले हामीलाई पनि आफूसँगै लिएर नजाओस् भन्ने हामीले सुनिश्चित गर्नुपर्छ,” वासिङ्टन स्थित विल्सन सेन्टरका विज्ञ माइकल कुगलमेनलाई ती भारतीय विज्ञले भनेका थिए।

हालैका हप्ताहरूमा पाकिस्तान राजनीतिक र आर्थिक सङ्कटका कारण अस्तव्यस्त बनेको छ। भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि त्यसले उच्च महँगी र सुस्त आर्थिक वृद्धिका कारण टाट पल्टने अवस्थामा रहेको पाकिस्तानभर हिंसात्मक प्रदर्शनहरू निम्त्याएको थियो।

पाकिस्तान सङ्कटले भारतलाई कस्तो प्रभाव पार्नसक्छ

पाकिस्तानको राजनीतिको एउटा मुख्य खेलाडी ठानिने त्यहाँको सेना र पूर्वप्रधानमन्त्री खानबीच मूठभेठ चर्किएको छ। पदबाट हटाइएपछि खानले सेनाले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए।

कुगलमेन भन्छन्, “जब तपाईँसँग वैमनश्यतापूर्ण सम्बन्ध भएको देश जुन सब ठिक ठाक हुँदा पनि अस्थिर हुन्छ, त्यस्तो छिमेकी देशले गम्भीर राजनीतिक तनावको सामना गरिरहेको छ, छोटो समयमा नै ठूलो स्तरको अस्थिरताको सामना गरिरहेको छ र मुख्य रूपमा सैनिक नेतृत्वसँगको सम्बन्धलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन्, त्यस बेला तपाईँ चिन्तित हुनुहुन्छ।”

उनले पाकिस्तानको सङ्कटको असर भारततर्फ देखा पर्ने भन्दा पनि आन्तरिक घटनाक्रममा पाकिस्तान केन्द्रित हुनुपर्दा उसले भारतलाई घातक जोखिम पुर्‍याउनसक्ने भारत केन्द्रित उग्रवादीहरूतर्फ ध्यान केन्द्रित गर्न नसक्ने उनले सुनाए।

सन् १९४७ मा स्वतन्त्र देश बनेयता भारत र पाकिस्तानबीच तीनवटा युद्ध भएको छ। एउटाबाहेक अन्य काश्मीरको विषयलाई लिएर भएका थिए। सन् २०१९ काश्मीरमा भारतीय फौजमाथि आक्रमण भएपछि भारतले पाकिस्तानी भूभागमा हवाई हमला गरेको थियो।

उक्त आक्रमणपछि दुई देश परमाणु युद्ध ‘नजिकै’ पुगेको पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्। तर सन् २०२१ मा भएको सीमा क्षेत्रमा सङ्घर्ष विरामले स्थितिलाई नियन्त्रणमा राखेको छ।

उसो भए के भारत आफ्नो छिमेकमा भइरहेको राजनीतिक उथलपुथलप्रति चिन्तित हुनुपर्छ?

विगतले केही सङ्केत दिन्छ। सन् १९७१ मा पाकिस्तानमा देखा परेको सङ्कटले यस उपमहाद्वीपमा रक्तपातपूर्ण युद्ध निम्त्यायो भने त्यसबाट बाङ्ग्लादेश जन्मियो। सन् २००८ मा परवेज मुसर्रफ चुनावमा पराजित भएसँगै उनले सुरु गरेको सैनिक शासन विरुद्धको अभियान एउटा निष्कर्षमा पुग्यो। त्यसको केही महिनापछि पाकिस्तानसँग जोडिएका उग्रवादीहरूले भारतको पश्चिमी शहर मुम्बईमा हमला गरे।

तर पछिल्लो इतिहासलाई नै मात्रै हेर्ने हो भने पनि पाकिस्तानमा जारी सङ्कट भारतका लागि थप चिन्ताजनक रहेको पूर्व पाकिस्तानी राजदूत एवं वासिङ्टन डिसीस्थित हड्सन इन्स्टिट्युटका प्राज्ञ हुसेन हक्कानी बताउँछन्।

उनले भने, “राजनीतिक अस्तव्यस्तता यस्तो बेला देखा परेको छ जतिखेर पाकिस्तान उसले खेप्नसक्ने सबैभन्दा खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ र देशको संस्थापन पक्ष आफैभित्र विभाजित र कमजोर रहेको छ।”

नयाँ द्वन्द्वको सम्भावना कति छ

खानका समर्थक र प्रहरीहरूबिच देशभर झडप भइरहेका छन्। कुगलमेनजस्ता विज्ञहरूले दुईवटा अतिवादी परिस्थितिहरू आउने सम्भावना नदेखेको बताउँछन्। पहिलो, पाकिस्तानले दिल्ली इच्छुक नै नभएपनि भारतसँग मेलमिलापका लागि सम्भावनाको खोजी गर्नु। दोस्रो, भारतलाई निशाना बनाउने उग्रवादीहरूलाई सीमा पार आक्रमण गर्न प्रोत्साहित गर्नु। कुगलमेनले भने, “यो विन्दुमा पाकिस्तानले भारतसँग अर्को द्वन्द्व वा नयाँ सङ्कट सामना गर्न सक्दैन।”

तर त्यो दुई वटा अतिवादबीच आउनसक्ने परिस्थितिलाई लिएर भारत चिन्तित हुनुपर्ने विज्ञहरू बताउँछन्। कुगलमेनले आन्तरिक मुद्दाहरूमा जेलिएको पाकिस्तानले सीमा वारपारसँग सम्बन्धित जोखिम निगरानी गर्ने सामर्थ्य गुमाउने उनले बताए।

युनिभर्सिटी अफ लन्डनमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गराउने अविनास पालीवाल पनि त्यस्तै धारणा राख्छन्। उनले पाकिस्तानमा देखिएका दुई वटा सङ्कटले सीमाको युद्धविराममा खलल पुर्‍याउनसक्ने बताए।

उनले भने, “आफ्नो ध्यान अन्यत्र हटाउन वा कश्मीरमा शक्ति प्रदर्शन गरेर सेनाभित्र आफ्नो पकड मजबुत रहेको देखाउन – दुवै कारणले अहिले सीमापार गडबडी मच्चाउने काम पाकिस्तानी सेना प्रमुखको स्वार्थ अनुकूल देखिँदैन। तर पनि अहिलेको युद्धविरामको मुख्य पाकिस्तानी संरक्षक आफैँ समस्याग्रस्त हुँदा स्रोतहरूको सीमितताका बाबजुद जोखिम त कायम नै रहन्छ।”

युद्धविराम भङ्ग हुनु भारतका लागि रणनीतिक जोखिम नहुने भएपनि चीनसँगको सैनिक तनावसँग जोडिएर आउँदा त्यो थप खतरनाक बन्नसक्ने उनले चेतावनी दिए।

लामो समयदेखिको सीमा विवाद सुल्झाउन विफल रहेका भारत र चीनबीचको सम्बन्ध खराब चरणबाट गुज्रिरहेको छ।

भारत पाकिस्तान सम्बन्धले कुन बाटो लिनसक्छ?

दलहरूको गठबन्धनले पूर्वप्रधानमन्त्री खानलाई कुशासन र अर्थतन्त्रमा देखिएको भद्रगोलका लागि जिम्मेवार रहेको आरोप लगाइरहेका छन्।

धेरैले पाकिस्तानमाथि आफ्नो ध्यान केन्द्रित गर्ने प्रवृत्तिबाट भारत अलग हुनुपर्ने भन्दै सङ्कटमा डुब्दै गएको छिमेकीलाई लिएर नचाहिने चिन्ता पनि व्यक्त गर्न नहुने बताइरहेका छन्।

धेरै भारतीयहरूले यो सङ्कटपछि पाकिस्तानलाई खुच्चिङ परेको भावना राख्ने गरेको पनि पाइन्छ।

उनीहरूका बुझाइमा भारतको अर्थतन्त्र पाकिस्तानको भन्दा १० गुणा ठूलो छ र सङ्कटको सामना गरिरहेको छिमेकीको अर्थतन्त्र भारतको सबैभन्दा धनी राज्य महाराष्ट्रको भन्दा सानो छ।

कुगलमेन यस्तो खालको प्रतिक्रिया अनुमानित नै भएको ठान्छन्। वर्षौँदेखि भारतलाई निशाना बनाउने समूहहरूलाई सेनाले प्रायोजन गरेको देख्ने भारतीयहरू पाकिस्तानी सेनाले खेप्नुपरिरहेको सङ्घर्षलाई लिएर विशेष रूपमा सन्तुष्ट रहेको उनको टिप्पणी छ।

“तर यो सबैमा रमाउने र पाकिस्तानबाट निम्तनसक्ने खतराप्रति सजग नहुने हो भने त्यो पनि खतरनाक हुन्छ,” कुगलमेनले भने।

त्यो साँचो पनि हो। हक्कानीका अनुसार परमाणु अस्त्र भएको छिमेकी आर्थिक अस्थिरता र राजनीतिक सङ्कटबाट गुज्रिनु भारतको स्वार्थ अनुरूप छैन। तर पाकिस्ताका लागि पूर्व भारतीय उच्चायुक्त सरत साभरवाल जस्ता टिप्पणीकारहरू पाकिस्तानको विघटन अवश्यम्भावी रहेको विश्वास गर्दैनन्। उनीहरूका विचारमा पाकिस्तानले विगतकै जस्तो अस्तव्यस्ततापूर्ण यात्रालाई निरन्तरता दिनेछ।

पाकिस्तानको सङ्कट चुलिँदै गएको समयमा, भारतले के गर्नुपर्छ? “सम्भवतः अहिलेको परिस्थितिमा सबै भन्दा उपयुक्त विकल्प भनेको हाल कायम रहेको सीमित स्तरको दुईपक्षीय सम्बन्धलाई यथास्थितिमा राख्नु र लाइन अफ कन्ट्रोल भनिने सीमा क्षेत्रमा युद्धविराम निरन्तर हुने करा सुनिश्चित गर्नुपर्छ,” पाकिस्तानका लागि पूर्व भारतीय उच्चायुक्त टीसीए राघवनले भने।

हक्कानीले भारतले सीमा क्षेत्रलाई विशेष ध्यान दिँदै ‘पर्ख र हेरको’ नीति लिइरहेको बताए। “भारत अहिले पनि आफू हरदम तम्तयार रहनुपर्छ भन्ने कुरामा सचेत रहनुपर्छ,” कुगलमेन भन्छन्।