तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतकी ‘विद्रोही’ मुसलमान राजकुमारी जो बाघ मार्थिन् र रोल्स-रोयस चलाउँथिन्
- Author, शेरिलान मोलन
- Role, बीबीसी न्यूज, मुम्बई
अबिदा सुल्तान साधारण राजकुमारी थिइनन्।
उनी छोटो कपाल पाल्थिन्। बाघको सिकार गर्थिन् र पोलो खेलकी उम्दा खेलाडी थिइन्। उनी विमान चलाउँथिन् र नौ वर्षको उमेरबाटै रोल्स-रोयस चलाएर घुमफिर गर्थिन्।
तात्कालिक ब्रिटिश भारतको उत्तरमा राजारजौटाहरूको शासन रहेको राज्य भोपालमा सन् १९१३ मा पराक्रमी ‘बेगम’हरूको परिवारमा उनी जन्मिएकी थिइन्। अबिदाले उच्च ओहदाका महिलाहरूको विरासतलाई कायम राख्ने क्रममा महिला, त्यसमा पनि मुसलमान महिलासँग, जोडिएका परम्परागत मान्यताहरूलाई चुनौती दिएकी थिइन्।
उनले बुर्का लगाउन अस्वीकार गरिन्। मुसलमान महिलाहरू बुर्का लगाउने गर्छन् र कतिपय हिन्दू महिलाहरूले पनि पुरुषहरूले नदेख्ने गरी घुम्टो हालेर आफ्नो अनुहार ढाक्ने गर्छन्। उनी १५ वर्षको उमेरमा राजगद्दीकी उत्तराधिकारी बनेकी थिइन।
उनले एक दशकभन्दा बढी समय आफ्ना पिताको मन्त्रिपरिषद् चलाइन्। भारतका चर्चित स्वतन्त्रता सेनानीहरूसँगै उभिएर काम गरिन्। उनले सन् १९४७ मा पाकिस्तानको विभाजनसँगै देखा परेको घृणा र हिंसालाई प्रत्यक्ष देख्न पनि पाइन्।
उनलाई सानै उमेरदेखि आफ्नी हजुरआमा सुल्तान जहाँको रेखदेखमा शासनसत्ताकी उत्तराधिकारी हुने गरी प्रशिक्षित गरिएको थियो। कडा मिजासकी सुल्तान जहाँले भोपालमा शासन गरेकी थिइन्।
आत्मविश्वास र खुलापन
सन् २००४ मा प्रकाशित आत्मवृत्तान्त ‘मेम्वार्स अफ रेबल प्रिन्सेस’मा अबिदाले आफूले सबेरै ४ बजे उठेर कुरान वाचन गरेको सम्झना गरेकी छन्। त्यसपछि उनले खेलकुद, सङ्गीत र घोडचढी सिक्ने जस्ता गतिविधिमा व्यस्त हुनुपर्थ्यो। त्यसबाहेक भुइँमा कुचो लगाउने र स्नानघर सफा गर्ने काम पनि गर्नुपर्थ्यो।
“हामी केटीहरूलाई हाम्रो लिङ्गको आधारमा हीन महसुस गर्न दिइँदैन्थ्यो। सबै कुरा समान थियो। केटाहरूलाई जस्तै स्वतन्त्रता हामीलाई थियो। हामी घुम्थ्यौँ, रूख चढ्थ्यौँ र मन लागेको खेल खेल्थ्यौँ। त्यहाँ कुनै पनि नियन्त्रण थिएन,” उनले एउटा अन्तर्वार्तामा भनिन्।
अबिदा सानैदेखि आक्रामक र स्वतन्त्र थिइन्। तेह्र वर्षको उमेरमा हजुरआमाले बुर्का लगाउन बाध्य पारेपछि उनले त्यसविरुद्ध विद्रोह गरिन्।
आफ्नो आत्मविश्वास र आफ्ना पिताको खुल्ला सोचाइले उनलाई आजीवान उक्त अभ्यासबाट टाढै रहन सहयोग पुर्यायो।
भोपालकी गद्दीकी उत्तराधिकारी उनी छिमेकी कुरवाई राज्यको राजपरिवारसँग पनि जोडिन पुगेकी थिइन्। बाह्र वर्षको उमेरमा अबिदाको विवाह उनका बाल्यकालका साथी सार्वर अलि खानसँग भयो। खान कुरवाईका शासक बने। आफ्नो आत्मवृत्तान्तमा उनले आफ्नो बिहे हुँदा आफूलाई केही थाहा नभएको भन्दै त्यसलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरेकी छन्।
उनले लेखेकी छन् - एक दिन आफ्ना आफन्तका छोराछोरीसँग सिरानी हानाहान गर्दै खेलिरहेको बेला मयमा हजुरआमा कोठामा पसिन् र उनलाई विवाहका लागि लुगा लगाउन भनिन्। कसैले पनि बेहुली उनै भएको कुरा बताएनन्।
“कसैले पनि मलाई तयार गरेको थिएन वा कसरी व्यवहार गर्ने प्रशिक्षण दिएको थिएन। त्यही भएर निकाह हुने कोठामा म त्यहाँ जम्मा भएका महिलाहरूलाई धकेल्दै पुगेँ। मेरो अनुहार ढाकिएको थिएन। अरू बेला जस्तै कुनै नयाँ प्रयोगका लागि त्यस्तो गरिएको होला भन्दै म ठुस्स परिरहेकी थिएँ,” उनले लेखेकी छन्।
अबिदाको विवाह समारोह सङ्क्षिप्त थियो। उनको विवाह एक दशकभन्दा कम समयमात्रै टिक्यो।
अबिदाका लागि वैवाहिक जीवन गाह्रो थियो। कलिलो उमेरका कारण मात्रै त्यस्तो नभएर कडा र धार्मिक हुर्काइको प्रभावले पनि त्यस्तो हुन पुग्यो।
उनले यौनबारेको अज्ञानता र असहजताका कारण आफ्नो विवाह प्रभावित भएको खुलेरै लेखेकी छन्।
“मेरो विवाहलगत्तै म वैवाहिक आघातको अवस्थामा प्रवेश गरे। मलाई थाहा थिएन कि यौन सम्बन्धले मलाई भयभीत, अचेत र अपवित्रजस्तो महसुस गराउँछ,” उनले लेखेकी छन्।
उनले श्रीमान् र श्रीमतीबीचको वैवाहिक सम्बन्धलाई स्वीकार गर्ने बिन्दुमा आफू नपुगेको पनि उल्लेख गरेकी छन्। उनको विवाह टिकेन।
छोराका लागि झगडा
दक्षिण एशियाका मुस्लिम महिलाका आत्मवृत्तान्तमा उल्लेख भएको यौन र अन्तरङ्ग सम्बन्धबारेको एउटा शोधपत्रमा इतिहासकार सिओभान लाम्बर्ट-हर्लीले अबिदाको पतिसँगको यौन सम्बन्धबारेको इमान्दार अभिव्यक्तिले मुसलमान महिलाहरू यौनका बारेमा लेख्दैनन् भन्ने मान्यतालाई खण्डन गरेको उल्लेख गरेकी छन्। उनका अनुसार उक्त विषयमा अबिदाले धक नमानीकन लेखेकी छन्।
वैवाहिक सम्बन्ध भङ्ग भएपछि अबिदा कुरवाई छाडेर भोपाल नै फर्किएकी थिइन्। तर उक्त जोडीका एक मात्र सन्तान शहरयार मोहम्मद खानलाई कसले पाल्ने भन्ने विषयमा निक्कै नराम्रो झगडा भएको थियो। लामो विवाद र छोरासँग अलग नहुने चाहनाका कारण अबिदाले आफ्ना पतिलाई पछि हट्न बाध्य पार्न कडा कदम उठाइन्।
सन् १९३५ को मार्च महिनाको एक दिन अबिदा तीन घण्टा निरन्तर गाडी चलाएर पतिको कुरवाईस्थित घर पुगिन्। उनी सुत्ने कोठामा प्रवेश गरिन् र पेस्तोल निकालिन् अनि त्यसलाई पतिको काखमा फ्याँक्दै भनिन्, “मलाई मार वा म तिमीलाई मारिदिन्छु।”
त्यस क्रममा उनीहरूबीच हात हालाहाल नै भयो। त्यसमा अबिदाले जितिन्। त्यसले छोराको अभिभावकत्वसँग सम्बन्धित विवादलाई समाप्त पारिदियो। राजगद्दीको उत्तराधिकारीको जिम्मेवारीसहित उनले एक्लै छोरा हुर्काइन्। उनले सन् १९३५ देखि १९४९ सम्म आफ्नो राज्यको मन्त्रिपरिषद् सञ्चालन गरिन्। त्यसपछि भोपाललाई भारतको मध्य प्रदेश राज्यमा गाभिएको थियो।
अबिदा भारतको भविष्यबारे निर्णय लिन ब्रिटिश सरकारले आह्वान गरेका गोलमेच सम्मेलनहरूमा पनि सहभागी भइन्। त्यस क्रममा उनले महात्मा गान्धी, मोतीलाल नेहरू र भारतका प्रथम प्रधानमन्त्री समेत बनेका उनका छोरा जवाहरलाल नेहरूसँग भेटघाट गरेकी थिइन्।
सन् १९४७ मा भारतको विभाजनपछि हिन्दू र मुसलमानबीच बिग्रँदो सम्बन्ध र त्यसपछि भड्किएको हिंसाको उनी साक्षी रहिन्।
भारत विभाजित भएपछि पाकिस्तान बसाइँ
आफ्नो आत्मवृत्तान्त उनले भोपालमा आफूले महसुस गर्न थालेको विभेदको चर्चा गरेकी छन्। पुस्तौँदेखि शान्तिपूर्ण ढङ्गले त्यहाँ बसोबास गरिरहेकोमा आफूहरूलाई ‘बाहिरिया’ जस्तो व्यवहार गरिएको उनले लेखेकी छन्। एउटा अन्तर्वार्तामा उनले हिन्दू र मुसलमानबीच दङ्गा फैलिएपछिको एउटा दुःखदायी घटनाको सम्झना गरेकी थिइन्।
एक दिन भारत सरकारले उनलाई मुसलमान शरणार्थीहरू चढेको सवार रेल भोपाल आउन लागेको जानकारी गराएपछि अवस्थाको निरीक्षण गर्न उनी रेल्वे स्टेशनमा पुगेकी थिइन्।
“डिब्बाहरू खुल्दा सबै मरेका थिए,” उनले भनिन्। उनले त्यही हिंसा र अविश्वासका कारण आफू सन् १९५० मा पाकिस्तान गएको लेखेकी छन्।
हल्लाखल्ला नगरी आफ्ना एक मात्रै छोरालाई लिएर सुनौलो भविष्यको अपेक्षासाथ अबिदाले भारत छाडिन्। उनले आफ्नो राजनीतिक जीवन लोकतन्त्र र महिला अधिकारको पैरवी गर्दै बिताइन्। सन् २००२ मा कराचीमा उनको निधन भयो।
उनी पाकिस्तान गएपछि भारत सरकारले उनकी बहिनीलाई राजगद्दीको उत्तराधिकारी बनायो। तर अझै पनि भोपालमा अबिदाको चर्चा हुन्छ। त्यहाँ उनलाई मानिसहरू ‘वियाँ हुजुर’ उपनामले सम्झिन्छन्।
“विगतका केही वर्षहरूमा भएको धार्मिक राजनीतिले उनको विरासतमा केही धक्का पुगेको छ र उनीबारे त्यति धेरै कुरा हुँदैन,” भोपालका महिला शासकबारे अनुसन्धान गरिरहेका पत्रकार शम्स उर रहमान अल्भी भन्छन्।
“तर उनको नाम तत्काल बिर्सिने अवस्था भने छैन।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।