तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत स्वतन्त्र भएपछि राजा रजौटाले के पाए, के गुमाए
- Author, जोन जुब्रोस्की
- Role, लेखक
उनीहरू दन्त्यकथामा वर्णन गरिएका जस्ता दरबारमा बस्थे अनि उनीहरूसँग हीरा र बहुमूल्य रत्नहरूसहित अकुत सम्पत्ति थियो। रोल्स-रोयस गाडीहरूको लस्करले उनीहरूको रबाफ देखाउँथ्यो।
उनीहरू रेलका विशेष डब्बामा मात्र यात्रा गर्थे भने राजधानी दिल्ली पुग्दा तोपको सलामीले उनीहरूको स्वागत हुन्थ्यो। आफ्ना प्रजाको जीवन वा मृत्युको निर्णय उनीहरूले गर्न सक्थे अनि हजारौँ परिचरहरू उनीहरूको सेवामा उपस्थित हुन्थे।
सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि ५६२ राजा रजौटासँग देशको झन्डै त्यहाँको आधा भूभाग थियो र उनीहरूले त्यहाँका एकतिहाइ जनसङ्ख्यालाई शासन गरिरहेका थिए।
ब्रिटेनका सबैभन्दा बफादार सहयोगीका रूपमा उनीहरूसँग अपार शक्ति थियो। उनीहरूले जघन्य अपराध गरेमा मात्र त्यसको निन्दा हुन्थ्यो। पदमुक्त हुने कुरा दुर्लभ थियो।
यद्यपि ब्रिटिश साम्राज्यको अन्तिम समयमा सबैभन्दा ठूलो हार बेहोर्नेमा उनीहरू नै परे। अनि झन्डै ७५ वर्षपछि धनी र राजनीतिक रूपमा निकै सक्रिय देखिएका केहीबाहेक सबै राजा रजौटाले सामान्य र नीरस जीवन बिताए।
नयाँ पुस्तकका लागि अनुसन्धान गर्ने क्रममा मैले भारतको स्वतन्त्रता र त्यसपछिको उथलपुथलयुक्त घटनाक्रम नियाल्ने अवसर पाएँ।
त्यस क्रममा के थाहा भयो भारत विभाजन र भ्रमका कारण छायामा परेका राजा रजौटाहरू सबैभन्दा विश्वास गरेको शक्तिबाटै निराश हुने अवस्थामा पुगेका थिए।
यी शासकहरूका लागि आफ्नो साम्राज्य बचाउने सबैभन्दा राम्रो विकल्प स्वतन्त्र एवं लोकतान्त्रिक भारतसँग सहअस्तित्वसहित स्वयं थप लोकतान्त्रिक बन्नु हुन्थ्यो।
यद्यपि ब्रिटिश अधिकारीहरूले ती सुधारहरू सुस्त गतिमा ल्याउने प्रयास गर्दा राजघरानाहरूमा सुरक्षाको भ्रम सिर्जना उत्पन्न भयो।
लर्ड माउन्टब्याटन अन्तिम राजप्रतिनिधि भएर आउँदा राजाहरूले उनलाई आफ्नो सुरक्षादाता मानेका थिए। उनीजस्ता कुलीन व्यक्तिले राजाहरूलाई राष्ट्रवादीहरूका भरमा के छोड्लान् र भन्ने उनीहरूलाई लागेको थियो।
यद्यपि माउन्टब्याटनलाई भारतीय उपमहाद्वीपबारे सीमित ज्ञान थियो र राजा रजौटाहरूलाई के गर्ने भन्ने निर्णय गर्न निकै समय लाग्यो। यसबाहेक उनले विरोधाभासपूर्ण सन्देश पनि दिए।
एकातर्फ ब्रिटेनले उनीहरूसँग गरेका सम्झौता तोड्ने छैन भनिएको थियो। त्यसको अर्थ उनीहरूलाई भारत वा पाकिस्तानमा सहभागी हुन दबाव दिइने छैन भन्ने थियो। अर्कोतर्फ लन्डनस्थित इन्डिया अफिसका अफिसरहरूमार्फत् महाराजाहरूलाई सत्तामा राख्न यथासम्भव प्रयास गरियो।
राष्ट्रवादीहरू राजा रजौटालाई मन पराउँदैन थिए।
खासगरी भारतको पहिलो प्रधानमन्त्री बन्न गइरहेका जवाहरलाल नेहरूले राजा रजौटा प्रणालीलाई नै "प्रतिक्रियावाद, अक्षम र अनियन्त्रित निरङ्कुश शक्तिको गढ" अनि कहिलेकाहीँ "दुष्ट र कुख्यात व्यक्तिहरूले प्रयोग गर्ने जनताको अस्तित्व" भन्ने गर्थे। उनी त्यस्तो प्रणाली स्वीकार गर्ने पक्षमा थिएनन्।
कांग्रेस पार्टीका नेता सरदार बल्लभभाई पटेलले गृहमन्त्रीको रूपमा अन्ततः राजा रजौटाहरूसँग संवाद गर्नुपर्यो।
उनी आफ्नो प्रतिक्रियाहरूमा कम भावुक थिए तर यदि भारत भौगोलिक र राजनीतिक रूपमा बलियो राष्ट्र बन्न चाहन्छ भने राजा रजौटा त्यसको एक अङ्ग हुनुपर्छ भन्नेमा दृढ थिए।
यो लक्ष्यबाट हुने कुनै पनि विचलन अन्ततः "भारतको मुटुमा छुरा प्रहार गर्ने जोखिम" को मूल्यमा पर्ने उनको धारणा थियो।
सैद्धान्तिक रूपमा राजा रजौटाहरूले भारत वा पाकिस्तानमा सहभागी हुने वा ब्रिटिश राजतन्त्रसँगको सम्झौताअनुसार सत्ता हस्तान्तरणपछि उनीहरूप्रति निष्ठावान् हुनुपर्ने व्यवस्था त्यागेर स्वतन्त्र रहन सक्ने भन्ने थियो।
तर प्रमुख रणनीतिकार मानिएका माउन्टब्याटन, पटेल र उनीहरूका सहकर्मी कर्मचारी भीपी मेननको संयुक्त शक्तिसामु उनीहरू निरीह बन्न पुगेका थिए।
उनीहरूलाई भारतसँग विलय हुन भनिँदा तीनवटा विषयबाहेक अरूमा पूर्ण नियन्त्रण दिइने बताइएको थियो। ती विषयहरू रक्षा, परराष्ट्र र सञ्चार थिए।
उनीहरूलाई उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप नहुने बताइएको थियो।
यदि उनीहरूले त्यसलाई अस्वीकार गरेमा आफ्ना प्रजाहरूबाट सत्तापलट हुने खतरा थियो र त्यस्तो अवस्थामा उनीहरूलाई बचाउन कोही नआउन सक्ने डर थियो।
आशङ्का र निरीहताका कारण अधिकांश राजा रजौटाहरूले विलयको सम्झौतामा हस्ताक्षर गरे।
प्रतिरोध गर्ने थोरै थिए। त्यस्तामा खासगरी जुनागढ, कश्मीर र हैदराबादका शासक थिए।
त्यस्ता राजा रजौटालाई पनि बन्दुकका भरमा कब्जा गरियो। हैदराबादमा गरिएको भनिएको "प्रहरी कारबाही" मा २५,००० मानिसको मृत्यु भएको थियो।
त्यसरी हस्ताक्षर गर्दा राजाहरूलाई गरिएका वाचाहरू चाँडै भङ्ग भए।
साना रजौटाहरूलाई त्यस बेला कायम रहेका ओडिशाजस्ता राज्यदेखि नवनिर्मित राजस्थानजस्ता प्रान्तहरूमा विलय हुन बाध्य पारियो।
पटेल र मेननले स्वशासित राज्यहरू रहने वाचा गरेका ग्वालियर, मैसूर, जोधपुर र जयपुरहरू पनि आज भारतको नक्सामा देखिए जस्तै ठूला प्रशासनिक क्षेत्रहरूमा विलय गरिए।
त्यो एकीकरण नयाँ देशको लागि लाभदायक सम्झौता भएकोमा कुनै शङ्का छैन।
विभाजन भएर पाकिस्तान बनेपछि क्षेत्रफल घट्दै गएकामा पछि एकीकरणका कारण भारतले पनि लगभग सोही क्षेत्रफल पाएको थियो ।
यससँगै भारतले नगद र लगानी बापत एक अर्ब रुपैयाँ (आजको मूल्यमा ८४ अर्ब भारतीय रुपैयाँ) पनि हात पारेको थियो।
यसको साटो यी पूर्वशासकहरूमध्ये आधालाई करमुक्त हुने अवसर दिइयो। 'प्रिभी पर्स' भनिने योजनाअन्तर्गत निश्चित रकम उनीहरूलाई दिइन्थ्यो। मैसूरका महाराजालाई वार्षिक २०,००० पाउन्डदेखि कटोडियाका तालुकदारलाई वार्षिक ४० पाउन्ड तोकिएको थियो ।
कटोडियाका तालुकदार कारिन्दा थिए र पैसा जोगाउन जताततै साइकल चलाउने गर्थे। तर यो व्यवस्था पनि दुई दशकसम्म मात्र टिक्यो।
राजपरिवारका महिला र पुरुष सदस्य राजनी तिमा प्रवेश गर्न समेत थाले। कोही इन्दिरा गान्धीको कांग्रेसमा छिरे भने अधिकांश विपक्षी दलहरूसँग आबद्ध भए।
इन्दिरा गान्धी आफ्ना बुबा नेहरूले जस्तै राजा रजौटालाई मन पराउन्नथिन्। पुराना राजपरिवारका कारण कांग्रेसका उम्मेदवारहरू पराजित भएका थियो र संसद्मा उनको बहुमत खिइन थालेको थियो।
राजा रजौटालाई दिइएको मान्यता उन्मूलन गर्ने लोकप्रिय मुद्दा बनाएर उनले राष्ट्रपतिको समर्थन लिइन्। तर सर्वोच्च अदालतको आदेशले त्यस दिशातर्फ अघि बढेको कदम रोकियो। सर्वोच्च अदालतले त्यसो गर्नु राष्ट्रपतिको अधिकार क्षेत्रभन्दा बाहिर भएको ठहर गरेको थियो।
तर इन्दिरा गान्धी रोकिइनन्। सन् १९७१ पछि दुईतिहाइ बहुमत जुटाएर उनले राजाहरूको उपाधि, अधिकार र निजी सुविधाहरू खारेज गर्ने व्यवस्था समेटिएको संवैधानिक संशोधन विधेयक लोकसभाबाट पारित गराइछाडिन्।
"हाम्रो समाजमा सान्दर्भिकता नभएको व्यवस्थालाई खारेज गर्ने समय आएको छ," त्यतिबेला उनले भनेकी थिइन्।
केही भारतीयहरूले राजा रजौटाका सम्बन्धमा रहेको उक्त कानुनप्रति खेद प्रकट गरे र त्यसलाई विश्वासघातको सङ्ज्ञा दिए।
ब्रिटेनमा भन्दा फरक भारतीय लोकतन्त्रमा राजतन्त्रको कुनै स्थान छैन।
तर पनि त्यसलाई झुक्क्याएर अन्त्य गरिएको थियो। निर्णयहरू गर्दा राजा रजौटाहरूमाथि अन्याय भएको थियो।
जोन जुब्रोस्की 'डिथ्रोन्ड: पटेल, मेनन एन्ड द इन्ट्रिगेशन अफ प्रिन्स्ली इन्डिया' का लेखक हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।