चीन: हराएको ३० वर्षपछि बनाएको नक्साले चिनियाँ व्यक्तिको आमासँग पुनर्मिलन

अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन्।

ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए।

डिसेम्बर २४ मा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघायो।

डीएनए परीक्षणमा नाता प्रमाणित भएपछि शनिवार उनीहरू भेट्न पाए।

३० वर्षपछिको भेटको भिडिओमा लीले बिस्तारै आमाको मास्क निकालेर उनको अनुहार हेर्न खोजेको देखिन्छ।

त्यसपछि उनी रुन्छन् र आमालाई अङ्गालो हाल्छन्।

निकै व्यग्रतासाथ प्रतीक्षा गरिएको उक्त पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, "३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा।"

ली युनान प्रान्तको एउटा दक्षिण-पश्चिमी सहरबाट सन् १९८९ मा चोरिएर १,८०० किलोमिटर टाढा एउटा परिवारलाई बेचिएका थिए।

अहिले दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तमा बसिरहेका उनले आफूलाई संरक्षण दिने अभिभावक वा डीएनएको सङ्ग्रहबाट आफूबारे थाहा नपाएपछि इन्टरनेटको सहारा लिएका थिए।

भिडिओमा उनले भनेका छन्, "म आफ्नो घर खोजिरहेको बालक हुँ। मलाई एक जना तालुखुइले छिमेकीले सन् १९८९ तिर हेनान लगेका थिए जतिखेर म चार वर्ष जतिको मात्र थिएँ।"

"यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ," उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भने।

उक्त चित्रमा उनले विद्यालय ठानेको एउटा भवन, बाँसको जङ्गल र एउटा सानो पोखरी देखिन्छ।

छोरालाई निकै महत्त्व दिइने चीनमा बालबालिकाको चोरी हुनु कुनै नौलो घटना होइन।

धेरै बालबालिकाहरूको सानैमा अपहरण गरेर ती अन्य परिवारलाई बेचिन्छन्।

सन् २०१५ को एउटा आँकडा अनुसार बर्सेनि २०,००० बालबालिकाहरूको अपहरण हुने देखिन्छ।

सन् २०२१ मा आफूलाई जन्माउने आमाबुवासँग लामो समयपछि पुनर्मिलन भएका थुप्रै घटना देखिएका थिए।